सरकारले काठमाडौंका सुकुम्बासी बस्तीहरूमा डोजर चलाएपछि त्यहाँबाट विस्थापित परिवारलाई कीर्तिपुरको होल्डिङ सेन्टर र बालाजु, माछापोखरीका विभिन्न होटलमा लगेर राखेको छ।
तीमध्ये कीर्तिपुरको 'राधास्वामी सत्संग' होल्डिङ सेन्टर गएर त्यहाँ राखिएका सुकुम्बासीसँग हामीले आइतबार कुराकानी गरेका थियौं।
आज हामीले बालाजु, माछापोखरीका होटलमा कसरी राखिएको छ, त्यहाँ खानपान र बसोबासको कस्तो प्रबन्ध छ, यी सबै घटनाक्रममा उनीहरूको प्रतिक्रिया के छ भनेर केही सुकुम्बासीसँग कुरा गरेका छौं।
तिनैमध्ये एक हुन्, ४८ वर्षीय खड्गबहादुर विश्वकर्मा।
उनी आफ्नो ६ जनाको परिवारसँग नयाँ बसपार्कको स्मारिका होटलमा बसिरहेका छन्। उनका अनुसार त्यहाँ एउटा ठूलो कोठामा चारवटा बेड छन्। छ जना त्यही कोठामा सुत्छन्। परिवार संख्या हेरेर कोठाको व्यवस्थापन मिलाइएको उनको भनाइ छ।
'हामीलाई यहाँ बिहान चिया, खाना र साँझ ९ बजे खाना दिइन्छ,' उनले भने, 'शौचालयको सुविधा पनि राम्रै छ। तर एकै ठाउँमा बसिरहन अत्यास लाग्ने रहेछ। जाने ठाउँ कतै छैन। अब सरकारले यहाँबाट जहाँ लगेर राख्छ, त्यहीँ जाने हो।'
खड्गबहादुरका श्रीमती र चार जना सन्तान छन्। छोराछोरी स्कुलमा पढिरहेका छन्। आजबाट स्कुल खुले पनि उनीहरू पढ्न जान नपाएको उनी बताउँछन्।
'आफू पढ्न नसके पनि छोराछोरीले राम्ररी पढून् भन्ने मेरो चाहना छ। सरकारले उनीहरूको पढाइ नबिग्रियोस् भनेर केही गरिदिए हुन्थ्यो,' उनले भने।
उनको परिवार मनोहराको सुकुम्बासी बस्तीमा बाँसले बारेर बनाइएको एक कोठे टहरमा बस्थ्यो। बस्ती हटाउँदा सिमसिम पानी परिरहेकाले उनको ओढ्ने–ओछ्याउने सबै भिज्यो। केही सामान चिनजानका व्यक्तिको कोठामा राखेका छन्। केही सामान आफ्नो झुपडी अगाडिको खाली ठाउँमा त्रिपालले छोपेर आएका छन्।
उनलाई अब सरकारले जहाँ लगेर राखे पनि केही समस्या छैन। भन्छन्, 'जुन घरमा वर्षौंदेखि बस्दै आयौं, त्यहाँबाट निकालेर यहाँ होटलमा राखिएको छ। आफू बस्ने छत नै नरहेपछि अब सुर्ता गर्नलाई केही बाँकी छैन। सरकारले जहाँ जाऊ भन्छ, त्यहीँ जाने हो।'
खड्गबहादुर २०६३ सालदेखि मध्यपुर थिमि नगरपालिका–१ मनोहराको सुकुम्बासी बस्तीमा बसेका हुन्। उनका हातखुट्टा राम्ररी चल्दैनन्। त्यही भएर किशोर अवस्थामै घर छाडेर हिँडेको उनी बताउँछन्।
