सात वर्षे बालक, जो रक्सीको लतमा फसेका बुबासँग सुकुम्बासी बस्तीमा हुर्किरहेको छ।
महानगरपालिकाले उसका बुबाको ठेला जफत गरेपछि परिवार आर्थिक संकटमा पर्छ।
आर्थिक अभाव, बेरोजगारी र भित्रभित्रै बढ्दो आक्रोशका कारण बुबा आफ्नै छोराप्रति निकै रूखो र कठोर बन्दै गएका छन्। आमाको अनुपस्थितिमा हुर्किरहेको त्यो बालक घरभित्रको तनाव, डर र एक्लोपनलाई आफ्नै तरिकाले महसुस गरिरहेको छ।
बालकको संसार बाहिरबाट सामान्य देखिए पनि भित्रभित्रै असुरक्षा, अभाव र भावनात्मक दुरीले भरिएको छ।
सुकुम्बासी बस्तीको साँघुरो परिवेशमा बाबुछोराको सम्बन्ध र बालकले देखिरहेको संसार पछ्याउँदै अघि बढ्छ सर्ट फिल्म- 'ब्यान्डेड्स'।
१४ मिनेटको फिल्मले बालककै 'प्वाइन्ट अफ भ्यू' बाट कथा भन्छ। फिल्मले गरिबी, पारिवारिक तनाव र सामाजिक–राजनीतिक वातावरणले बाल मनोविज्ञानमा पार्ने प्रभावलाई भावनात्मक ढंगले प्रस्तुत गर्ने प्रयास गर्छ।
'ब्यान्डेड्स' लाई सुशील सापकोटाले लेखन तथा निर्देशन गरेका हुन्। अब यो फिल्म काठमाडौंमा प्रिमियर हुने तयारीमा छ। यही जेठ १३ गतेदेखि सुरू हुने काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) २०२६ मा फिल्मको प्रिमियर हुन लागेको हो।
निर्देशक सापकोटाका अनुसार उनले ब्यान्डेड्सको कथा दुई वर्षअघि लेख्न सुरू गरेका थिए। आफ्नै बाल्यकालका स्मृति र अनुभवलाई लिएर यो फिल्म बनाएको उनले बताए।
सेतोपाटीसँगको कुराकानीमा सापकोटाले भने, 'मलाई पुराना कुराहरू, बाल्यकालका स्मृति र त्यति बेलाको अनुभूति एक्सप्लोर गर्न मन थियो। मैले सानो हुँदा देखेका, महसुस गरेका र बुझेका कुराहरू जोडेर यो फिल्म बनाएको हुँ।'
चितवनमा हुर्किएका सापकोटाले बाल्यकालमा मामाघर जाँदा पहिलो पटक सुकुम्बासी बस्ती देखेका थिए। पदमपुरस्थित मामाघर नजिक टिनले बनाइएका घरहरूको बस्ती थियो, जहाँ उनी आफ्नो उमेरको एक बालकसँग नजिकिएका थिए।
'त्यो बेला मामाघरमा खेल्ने साथी हुँदैन थियो,' उनी सम्झिन्छन्, 'त्यहाँ भेटिएको त्यो साथी मेरो लागि निकै विशेष बन्यो।'
उनी करिब एक सातासम्म त्यहाँ बसे। साथीको घरमा एउटा टेलिभिजन र डिभिडी प्लेयर थियो, जहाँ बस्तीका बालबालिका भेला भएर दिउँसो फिल्म हेर्थे।
'त्यो समय एकदम रमाइलो थियो,' उनी भन्छन्, 'तर पछि फेरि जाँदा त्यो साथी नै भेटिएन। कहाँ गयो, के भयो भन्ने केही थाहा भएन।'
त्यही अनुभवले उनको मनमा लामो समयसम्म असर छोड्यो। पछि प्लस–टू सकेर उनी काठमाडौं आए। फिल्म लेख्न बस्दा तिनै पुराना स्मृति बारम्बार फर्किए।
'यो फिल्म कुनै एक घटना मात्र होइन,' उनी भन्छन्, 'बाल्यकालका विभिन्न अनुभव र भावनाहरूको मिश्रण यसमा गरेको छु।'
