अमेरिका र इरानबीच तीन साताअघि युद्धविराम भए पनि युद्ध अन्त्य हुने हो कि फेरि सुरू हुने हो भन्ने अझै टुंगो लागेको छैन।
अमेरिका र इसराइलले फेब्रुअरी २८ मा सुरू गरेको युद्ध रोक्न अमेरिका र इरानले अप्रिल ७ मा दुई साताको युद्धविराम घोषणा गरेका थिए। त्यसको केही दिनपछि दुई पक्षबीच पाकिस्तानको इस्लामाबादमा वार्ता भएको थियो।
अमेरिकी उपराष्ट्रपति जेडी भान्स र इरानका सभामुख मोहम्मद बाघेर गालिबाफले आ-आफ्नो वार्ता टोलीको नेतृत्व गरेका थिए। तर मुख्यतः इरानको आणविक हतियार कार्यक्रमबारे सहमति जुट्न नसकेपछि उक्त वार्ता बिनानिष्कर्ष टुंगिएको थियो।
त्यसपछि पनि पाकिस्तानमार्फत दुवै पक्षको कुराकानी भए पनि अझै सहमति भएको छैन।
दुई साताको युद्धविराम सकिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनिश्चितकालका लागि युद्धविराम लम्ब्याएका छन्।
अमेरिका र इरानको अहिलेको अवस्था हेर्दा दुवै पक्ष फलाँस खेलिरहेजस्ता देखिन्छन्। आफूभन्दा पहिले अर्को पक्ष युद्ध रोक्न बाध्य हुन्छ भनेर दुवै आ-आफ्ना अडानमा कायम छन्। आणविक हतियार कार्यक्रमका कारण सहमति रोकिए पनि फलाँस भने 'स्ट्रेट अफ हर्मुज' को विषयमा खेलिरहेका छन्।
अमेरिका र इसराइलले युद्ध सुरू गरेपछि इरानले आफ्नो नजिकै रहेको साँघुरो समुद्री मार्ग हर्मुज बन्द गर्यो। यो जलमार्ग प्रयोग गरेर विश्वको करिब २५ प्रतिशत कच्चा तेल र करिब २० प्रतिशत ग्यास पैठारी हुन्छ। त्यो पैठारी बन्द हुँदा तेल आपूर्ति कम भएर अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको छ। यसले विश्व अर्थतन्त्रमा नराम्रो प्रभाव परेको छ।
सुरूमा इरानले मात्र हर्मुज बन्द गरेको थियो। अरूका पानीजहाज रोके पनि इरानी तेल बोकेका जहाजहरू चलिरहेका थिए। अरू देशका केही जहाजलाई पनि महँगो शुल्क लिएर इरानले छोडिरहेको थियो। यस कारण इरानले युद्ध सुरू भएको बेलाभन्दा धेरै आम्दानी गरिरहेको थियो।
तर पाकिस्तानमा भएको वार्ता असफल भएपछि अप्रिल १३ देखि ट्रम्पले पनि हर्मुजमा इरानमाथि नाकाबन्दी लगाए।
त्यसपछि इरानको आम्दानीको स्रोत सुकेको छ। इरानमा अत्यावश्यक उपभोग्य वस्तुहरूको आपूर्ति पनि कम भइरहेको मानिन्छ। त्यसैले इरानले आर्थिक समस्याका कारण आणविक कार्यक्रमसम्बन्धी अमेरिकाको सर्त मान्न बाध्य हुनेछ भन्ने ट्रम्पको अनुमान देखिन्छ।
ट्रम्पले लगाएको नाकाबन्दीले इरानलाई पनि दबाब परेको छ। पछिल्लो समय हर्मुज पुन: खोल्न र युद्ध अन्त्य गर्न अमेरिकालाई इरानले नयाँ प्रस्ताव गरेको छ। अहिलेलाई हर्मुज खोलेर युद्ध अन्त्य गर्ने र आणविक हतियारसम्बन्धी वार्ता पछि गर्न इरानले प्रस्ताव गरेको छ।
तर अहिले नै हर्मुज खोले आणविक हतियारसम्बन्धी वार्तामा इरानमाथि दबाब हाल्न नसकिने भनेर ट्रम्पले प्रस्ताव मानेका छैनन्। केही दिन नाकाबन्दी लम्बिए इरानले थप समस्या भोग्ने अमेरिकी आकलन छ।
अहिले तेल बेच्न नपाएकाले इरानको तेल भण्डार भरिन लागेको बताइन्छ। भण्डारण क्षमतामा दबाब बढेपछि इरानले उपयोग गर्न छाडिएका पुराना ट्यांकीसमेत प्रयोग गर्न थालेको भनेर मंगलबार मात्रै अमेरिकी पत्रिका 'द वाल स्ट्रिट जर्नल' ले लेखेको छ। केही साता नाकाबन्दी लम्बिए इरानले तेलखानी नै बन्द गर्नुपर्ने अवस्था देखिन्छ।
