सोमबार सेयर बजारमा कुल सात अर्ब ४६ करोड रूपैयाँको कारोबार भयो।
यसमध्ये सेयरको कारोबार मात्रै तीन अर्ब ४३ करोड रूपैयाँको भयो। बाँकी कारोबार ऋणपत्र र सामूहिक लगानी कोषका इकाइको भएको हो।
पछिल्ला केही दिनमा जस्तै सोमबार पनि बजारमा सबभन्दा धेरै रकमको कारोबार हुने प्रमुख १० मा ९ वटा ऋणपत्र छन्।
ऋणपत्र भनेको कुनै कम्पनी वा निकायले बैंकबाट ऋण नलिई सर्वसाधारण वा संस्थागत लगानीकर्ताबाट निश्चित अवधिका लागि सापटी उठाउने माध्यम हो।
यसमा लगानी गर्ने व्यक्तिले कम्पनी वा निकायलाई पैसा सापटी दिएको मानिन्छ। कम्पनीले तोकिएको अवधिसम्म निश्चित ब्याज कुपन तिर्दै अवधि पूरा भएपछि लगानीकर्तालाई मूलधन फिर्ता गर्छ।
ऋणपत्रलाई बजारबाट ऋण उठाउने एउटा उपकरणका रूपमा लिइन्छ। नेपालमा बैंक तथा वित्तीय संस्थाबाहेक अन्य कम्पनीहरूले पनि यस्ता ऋणपत्र जारी गर्न पाइने व्यवस्था छ।
सरकारले पनि विकास ऋणपत्र, ट्रेजरी बिल वा वैदेशिक रोजगार बचतपत्रजस्ता विभिन्न ऋण उपकरणमार्फत बजारबाट ऋण उठाउने गर्छ।
बैंकबाट ऋण लिनुको सट्टा प्राथमिक बजार मार्फत लगानीकर्ताबाट सिधै ऋण संकलन गर्ने माध्यम नै ऋणपत्र हो।
ऋणपत्र विभिन्न किसिमका हुन्छन्।
संक्षेपमा बुझ्दा, जारी गर्ने संस्थाका आधारमा सरकारी ऋणपत्र र कर्पोरेट ऋणपत्र मुख्य रूपमा प्रचलित छन्।
त्यसैगरी, केही ऋणपत्र निश्चित अवधि पूरा भएपछि मात्र साँवा फिर्ता हुने प्रकृतिका हुन्छन्। केहीमा निश्चित अन्तरालमा साँवा पनि क्रमशः फिर्ता गरिने व्यवस्था हुन्छ।
साँवा फिर्ता गर्ने व्यवस्थाका आधारमा रिडिमेबल र नन–रिडिमेबल ऋणपत्र हुन्छन्। रिडिमेबल ऋणपत्रमा तोकिएको अवधि पूरा भएपछि लगानीकर्ताले साँवा फिर्ता पाउँछन्।
नन–रिडिमेबल ऋणपत्रमा भने निश्चित परिपक्व अवधि हुँदैन र जारीकर्ताले पूर्वनिर्धारित सर्त अनुसार वा विशेष अवस्थामा मात्र साँवा फिर्ता गर्न सक्छ। यो संस्था चलिरहुन्जेल चलिरहन्छ।
केही ऋणपत्रलाई निश्चित सर्त पूरा भएपछि कम्पनीको सेयरमा रूपान्तरण गर्न सकिने (कन्भर्टिबल) हुन्छ। केहीमा यस्तो सुविधा हुँदैन र यसलाई नन–कन्भर्टिबल वा अपरिवर्तित ऋणपत्र भनिन्छ।
नेपालमा सर्वसाधारणका लागि जारी हुने अधिकांश कर्पोरेट ऋणपत्र निश्चित ब्याजदर भएका र अपरिवर्तित प्रकृतिका छन्।
यो सेयरभन्दा फरक हुन्छ।
सेयरले कम्पनीको स्वामित्व दिने भए पनि ऋणपत्रले स्वामित्व दिँदैन। कम्पनीलाई दिएको ऋणमा अधिकार मात्र दिन्छ। त्यसैले यसको प्रतिफल सामान्यतया निश्चित हुन्छ र जोखिम पनि सेयरको तुलनामा कम मानिन्छ।
त्यस्तै, सेयर किन्नेले कुनै वर्ष लाभांश नपाउन पनि सक्छ। कम्पनीले नाफा भएर बाँड्न पुँजी भएमा मात्रै सेयरमा लाभांश दिन्छ। ऋणपत्रमा तोकिएको निश्चित ब्याजदर हुन्छ।
ऋणपत्र जारी गर्ने संस्था धराशायी भएर विघटन हुने अवस्था आएमा पहिलो भुक्तानी पाउनेमा ऋणपत्रका धनीहरू हुन्छन्। बैंक तथा वित्तीय संस्थाहरूमा भने निक्षेपकर्तापछि ऋणपत्रका धनीले रकम फिर्ता पाउँछन्।
सेयरधनीले त्यसपछि भाग पुगेमा मात्रै पाउने अवस्था हुन्छ।
