जति बेला सरकार बागमती र मनोहराका सुकुम्बासी बस्तीमा अन्तिम पटक डोजर हान्दै थियो, म भने शिल्पी थिएटरमा एउटा नाटक हेर्दै थिएँ— सिकल सेल।
यो नाटकमा एक जना सामन्त र एक जना गरिब किसानको सम्बन्ध, द्वन्द्व र अपमानको लामो सिलसिला देखाइएको छ। र, प्रतीकात्मक रूपमा सिकल सेल रोगको बिम्ब स्थापित गरिएको छ।
कहिल्यै निको नहुने रोग — सिकल सेल।
निर्धन थारूहरूलाई लाग्ने रोग—सिकल सेल।
नाटक निकै भावप्रद छ र छ विचारोत्तेजक पनि।
नाटकमा एक जना गरिब किसानकी छोरी छ — निकै चलाख, सपना देख्न सिपालु।
ऊ अनेक सपना देख्छे — मिठो दालभात खाने सपना, भाइलाई जुत्ता किनिदिने सपना। भाइ सिकल सेलको बिरामी छ, उसको उपचार गर्ने सपना। धेरै पढ्ने सपना, पैसा कमाउने सपना।
आमामाथि मालिकले जबरजस्ती सम्बन्ध राख्छ।
मालिकको प्रपञ्चमा परेर बिना कारण बाबु जेल पर्छ।
जीवनमा बयान गर्नै नसकिने दुःख छन् — कति कति। तर पनि ऊ सपना देख्छे।
उसलाई लाग्छ, आफ्ना पुर्खाहरूले अन्यायविरूद्ध लड्ने सपना नदेखेकै कारण उनीहरू ठगिएका हुन्।
एक दिन राति, जब दुःखहरू असह्य बन्छन्, आँगनमा आएर बताससँग कुरा गर्दै युवती भन्छे — हे बतास, म कसरी जोगाऊँ मेरा सपना? हे आकाशका तारा, जमिन हाम्रो नभए पनि आकाश त सबैको होइन र?
नाटकमा त्यो युवतीको प्रश्न, सपना र प्रतिरोध हेर्दै गर्दा मलाई भने ती बागमती र मनोहराका वास्तविक सुकुम्बासीहरूको याद आयो, जसको अहिले झुप्रो ढलेको छ। शिर ढलेको छ। इज्जत ढलेको छ।
र, सबैभन्दा दुःखद कुरा — सपनाहरू ढलेका छन्।
नाटक हेरी सिध्याएर घर पुगेपछि मैले सामाजिक सञ्जालमा आएका अनेक समाचार र फोटा हेरेँ।
कतै वृद्ध आमा आँखाभरि आँसु लिएर आफ्नो ढलेको झुप्रो हेर्दैछिन्।
कतै सानो बालक आफूले माया गरेर पालेको कुकुर समातेर आकाशमा उडेको धूलो हेर्दैछन्।
कतै सानी नानी बाख्राको पाठो समातेर उभिएकी छिन् र नजिकै छ — उनको असहाय बिरालो।
छेउमा भिड छ, र भिडको बीचमा छ — परिस्थितिसँग डराएको, थकित उसको बाबु।
मैले फोटोमा ती दम्पती देखेँ, जहाँ नजिकै उनीहरूले दुःखले जोडेको दराज फुटेको छ।
त्यतै कतै धूलोमा थाल र बटुका हराएका छन्। र, हराएका छन् छोराछोरीका गुडियाहरू।
साइरन बजाउँदै प्रहरीहरू कुदाकुद गर्दैछन्, डोजर घर भत्काउँदै छ।
र, धुवाँको मुस्लो छ बस्तीभर।
यो के भएको हो — ती साना बालबालिकालाई थाहा छैन।
मात्र उनीहरूका बाआमा भक्कानिएका छन्, र उनीहरूसँगै भत्किएका छन् ती अबोध नानीहरू।
फोटो खिच्नेहरू ती अबोध नानीहरूका फोटा खिचिरहेका छन्। र, एउटा युट्युबर निर्दयतापूर्वक सानी नानीलाई प्रश्न सोध्दैछन्— अहिले तिमीलाई कस्तो लागेको छ?
मलाई सोध्न मन लाग्छ — ए मूर्ख मान्छे, के प्रश्न हो यो?
आफ्नो घर अगाडि ढलेको देख्दा एउटा अबोध मनलाई कस्तो लाग्छ? आँखै अगाडि बाबुआमा भक्कानिएर रोएको देख्दा, उसका सन्तानलाई कस्तो लाग्छ? आफूले जतन गरेको गुडिया माटोले पुरिँदा, एउटी बालिकालाई कस्तो लाग्छ?