खानी चालु नहुँदा बिग्रिन सक्छन्। खानी बिग्रिए युद्ध अन्त्य भएपछि पनि इरानले तुरून्तै तेल निकाल्न सक्ने छैन। त्यसैले इरानले ढिलो-चाँडो आणविक कार्यक्रमबारे आफ्नो सर्त मान्नेछ भनेर ट्रम्पले नाकाबन्दी लगाइरहेका छन्।
अर्कातर्फ हर्मुज बन्द भएकाले विश्व अर्थतन्त्रमा परेको समस्या बढ्दै गए ट्रम्प आफै हर्मुज खोल्न बाध्य हुने इरानको आकलन देखिन्छ।
हुन त अमेरिकालाई तेलको समस्या छैन। पेट्रोलियम पदार्थको खुद निर्यातकर्ता भएकाले तेलको भाउ बढ्दा पनि समग्रमा अमेरिकालाई फाइदै हुन्छ। तैपनि तेलको अन्तर्राष्ट्रिय भाउ बढ्दा अमेरिकी जनताका लागि तेल महँगो भएको छ। तेलको भाउका कारण ढुवानी खर्च बढेर अरू उपभोग्य वस्तुको भाउ पनि बढेको छ।
मूल्यवृद्धिका कारण ट्रम्पको रिपब्लिकन पार्टीले आगामी नोभेम्बरमा हुने संसदीय निर्वाचन हार्ने देखिन्छ। त्यसैले निर्वाचनअघि नै ट्रम्प यो समस्या समाधान गर्न बाध्य हुनेछन् भन्ने इरानको अनुमान छ।
अमेरिकाको भन्दा इरानको समस्या विकराल भए पनि अमेरिकाको जस्तो इरानका तानाशाही शासकलाई जनतामा पर्ने असरबारे परवाह छैन। गत जनवरीमा मात्र सरकारविरोधी प्रदर्शन दमन गर्न दसौं हजार जनता मारेको इरान अमेरिकाको लोकतान्त्रिक व्यवस्थाका कारण ट्रम्प लचक हुनेछन् भनेर ढुक्क देखिन्छ।
यसरी दुवै पक्ष अहिले अर्को पक्षले अडान छाड्ने आशामा 'फलाँस' खेलिरहेको भान हुन्छ।
दुई देशबीच वार्ता सफल हुन नसक्नुका पछाडि अहिले दुईवटा प्रमुख कारण रहेको मानिन्छ।
पहिलो, अमेरिकासँग कति लचकता देखाउने भनेर इरानको नेतृत्व विभाजित देखिन्छ। तुलनात्मक रूपले नरम मानिएका इरानी राष्ट्रपति मसुद पेजेस्कियान, सभामुख गालिबाफ लगायत नेताहरू युद्धले इरान धराशायी भएका कारण अमेरिकी सर्त मानेर भए पनि युद्ध रोक्नुपर्ने निष्कर्षमा पुगेको मानिन्छ।
युद्ध अन्त्य भएर अमेरिकाले रोकेको इरानी सम्पत्ति नआउने र बिनारोकटोक तेल बेच्न नपाए देश धेरै समयसम्म चल्न नसक्ने उनीहरूले बुझेका छन्। त्यसैले उनीहरू केही लचकता देखाउने पक्षमा देखिन्छन्।
तर इरानमा शासन चलाइरहेको इस्लामिक रिभोलुसनरी गार्ड कोर्स (आइआरजिसी) भने आणविक हतियारबारे अमेरिकी सर्त मान्न नहुने भनेर अडिग देखिन्छ। इस्लामाबादमा झन्डै तीन साताअघि भएको वार्तामा पनि पाकिस्तानी अधिकारीहरूले अमेरिकासँग मध्यस्थता गर्नभन्दा विभाजित इरानी वार्ताकारहरूबीचको झगडा मिलाउन धेरै समय खर्च गर्नुपरेको अमेरिकी मिडियामा समाचार आएका छन्।
दोस्रो, वार्ता सफल नहुनुमा ट्रम्पको हेपाहा व्यवहारलाई पनि कारण मानिन्छ।
कुनै पनि सम्झौतामा जसको जित भए पनि वार्ता सफल हुन दुवै पक्षले जितेजस्तो देखिनुपर्ने हुन्छ। इरान ट्रम्पले जितेजस्तो देखाउन राजी भए पनि ट्रम्पले भने इरानले जितेजस्तो देखिन दिइरहेका छैनन्।
इरानको बेइज्जत गरेर लगातार सामाजिक सञ्जालमा उनी पोस्ट गरिरहन्छन्। इरानले घुँडा टेकेको र आफ्ना सबै सर्त मान्न लागेको घोषणा गरिरहेका छन्। ट्रम्पको यस्तो रवैयाकै कारण अहिलेसम्म वार्ता सफल नभएको पनि केही अमेरिकी विश्लेषकले दाबी गरेका छन्।
त्यसो भए अब के हुन्छ त?