सेयर बजारमा पनि बजार सूचक नेप्से गणनामा ऋणपत्रलाई लिइँदैन। सेयरको मूल्यमा हुने फेरबदलले नेप्से परिसूचकमा पनि फेरबदल हुन्छ। तर ऋणपत्र, सामूहिक लगानी कोषका इकाइको मूल्यमा हुने परिवर्तनले नेप्से परिसूचकमा असर गर्दैन।
पछिल्लो समय बजारमा बैंक तथा वित्तीय संस्थाले जारी गरेको ऋणपत्रको कारोबार बढेको हो।
प्राथमिक बजारमा जारी गर्दा यस्ता ऋणपत्रको एक इकाइको मूल्य १००० रूपैयाँ तोकिएको हुन्छ। बजारमा कारोबार क्रममा मूल्य थपघट हुन सक्छ।
अहिले बजारमा विभिन्न दरमा ब्याज तोकिएका ऋणपत्रहरू छन्। मुद्दति निक्षेपमा अहिले बैंकहरूले दिने अधिकतम ब्याजदर औसतमा ४.२७ प्रतिशत छ। ऋणपत्रमा ७.५ प्रतिशतदेखि १२ प्रतिशतसम्म ब्याज छ।
त्यसैले ऋणपत्रमा आकर्षण बढेको छ।
अहिले बजारमा कारोबार हुने मूल्यको आधारमा तोकिएको वार्षिक ब्याजदर बराबर नै वास्तविक प्रतिफल नभएको हुन सक्छ। अहिलेको ऋणपत्रको बजार मूल्य अनुसार तोकिएको ब्याज कति प्रतिशत प्रतिफल हो भनेर लगानीकर्ता आफैले हेर्न सक्छन्।
यसलाई ऋणपत्रको प्रतिलब्धि दर भनिन्छ।
कुनै कम्पनीको ऋणपत्र किन्दा त्यसको बजार मूल्यको तुलनामा लगानीकर्ताले एक वर्षमा कति प्रतिशत ब्याज प्राप्त गर्छ भन्ने मापन हो।
यो दर निकाल्न सजिलो छ।
मानौ, अंकित मूल्य १००० रूपैयाँ रहेको ऋणपत्र अहिले बजारमा ११६३ रूपैयाँमा कारोबार भइरहेको छ।
यसको तोकिएको ब्याजदर १०.२५ प्रतिशत छ। अंकित मूल्य १००० रूपैयाँको आधारमा लगानीकर्ताले प्रतिइकाइमा १०२.५० रूपैयाँ प्राप्त गर्छ। यो १०२.५० रूपैयाँ भनेको आजको मूल्यको आधारमा ८.८१ प्रतिशत हो।
हामीले सोमबार धेरैले कारोबार भएका मुख्य १५ वटा ऋणपत्रको प्रतिलब्धि निकालेका छौं। यीमध्ये सबैभन्दा धेरै प्रतिलब्धिदर कृषि विकास बैंकमा देखिएको छ। यसको प्रतिलब्धि दर ९.६१ प्रतिशत छ।
ऋणपत्रमा लगानी गर्दा विभिन्न कुरामा ध्यान दिनुपर्छ।
ब्याज भुक्तानी अवधि कति समयको हो भन्ने हेर्नुपर्छ। कतिपयले अर्धवार्षिक ब्याज भुक्तानी गरेका हुन्छन्। त्यसो हुँदा अहिले असारमा ऋणपत्र किन्नेले वर्षभरिको पूरै ब्याज पाउँदैन।
त्यस्तै, ऋणपत्र परिपक्व भएपछि संस्थाले भुक्तानी दिन सक्छ सक्दैन भन्ने कुरामा पनि विचार पुर्याउनुपर्छ।
|
ऋणपत्र
|
कुपन दर / ब्याजदर %
|
बजार मूल्य
|
वार्षिक
प्रतिलब्धि दर %
|
|
एनएमबी डिवेञ्चर ८७/८८
|
८.५०
|
११३५
|
७.४८
|
|
एनआइसी एसिया डिवेञ्चर ८५/८६
|
१०
|
११५५
|
८.६६
|
|
एभरेष्ट बैंक डिवेञ्चर २०९१
|
७.५
|
१११९
|
६.७०
|
|
सानिमा बैंक डिवेञ्चर २०८५
|
१०
|
११३९
|
८.७७
|
|
एनएमबी डिवेञ्चर ८९/९०
|
१०.७५
|
१३०५
|
७.८१
|
|
प्रभु बैंक २०८७
|
८.५
|
११४०
|
७.४५
|
|
एनसिसी डिवेञ्चर २०८६
|
९.५
|
११९०
|
७.९८
|
|
स्ट्यान्डर्ड चार्टर्ड बैंक २०८५
|
१०.३
|
११३२
|
९.०९
|
|
कुमारी बैंक डिवेञ्चर २०९०
|
१०
|
१२२५
|
८.१६
|
|
नबिल बैंक डिवेञ्चर २०८९
|
७
|
११४०
|
६.१४
|
|
सनराइज बैंक डिवेञ्चर २०८३
|
१०.२५
|
१०८२
|
९.४७
|
|
कृषि विकास बैंक २०८३
|
१०.३५
|
१०७६
|
९.६१
|
|
ज्योति विकास बैंक २०८७
|
९
|
१११०
|
८.१
|
|
प्रभु बैंक २०८४
|
१०
|
११२७
|
८.८७
|
|
माछापुच्छ्रे बैंक २०८७
|
१०.२५
|
११६३
|
८.८१
|
नेप्से घट्दा कता सर्दैछ लगानी?