कोशी प्रदेश सरकारबारे छलफल गर्न प्रदेशको सत्ता साझेदार नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरू भएको छ।
दुई घन्टा अघि मात्रै सांसदहरूलाई खबर गरेर सुरू भएको बैठकले एमाले नेतृत्वमा रहेको सरकार छाड्ने निर्णय गर्ने सम्भावना रहेको सांसदहरूले बताएका छन्।
तर, संसदीय दलका नेता इन्द्र आङ्बोले भने त्यसबारे कुनै कुरा नहुने, संसदमा पेश गर्ने संशोधनबारे छलफल हुने बताएका छन्।
‘अहिलेसम्म त्यस्तो कुरा केही भएको छैन’, उनले भने।
केन्द्रको सत्ता गठबन्धन अनुसार माओवादीलाई प्रदेश सरकार छाड्न तीव्र दबाब छ। यसअघि नै जसपाले छाडिसकेको छ।
माओवादीले पनि सरकार छाडे हिक्मत कार्की नेतृत्वको सरकार अल्पमतमा पर्नेछ।
सभामुखसहित १३ सिट रहेको माओवादीले सरकार छाडे मुख्यमन्त्रीको साथमा एमाले ४० र राप्रपा ६ जना मात्रै बाँकी रहने छन्। प्रदेश सभामा बहुमत पुग्न ४७ मत आवश्यक पर्छ।