रौतहटका सेख इन्ताजुलको पारिवारिक पेसा हो इम्ब्रोइडरी (कपडामा धागोले बुट्टा भर्ने काम)।
उनी यही काम देख्दै हुर्किए। १४ वर्षको उमेरबाटै घरमै इम्ब्रोइडरी सिक्न थाले।
२०५१ सालमा १८ वर्षको हुँदा उनी काठमाडौं आए। सुरूमा पुरानो बानेश्वरस्थित एक गार्मेन्टमा काम गरे।
'पहिले इम्ब्रोइडरी गरिएका सामानको माग धेरै थियो। कुनै मेसिन प्रयोग नगरी सबै काम हातले गरिन्थ्यो। यो काम विश्वासिलो र राम्रो पनि मानिन्थ्यो,' ४९ वर्षीय इन्ताजुलले भने, 'भारतको कलकत्ता, सिलिगुडी, दिल्लीबाट पनि मान्छेहरू यहाँ सामानको अर्डर दिन आउँथे।'
बिस्तारै यो काममा मेसिन प्रयोग हुन थाल्यो। थरीथरी डिजाइन कपडामा प्रिन्ट (छाप्न) नै गर्न थालियो। कम समयमा धेरै काम हुने भएपछि भएर व्यापारीहरूले इम्ब्रोइडरीभन्दा प्रिन्ट नै रोज्न थाले।
इम्ब्रोइडरी काम कम हुँदै गएपछि इन्ताजुल अप्ठ्यारोमा परे। उनले विदेश जाने सोचे र कतार हानिए। त्यहाँ खासगरी मुस्लिमहरूका लुगा इम्ब्रोइडरीको काम पाए।
१४ वर्ष कतारमा काम गरेपछि उनी नेपालै बसे। फर्केर एक वर्ष जति मोटरसाइकल ग्यारेजमा काम गरे।
'मेरो रूचि इम्ब्रोइडरी नै थियो। त्यो काम गर्न कहिल्यै छाडिनँ,' इन्ताजुलले भने, 'जताबाट अर्डर हुन्छ, सानो सानो भए पनि काम जारी राखेँ।'
त्यही क्रममा एक दिन अशोक र उनका साथी इन्ताजुललाई भेट्न आए। उनीहरूको योजना झोला (ब्याग) व्यवसाय सुरू गर्ने रहेछ।

चापागाउँको भ्याली कृषि क्याम्पस पढेका २५ वर्षीय अशोक र उनका साथी हेम्प (गाँजाको रेसा) र कपासको ब्याग बनाउन चाहन्थे।
स्नातक दोस्रो वर्ष पढ्दै गर्दा, सन् २०२३ मै उनीहरूले २० हजार रूपैयाँ लगानीमा 'जेनजी (Zenzi) शप' नाममा इन्स्टाग्राममा उपहारको व्यवसाय (अनलाइन) थालेका थिए। पढाइमा पनि समय दिनुपर्ने भएकाले उनीहरू चाडपर्व, भ्यालेन्टाइन्स डे जस्ता अवसरमा मात्र व्यवसायमा सक्रिय हुन्थे।
स्नातक सकेपछि उनीहरूले त्यही जेनजी शप नाममा झोला बनाउने सोचे। सुरूमा बजार घुमेर यसबारे बुझे। त्यही क्रममा इन्ताजुलसँग भेट भएको थियो।
अशोकहरूले सुरूमा सय वटा सादा सेतो टोट ब्याग बनाए। त्यसमा आफ्नो ब्रान्ड लोगो कसरी बनाउने भनेर सोचे।
टाँस्ने, पेन्टिङ गर्ने कि?
सोच्दा सोच्दै उनीहरूले इम्ब्रोइडरीको काम गरिरहेका इन्ताजुललाई प्रस्ताव राखे— ब्रान्डको नाम इम्ब्रोइडरी गर्ने!
इन्ताजुलको पनि रूचिको काम थियो। मानिहाले।
ब्रान्ड नाम इम्ब्रोइडरी गर्दा राम्रो देखिएपछि उनीहरूले झोलामा बरू केही डिजाइनगर्ने सोचे। सुरूमा सादा ब्यागमा फूलहरूका डिजाइन गरेर।
'धागोले इम्ब्रोइडरी गरिएको झोला राम्रो हुन्छ भन्ने लाग्यो,' अशोकले भने, 'अहिले अरू फूलबुट्टासँगै नेपालको पहिचान झल्काउने लालीगुराँस, नक्सा, डाँफे पनि डिजाइन गर्छौं।'
जेनजी शपले सन् २०२५ मा आफ्नो पहिलो डिजाइन सार्वजनिक गरेको थियो— फूलहरूको इम्ब्रोइडरी गरिएको सेतो टोट ब्याग।

