घनश्याम भुसालको दैनिकी कामकै वरिपरि घुम्छ। बिहान सुरू भएको १२ घन्टाको ड्युटी साँझ टुंगिन्छ। अनि फेरि अर्को दिन उही तालिका दोहोरिन्छ।
दाङ, तुलसीपुर–१ का उनी मलेसियाको एक कम्पनीमा सेक्युरिटी गार्डका रूपमा काम गरिरहेका छन्। यही काम गर्दै उनको मलेसिया बसाइले ६ वर्ष पूरा गरिसकेको छ।
'हाम्रो टिममा आठ जना छौं। एक पटकमा चार जनाको ड्युटी हुन्छ,' घनश्यामले सुनाए, 'बिहान र बेलुका दुई सिफ्टमा काम हुन्छ।'
घनश्याम सो टिमका लिडर हुन्। कम्पनीले उनीहरूलाई मलेसियाको सेलाङ्गोर राज्यमा पर्ने इभो सोहो स्विट्स नामक मलमा सेक्युरिटी गार्डका रूपमा खटाएको छ।
यो मल ३२ तलाको छ। ९ तलासम्म सुपरमार्केट छ, माथिको बाँकी तला आवासीय अपार्टमेन्ट हो। घनश्यामको टिमले अपार्टमेन्टको सुरक्षा गर्छन्।
उनको कार्यतालिका निश्चित छ। एक महिना बिहान र एक महिना रातिको ड्युटी हुन्छ।
कम्पनीले बस्ने कोठा दिएको छ। खाना व्यवस्थापन भने आफै गर्नुपर्छ।
'एउटा ठूलो हल र एउटा सानो कोठा छ। हामी सात जना त्यहीँ बस्छौं। एक जना साथी चाहिँ छुट्टै कोठा लिएर बस्नुभएको छ,' उनले भने।
बस्ने कोठाबाट कार्यस्थल पुग्न पैदल करिब १० मिनेट लाग्छ। काममा जाने–फर्किने झन्झट छैन।
उनीहरूको दैनिकीमा खानाको जिम्मेवारी पनि मिलेमतोमै बाँडिएको छ। दिउँसो ड्युटीमा हुने साथीहरूले बिहान र रातीको ड्युटी हुने साथीहरूले बेलुकीको खाना पकाउँछन्। दिउँसो खाजा भने रेस्टुरेन्टमा खान्छन्।
घनश्याम ड्युटी सकिएपछि सिधै कोठा फर्किन्छन्। नुहाइधुवाइ, लुगा फेर्ने र व्यक्तिगत सरसफाइपछि अर्को दिनको तयारी सुरू हुन्छ। कम्पनीले कपडा धुने मेसिन उपलब्ध गराएकाले निकै सहज भएको उनी बताउँछन्।

विदेशका केही कम्पनीमा सेक्युरिटी गार्डको काम गर्ने कामदारलाई पानीसमेत खान नदिने गरेको सुनिन्छ। आफू कार्यरत कम्पनीमा भने त्यस्तो अवस्था नरहेको उनले बताए।
'काम गर्न सजिलै छ। तर छुट्टी चाहिँ हुँदैन,' उनले भने, 'नाइट ड्युटी हुँदा घुम्न जान्छु। तर अहिलेसम्म दुई ठाउँ मात्र घुमेको छु।'
घनश्यामले एसएलसी (एसइई सरह) दिएपछि नै वैदेशिक रोजगारीको यात्रा सुरू गरेका हुन्।
दाङको एक सरकारी स्कुलबाट उनले २०६६ सालमा एसएलसी दिए। सेकेन्ड डिभिजनमा उत्तीर्ण भएका उनी दुई–तीन महिना कलेज पनि गए। पछि परिवारको सल्लाहमै कलेज छाडेर विदेशिने निधो गरे।
उनका तीन दाजुभाइ र एक बहिनी छन्। आम्दानीको स्रोत खेतीपाती मात्र थियो। घरको कमजोर आर्थिक अवस्था सुधार्न उनी विदेशिए।
'एसएलसी दिएपछि नागरिकता बन्यो। त्यसपछि पासपोर्ट बनाएर विदेश आएँ,' घनश्यामले सुनाए।
