PLAYERS TO WATCH
इङ्ल्यान्डको प्रिमियर लिगमा ६ फिट ५ इन्च अग्ला एक युवा खेलाडी आफ्नो लामो र पहेँलो कपाल हल्लाउँदै मैदानमा आँधीजस्तै कुद्छन्।
विपक्षी डिफेन्डरहरू उनलाई समात्न हरसम्भव प्रयास गर्छन्। तर ती युवा खेलाडी डिफेन्डरहरूको पर्खाललाई कागजको घरझैं ढालेर अगाडि बढ्छन्।
वरपरबाट विपक्षी टिमका अरू खेलाडी पनि उनलाई घेर्न आइपुग्छन्।
तर न उनी आफ्नो धैर्य गुमाउँछन्, न विचलित हुन्छन्।
उनी आफ्नो गोडामा परेको बल लिएर सिधा गोलपोस्टतिर बढ्छन् र जाली चुम्ने गरी प्रहार गर्छन्।
आफ्नो यही आँधीको गति र चट्टानझैं मजबुत शक्तिका कारण लोकप्रिय यी युवा खेलाडी हुन् — अर्लिङ हालान्ड।
विश्वकप २०२६ को यो शृंखलामा हामीले यसअघि चर्चा गरेका दुई खेलाडी लमिन यमाल र लियोनेल मेसी मैदानमा जादू देखाउने खेलाडी हुन्, जसको खेल कौशलले हाम्रो आँखालाई आनन्द दिन्छ। तर फुटबल भनेको सधैं कला मात्र होइन, कहिलेकाहीँ यो एउटा लडाइँमा परिणत हुन्छ, जहाँ खेलाडीको कला मात्र होइन, असीमित शक्ति र गोल गर्ने अचम्मको भोक पनि चाहिन्छ।
नर्वेका २५ वर्षीय युवा स्ट्राइकर अर्लिङ हालान्ड यी दुवै गुणले भरिएका छन्।
अहिलेको समय विश्वकै नम्बर एक स्ट्राइकरको सूचीमा पर्ने भए पनि आफ्नो देश सानो भएकै कारण उनले लामो समय विश्वकपको मञ्च गुमाए।
वर्षौंको पर्खाइ र छनोट चरणको कडा मिहिनेतपछि संसारभरका फुटबलप्रेमी विश्वकप २०२६ मा यी 'नर्वेली स्टार' को जादू हेर्न आतुर छन्।
त्यसो त फुटबलको नक्सामा नर्वे कुनै महाशक्ति राष्ट्र होइन। यसअघि नर्वेले तीन पटक मात्र विश्वकप खेल्न पाएको थियो — सन् १९३८, १९९४ र १९९८ मा।
यसमध्ये नर्वेली फुटबलको सबभन्दा सुनौलो क्षण सन् १९९८ को फ्रान्स विश्वकप हो। त्यति बेला समूह चरणको अन्तिम खेलमा ब्राजिल जस्तो शक्तिशाली टिमलाई २–१ ले हराएर नर्वेले संसारलाई स्तब्ध पार्दै 'राउन्ड अफ १६' (नकआउट चरण) सम्मको यात्रा तय गरेको थियो। तर नकआउटमा उसलाई बलियो इटालीले १–० ले हराएर घर फर्काइदियो।
त्यसपछि सुरू भयो नर्वेली फुटबलको एउटा लामो र निराशाजनक खडेरी।
सन् १९९८ पछि नर्वेले लामो समयसम्म न कुनै विश्वकप देख्न पायो, न युरोकप। झन्डै तीन दशकसम्म नर्वे विश्व फुटबल मञ्चहरूबाट ओझेल जस्तै भयो।
आज मैदानमा कुदिरहेका हालान्ड त्यति बेला जन्मिएकासम्म थिएनन्।
यसपालि ठिक २८ वर्षपछि नर्वेले यो लामो खडेरी तोड्दै विश्व फुटबलको ठूलो मञ्चमा शानदार कमब्याक गरेको छ, जसका मुख्य नायक उनै हालान्ड हुन्।
यसपालि विश्वकपमा नर्वे टिमले बललाई धेरै समय आफ्नै कब्जामा राखेर खेल्नेभन्दा 'काउन्टर–अट्याक' (विपक्षी खेलाडीले आक्रमणका क्रममा कुनै गल्ती गर्नेबित्तिकै द्रुत गतिमा प्रत्याक्रमण गर्ने) को रणनीति अपनाउने खेल समीक्षकहरूको अनुमान छ।