तर त्यहाँ फोटो खिच्नेहरुको कमी थिएन। तमासा हेर्नेहरूको कमी थिएन। टिप्पणी गर्नेहरूको कमी थिएन। हाँसो र ठट्टा गर्नेहरूको कमी थिएन। प्रधानमन्त्रीको जयजयकार गर्नेहरूको कमी थिएन। जो बेघरबार भएका छन्, उनीहरूलाई उल्टै गाली गर्नेहरूको कमी थिएन।
सबभन्दा खतरनाक कुरा त्यहाँ यो थियो, मान्छेहरू तिनै सुकुम्बासीहरूको हुर्मत लिइरहेका थिए।
साँझ एउटा टेलिभिजनमा सत्ताधारी दलकै एक जना सांसद भन्दै थिए — काठमाडौंमा मेरो पनि जमिन छैन, के म बसन्तपुरमा टेन्ट टाँगूँ?
हे मन्दबुद्धि महोदय, कसले भन्यो तिमीलाई काठमाडौंमा घर नहुने सबै सुकुम्बासी हुन्?
हे मन्दबुद्धि महाशय, तिमी धनी हौ, सुकुम्बासी होइनौ।
हे मन्दबुद्धि मान्यवर, यहाँ सुकुम्बासीको कुरा हुँदैछ, व्यापारीको होइन।
अर्का नेता कुनै 'सी–ग्रेड' युट्युबमा भन्दै थिए, 'यी जो छन्, सबै अतिक्रमणकारी र हुकुम्बासीहरू हुन्।'
हे मन्दबुद्धि महाशय, को हुकुम्बासी हुन् र को सुकुम्बासी हुन् — छुट्ट्याऊ न त। तिमीसँग राज्य छ, पैसा छ, कर्मचारी छन्, सेवक छन्। काम गर र हुकुम्बासीलाई हटाऊ। तर जो वास्तविक सुकुम्बासी छन्, उनीहरूलाई किन अपमान गर्दै लखेट्छौ?
सोमबार, जब उज्यालो भयो, म लागेँ मनोहरा किनारतिर।
जहाँ भेटिइन् पर उभिएर आफ्नो भत्किएको घर हेर्दै गरेकी एक वृद्धा।
उनलाई सोधेँ — आमा, के छ खबर?
उनले खण्डहर बनेको बस्तीतिर देखाउँदै भनिन्, 'त्यो बस्ती जस्तै भत्किएको छ मेरो मन पनि।'
उनले लामो सास तानिन् र भनिन्, 'आफ्नो कोही रहेनछ यो सहरमा। त्यसैले डर लागेको छ।'
वास्तवमा त्यहाँ उनीहरूको कोही थिएन। घर ढल्दै गर्दा साथमा उभिन आउने न त पार्टी थियो, न त नेता।
हिजो चुनावमा चर्को बोल्ने न रवि लामिछाने त्यता कतै छाती थाप्न आए, न त पुराना दलका नेता कतै देखिए। एउटा चिर्कटो विज्ञप्तिले आफ्नो लाज ढाक्न बानी परेकाहरूलाई यो सबै साधारण थियो, किनभने यो गरिबको कुरा थियो।
एक जना अधबैंसे महिला थिइन्, वृद्धाको नजिकै।
उनले आफ्नो दुःखको सिलसिला सुनाउन थालिन्।
भन्दै थिइन्, 'उता भिरमा घर थियो, पहिरोले लग्यो। खेतबारी त मेरा पुस्तादर–पुस्ताका कतै थिएनन्। घर बगेपछि यता आएर सडकमा तरकारी बेच्थेँ, त्यो पनि नगरपालिकाले खोस्यो। एक–दुई रूपैयाँ गरेर सहकारीमा राखेको बचत कसले खायो, त्यसै हरायो। अहिले घरमा डोजर लाग्यो। तर डोजर मेरो घरमा लागेको होइन, मेरो मनमा लागेको हो।'
ती वृद्धा र महिला दुवैलाई सुनिरहँदा मलाई लाग्यो — मान्छेलाई परेको दुःखमा पनि कोही चुपचाप टुलुटुलु हेरेर बस्छ भने, त्योभन्दा अश्लील कुरा के हुन्छ?