फिल्मको केन्द्रमा रहेको बाबुछोराको सम्बन्ध पनि उनले वरिपरिको समाजमा देखेका अनुभवबाट प्रभावित छ। ठेला चलाएर जीविका चलाउने बुबा, आर्थिक अभाव, रक्सीको लत र त्यसले परिवारभित्र सिर्जना गर्ने तनावलाई फिल्मले बालकको नजरबाट हेर्ने सापकोटाको भनाइ छ।
उनका अनुसार बालकले संसारलाई बुझ्ने तरिका नै फिल्मको सबभन्दा महत्वपूर्ण पक्ष हो।
ब्यान्डेड्समा प्रसन राईले बालकलाकारको भूमिका निर्वाह गरेका छन्।

प्रसन 'गाउँ आएको बाटो' मा दयाहाङ राई र पशुपति राईको छोरा 'बिन्द्रे' को भूमिका निर्वाह गरेका थिए, जुन भूमिकाको निकै चर्चा भएको थियो।
प्रसनका साथमा 'ब्यान्डेड्स' मा रूपेश लामा, दीपक केसी, सुनिल तामाङ लगायत कलाकारहरूको अभिनय छ।
निर्देशक सापकोटाका लागि यो फिल्म सिकाइको यात्रा पनि हो। सीमित स्रोत, साथीहरूको सहयोग र आफ्नै लगानीमा बनेको फिल्मलाई उनी पूर्ण रूपमा 'इन्डिपेन्डेन्ट' प्रयास मान्छन्।
'ठूलो बजेट थिएन। तर कथा थियो, त्यो भन्नुपर्ने चाहना भएकाले बनाएँ,' उनले भने।
सापकोटाले फिल्म निर्माणअघि विज्ञापन, डकुमेन्ट्री र म्युजिक भिडिओमा ६/७ वर्ष काम गरिसकेका छन्। उनले सज्जनराज वैद्यको 'लुकामारी' सहित यावेश थापा, प्रजिना लगायतका कलाकारका म्युजिक भिडिओ निर्देशन गरिसकेका छन्।
तर फिक्सन फिल्ममा प्रवेश गर्नु फरक अनुभव बनेको उनको बुझाइ छ।
भन्छन्, 'म्युजिक भिडिओ र फिल्मको भाषा फरक हुन्छ। फिल्ममा पात्र, समय र भावनासँग धेरै गहिरो रूपमा बस्नुपर्छ।'
फिल्ममा कास्टिङदेखि निर्देशनसम्म धेरै कुरा उनले पहिलो पटक गरिरहेका थिए। त्यसैले आफ्ना लागि यो फिल्म सिकाइ पनि भएको बताउँछन्।
'यो फिल्म मैले फिल्म कसरी बन्छ भन्ने सिक्नका लागि पनि बनाएको हुँ,' उनले भने।
हाल उनी एक फिचर डकुमेन्ट्रीमा पनि काम गरिरहेका छन्। उनका अनुसार यो तयार हुन तीन वर्ष लाग्नेछ।
'अहिलेलाई फिचर डकुमेन्ट्री प्राथमिकतामा छ। तर फिक्सनमा पनि काम गर्न मन छ,' उनले भने।
ब्यान्डेड्स भने उनका लागि सधैं विशेष रहनेछ। किनभने यसले उनको व्यक्तिगत स्मृति, सिनेमाप्रतिको आकर्षण र निर्देशक बन्ने यात्रालाई एउटै फ्रेममा ल्याएको छ।
उनी यसमा ठूलो बजेट नभए पनि कथा र अनुभवलाई इमानदार ढंगले प्रस्तुत गर्ने प्रयास गरेको बताउँछन्।
ब्यान्डेड्स निर्माण भएपछि पहिलोचोटि किम्फमा प्रिमियर हुन लागेको हो।
जेठ १४ (मे २८) बिहीबार दिउँसो ठमेलस्थित क्युएफएक्स छायाँ सेन्टरमा नेपाल पानोरामाअन्तर्गत यसको प्रिमियर हुँदैछ।
'सुरूमा किम्फमै पठाउँछु भनेर सोचिरहेको थिएँ। कतै बाहिर पठाउनुभन्दा आफ्नै मान्छेहरूले हेरिदिऊन् भन्ने चाहना थियो। जहाँ बनाएको हो, त्यहीँ देखाऔं भन्ने लाग्थ्यो,' सापकोटा भन्छन्, 'किम्फमा छनोट हुँदा एकदमै खुसी लाग्यो। अब प्रिमियरको दिन पनि नजिकिँदै छ। एकदमै उत्साहित छु।'
यो पनिः जोया अख्तर र राणा दग्गुबाती जोडिएको नेपाली भाषाको फिल्म