यस्तोमा आर्सनलका कप्तान मार्टिन ओडेगार्डले मिडफिल्डबाट निकाल्ने पासलाई हालान्डले आफ्नो गति र शक्तिका भरमा गोलमा परिणत गर्नेछन् भन्ने धेरैको आकलन छ।
हालान्डको एउटा विशिष्ट शैली छ। उनी दौडिँदा आफ्नो ६ फिट ५ इन्च अग्लो शरीरलाई अगाडितर्फ ४५ डिग्रीको कोणमा झुकाउँछन्। यसले उनको गति ३६ किमी प्रतिघन्टासम्म पुग्छ।
विपक्षी डिफेन्डरहरूका लागि यो गति रोक्नु गुडिरहेको गाडीलाई हातले समात्नु जस्तै गाह्रो हुने खेल विश्लेषकहरू बताउँछन्।
हालान्डको जन्म इङ्ल्यान्डको लिड्स सहरमा भएको थियो। उनी हुर्किएको भने नर्वेको एउटा सानो र शान्त सहर 'ब्रिन' मा हो।
उनका बुबा अल्फी हालान्ड इङ्ल्यान्डको प्रिमियर लिगमा म्यानचेस्टर सिटी र लिड्स युनाइटेडबाट खेल्ने नामुद डिफेन्डर थिए। उनकी आमा ग्राई मारिटा ब्राउट पनि नर्वेको राष्ट्रिय च्याम्पियन एथलिट थिइन्। यस हिसाबले अर्लिङ हालान्डको रगतमै फुटबल थियो भन्दा फरक पर्दैन।
उनी सानो छँदा फुटबल मात्र खेल्दैनथे। आमाबुबाको एथलेटिक डिएनएका कारण उनी ह्यान्डबल, गल्फ र दौडमा पनि उस्तै तगडा थिए।
अचम्मको कुरा के छ भने, ५ वर्षको उमेरमा हालान्डले 'स्ट्यान्डिङ लङ जम्प' (एकै ठाउँबाट अगाडि फाल हाल्ने) मा १.६३ मिटरको विश्व कीर्तिमान बनाएका थिए। यो रेकर्ड उनको उमेर समूहमा आजसम्म कसैले तोड्न सकेको छैन।
थुप्रै खेलमा आफ्नो प्रभाव जमाएका भए पनि उनको पहिलो र अन्तिम प्रेम भने फुटबल नै थियो।
उनले १६ वर्ष उमेरमा ब्रिन क्लबको सिनियर टिममा डेब्यू गरेका थिए। त्यति बेला निकै होचा र पातला ज्यानका हालान्डसँग सीप त थियो, तर विपक्षी डिफेन्डरहरूले उनलाई एउटै ट्याकलमा भुइँमा लडाइदिन्थे।
जब उनी नर्वेको 'मोल्डे' क्लबमा पुगे, त्यहाँका प्रशिक्षक र म्यानचेस्टर युनाइटेडका लिजेन्ड ओले गनर सोल्स्यारले हालान्डलाई बक्सभित्र कसरी बस्ने र कसरी पक्का स्ट्राइकर बन्ने भनेर सिकाए।
त्यही बेला नियतिले उनको शरीरमा एउटा जादूमयी परिवर्तन ल्याइदियो।
मात्र दुई वर्षको अन्तरालमा उनको उचाइ अनपेक्षित रूपमा ह्वात्तै बढ्यो। अचानक शरीर बदलिँदा सुरूमा उनलाई हड्डी र मांसपेसी दुख्ने ठूलो समस्या पनि भयो, जसका कारण उनले आफ्नो दौडिने शैली मिलाउन निकै संघर्ष गर्नुपर्यो।
यति हुँदाहुँदै हालान्डले हरेस खाएनन्।
क्लबको जिमखानामा घन्टौं बिताएर उनले आफ्नो भीमकाय शरीरलाई एउटा आधुनिक हतियार जस्तै बलियो बनाए। दुब्लो–पातलो केटोबाट उनी एकाएक बलिष्ठ खेलाडी बनेर निस्किए।
हालान्ड म्यानचेस्टर सिटी जानु र उनले प्रिमियर लिगका डिफेन्डरहरूलाई दबाबमा राख्न सफल हुनुका पछाडि एउटा ऐतिहासिक पारिवारिक कथा पनि लुकेको छ।
