अहिले पनि सेयर बजारमा दुई–तीन सय रूपैयाँ प्रतिकित्तामा वाणिज्य बैंकहरूको सेयर पाइन्छ।
आज हामीले यस्तै दुई बैंकको कुरा गरेका छौं जसको वित्तीय विवरण सकारात्मक बन्दै जाँदा सेयर लगानीकर्ताहरूलाई आकर्षित गरिरहेको छ।
पहिले कुरा गरौं, सिद्धार्थ बैंकको।
सिद्धार्थ तुलनात्मक रूपमा आक्रामक व्यवसाय नगर्ने बैंकमा मान्निछ। तर पछिल्लो समय यसको वित्तीय विवरण बलियो बन्दै गइरहेको छ।
चालु आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रैमास (साउनदेखि चैतसम्म) मा नाफा २१ प्रतिशतले बढेर दुई अर्ब एक करोड रूपैयाँ पुगेको छ। यसअघि सिद्धार्थले १ अर्ब ६६ करोड रूपैयाँ कमाएको थियो।
कुल २० वाणिज्य बैंकको औसत नाफा दर दुई अर्ब ४५ करोड रूपैयाँ छ। यस आधारमा सिद्धार्थको नाफा औसतभन्दा कम हो।
त्यसो भए किन तानिरहेको छ त यसले सेयर लगानीकर्ताहरूलाई?
केही मुख्य सूचकहरू राम्रो हुँदै गएकाले पनि यसमा आकर्षण बढेको हो। सिद्धार्थ बैंकको कुल खराब कर्जा ३.७ प्रतिशत छ। केही बैंकको यो दर ८ प्रतिशतसम्म पुगेको छ।
यसले उठ्न बाँकी ब्याजका लागि नियामकीय प्रावधानमा २० करोड रूपैयाँ राखेको छ। उठ्न बाँकी ब्याजको करिब ५० प्रतिशत यस्तो प्रावधानमा राखिन्छ। करिब ४० करोड रूपैयाँ ब्याज उठ्न बाँकी देखिन्छ।
केही बैंकले उठ्न बाँकी ब्याजका लागि नियामकीय प्रावधानमा एक अर्ब ९१ करोड रूपैयाँसम्म राखेकाले सिद्धार्थको यो दर कम नै मान्न सकिन्छ।
सिद्धार्थको सेयरमा आकर्षण बढ्नुको चुरो कुरा भने यसको ऋणपत्रको अवधि सकिएका कारण यसको सञ्चिति बढ्नु हो।
बैंक तथा वित्तीय संस्थाहरूले जारी गर्ने ऋणपत्रको भुक्तानीमा समस्या नआओस् भनेर हरेक बर्ष केही रकम छुट्ट्याएर राख्छन्। नियमित ब्याज भुक्तानी र यस्तो ऋणपत्रको अवधि सकिएपछि (परिपक्व भएपछि) साँवा तिर्छन्।
यसरी यस्तो रकम तिरेपछि हरेक वर्ष छुट्ट्याएर राखिएको रकम भने सञ्चित कोषमा नै फिर्ता आउँछ। यस्तो पुँजी लाभांशको रूपमा वितरण गर्न समेत प्रयोग गर्न सकिन्छ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको नाफाबाट मात्रै ६.३६ प्रतिशत लाभांश बाँड्न सकिने क्षमता देखिएको थियो। तर सञ्चित कोषको यो रकम समेत गरेर सिद्धार्थले २०.९८ प्रतिशत लाभांश दिन सक्ने देखिएको छ।
गत आर्थिक वर्ष २०८१/८२ मा यसले १०.५३ प्रतिशत लाभांश दिएको थियो।
यो बैंकको यो ऋणपत्र परिपक्व अवधि याद गरेर बसेका लगानीकर्ताहरूले यसअघिदेखि नै यसको सेयर किनिरहेका थिए। यस पटकको वित्तीय विवरणमा सिद्धार्थले यस्तो पुँजीबाट लाभांश क्षमता समेत देखाएपछि आकर्षण बढेको हो।
मंगलबार सिद्धार्थको सेयर एक रूपैयाँ ७० पैसाले बढेर प्रतिकित्ता ३८९ रूपैयाँमा कारोबार भएको छ।
त्यस्तै, कम मूल्यको कुमारी बैंकको पनि केही समयदेखि सेयर कारोबार बढ्ने गरेको छ।
२२१ रूपैयाँमा सेयर कारोबार भइरहेको कुमारी मंगलबार उच्च कारोबार हुने पाँच बैंकमा रह्यो।
मंगलबार यसको २२ करोड १२ लाख रूपैयाँको सेयर कारोबार भयो।
कुमारीले नाफा १४ गुणाभन्दा धेरैले बढेको वित्तीय विवरण प्रकाशन गरेको छ। यसले पनि यसमा आकर्षण बढाइरहेको छ।
यसको नाफा २८ करोड रूपैयाँबाट बढेर चार अर्ब १७ करोड रूपैयाँ पुगेको छ।
यसअघि कर्जा असुलीमा समस्या हुँदा पाँच अर्ब १६ करोड रूपैयाँ प्रावधानमा राखेको कुमारीले यो रकम घटाएपछि नाफा बढेको हो। यस पटक यसले एक अर्ब ५६ करोड रूपैयाँ प्रावधानमा राखेको छ।
केही त्रैमासदेखि कुमारी पुँजी कोषको दबाबमा पनि छ। यस्तो दर पुससम्म ९ प्रतिशतभन्दा कम छ।
यो दर कम्तिमा ८.५ प्रतिशत हुनुपर्ने व्यवस्था छ। ८.५ प्रतिशतभन्दा कम अनुपात भएमा बैंकहरूले लाभांश वितरण गर्न पाउँदैनन्। तर यो दर नै कायम रहेमा भने बैंकहरूले बोनस सेयर लाभांश दिने गर्न सक्छन्।
बोनस सेयर लाभांशको रूपमा दिदा पुँजी बैंक भित्रै रहन्छ। कुमारीले २०७८–७९ पछि लाभांश दिएको छैन।
अहिले पनि यसको लाभांश वितरण क्षमतामा अझै सुधार भएको छैन। चैतसम्ममा लाभांश वितरण योग्य नाफा एक अर्ब ९८ करोड रूपैयाँले ऋणात्मक छ।
आर्थिक वर्षभित्र यसमा कति सुधार हुन्छ, त्यसले पनि सेयर मूल्य निर्धारणमा भूमिका खेल्नेछ।
निष्क्रिय कर्जा असुल हुँदै जाँदा लाभांश क्षमतामा पनि सुधार हुन सक्छ।