दाङकी अञ्जना पुन सानै छँदा ठूलीआमाको घरगाउँमा गइन्। त्यही बसेर कटाँहास्थित न्यू शान्ति बोर्डिङ स्कुलमा पढिन्।
उनका ठूलीआमाका छोराहरू रमेश बुढा र जनक बुढा खेलकुदमा विशेष रूचि राख्थे। उनीहरू शारीरिक व्यायाम गर्थे। स्कुलका केटा विद्यार्थीहरू हरेक दिनजसो बिहान र बेलुका फुटबल खेल्थे। शुक्रबार हाफ छुट्टीपछि फुटबल खेल खुब जम्थ्यो। सानी अञ्जना खेल हेरेर बस्थिन्।
उनी पनि फुटबल खेल्न चाहन्थिन् तर दाइहरू उनलाई रोक्थे, चोट लाग्छ भन्थे। तिमी सक्दिनौ भन्थे।
'दाइहरू गाईबाख्रा चराउन जाँदा पनि फुटबल साथमै लैजान्थे। स्कुलमा फुटबल खेल्नेको हानथाप चल्थ्यो,' अञ्जनाले भनिन्, 'गोठालो जाँदा भने खेलाडीको टिम पुग्दैन थियो। त्यस बेला म पनि खेल्न पाउँथेँ।'
उनी दाइहरूसँगै दौडिएर फुटबल हान्थिन्। बिस्तारै स्कुल आउँदाजाँदा पनि बाटोमा दाइहरूसँग फुटबल हान्दै हिँड्न थालिन्। उनका लागि पढाइपछि खेल मुख्य रूचिको क्षेत्र बन्यो।
अञ्जनाकी ठूलीआमाको घर हालको तुलसीपुर उपमहानगरपालिका–१०, ठुटीमा थियो। स्कुल वडा नम्बर ११ को कटाँहा गाउँमा। ठूलीआमाका छोरा रमेश स्कुलमै सितेरियो कराते पनि सिक्थे।
सेतो पोसाक लगाएर दाइले हानेको किक र पन्चिङ अन्जनालाई खुब रमाइलो लाग्थ्यो। उनी पनि कराते खेल्न चाहन्थिन्। तर कराते खेल्ने नपाई उनी आफ्नो घर फर्किनुपर्यो। उनी अर्को स्कुल भर्ना भइन्। फुटबल र कराते खेल्ने उनको चाहना जस्ताको तस्तै रह्यो।

उनले आफ्नो मनको कुरा आमाबुबालाई सुनाइन्। आमाबुबा दुवैले केटाहरूको खेल भन्दै नखेल्न भने। अञ्जनाले हठ छाडिनन्। अन्ततः उनी तेक्वान्दो खेल्न थालिन्।
'म तेक्वान्दोको सेकेन्ड डान भएँ। क्षेत्रीय प्रतियोगिता पनि खेलेँ। खेलप्रतिको लगावले घरमा पनि सबैको मन जित्न थालेकी थिएँ,' चार दिदीबहिनीमध्ये माइली अञ्जनाले भनिन्।
तेक्वान्दोमा समय दिँदा उनलाई फुटबल खेल्ने अनुकूल वातावरण र अवसर भने मिलेन। त्यसैबीच स्कुलको 'स्पोर्ट्स डे' मा केटाहरू टिम बनाएर फुटबल खेल्न लागेका थिए। एक दिन अञ्जनाले साथी प्रतीक्षालाई फुटबलमा आफ्नो रूचि भए पनि खेल्न नपाएको बताइन्। प्रतीक्षाका दाइ फुटबल प्रशिक्षक थिए।
अञ्जनाले घरमा भनेर साथीका दाइ प्रशिक्षक रहेको 'स्पोर्ट स्कुल फुटबल एकेडेमी (एसएसएफए)' मा भर्ना गरिदिन आग्रह गरिन्। बुबाले भर्ना गरिदिए।
सुधीर गुरूङ लगायतको प्रशिक्षण सुरू भएपछि अञ्जनाले स्कुलमा छात्रा टिम बनाउने प्रयास गरिन्। उनी नजिकिँदै गरेको स्पोर्ट्स डेमै छात्राको टिम बनाउन चाहन्थिन्। सफल भने भइनन्। त्यसैले उनी छात्र टिममै मिसिएर खेल्थिन्।
'केटाहरूको टिममा मिसिएर एक्ली केटी खेल्ने कुरा गर्दा मैदान बाहिर अली अप्ठ्यारो लाग्थ्यो,' उनले भनिन्, 'मैदानभित्र पसेपछि त आफै जोस बढेर आउँथ्यो।'