सन् २००१ मा हालान्डका बुबा अल्फी म्यानचेस्टर सिटीबाटै खेल्थे। त्यति बेला म्यानचेस्टर युनाइटेडका कप्तान रोय किनसँग उनको मैदानमा ठूलो रिसिइबी थियो।
एउटा डर्बी म्याचमा रोय किनले अल्फीको घुँडामा नियतवश यति कडा ट्याकल गरे, त्यो चोटका कारण हालान्डका बुबाको खेल जीवन नै संकटमा पर्यो।
उक्त घटनाको सुरूआत त्यसको चार वर्षअघि अल्फी लिड्सबाट खेल्दा भएको थियो। त्यति बेला आफूलाई ट्याकल हान्न खोज्दा लडेका किनको छेउमा उभिएर अल्फीले उनलाई नाटक गरेको आरोप लगाएका थिए। उक्त चोटका कारण किन लगभग एक वर्ष मैदान बाहिर रहनुपरेको थियो।
त्यो कुरा किनले बिर्सेका थिएनन्।
चार वर्षपछि सिटीबाट खेल्न थालेका किनले नियतवश अल्फीलाई ट्याकल हानेर घाइते बनाए।
त्यो घटनापछि नै अल्फीले फुटबलबाट संन्यास लिनुपर्यो।

बाल्यकालदेखि नै बुबाको त्यो पीडा र करिअर खोसिएको कथा सुनेर हुर्किएका हालान्ड आज त्यही म्यानचेस्टर सहरमा आएर बुबाकै पुरानो टिमको जर्सी लगाएर प्रिमियर लिगमा तहल्का मच्चाइरहेका छन्।
धेरै विश्लेषकहरू ठट्टा गर्दै भन्छन्, 'मैदानमा हालान्डको आक्रामक खेल वास्तवमा आफ्ना बुबाको करिअर समाप्त पारिदिने प्रिमियर लिगविरूद्ध एउटा मीठो पारिवारिक बदला हो।'
हालान्डको करिअर केही रोमाञ्चक खेलहरूले भरिएको छ, जसलाई सुन्दा जोकसैलाई अचम्म लाग्न सक्छ।
उनले एकै खेलमा ९ गोल गरेर कीर्तिमान राखेका छन्। सन् २०१९ को फिफा यू–२० विश्वकपमा नर्वेले होन्डुरसको सामना गरिरहेको थियो। त्यो खेलमा नर्वे १२–० को विशाल अन्तरले विजयी भयो, जसमा हालान्ड एक्लैले ९ गोल गरेर विश्व कीर्तिमान बनाएका थिए।
उनका डेब्यूहरू पनि चमत्कारी छन्।
सन् २०१९ मा आरबी साल्ज्वर्गबाट युइएफए च्याम्पियन्स लिगको डेब्यू खेलमै उनले पहिलो हाफभित्रै ह्याट्रिक पूरा गरे। पछि जर्मनीको बोरूसिया डर्टमन्ड जाँदा पनि उनले मैदान छिरेको २० मिनेटभित्रै शानदार ह्याट्रिक गर्दै सबैलाई चकित पारेका थिए।
यति मात्र होइन, हालान्डले म्यानचेस्टर सिटीमा रेकर्डहरूको सुनामी ल्याइदिएका छन्।
सन् २०२२ मा म्यानचेस्टर सिटी आएका हालान्डले प्रिमियर लिगको आफ्नो पहिलो सिजनमै ३६ गोल गरेर इतिहासकै सबभन्दा बढी गोल गर्ने दशकौं पुरानो रेकर्ड ध्वस्त पारिदिए।
उनले म्यानचेस्टर सिटीलाई पहिलो वर्षमै प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिगसहित 'ट्रेबल' जिताए।
यस्ता शानदार रेकर्ड र रोमाञ्चक खेलका कारण विश्वका ठूला र प्रतिष्ठित सञ्चार माध्यमहरूले हालान्डलाई वर्णन गर्न अनौठा शब्दहरू प्रयोग गर्ने गरेका छन्।
अमेरिकी राष्ट्रिय म्यागाजिन 'टाइम' ले एउटा फिचर स्टोरीमा लेखेको थियो, 'हालान्ड हेर्दा दुरूस्तै 'थोर' (नर्वेली पौराणिक देवता) जस्ता देखिन्छन्। गोल गरिसकेपछि भने जमिनमा पलेँटी कसेर ध्यान गरिरहेका भेटिन्छन्।'
