सत्या तिमिल्सिना भट्टराई बेलायतको लन्डनस्थित भिक्टोरिया केयर सेन्टरमा जनरल म्यानेजरका रूपमा कार्यरत छिन्।
यो एक विशेषज्ञ नर्सिङ होम हो, जहाँ गम्भीर र दीर्घकालीन स्वास्थ्य समस्या भएका बिरामीहरूलाई २४ घन्टा हेरचाह प्रदान गरिन्छ।
यहाँ विशेषगरी सास फेर्न सहयोग चाहिने, भेन्टिलेटरको सहारामा रहने बिरामीको उपचार र स्याहार गरिने सत्याले जानकारी दिइन्।
'स्ट्रोक, स्पाइनल कर्ड इन्जुरी र मस्तिष्क सम्बन्धी चोट लागेका बिरामीहरूको पुनः स्थापना र नियमित नर्सिङ सेवा पनि यहाँ उपलब्ध छ,' सत्याले भनिन्।
उनका अनुसार बिरामीको मर्यादा, सुरक्षित वातावरण र व्यक्तिगत आवश्यकता अनुसारको हेरचाहलाई यहाँ प्राथमिकता दिइन्छ।
केयर सेन्टरमा करिब २५० जना स्टाफ छन्। सत्या १४ जना म्यानेजरसँग समन्वय गरेर काम गर्छिन्।
सन् २०११ देखि नर्सिङ क्षेत्रमा सक्रिय उनी निरन्तरता र संघर्षले व्यवस्थापन तहको जिम्मेवारी सम्हाल्ने उचाइमा पुगेकी हुन्।
केयर सेन्टरमा उनले काम गरेको चार वर्ष भयो।
सत्या सन् २०२२ मा डेपुटी म्यानेजरका रूपमा आबद्ध भएकी थिइन्। त्यसपछि सन् २०२४ अप्रिलमा पदोन्नति भएर जर्नल म्यानेजर बनेकी हुन्।
'काम चुनौतीपूर्ण भए पनि रमाइलो लाग्छ,' उनले भनिन्, 'मेरो सहभागिताले पनि संस्थाको सेवा विस्तार र व्यवसाय वृद्धिमा सहयोग पुगेको छ।'

यहाँ सत्यासँगै अन्य नेपाली पनि काम गर्छन्।
'तर यो मान्छे मैले चिनेको छु भनेर केही हुँदैन। नियुक्ति अन्तर्वार्ता प्रक्रियामै क्षमता अनुसार छानिने हो। कसैको सोर्सफोर्स लाग्दैन, प्रक्रिया पारदर्शी छ,' उनले भनिन्।
उनी सन् २००९ जनवरीमा विद्यार्थी भिसामा बेलायत गएकी हुन्। मणिपाल कलेजबाट पिसिएल नर्सिङ पूरा गरी पोखराको तिब्बती शरणार्थी क्याम्प–हेम्जामा करिब २० महिना नर्स प्रिस्क्राइबरका रूपमा काम गरिन्।
त्यसपछि थप पढाइको गन्तव्य बन्यो बेलायत।
लन्डनको थेम्स कलेजमा लिडरसिप एन्ड म्यानेजमेन्ट कोर्स पढ्दै गर्दै उनले रेसिडेन्सियल होममा नर्सिङ असिस्टेन्टका रूपमा पार्ट–टाइम काम गरिन्।
'ओभरसिज नर्स बन्न आइएलटिएसमा ७ चाहिन्थ्यो, नेपालमा परीक्षा दिँदा ६.५ मात्र आयो। बेलायत आएर फेरि परीक्षा दिएँ र ८ ल्याएँ,' सत्याले सुनाइन्।
त्यसपछि उनले स्वान्सी विश्वविद्यालय, वेल्समा पढाइ पूरा गर्दै सन् २०११ बाट पूर्ण रूपमा नर्सिङ करिअर सुरू गरेकी हुन्।
उनी कार्यालय मात्रै होइन, घरको व्यवस्थापनमा पनि उत्तिकै व्यस्त छिन्।
उनका दुई बालबच्चा छन्— १० वर्षकी छोरी र ४ वर्षका छोरा।
'विदेशको ठाउँमा बच्चा हेर्ने, सघाउने कोही हुँदैनन्। तर आफूले आँट्यो भने असम्भव पनि केही छैन,' उनले भनिन्।
सत्याको कार्यालय सोमबारदेखि शुक्रबारसम्म हुन्छ। दैनिक बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म काम गर्छिन्।

'बिहान उठ्ने बित्तिकै अफिस जान चटारो पर्छ। फर्किँदा त्यही हो, रात परिहाल्छ। बिदाकै समय हो परिवारलाई दिने त,' उनले भनिन्।
शनिबार र आइतबार बिदामा परिवारसँग समय बिताउने, बच्चाको हेरचाह गर्ने र घुमफिरमा जाने गरेको उनले बताइन्।
सत्या यो यात्रामा एक्लै छैनन्, श्रीमानको पूर्ण साथ छ। श्रीमान–श्रीमती दुवै मिलेर घर र छोराछोरीको हेरचाह गर्छन्।
उनका श्रीमान अकाउन्टेन्ट हुन्। कोभिडयता उनको काम घरबाटै भइरहेको छ।
'एउटी महिलाको बिहेपछि अघि बढ्ने कुरा श्रीमान र कार्यालयको वातावरणमा निर्भर गर्छ,' सत्या भन्छिन्, 'श्रीमानले साथ दिनुभयो। अफिस पनि सजिलो छ।'