तर सबै चुपचाप थिए।
न दल, न त अधिकारवादी, न नागरिक समाज, न नेता। त्यो बिहान मनोहरा किनारमा राजनीतिको अश्लीलता मेरो अगाडि नांगेझार भएर हाँसिरहेको थियो।
लगभग आधा घन्टा त्यहाँ बसेर म लागेँ दाहिनेतिर। नजिकै चिया पसलमा मान्छेको भिडभाड थियो।
मलाई चिन्ने एक जना भाइ आएर एकछिन कुरा गरे र एउटा भिडिओ देखाए।
सरकारी पार्टीका एक जना नेताको भिडिओ थियो त्यो।
भिडिओमा नेताजी चर्को स्वरमा सुकुम्बासीहरूलाई गाली गर्दै थिए, 'यी सबै अतिक्रमणकारी हुन्। सबै एमाले र कांग्रेसका मान्छेहरू हुन्।'
नेताजीको कुरा सुनेर भाइ निकै मुर्मुरिँदै थिए।
उनले प्रश्न गरे — कसैले रहरले खोला किनारमा घर बनाउँछ दाइ?
उनले थप प्रश्न गरे — के कोही आफ्ना छोराछोरीलाई बाढी, पहिरो र असुरक्षाको बीचमा हुर्काउन चाहन्छ?
उनी भन्दै गए, 'यदि कुनै नेतालाई यो रहर नै हो भन्ने लाग्छ भने, तिनलाई मेरो चुनौती छ – नेताज्यू, एक महिना सुकुम्बासी बनेर देखाऊ। एक महिना त्यो अभाव, त्यो प्रताडना, त्यो अपमान, त्यो हीनताबोध भोगेर देखाऊ। छ हिम्मत? अन्यथा, मान्छेलाई अपमान किन?'
मैले भाइसँग सहमति जनाएँ।
मलाई लाग्यो — नेपालमा 'सुकुम्बासी समस्या' केवल भूमिको प्रश्न होइन; यो राज्यको संरचना, विकासको मोडल र सामाजिक न्यायसँग गाँसिएको मानवीय प्रश्न हो।
भूमिहीनता, गरिबी, असमान विकास, रोजगारीको अभाव, शिक्षा र स्वास्थ्यको विभेद — यी सबै कारण मान्छे गाउँबाट सहरतिर धकेलिँदै छन्। त्यसपछि नै सहरले सस्तो श्रम पाउँछ। उसकै पसिनाले सडक बन्छ, घरहरू उठ्छन्, सहर चल्छ।
तर जब बस्ने ठाउँको कुरा आउँछ, त्यही सहर उसलाई अस्वीकार गर्छ।
अन्ततः ऊ खोला किनारमा पुग्छ — किनकि त्यो उसको रोजाइ होइन, अन्तिम विकल्प हो।
तर दुर्भाग्य, यस्तो यथार्थ नबुझी राज्यले सुकुम्बासीलाई अतिक्रमणकारीको लेबल लगाउँछ।
उनीहरूलाई जग्गा हडप्ने, सहर फोहोर गर्ने भनेर चित्रित गर्छ।
त्यसपछि एउटा जीवित, सार्वभौम, स्वाभिमानी र संघर्षरत मानिसलाई सहरले समस्या ठान्न थाल्छ।
परिणाम — उसलाई लखेटिन्छ। र, यसैलाई समाधानका रूपमा बुझ्ने गरिएको छ।
कस्तो दुर्भाग्य?
मनोहरामा ढलेको सुकुम्बासी बस्तीलाई एक फन्को मारेर मूल सडकतिर आउँदै गर्दा, एक जना युवा मलाई नै पछ्याउँदै आइपुगे र हतारहतार अनुरोधको स्वरमा भने, 'सरहरूले पनि केही त बोलिदिनुपर्छ।'
के बोल्ने — मैले केही नबुझेझैं गरेर सोधेँ।
उनले भने, 'हाम्रो पक्षमा बोलिदिनुपर्यो सर।'
मैले भनेँ — अनि तपाईंहरूले त सरकारको निर्णय खुरूखुरू मान्नुभयो भन्ने कुरा छ त?
उनले भने, 'कसले भन्यो यो कुरा? हामीलाई जबरजस्ती गरिएको छ। सेना–प्रहरीले घेरेका छन्। हाम्रो घरमाथि डोजर चलेको छ। सबैले हामीलाई शत्रु देखेका छन्। अनेक आरोप लगाइएको छ। यस्तो बेला हामीले के गर्नु सर? अन्यथा, आफ्नो घर भत्काउन कसैले सजिलै मान्छ र?'
मैले सोधेँ — अनि कुनै नारा–जुलुस, विरोध, प्रतिरोध केही भएन?
