रुकुम पश्चिममा एक गाडी चालकले साथीले विश्वासका साथ घरमा पुर्याइदिन जिम्मा दिएको ११ लाख ३५ हजार रुपैयाँ आफैंले योजना बनाएर लुटाएको तथ्य अनुसन्धानबाट खुलेको छ।
घटना जेठ ५ गते राति करिब साढे ९ बजे आठबिसकोट नगरपालिकाको जंगल क्षेत्रमा भएको थियो।
राडीबाट खेततर्फ जाँदै गरेको बा १३ च २९५७ नम्बरको जिप आठबिसकोट नगरपालिका–२ को तिरमिरे जंगल पुगेपछि बाटोमा अवरोध राखिएको भेटिएको थियो।
अवरोध हटाउन चालक २५ वर्षीय मुकेश विक गाडीबाट ओर्लिएका थिए। मुकेश आठबिसकोट नगरपालिका–१ फिलिङ्गेका हुन्।
प्रहरीका अनुसार मुकेश अवरोध हटाउने प्रयास गरिरहेका बेला नकाब लगाएका चार जना युवक एकाएक आएर उनीमाथि कुटपिट गरेका थिए।
नकाबधारीहरूले मुकेशको दुइटा मोबाइल र गाडीभित्र चालकको सिटनजिक राखिएको एउटा झोला लिएर जंगलतर्फ फरार भए।
गाडीमा भएको झोलामा ११ लाख ३५ हजार रुपैयाँ नगद थियो।
घटना सिनेमाको कथाजस्तै नाटकीय देखिए पनि अनुसन्धानपछि त्यसको योजनाकार चालक स्वयं रहेको खुलेको प्रहरीले जनाएको छ।
कुटपिट र लुटपाट भइरहँदा गाडीमा रहेका महिला तथा बालबालिका त्रसित बनेर चुपचाप बसेका थिए।
लुटिएको रकम आठबिसकोट-१ खड्ग बुढाले पठाएका थिए। खड्ग आठबिसकोट नगरप्रहरी बलमा प्रहरी सहायक निरीक्षक छन्।
उनले घरमा आफ्नी श्रीमतीलाई दिनू भनेर मुकेशलाई सो रकम दिएका थिए। त्यसमा खड्गको मात्रै पैसा थिएन। गाउँका छिमेकी र आफन्तको समेत थियो।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार उक्त रकम सोही दिन बैंकबाट निकालिएको थियो।
'पैसा सोही दिन बैंकबाट निकालेको प्रमाण खड्ग बुढाले उपलब्ध गराउनुभएको छ। उहाँले मिल्ने साथीलाई आफ्नो घर र छिमेकीको पैसा पुर्याइदिनू भनेर विश्वासका साथ जिम्मा दिनुभएको रहेछ,' उनले भने।
प्रहरी अनुसन्धानका क्रममा मुकेशले नै नाटकीय लुटपाटको योजना बनाएको खुलेको छ।
प्रहरी हिरासतमा रहेका मुकेशमाथि प्रारम्भिक सोधपुछमा उनले यात्रुहरूले झारमारे भन्ने ठाउँमा चिया नास्ताका लागि गाडी रोकेको बेलामा आफूले साथीहरूलाई फोन गरेको बताएका छन्।
लाखौं रूपैयाँ बोकेको र नकाब लगाएर आउन आफैले अह्राएको उनले प्रहरीसमक्ष स्वीकार गरेका छन्। उनीहरूले मुकेशकै योजनमा जंगलको बीच बाटोमा अवरोध राखेका थिए।
रातिको समयमा जंगलमा बाटो छेकेर लुटपाट भएको सूचना पाएपछि मुकेश आफै प्रहरी कार्यालय गएर उजुरी दिएका थिए। सुरूमा उनलाई सोधपुछ गर्दा शंकास्पद लागेपछि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो।
प्रहरीका अनुसार घटनामा संलग्न थप चार जनाको पहिचान खुलिसकेको भए पनि उनीहरू फरार छन् र खोजी कार्य जारी छ।
लुटिएको ११ लाख ३५ हजार रुपैयाँमध्ये प्रहरीले ११ लाख ३० हजार रुपैयाँ बरामद गरिसकेको जनाएको छ।
चालक मुकेश पक्राउ परेपछि उनैले फरार चार जनालाई फोन गरी सोही जंगलमा भेट्न बोलाएका थिए।
प्रहरीले चारै जनाला जंगलबाट पक्राउ गर्ने योजना बनाएको थियो। तर उनीहरू पैसा जंगलमै छाडेर फरार भएका थिए।
प्रहरीले फरार चार जनाको तीव्र खोजी भइरहेको र छिट्टै पक्राउ गरिने जनाएको छ।
घटनामा पक्राउ परेका चालकविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी आपराधिक विश्वासघात शीर्षकमा मुद्दा चलाउने तयारीसहित अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पुनले बताए।