'शारीरिक अपांगता हुँदा समाजमा दुर्व्यवहार र अपहेलना सहनुपर्थ्यो। त्यसैले घर छाडेर हिँडेको थिएँ,' उनले भने, 'काठमाडौं आएर ज्यालादारी काम गर्दै जाँदा जीवनसाथी भेटेँ। चारवटा छोराछोरी छन्। उनीहरूकै सहारामा बाँचेको छु।'
खड्गबहादुर सामान्य हिँडडुल मात्र गर्न सक्छन्। उनकी श्रीमतीले नै अरूको घरमा काम गरेर परिवारको गुजारा चलाइरहेकी छन्।
'पानी पर्दा ओत लाग्ने ठाउँ थियो। त्यो पनि सरकारले भत्काइदिएपछि आइतबार रातभरि खुला आकाशमुनि आगो बालेर बस्यौं,' उनले भने, 'राति पानी परेर त्यही आगो पनि निभ्यो। हामी जस्ताको ओत लागेर बस्यौं।'
सोमबार दिउँसो प्रहरीले त्यहाँबाट उठाएर त्रिपुरेश्वरको दशरथ रंगशाला लग्यो। त्यहाँ नाम र विवरण टिपेपछि नयाँ बसपार्कको होटलमा ल्याइएको उनी बताउँछन्।
खड्गबहादुरजस्तै नयाँ बसपार्कको स्मारिका होटलमै बस्छन्, २६ वर्षीया सुजन परियारको परिवार।
उनको परिवारमा आमा र दाजु–भाउजू छन्। मनोहराको सुकुम्बासी बस्तीबाट यहाँ आउनुअघि उनले कतै डेरा पाइएला कि भनेर खोजेका थिए। तर पाएनन्। पहिलो रात झुपडीनजिकै त्रिपालमुनि बिताएको उनी बताउँछन्।
'सोमबार बिहानै प्रहरीले त्रिपुरेश्वर लगेर नाम टिपायो, अनि यही होटलमा ल्याएर राख्यो,' सुजनले भने, 'जाने ठाउँ कतै थिएन। कोठा पनि कतै पाइएन। प्रहरीले बस्ने ठाउँको व्यवस्था गरिदिन्छौं भनेपछि आयौं।'
उनका अनुसार यहाँ उनीहरूलाई एउटा ठूलो कोठा दिइएको छ। बिहान चिया, खाना, दिउँसो खाजा र बेलुका ८/९ बजे खाना खुवाइन्छ।
'बस्ने कोठा र शौचालयहरू राम्रै छन्। तर होटलमा बस्ने वृद्धहरूको सुगर, प्रेसरको औषधि छुटेकाले समस्या परिरहेको छ,' उनले भने।
उनको पुर्ख्यौली घर काभ्रे नमोबुद्ध हो। जायजेथा केही नभएपछि उनका बुबा काठमाडौं पसेका थिए। मनोहरामा पहिले जस्ताले बारेको टहरा थियो। पछि दुई कोठाको पक्की घर बनाएको उनको भनाइ छ।
सुजनले स्नातक पहिलो वर्ष पढेर छाडेका हुन्। बुबाको मृत्यु भएपछि थप अध्ययन नगरेको उनी बताउँछन्।
उनका बुबा लक्ष्मण परियारको चार वर्षअघि मृत्यु भएको थियो। बुबाले छोराहरूका लागि दुःख गरेर बनाएको छत पनि सरकारले भत्काइदिएको पीडा पोख्दै उनले भने, 'अब जहाँ लगेर राखे पनि सरकारले हाम्रो जिम्मा लिनुपर्छ। काम पनि खोजिदिनुपर्छ।'
सरकारले सुरक्षा बल प्रयोग गरी थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायतका सुकुम्बासी बस्ती भत्काएपछि डरले लाखापाखा लागेका सुकुम्बासीहरू अहिले धमाधम सम्पर्कमा आउन थालेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार मध्याह्ननसम्म १ हजार १३६ परिवारका ४ हजार ८०४ जनाले सुकुम्बासीका रूपमा आफ्नो नाम र विवरण दर्ता गराएका छन्।
