सेयर बजारमा सर्ट सेलिङ लागू गर्न मार्जिन कारोबार, धितोपत्र सापटी तथा उधारो (सेक्युरिटिज लेन्डिङ एन्ड बोरोइङ) र आवश्यक आइटी पूर्वाधार तयार पारेर मात्र चरणबद्ध रूपमा अघि बढ्नुपर्ने धितोपत्र बोर्डको अवधारण पत्रमा उल्लेख गरिएको छ।
नेपाल धितोपत्र बोर्डले तयार पारेको अवधारण पत्रले बजारको जोखिम व्यवस्थापन, प्रभावकारी सुपरिवेक्षण तथा सेटलमेन्ट प्रणालीलाई सुदृढ नगरी सर्ट सेलिङ लागू गर्दा जोखिम बढ्न सक्ने निष्कर्ष निकाल्दै कार्ययोजना प्रस्ताव गरेको हो।
हाल कानुनी रूपमा व्यवस्था भए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको मार्जिन कारोबारलाई पहिलो चरणमा पूर्ण रूपमा सञ्चालनमा ल्याउनु पर्ने अवधारण पत्रमा उल्लेख छ।
हाल मार्जिन कारोबार सुरू भइसके पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।
लगानीकर्तालाई नियन्त्रित र सुरक्षित रूपमा ऋण लिएर लगानी गर्ने सुविधा दिइने उल्लेख छ।
धितोपत्र दलाल (ब्रोकर)मार्फत मार्जिन कारोबार सुविधा दिइने र ब्रोकरले बैंक तथा वित्तीय संस्थाहरूबाट स्रोत प्राप्त गर्नेछन्।
प्रभावकारी कार्यान्वयनको लागि स्वचालित मार्जिन गणना प्रणाली, दैनिक बजार मूल्यका आधारमा मूल्यांकन (मार्क टु मार्केट), मार्जिन कल तथा आवश्यक परे धितोपत्र बिक्री गर्ने स्पष्ट व्यवस्था गर्नुपर्छ।
त्यसपछि धितोपत्र सापटी तथा उधारोसम्बन्धी कानुनी व्यवस्था, आइटी प्रणाली र राफसाफको पूर्वाधार तयार गरिनेछ।
सापटी दिने प्रणाली सक्रिय भएपछि मात्रै सर्ट सेलिङ लागू गर्नुपर्ने अवधारण पत्रमा उल्लेख छ।
यस्तो कारोबार गर्नेसँग सापटीको सेयर रहेको सुनिश्चितता नभई यस्तो (नेकेड) कारोबार गर्न नदिइने उल्लेख छ।
सर्ट सेलिङ गर्नुअघि सम्बन्धित धितोपत्र अनिवार्य रूपमा सापटी लिइएको पुष्टि हुनुपर्ने, सर्ट पोजिसनको निरन्तर निगरानी गर्ने व्यवस्था गर्नुपर्ने तथा समयमै धितोपत्र फिर्ता गर्न नसके बजारबाट किनेर दिन सकिने 'बाइ–इन' व्यवस्था लागू गर्नुपर्ने उल्लेख गरिएको छ।
भारतमा पनि नेकेड सर्ट सेलिङ गर्न नपाइने व्यवस्था छ।
प्रारम्भिक चरणमा भने उच्च तरलता (धेरै सेयर) भएका सीमित धितोपत्रमा मात्र यस्तो कारोबार गर्न दिने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ।
यो प्रणाली कार्यान्वयन गर्न धितोपत्र बोर्ड, स्टक एक्सचेञ्ज (नेप्से), सिडिएस एन्ड क्लियरिङ, बैंक तथा धितोपत्र दलाल व्यवसायी सम्मिलित संयुक्त कार्यान्वयन समिति गठन गर्नुपर्ने र प्रत्येक चरण पूरा भएपछि नियामकीय समीक्षा गरेर मात्र अर्को चरणमा प्रवेश गर्नुपर्ने प्रस्ताव गरिएको छ।
यस्तो कारोबारको लागि सिडिएस एन्ड क्लियरिङले धितोपत्र सापटी तथा उधारो प्रणाली सञ्चालन गर्ने उल्लेख छ।
यसका लागि छुट्टै नियमावली जारी गर्ने, सिडिएस एन्ड क्लियरिङमार्फत धितोपत्र सापटी तथा उधारो प्रणाली सञ्चालन गर्ने, धितोपत्र सापटी दिने र लिने पक्षको दर्ता गर्ने व्यवस्था मिलाउने तथा सापटी शुल्क निर्धारण गर्नुपर्ने व्यवस्था हुनुपर्ने मानिएको छ।
साथै, सापटी फिर्ता नहुने अवस्थाको जोखिम व्यवस्थापनसमेत कानुनी रूपमा सुनिश्चित गर्नुपर्ने औंल्याएको छ।
सर्ट सेलिङ जोखिमयुक्त कारोबार हो। यसैको आडमा बजारमा दुरुपयोग समेत हुन सक्ने भएकोले त्यसलाई रोक्न कडा निगरानी गरिने अवधारणा पत्रमा बताइएको छ।
विशेषगरी कारोबारीहरूले सेयर मूल्य जबरजस्ती घटाउन लाग्ने प्रवृत्ति (बेयर रेड), कृत्रिम रूपमा मूल्य घटाउने गतिविधि, झुटा अफवाह फैलाएर मूल्य प्रभावित गर्ने कार्य तथा भित्री सूचनाको दुरुपयोग गर्दै गरिने सर्ट सेलिङलाई नियन्त्रण गर्न कडा नियामकीय निगरानी आवश्यक हुने बताइएको छ।
यस्तो छ कार्यान्वयनको चरण:
पहिलो चरणमा मार्जिन कारोबार, धितोपत्र सापटी तथा उधारो र सर्ट सेलिङसम्बन्धी नियमावली जारी गरिने
त्यसपछि नेप्से र सिडिएस एन्ड क्लियरिङले आवश्यक प्राविधिक प्रणाली विकास गर्ने
यससँगै धितोपत्र व्यवसायीको क्षमता अभिवृद्धि र लगानीकर्ता सचेतना कार्यक्रम सञ्चालन गरिने
त्यसपछि प्रभावकारी रूपमा मार्जिन कारोबार लागू गरिने
धितोपत्र सापटी तथा उधारो सेवा सञ्चालन गरिने र अन्तिम चरणमा मात्र सर्ट सेलिङ सुरू गरिने