मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
नेप्से २६.१६ अंकले घटेर २७७०.२६ विन्दुमा बन्द भएको छ।
नेप्से घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
सोमबार ४ अर्ब ७४ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ६ अर्ब ५३ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३४९ वटा धितोपत्रको एक करोड ४० लाख १८ हजार ९२० कित्ता सेयर किनबेच भएको हो।
मंगलबार ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने २१३ वटाको घटेको छ। यस्तै, १४ कम्पनी स्थिर छन्।
यसदिन, हिमालयन बैंकको बन्डको मूल्य सर्वाधिक ६ प्रतिशतले बढेको छ। उक्त बन्डको मूल्य एक हजार १६६ रूपैयाँ पुगेको छ।
यस्तै, साइन रेसुङ्गा डिबेन्चरको मूल्य ३.४० प्रतिशतले बढेर प्रति डिबेन्चर मूल्य एक हजार १४३ रूपैयाँ ४० पैसा कायम भएको छ।
सर्वाधिक मूल्य घट्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ।
उक्त कम्पनीको मूल्य १४.९९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य दुई हजार ३५३ रूपैयाँमा झरेको छ
यसैगरी, रिज लाइफ इनर्जीको मूल्य १०.२७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार १४५ रूपैयाँमा सीमित भएको छ।
मंगलबार पाल्पा सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको एक हजार ३९ रूपैयाँमा ५८ करोड ३३ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ६.९९ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ। उक्त कम्पनीको चार हजार ३९६ रूपैयाँमा ३४ करोड ६८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये अन्य समूहको परिसूचक ०.७३ प्रतिशतले बढेको छ बाँकी १२ समूहको परिसूचक घटेको छ।
यसमध्ये होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २.५६ प्रतिशतले घटेको छ।