अञ्जना 'पावर गेम' खेल्न खोज्थिन्। प्रशिक्षण लिँदै जाँदा जितका लागि टिमले 'नलेज गेम' खेल्न जरूरी भएको थाहा पाइन्।
उनले सन् २०२२ मा अन्डर–१५ साफ फुटबल प्रतियोगिता खेलिन्। त्यस बेला नेपालले ऐतिहासिक रूपमा स्वर्ण पदक जितेको थियो। टिममा 'एसएसएफए' का खेलाडी राधिका वली र अञ्जना पनि थिए।
अञ्जना सेन्टर डिफेन्समा खेल्छिन्, राधिका किपर हुन्।
अञ्जनाले सन् २०२३ मा नेपाली टिमबाट बंगलादेशमा अन्डर–१७ साफ गेम खेलिन्। नेपाली महिला टिम चौथो भयो। सोही वर्ष अन्डर–१७ समूहबाटै एफसी खेल्न जोर्डन गइन्। इरानसँग नेपाली टिम ०–१ ले पराजित भयो, क्वालिफायर हुन सकेन।
अञ्जनाले सन् २०२४ मा काठमाडौंको सातदोबाटोमा कर्णाली प्रदेशबाट महिला लिग फुटबल खेलिन्। स्याङ्जाको वालिङ टिममा उनकी साथी राधिका पनि थिइन्। उक्त प्रतियोगितामा एसएसएफएका चार खेलाडीमध्ये ममता पुनले संकटाबाट र दीपा पुनले बागमतीबाट खेलेका थिए। उनीहरू दुवै जना फर्वार्ड खेल्छन्।
यसै वर्ष दाङको बेलुझुण्डी रंगशालामा तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको उपमेयर प्रथम महिला लुम्बिनी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि एसएसएफए टिमले जित्यो।
'आफूले प्रशिक्षण लिएको क्लबलाई प्रदेशको उपाधि दिलाउन पाउँदा धेरै नै खुसी लाग्यो,' उनले भनिन्।
अञ्जना निरन्तर खेल अभ्यास गर्छिन्। हाल उनी तुलसीपुरस्थित गोरखा उच्च माविमा बिबिएस तेस्रो वर्षमा पढ्दै छिन्। उनका बुबा धनबहादुर पुन घर निर्माणमा काम गर्छन्। आमा मिना गृहिणी हुन्। जेठी दिदी प्रकृति रोजगारीका लागि साइप्रसमा छिन्। साइँली बहिनी आकृति कक्षा ११ मा र कान्छी बहिनी कक्षा ९ मा पढ्दै छन्।
अञ्जनाले अन्डर– १५ साफ विजेता भएर प्राप्त गरेको प्रमाणपत्र र पदक उनकी दिदी प्रकृतिले विशेष चिनोका रूपमा घरमा सजाएर राखेकी छन्। अञ्जनाले फुटबल खेलमा आमाबुबा र दिदीबहिनी सबैबाट हौसला पाएकी छन्। उनी अन्डर–१५ विजेता भएपछि बुबाले आफन्तजनहरू र प्रशिक्षकलाई घरमा बोलाएर भोज दिएका थिए।
'नेपाल सरकारले विजेता खेलाडीलाई जनही ५८ हजार रूपैयाँ पुरस्कार दिएको थियो। थप पाँच लाख रूपैयाँ दिने घोषणा भए पनि हालसम्म पाएको छैन,' उनले भनिन्।
अञ्जनाले चार वर्षअघि र गत वर्ष एन्फा (अखिल नेपाल फुटबल संघ) बाट रेफ्री कोर्स गरेकी छन्। हाले उनले एन्फाबाट रेफ्रीको 'क्याटगोरी सी' लाइसेन्स पाएकी छन्।
'रेफ्री भएपछि गेम खेल्न छोड्नुपर्छ। अझै म केही वर्ष गेम खेल्छु अनि मात्र रेफ्री बन्छु,' उनले भनिन्।
अञ्जनाले खेलालाई आफू, आफ्नो गाँउ–ठाँउ र आफ्नो देश चिनाउने मुख्य माध्यम मानेकी छन्। खेलाडी राम्रो हुन प्रतियोगिताहरू भइरहनुपर्ने, खेलाडीले खेल्ने अवसर पाइरहनुपर्ने उनी बताउँछिन्।