उनी इलेक्ट्रोनिक्स कम्पनीमा काम गर्न पहिलो पटक सन् २०११ मा मलेसिया पुगेका हुन्। त्यस बेला करिब ९० हजार रूपैयाँ खर्च लागेको थियो।
उनको काम अफिसभित्रै थियो। श्रम सम्झौता तीन वर्षको थियो। तर सम्झौता अनुसार तलब पाएनन्।
'त्यतिखेर हामी गएको मेनपावर कम्पनीका प्रतिनिधि पनि हामीले काम गर्ने कम्पनीमै गएका थिए। त्यसपछि कामदारले विरोध गरे,' उनले सुनाए, 'म अफिसभित्र काम गर्थेँ। मेनपावरका प्रतिनिधि आउने जानकारी दिएको आरोप लगाएर मलाई प्रोडक्सनमा सारियो। त्यसपछि मैले काम गरिनँ। एक वर्षमै फर्किएँ।'
नेपाल फर्किएपछि केही समय गाउँमै बसे। त्यही अवधिमा उनले बिहे पनि गरे।
तर गाउँमा बसेर मात्र दैनिकी चल्दैनथ्यो। उनी सन् २०१४ मा दोस्रो पटक मलेसिया पुगे। त्यहाँ सोफा बनाउने कम्पनीमा प्लाइबोर्ड चिर्ने काम थियो। सम्झौता अनुसार तीन वर्ष काम गरेर सन् २०१७ मा उनी नेपाल फर्किए।
'त्यहाँ चाहिँ सम्झौता अनुसारकै तलब थियो। काम पनि ठिकै थियो,' उनले भने।
त्यसपछि ऋण खोजेर उनले गाउँमा घर बनाए। यहाँ कामको अनुभव नभएकाले घनश्यामलाई आम्दानीका लागि फेरि विदेशै जानुपर्यो।
घर बनाउँदाको र विदेश जाने बेलाको ऋणको भारी बोकेर फेरि उनी सन् २०१८ मा कतार गए।

उनी एक निर्माण कम्पनीमा स्टोर किपरका रूपमा काम गर्थे। दुई वर्षको सम्झौता भए पनि अत्यधिक गर्मीका कारण १८ महिना मात्रै काम गरे।
अनि सन् २०२० मा फेरि ऋण गरेरै मलेसिया पुगेका हुन्।
'कमाएको पैसा घरमै खर्च हुन्छ। विदेश निस्किने बेला त फेरि ऋण नै खोज्नुपर्छ,' उनी सुनाउँछन्।
रोजगारीसँगै घनश्याम फेसबुकमा पनि सक्रिय छन्।
उनले फेसबुक मनिटाइजेसनमा समस्या भएका प्रयोगकर्तालाई सहजीकरण गर्दै आएका छन्। आइपरेका समस्या पनि समाधान गरिदिन्छन्।
'हाम्रो एउटा एमडिआर भन्ने टिम छ। त्यसमा हामी विभिन्न देशमा छरिएका सदस्य छौं,' उनले भने, 'हामीले केही समस्या परे फेसबुक टिमलाई प्रत्यक्ष रूपमा कसरी रिपोर्ट गर्ने भन्ने कुरा सिकाउँछौं।'
उनले यो काम युट्युबमा हेरेर सिकेका हुन्।
घनश्यामका भाइ पनि मलेसियामै काम गर्छन्। दाइ गाउँकै एक स्कुलमा शिक्षक छन्। उनका एक छोरा र एक छोरी छन्।
'वैदेशिक रोजगारीमा कमाएको पैसाले गाउँमै जग्गा किनेको छु। यहाँ महँगी छ। अलिअलि बचत हुन्छ। धेरै पैसा छोराछोरी पढाउन र घरखर्चमै जान्छ,' घनश्यामले भने।
उनी अझै चार वर्ष त्यहीँ काम गर्ने योजनामा छन्। त्यसपछि फर्केर गाउँमै केही गर्ने योजना छ।
'यहाँका नियम अनुसार दस वर्षभन्दा बढी एउटै कम्पनीमा बस्न पाइँदैन। यहाँ काम गरेको दस वर्ष पुग्न अब तीन वर्ष ९ महिना बाँकी छ। यो अवधि पूरा गरेर फर्किने सोच छ,' उनले भने।