'जेनजी आन्दोलनअघि धेरै मान्छेलाई जेनजी (Gen-g) को अर्थ थाहा थिएन। हामीलाई चाइनिज कम्पनी हो भनेर पनि सोध्थे। अहिले त धेरै ग्राहकलाई हाम्रो नामले पनि तानेको छ,' अशोकले भने।
जेनजीका विभिन्न आकारका ब्यागलाई उनीहरूले नाम दिएका छन् जुन सबै अंग्रेजी अक्षर जेडबाट सुरू हुन्छ — जुनो, जुन, जोरो, जुली, जाइरा, जोबो, जीरा, जुबी।
यसरी नामकरण गर्दा कामदार र ग्राहक दुवैलाई कुरा गर्न सजिलो हुने उनले बताए।
यी ब्यागको मूल्य आकार र डिजाइन अनुसार २९९ रूपैयाँदेखि २ हजार ८०० रूपैयाँसम्म पर्छ।
सबभन्दा पहिले बनाएको टोट ब्यागको नाम 'जुनो' हो। यो विभिन्न रङ र विभिन्न इम्ब्रोइडरी बुट्टामा बनाइएको छ। सबैभन्दा धेरै बिक्ने यही ब्याग हो।
अहिले इन्ताजुल कर्मचारीहरूलाई काम सिकाउँछन् र निरीक्षण गर्छन्।
'अब हरेक महिना नयाँ डिजाइन थप्ने सोच छ। जीवनमा सही समयमा सही मान्छे भेटिने रहेछ,' अशोकले भने।
जेनजी ब्यागको कारखाना चःमतीमा छ। त्यहाँ इन्ताजुलसहित दैनिक पाँच जना काम गर्छन्। अर्डर धेरै भएको बेला दस जना जति हुन्छन्। यसबाहेक कार्यालयको अरू काम मार्केटिङ, प्याकेजिङ, अर्डरमा ७ जना कर्मचारी छन्।
उनीहरूलाई विभिन्न कार्यक्रमका लागि पनि ब्यागको अर्डर आउँछ।


'यस्तो बाहेक सामान्य दिनमा करिब २० वटा झोला बिक्छ। अवसर, चाडपर्वका बेलामा पचास–साठी वटा बिक्छन्,' अशोकले भने।
जेनजी शपले ठमेल, पोखरा, भक्तपुर, इटहरी लगायत ठाउँमा होलसेलमा पनि सामान पठाउँछ। त्यस्तै विदेश पनि पुगेको छ।
'नेदरल्यान्ड्समा बस्ने नेपालीले हामीलाई सम्पर्क गर्नुभएको थियो। नेदरल्यान्डलाई टुलिप (फूल) को राजधानी भनेर पनि चिनिन्छ। हामीले रंगीन टुलिपहरू इम्ब्रोइडरी गरिएको जुली ब्याग पठाइरहेका छौं,' उनले भने।
उनका अनुसार होलसेलबाहेक सिजन हेरेर मासिक ३ लाखदेखि ६ लाख रूपैयाँसम्मको व्यापार हुन्छ।
जेनजी शपले ग्राहकको माग अनुसार डिजाइन गरिदिएर र नाम लेखिदिएर पनि ब्याग बनाइदिन्छ। यसका ब्याग सबै उमेर समूहका महिलाका लागि हुन्छ। पछाडि बोक्ने नयाँ ब्याग 'जोरो' भने महिला, पुरूष दुवैले बोक्न मिल्छ।
अहिले भौतिक पसल नखोली अनलाइनबाटै व्यवसाय अगाडि बढाउने उनीहरूको सोच छ।
ब्यागको बजार विस्तार हुँदै गए पनि उनीहरूलाई उत्पादनमा कहिलेकाहीँ चुनौती हुन्छ। यसको मुख्य कारण बजारमा एउटै खालको सामान सधैं नपाइनु हो। पाए पनि गुणस्तर फरक हुने उनले बताए।
'नेपालमा व्यवसाय गर्न बजार बुझ्न पनि समय लाग्छ। अनि स–साना व्यवसाय दर्ता प्रक्रिया पनि बुझ्न गाह्रो हुने रहेछ,' अशोकले भने।