दुवै पक्षले अहिले अर्कोलाई गलाउन फलाँस खेलिरहे पनि युद्ध लम्ब्याउन हुन्न भन्नेमा दुवै सहमत देखिन्छन्। आफूलाई पनि असर गरेपछि हर्मुज खोल्न त इरान अहिले नै तयार छ। आणविक हतियार कार्यक्रममा पनि सहमति हुने सम्भावना अझै छ।
इस्लामाबादमा भएको वार्तामा इरानले २० वर्षसम्म युरेनियम प्रशोधन पूर्ण रूपमा रोक्नुपर्ने भान्सले अडान लिएको मानिन्छ। इरानले भने पाँच वर्षका लागि मात्रै त्यसो गर्न राजी भएको बताइन्छ। त्यसैले १० वा १५ वर्षका लागि प्रशोधन रोक्ने सर्तमा दुवै पक्ष राजी हुन सक्ने सम्भावना छ।
इरानसँग रहेको उच्च प्रशोधित युरेनियमबारे अहिलेसम्म कुरा नमिले पनि त्यसमा सहमति जुटाउन धेरै अप्ठ्यारो नहुने मानिन्छ।
आणविक हतियार कार्यक्रम रोक्न भन्दै गत जुनमा इसराइलले इरानमाथि हमला गरेको थियो। इरानको फर्दोमा पहाडमुनि सयौं फिट तल बलियो बंकरमा बनाइएको आणविक भट्टी इसराइलले ध्वस्त पार्न नसकेपछि अमेरिका पनि त्यति बेला युद्धमा होमिएको थियो।
अमेरिकाको मिजोरीबाट करिब १८ घन्टा उडेर गएका बी–२ बमवर्षक विमानले बंकर–भेदी बम खसालेर फर्दो लगायत अन्य ठाउँका आणविक भट्टीमा प्रहार गरेका थिए।
त्यति बेला इरानले आणविक बम बनाउन मिल्ने गरी ४०० किलोभन्दा बढी युरेनियमको उच्च प्रशोधन गरेको थियो।
अमेरिकी आक्रमणपछि उक्त युरेनियम भग्नावशेषमुनि पुरिएको मानिन्छ। त्यसरी पुरिएको उच्च प्रशोधित युरेनियमलाई कम प्रशोधित बनाउन इरानले सर्त राखेको छ। तर अमेरिकाले उक्त उच्च प्रशोधित युरेनियम हस्तान्तरण गर्नुपर्ने सर्त राखेको छ।
केही समयअघि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उच्च प्रशोधित ४०० किलो युरेनियम रूसले लाने सर्तमा इरानमाथि आक्रमण रोक्न अमेरिकालाई प्रस्ताव गरेको समाचार आएको थियो। अहिले पनि रूसलाई उक्त प्रशोधित युरेनियम दिन इरानले मान्ने देखिन्छ।
आणविक हतियार कार्यक्रमबारे छलफल गर्न नै इरानी विदेशमन्त्री अब्बास अराग्ची सोमबार रूस गएको मानिन्छ। उच्च प्रशोधित युरेनियमसहित आणविक हतियार कार्यक्रमबारे उनले पुटिनसँग छलफल गरेका हुन सक्छन्।
यसरी आगामी दिनमा आणविक हतियार कार्यक्रमबारे थप सहमति भएर युद्ध अन्त्य हुने सम्भावना छ। तर इरानले आणविक हतियार कार्यक्रमबारे लचकता नदेखाए अमेरिकाले इरानमाथि भीषण आक्रमण गर्ने सम्भावना पनि छ।
अहिले अमेरिकाले खाडी क्षेत्रमा ठूलो संख्यामा सेना र लडाकू विमानवाहक युद्धपोतहरू जम्मा गरेको छ। पछिल्ला केही दिनमा अमेरिकी लडाकू विमान र हावामै तेल हाल्न प्रयोग हुने विमानको चहलपहल बढेको समाचार आएका छन्।
त्यसैले इरानले आफ्ना सर्त नमानेमा फेरि इरानमाथि आक्रमण गर्ने ट्रम्पको योजना हुनसक्छ। वा, आक्रमण गर्न लागेको देखाएर लचता देखाउन इरानमाथि दबाब हाल्न पनि अमेरिकाले त्यसो गरेको हुनसक्छ।
***