त्यस्तै, ब्रिटिस मिडिया 'स्काई स्पोर्टस्' का विश्लेषक ग्यारी नेभिलले हालान्डको गतिको तारिफ गर्दै भनेका थिए, 'यो केटो अविश्वसनीय छ। उनीसँग ह्यारी केनको जस्तो फिनिसिङ छ र वेन रूनीको जस्तो तागत छ। जब उनी मैदानमा कुद्छन्, मलाई ब्राजिलियन रोनाल्डोको विस्फोटक गतिको याद आउँछ।'
अन्तर्राष्ट्रिय खेल पत्रकारहरूले उनलाई 'गोल गर्ने मेसिन' वा 'द नर्डिक मन्स्टर' को उपमा पनि दिएका छन्।
अन्तर्राष्ट्रिय रूपमा प्राप्त यस्ता उपमाले हालान्डको आक्रमक शैली झल्काउँछ।

मैदानमा जति आक्रामक देखिए पनि व्यक्तिगत जीवनमा हालान्ड निकै रमाइला र कतिपय मामिलामा अलि फरक स्वभावका छन्।
हालान्डले एउटा अन्तर्वार्तामा आफ्नो बेडरूमको गोप्य कुरा खोलेका थिए। उनले भनेका थिए, 'म जब–जब ह्याट्रिक गर्छु, त्यो खेलको बल घर लिएर आउँछु। म ती बललाई ओछ्यानमा राखेर सँगै सुत्छु। यसले मलाई राति आनन्दको निद्रा दिन्छ।'
उनले म्यानचेस्टर सिटीमा लगातार गोल गर्नुको रहस्य पनि खुलाएका छन्।
उनले एक कार्यक्रममा ठट्टा गर्दै भनेका थिए, 'हरेक घरेलु खेल खेल्नुभन्दा अघिल्लो रात बुबाले मेरो लागि विशेष 'लाजान्या' (इटालियन परिकार) पकाइदिनुहुन्छ। मलाई लाग्छ, ममा यो गोल गर्ने शक्ति त्यही लाजान्याबाट आउँछ।'
हालान्डले विश्व फुटबलका अर्का स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको डाइट पनि अनुसरण गरेका छन्।
सन् २०१९ मा हालान्डले रोनाल्डोको फिटनेस र डाइटबारे थाहा पाएपछि दुरूस्तै त्यस्तै खाना (माछा, कुखुराको मासु र नुन–तेल नहालेको उसिनेको खाना) खान थालेका हुन्।
उनी दिनमा झन्डै ६ हजार क्यालोरी खाना खान्छन्, जसमा गाई र भेडाको कलेजो र मुटु जस्ता परिकार समावेश हुन्छन्।
हालान्डमा फुटबल कला मात्र होइन, एउटा लुकेको प्रतिभा पनि छ। उनले १६–१७ वर्ष उमेरमा आफ्ना साथीहरूसँग मिलेर 'फ्लो किङ्ज' नामको एउटा र्याप ब्यान्ड खोलेका थिए। उनीहरूले युट्युबमा एउटा म्युजिक भिडिओ पनि हालेका थिए, जुन अहिले निकै भाइरल छ।
उनी व्यक्तिगत जीवनमा प्रकृति प्रेमी खेलाडीका रूपमा चिनिन्छन्।
आफ्ना साथीहरू र स्टाफलाई करोडौंका रोलेक्स घडी उपहार दिने हालान्ड छुट्टी पाउनेबित्तिकै नर्वेको आफ्नो गाउँ ब्रिन पुग्छन्।
त्यहाँ उनी जंगलमा बन्चरो बोकेर दाउरा काटिरहेका वा ट्र्याक्टर चलाएर खेत जोतिरहेका भेटिन्छन्।
मेसी र रोनाल्डोको युग ओझलमा पर्दै गर्दा अबको फुटबल साम्राज्य कसको हातमा जान्छ भन्ने लडाइँमा हालान्ड यसपालि विश्वकप मञ्चमा फ्रान्सका एम्बाप्पे जस्ता स्टारहरूसँग भिड्दै छन्।
नेपाली खेलप्रेमी मात्र होइन, संसारभरका फ्यानहरू यी ६ फिट ५ इन्चका स्ट्राइकरको बुलेटजस्तो सट र गोलको जादू हेर्न टेलिभिजन स्क्रिनमा आँखा गाडेर बस्ने छन्।
***
यी पनि पढ्नुहोस्: