वैशाख लागेयता बैंकहरूको कर्जा लगानी घटेको छ।
चैत अन्त्यमा ४३ खर्ब ९ अर्ब रूपैयाँ बराबरको कर्जा लगानी गरेका वाणिज्य बैंकहरूको वैशाख १५ गतेसम्ममा कर्जा लगानी मात्रै ४२ खर्ब ९५ अर्ब रूपैयाँमा सीमित भएको छ।
परिपक्व भएको कर्जा घटेको र सोही दरमा नयाँ कर्जा जारी नभएको कारण यो १६ दिनको अन्तरालमै १४ अर्ब रूपैयाँ बराबरको कर्जा घटेको हो।
बैंकहरूको नयाँ कर्जा नबढ्नुका कारणहरू फेरिएका छैन। मुख्य पाँच कारणले नै बैंकहरूबाट कर्जा लगानी वृद्धि हुन सकेको छैन। निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याजदरमा पनि घट्ने अनुमान विपरीत यसमा खासै परिवर्तन देखिएको छैन।
यही कारण कर्जाको माग बढेको छैन। अर्थतन्त्र मन्दी उन्मुख रहेको कारण पनि उद्योगी र व्यवसायीहरूले पैसा लिएर नयाँ योजना अघि बढाउने सोच हाललाई थाँती राखेका छन्।
'कर्जाको मागमा खासै सुधार आएको छैन्, आर्थिक वर्ष अन्त्य हुनै लागेकोले अब कर्जा खासै बढ्ने अवस्था देखिदैन,' नेपाल बैंकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले भने।
शर्माका अनुसार चालु पुँजी कर्जामा गरिएको कडाईसँगै व्यवसायीहरू दबाबमा रहनु, कतिपय बैंकहरूको जोखिम भारित सम्पत्तिको आधारमा पुँजी कोष अनुपात तोकिएको सीमामा रहेको कारण बैंकहरूले कर्जा लगानीमा जोड दिन सकेका छैनन्। खराब कर्जामा वृद्धि भइरहेकै कारण बैंकहरूले जोखिम प्रावधान बढाउनु पर्ने भएको छ।
बैंकहरूले जारी गरेको ऋणपत्रको रकम हाल प्राथमिक पुँजी र कर्जा निक्षेप अनुपात दुवैतर्फ गणना गरिरहेका छन्। २०८० असारमसान्तपछि एकातर्फ मात्रै ऋणपत्रलाई गणना गर्न पर्ने व्यवस्था गरेको छ। यसले पनि बैंकहरूको हालको कर्जा लगानी क्षमतामा केही कमी आउँछ।
राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० मा निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा १२.६ प्रतिशतले बढ्ने लक्ष्य राखेको थियो। राष्ट्र बैंकको गत फागुनको तथ्यांक अनुसारमा यो मात्रै ४.५५ प्रतिशतले वृद्धि भएको छ।
गत असारमा ४६ खर्ब ८८ अर्ब कर्जा लगानी भएकोमा फागुनमा ४९ खर्ब २ अर्ब रूपैयाँ पुगेको छ।
ब्याजदर घटेसँगै बैंकहरूको निक्षेप संकलन समेत यो अविधमा २० अर्ब रूपैयाँले घटेको छ।
चैतमा करबापतको रकम बैंकिङ प्रणालीबाट बाहिरीएको भएपनि सरकारले खर्च गर्न नसक्दा यो रकम फर्किन नसकेको हो।
चैत अन्त्यमा ४८ खर्ब २८ अर्ब रहेको निक्षेप घटेर ४८ खर्ब ८ अर्ब रूपैयाँमा सीमित भएको छ।