आफै आवास र खानपिन प्रबन्ध गर्न नसकेका परिवारको विवरण संकलन गर्न सरकारले रंगशालामा हेल्प डेस्क राखेको छ। त्यहाँ विवरण टिपेपछि होल्डिङ सेन्टर र विभिन्न होटलमा लगेर राखिएको छ।
यसरी नै नयाँ बसपार्कको एउटा होटलमा बसिरहेका छन् प्रकाश नगरकोटी र उनकी पत्नी सञ्जु नगरकोटी।
'हामीकहाँ एउटा कोठामा चार जनालाई राखिएको छ। कोठा ठिकठाक छ,' उनले भने, 'होटल सञ्चालकहरूको व्यवहार पनि राम्रै छ।'
उनका अनुसार होटलले बिहान चिया दिन्छ र खाना खुवाउँछ। तर प्रकाश र सञ्जु खाना खाँदैनन्। उनीहरू बिहान साढे ७ बजेतिर चिया खाएर काममा निस्किन्छन्।
यसरी बाहिर निस्किँदा होटलमा कहाँ जान लागेको भनेर टिपाउनुपर्छ।
उनीहरू दिनभर काम गरेर साँझ होटल फर्किन्छन्।
फर्किएपछि साढे ९ बजेतिर खाना खाएर सुत्छन्।
दिनभरि बाहिरै हुने भएकाले अहिलेसम्म आफू बस्ने होटलको नाम नहेरेको प्रकाश बताउँछन्।
'यहाँ हामीसहित २३ जनालाई ल्याइएको थियो,' उनले भने, 'संख्या थपघट भइरहेको छ।'
३२ वर्षका प्रकाश र करिब त्यही उमेरका सञ्जु १० वर्षदेखि थापाथली सुकुम्बासी बस्तीमा बस्दै आएका थिए। सिन्धुपाल्चोक घर भएका प्रकाशले आफ्नो बुबालाई कहिल्यै देखेनन्। आमाले नै सुकुम्बासी बस्तीमा राखेर हुर्काइन्।
प्रकाश ज्याला मजदुरी गर्छन्। सञ्जु अरूको घर–घरमा गएर काम गर्छिन्।
'यो सहरमा ओत लाग्ने छत थियो, त्यो पनि सरकारले भत्काइदियो,' उनी भन्छन्, 'हाम्रो त तीनपुस्ते विवरण खोजे पनि कहीँ केही भेटिँदैन।'
अहिले प्रकाशका आमाबा दुवै साथमा छैनन्। उनलाई आफ्नो पुर्ख्यौली घर कहाँ हो भन्ने पनि राम्ररी थाहा छैन। त्यसैले सरकारले जहाँ लगेर राख्छ, आफू त्यहीँ बस्न तयार भएको उनी बताउँछन्।
हामीले सम्बन्धित अधिकारीहरूसँग कुरा गर्दा बालाजु, नयाँ बसपार्क, माछापोखरी क्षेत्रका स्मारिका, काठमाडौं भ्याली लगायत १०-१२ वटा होटलमा करिब २०० जनालाई राखिएको छ। प्रहरी र महानगर प्रहरीले होटल व्यवसायीहरूसँग सिधै सम्पर्क गरेर राख्न ल्याएको नेपाल होटल व्यवसायी संघ नयाँ बसपार्कका अध्यक्ष गणेश ढकालले जानकारी दिए।
'हामीले यस्तो दुःख बेला सहकार्य गर्नुपर्छ भन्ने सोचेर समन्वय गरेका हौं,' उनले भने, 'कुन–कुन होटलमा कति जना छन् भनेर तथ्यांक संकलन गरिएको छैन। प्रहरीले आफै सहकार्य गरेर राखेको छ।'
***