धादिङका बद्री खड्का हाल बेलायतको पिटरबरो सहरमा बस्छन्। उनले त्यहाँ साझेदारीमा रेस्टुरेन्ट चलाएका छन्।
'लोटस रेस्टुरेन्ट' मा बद्री र अर्का एक जनाको लगानी छ। यहाँ मुख्य गरी भारतीय खाना पाइन्छ। नेपाली खाना पनि राखेका छन्।
उनीहरू दुई जनाले आ–आफ्नो कामको जिम्मेवारी बाँडफाँट गरेका छन्। बद्री भान्सा सम्हाल्छन् भने उनका साथी सर्भिस र बार सम्हाल्छन्। रेस्टुरेन्टमा सघाउन थप पाँच जना सहयोगी छन्।
'उनीहरूमध्ये सुपरभाइजर भारतीय नागरिक हुन् भने अरू नेपाली हुन्,' बद्रीले भने, 'विशेष कार्यक्रम तथा बिदाको दिनमा थप कर्मचारी राख्छौं।'
रेस्टुरेन्ट दुई तलाको छ। यहाँ एक पटकमा ११० जनासम्म अटाउँछन्। ग्राहकहरू करिब ७० प्रतिशत स्थानीय हुन् भने ३० प्रतिशत नेपाली तथा भारतीय छन्।
लोटस रेस्टुरेन्टमा एनिभर्सरी, जन्मदिन, पास्नी जस्ता कार्यक्रम पनि हुन्छन्। त्यस्तै यसले घरमै खाना पुर्याउने (डेलिभरी) सेवा पनि उपलब्ध गराएको छ।
बद्रीका अनुसार रेस्टुरेन्ट सञ्चालन गरेको करिब पाँच महिना मात्र भएको छ। यसअघि उनी रोयल एयरफोर्स (बेलायती आर्मीको ब्यारेक) मा हेड–सेफका रूपमा काम गरिरहेका थिए।
'मेरो खास सीप कन्टिनेन्टल खाना बनाउनमा छ,' उनले भने।
बद्री सन् २००७ मा विद्यार्थी भिसामा बेलायत गएका हुन्। त्यो बेला नेपालमा स्नातक तह दोस्रो वर्षमा पढ्दै थिए।

बेलायतमा उनले स्टार्डफोर्ड कलेजमा व्यवस्थापन पढे। पढाइसँगै होटल तथा रेस्टुरेन्टमा पार्ट–टाइम काम गरे।
कलेज बिदामा पूरा समय काम गर्न पाउँथे। कलेज वर्षमा करिब दुई महिना बिदा हुन्थ्यो। त्यसैगरी नयाँ वर्ष र क्रिसमसमा पनि दुई–दुई हप्ताको बिदा मिल्थ्यो। ती समयमा उनी पूरा समय काम गर्थे।
करिब एक वर्षमै उनी व्यावसायिक रूपमा खाना पकाउन थालिसकेका थिए।
स्नातक सकेपछि बद्री बजार व्यवस्थापनमा स्नातकोत्तर (एमबिए) पढ्न थाले। करिब पाँच वर्ष पढिसकेपछि उनले आफ्नो सबै समय काममा लगाए।
स्नातकोत्तरपछि उनले एक भारतीय रेस्टुरेन्टमा काम पाए। त्यहाँ किचन हेल्परका रूपमा गएका थिए। दुई वर्ष त्यहाँ काम गरेर अर्को भारतीय रेस्टुरेन्टमा पनि दुई वर्ष काम गरे।
नौ वर्ष लन्डनमा बिताएर उनी सन् २०१८ मा पिटरबरो सहर आए।
'साझेदारीमा एउटा इन्डियन रेस्टुरेन्ट चलाएका थियौं। कोरोना महामारीका कारण चल्न सकेन। बेचिदियौं,' बद्रीले भने।
उनले रेस्टुरेन्ट चलाउन थालेको एक वर्ष नपुग्दै कोरोना सुरू भएको थियो। दुई महिना बन्द नै गर्नुपर्यो। त्यसपछि सरकारले टेक–अवे खुलाए पनि चलाउन सक्ने अवस्था नदेखेपछि बेचिदिए।
त्यसपछि उनले एक वर्ष मोबाइल पसलमा काम गरे।
'रेस्टुरेन्ट खासै चलेका थिएनन्। त्यसैले मोबाइल पसलमा काम थालेँ,' उनले सुनाए।
कोरोना मत्थर हुँदै गएर बिस्तारै पर्यटन क्षेत्र सहज भएसँगै उनले फेरि रेस्टुरेन्टमै काम गरे।
विभिन्न ठाउँमा काम गर्दा विभिन्न प्रकारका खानेकुरा पकाउन जाने। त्यही सीप प्रयोग गरेर अहिले आफै रेस्टुरेन्टमा लगानी गरेका हुन्।


उनका अनुसार बेलायतमा रेस्टुरेन्ट खोल्न स्थानीय तहबाट लाइसेन्स लिनुपर्छ।
उनको लोटस रेस्टुरेन्ट सरकारद्वारा सुरक्षित पुरानो महत्वपूर्ण भवन (लिस्टेड बिल्डिङ) मा छ।
यस्तो भवनको बाहिरी स्वरूप परिवर्तन गर्न पाइँदैन। त्यसैले साइनबोर्ड पनि राख्न नसकिएको उनले बताए।
त्यस्तै यो क्षेत्रमा कर्मचारी अभावको समस्या छ।
भन्छन्, 'सरकारको भिसा नीतिले गर्दा कामदारै पाउन सकेका छैनौं। बेलायती सरकारले अहिले नेपालबाट आउने कामदार अनुमति भिसा बन्द गरेको छ।'
बद्री रेस्टुरेन्टलाई अझ राम्रो बनाउँदै व्यवस्थित रूपमा सञ्चालन गर्न चाहन्छन्।
'मसँग यही क्षेत्रको सीप र अनुभव भएकाले यहाँ रेस्टुरेन्ट चलाउन सजिलो भएको हो। नभए गाह्रो हुन्छ,' उनले भने।