'सरकारले गोली हान्छ, जेल हाल्छ, जागिर पाइँदैन, जरिवाना तिराउँछ भनियो। बाध्य भएर हात उठायौं,' उनले भने।
भाइले आफ्नो बाध्यता सुनाए।
सरकारी मान्छेले भनेझैं, खासमा, सुकुम्बासीहरू सरकारको निर्णयलाई स्वीकार गरिरहेका थिएनन् — बरू डराइरहेका थिए। त्यसरी नै, जसरी कुनै बेला हिटलरको ग्यास च्याम्बरतिर जान पनि मान्छे लुरूलुरू हिँडेका हुन्थे।
मैले बाघका साथमा मृगको बच्चा लुरूलुरू हिँडेको पनि देखेको छु। तालिबानहरूले समातेका निर्धन र निहत्था मान्छेहरू पनि लुरूलुरू हिँडेको देखिएकै हो।
यो अर्थमा सुकुम्बासीहरूले सरकारको कुरा मानेका होइनन, सरकारसँग डराएका हुन्!
सरकारसँगको उनीहरूको अपनत्व सकिएको हो। सरकारसँगको साइनो टुटेको हो।
नत्रभने, लोकतान्त्रिक सरकारसँग मान्छे झगडा गर्छन्। सरकारका विरूद्ध नाराबाजी हुन्छ। त्यो यस कारण हुन्छ कि, उनीहरूलाई त्यसो गर्न हिम्मत आउँछ — उनीहरूसँग सरकार र राज्यप्रति स्वामित्व हुन्छ।
तर जब कसैप्रति स्वामित्व र हिम्मत सकिन्छ, तब यस्तै हुन्छ।
अवश्य नै, अहिले सुकुम्बासीहरू लुरूलुरू हिँडेको देख्दा मजा आउला।
तर एक दिन जब सरकार हरेक मान्छेका घरमा पस्न थाल्छ, त्यो बेला पनि मान्छे लुरूलुरू हिँड्नुपर्ने?
यदि कोही यस्तो हो भन्ने सोच्छ भने, यो राजनीतिको सबभन्दा भद्दा अवस्था हो। र, हो लोकतन्त्रको सबैभन्दा अश्लील कल्पना।
यसको अर्थ यो होइन कि, नदी किनारमा बस्ने मान्छेलाई त्यही राख्नुपर्छ।
त्यो दीर्घकालीन समाधान होइन। अवश्य नै, सुकुम्बासीलाई त्यहाँबाट सार्नुपर्छ। यो राज्यको दायित्व पनि हो।
तर यहाँ उठाउन खोजिएको प्रश्न विधिको हो। प्रश्न संवादको हो। प्रश्न लोकतान्त्रिक प्रक्रियाको हो। प्रश्न नागरिकलाई राज्यले गर्ने सम्मानको हो। प्रश्न सरकार र नागरिक बीचको सम्बन्धको हो । प्रश्न, सरकार र नागरिक पहिलो र को बलियो भन्ने हो?
सोचौं त — के सुकुम्बासीहरूसँग संवाद भयो?
के उनीहरूसँग मानवीय व्यवहार भयो?
के पुनर्वास योजनाले उनीहरूको जीवन सुधार्ने ग्यारेन्टी दिन्थ्यो?
अन्तिम कुरा के भने, कतै तपाईं पनि मान्छेलाई यसरी नै लखेट्नुपर्छ भन्ने ठान्नुहुन्छ?
यदि त्यसो हो भने, मलाई माफ गर्नुहोला — म तपाईंसँग सहमत हुन सक्दिनँ।
अथवा के तपाईं पनि मान्छेलाई यसरी नै अपमान गर्दा हुन्छ भन्ने ठान्नुहुन्छ?
त्यसो हो भने मलाई माफ गर्नुहोला — म तपाईंसँग सहमत हुन सक्दिनँ।
कतै तपाईंलाई पनि सबै कुरा आदेशमा चल्नुपर्छ भन्ने लाग्छ?
माफ गर्नुहोला — यदि त्यसो हो भने, म तपाईंसँग सहमत हुन सक्दिनँ।
किनभने, मेरा लागि लोकतन्त्र भनेको केवल चुनाव होइन, यो नागरिक प्रतिको सम्मान हो।
राज्यले कमजोरहरूमाथि यसरी डोजर चलाउनु, लोकतन्त्रमाथिको आघात हो। यसले राज्य र नागरिकबीच अविश्वास र असन्तोष मात्र बढाउँछ।
त्यसैले, ए सत्तामा बस्ने मान्छेहरू, कुरा सुन — तिमीले गाउने गीत मैले सुनेको छु। सुनेको छु, तिमी देश हाँसेको हेर्न चाहन्छौ रे। कृपया मलाई भन, तिमीले भनेको देश कुन हो? के त्यो उनीहरूको पनि होइन, जो हिजो तिमीले सुकुम्बासीका नाममा लखेटेका थियौ?
ए सत्ताधारीहरू भन — स्वयं नागरिकको आँसुले रूझेको देश हाँस्छ कसरी?
***
(केशव दाहालका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)
एक्स — @dahalkeshab