कम्पनीहरूले हरेक आर्थिक वर्ष समाप्त भएको केही महिनापछि लाभांश दिन थाल्छन्।
अहिले पनि अधिकांश कम्पनीहरूले लाभांश घोषणा गरिसकेका छन्। लाभांशमा कतिपयले बोनस र नगद दुवै मिलाएर दिन्छन् भने कतिपयले या त बोनस मात्रै या नगद लाभांश मात्रै पनि दिन्छन्।
यस्तो किन हुन्छ?
कम्पनीहरूले कस्तो लाभांश कति दिने कसरी निर्णय गरिरहेका हुन्छन् त?
त्यसभन्दा पहिले बुझौं, बोनस सेयर र नगद लाभांश दिँदा के हुन्छ?
बोनस सेयर दिँदा कम्पनीले सेयरधनीलाई नगद नदिई थप सेयर दिन्छ। यसले सेयरधनीसँग भएको सेयर संख्या बढ्छ।
सेयर समायोजन हुने भएकाले तत्कालै यसबाट लाभ नहुन पनि सक्छ। तर कालन्तरमा मूल्य बढ्दै जाँदा बढेको सेयर संख्याले धेरै लाभ हुन सक्ने अवस्था बन्छ।
बोनस सेयर दिँदा कम्पनीको नगद बाहिरिँदैन।
यस्तो पैसा कम्पनीहरूले ऋण तिर्न, नयाँ आयोजना बनाउन प्रयोग गर्न सक्छन्। भइरहेको व्यवसाय विस्तार गर्न वा नयाँ क्षेत्रमा लगानी गर्न समेत यस्तो पुँजी प्रयोग हुन सक्छ।
यो राम्रो पनि हो। तर सेयर मूल्य उचाइमा राख्न मात्रै बोनस सेयरमा जोड दिने कम्पनी कालान्तरमा पुँजीको भारीले थलिने अवस्थामा पुग्छन्।
पुँजी बढे अनुसार व्यवसाय विस्तार भएन र नाफाको वृद्धिदर सोही अनुपातमा भएन भने पहिले दिएकै दरमा लाभांश दिन कम्पनीहरूलाई हम्मे पर्न सक्छ।
आफ्नो चुक्ता पुँजी बढाउनुछ भने पनि कम्पनीहरू बोनस सेयरमा जोड दिन्छन्।
नेपालकै उदाहरण हेर्ने हो भने गत वर्षसम्म धेरैजसो जीवन बीमा कम्पनीहरूले बोनस सेयरमा जोड दिइरहेका थिए।
बीमा प्राधिकरणले कम्पनीहरूको चुक्ता पुँजी न्यूनतम ५० करोड रूपैयाँ हुनुपर्ने व्यवस्था गरेसँगै कम्पनीहरूले यति पुँजी पुर्याउन नाफा रकमबाट बोनस सेयर नै दिन जोड गर्दै आएका थिए।
अहिले सबैजसो जीवन बीमा कम्पनीको तोके अनुसार चुक्ता पुँजी पुगिसकेको छ। त्यसैले चुक्ता पुँजी वृद्धि भएसँगै उनीहरूको जोड नगद लाभांशमा हुन थालेको छ।
नगद लाभांश दिँदा कम्पनीले सेयरधनीलाई सिधै पैसा दिन्छ, लगानीकर्ताको सेयर संख्या बढ्दैन। ऋण तिर्नुनपर्ने, नयाँ आयोजना वा क्षेत्रमा लगानी गर्न नपर्ने संस्थाहरूले पनि नगद लाभांशमा जोड दिन्छन्।
वैदेशिक लगानीकर्ता भएका संस्थाहरूले पनि नगद लाभांशमै जोड दिएको पाइन्छ। यसो गर्दा त्यस्ता वैदेशिक लगानीकर्ताहरूले नगदै रकम आफ्नो मुलुक लैजान पाउँछन्।
सेयरको रूपमा लाभांश दिँदा सेयर बिक्रीकर्ता खोज्नुपर्ने, त्यसरी हुने आम्दानी लैजान अनुमति माग्नुपर्ने व्यवस्था भएकाले पनि यसमा झन्झट मान्छन्।
नेपाली बजारमा भने अधिकांश लगानीकर्ता बोनस सेयरमा जोड दिन्छन्। यसले सेयर कित्ता बढ्ने र कालान्तरमा बजार बढ्दै जाँदा यस्ता कम्पनीको पनि मूल्य बढेर राम्रो लाभ हुने बुझाइ उनीहरूमा छ।
नेपाली बजारमा अपवाद पनि छ। अहिले बजारकै सबभन्दा महँगो सेयर मूल्य (प्रतिकित्ता ४७ हजार रूपैयाँ) भएको युनिलिभर यसको उदाहरण हो। कम्पनीले वर्षौंदेखि नगद लाभांशमा मात्रै जोड गर्दै आएको छ।
त्यसैले समग्रमा कम्पनीले बोनस सेयर र नगद लाभांश दुवै दिन्छ भने अझै राम्रो हो। सेयरधनीले थप सेयर पाउँछ, नगद पनि पाउँछ।
हुन त कम्पनीहरूले हरेक वर्ष लाभांश बाँड्नैपर्छ भन्ने छैन। जुन कम्पनीले हरेक वर्ष लाभांश दिँदा सञ्चिति ह्रास हुन्छ, त्यस्ताले आफ्नो सञ्चिति दरिलो बनाउन केही वर्ष लाभांश रोक्न सक्नुपर्छ। यसले नै संस्थालाई दीर्घकालीन रूपमा बलियो बनाएर लैजान्छ।
नेपालमा कतिपय यस्ता कम्पनी पनि छन्, जुन सूचीकृत भएको दुई दशक पुग्दा एक पटक मात्रै लाभांश दिन सक्षम भए। यस्ता कम्पनीको कोष पनि कमजोर नै छ।
त्यस्ता कम्पनी राम्रा होइनन्।
त्यसैले लगानीकर्ताले कम्पनी छान्दा गर्दा यी पक्ष पनि ध्यान दिनुपर्छ।