प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने भारत भ्रमणमा छन्।
बिहीबार हैदरावाद हाउसमा प्रतिनिधि मण्डलसहितको द्विपक्षीय वार्तापछि प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले सम्बोधन गरेका थिए। नेपाल र भारतबीचमा ऊर्जा, पारवहनलगायत विषयमा सम्झौता समेत भएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्डको भ्रमण उपलब्धीमूलक भएको दाबी गरिरहेका बेला नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई भने दरिद्र नबन्न सुझाइरहेका छन्।
ट्विटरमार्फत् उनले 'आङ कन्याएर छारो नउडाउन' सुझाएका हुन्।
‘कूटनीति, राजनीति, व्यापार र युद्धको नियम एउटै हो। आफूसँग जति शक्ति/मूल्य छ त्यही अनुपातमा अरूबाट पाउने हो। माग्दैमा कसैले कसैलाई केही दिने हैन। गरिब बाबुआमाका छोराछोरीले धनी छिमेकीको घरमा जाँदा केही चिची/पापा मागेर ल्याइदिन्छन् कि भने जस्तो दरिद्र मानसिकता त्यागौं,’ उनले ट्विट गरेका छन्, ‘पहिले आफ्नो घर एकताबद्ध र बलियो बनाऊँ। इख लिएर आफैं मेहनत गरेर धनी/शक्तिशाली बनौं। अनि इज्जत पाइन्छ। रोइकराइ नगरौं। आफ्नै आङ कन्याएर छारो नउडाऊँ। जोरी नहसाऊँ। धैर्य गरौं।’
सम्बोधनका क्रममा दुवै देशका प्रधानमन्त्रीले सीमा समस्याबारे छलफल भएको र समाधान गर्न भारत सकारात्मक रहेको बताएका थिए।
प्रधानमन्त्री प्रचण्ड र भारतका राष्ट्रपति र उपराष्ट्रपतिबीच आजै भेटवार्ता हुँदैछ। प्रचण्ड भोलि इन्दोर जानेछन्। उनी शनिबार अपराह्न स्वदेश फर्कने कार्यसूची रहेको छ।