'हाम्रो ठाउँमा फुटबल वर्षमा एक–दुई पटक मात्रै हुन्छ। त्यस बेला दसैंतिहार आए जस्तै लाग्छ,' उनले भनिन्, 'स्थानीय स्तरमा प्रतियोगिता भइरहँदा मात्र खेलाडी आउँछन्। जति धेरै प्रतियोगिता हुन्छ, खेलाडी माझिने अवसर उति नै हुन्छ। खेलाडी उत्कृष्ट हुन्छ।'
अञ्जना नेपाली राष्ट्रिय महिला फुटबल टिमका गोल किपर एन्जिला सुब्बा र स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) बाट प्रभावित छिन्। उनलाई एन्जिलाको नेतृत्व, खेलाडीमा जगाउने उत्साह र साम्बाको आत्मविश्वास खुब मनपर्छ।
अञ्जनालाई भविष्यमा राष्ट्रिय टिमबाट खेल्ने धोको छ। तर त्यस्तो अवसरबाट वञ्चित हुन्छु कि चन्ता पनि छ। यस्तो चिन्ताको खास कारण हो उनको कम उचाइ।
'अन्डर–१९ को एउटा खेलमा मेरो उचाइ पुगेन भनियो, खेल्न पाइनँ,' उनले भनिन्, 'त्यो खेलमा मलाई फर्वार्ड वा मिड–फिल्डमा खेल्न भनिएको थियो। तर सेन्टर डिफेन्डरका रूपमा खेल्दै आएकाले अरू ठाउँमा खेल्दिनँ भनेँ। म छनोटमै परिनँ।'
फुटबलमा उपयुक्त उचाइले सहज हुने भए पनि तन्दुरूस्ती, भौतिक र मानसिक क्षमता भए असर गर्दैन भन्ने उनको विश्वास छ।
'सेन्टर डिफेन्डर भएर मैदानमा उत्रिँदा शतप्रतिशत प्रयास गर्छु। अरू खेलाडीमा पनि हौसला जगाउँछु,' उनले भनिन्, 'सेन्टर डिफेन्डर हरक्षण साइड डिफेन्डरहरू र गोलकिपरसँग इसारामार्फत सम्पर्क गरिरहनुपर्छ।'
कहिलेकाहीँ इसारा नबुझेर साइड डिफेन्डरहरू विपक्षीको बल खोस्न गइदिँदैन्। त्यस्तो बेला गोलपोस्ट खाली हुन्छ र गोल खाने सम्भावना बढी हुन्छ। यस्तो स्थितिमा सबभन्दा बढी दबाब सेन्टर डिफेन्डरलाई हुन्छ। सेन्टर डिफेन्डरबाट खेल सन्तुलनमा राख्न र दबाब झेल्न आफू अभ्यस्त रहेको उनको भनाइ छ।
फुटबलमा गोल आफ्नो पक्षमा पार्ने कौशल पनि चाहिन्छ।
'खेलमा एउटा जोस हुन्छ। आफ्नो टिमलाई जिताउने लक्ष्यका साथ खेलिन्छ,' अञ्जनाले भनिन्, 'देशका लागि खेल्दा त झन् बढी जोस हुन्छ। खेल जित्नुपर्छ भन्ने हौसला हुन्छ। जितका लागि नलेज गेम खेल्न सक्नुपर्छ।
अञ्जना क्लबहरूबाट खेलिरहन्छिन्। एउटा असल खेलाडीका लागि स्थानीय, जिल्ला वा क्षेत्रीय जुन तहको प्रतियोगिता भए पनि खेल्न पाउनु नै ठूलो अवसर हो भन्ने उनलाई लाग्छ।
कतिपय साथीहरू अञ्जनालाई फुटबल खेलेर के पाइन्छ भनेर प्रश्न गर्छन्। केही पाउनु वा नपाउनु भन्दा पनि आफ्नो रूचि ठूलो हो भन्ने उनलाई लाग्छ। प्रतियोगिता जुन स्तरको भए पनि खेल्नु र विजयी हुनु नै केही पाउनु हो भन्ने उनको मान्यता छ।
उनी भन्छिन्, 'म फुटबलमै जीवन समर्पित गर्न चाहन्छु। तन्दुरूस्ती र शक्तिले साथ दिएसम्म खेल्छु। त्यसपछि रेफ्रीको भूमिकामा जाने सोच छ।'