नेपाली राजनीतिमा सत्ता समीकरण र नेतृत्व फेरबदलका खेलहरू अक्सर बन्द कोठाभित्रै पाक्छन्। यस क्रममा बिहीबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डु (भक्तपुर) को कोठामा लुम्बिनी प्रदेशको मुख्यमन्त्री कसलाई बनाउने भन्ने सहमति जुटेको छ।
एमाले स्रोतका अनुसार बिहीबार पार्टी अध्यक्ष ओली, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, वर्तमान मुख्यमन्त्री चेतनारायण आचार्य र पूर्वमुख्यमन्त्री लीला गिरीबीच छलफल भयो।
छलफलबाट अहिलेलाई आचार्यलाई नै निरन्तरता दिने, एक–डेढ महिनाको तारतम्य मिलाएर आचार्यले गिरीलाई मुख्यमन्त्रीको जिम्मेवारी सुम्पने सहमति बनेको छ।
केही दिनअघि एमाले अध्यक्ष ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' बीच ७ वटै प्रदेशमा सरकार निर्माणका लागि नयाँ गठबन्धन गर्ने सहमति भएको थियो। उक्त सहमतिलगत्तै नेपाली कांग्रेसबाट सरकारमा सहभागी पाँचै जना मन्त्रीहरूको सामूहिक राजीनामा मुख्यमन्त्रीलाई बुझाएपछि प्रदेशमा मुख्यमन्त्रीका लागि एमालेभित्रै दौडधुप सुरू भएको थियो।
वर्तमान मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री लीला गिरी र पूर्वमन्त्री भूमिश्वर ढकालसँगै अर्का पूर्व मन्त्री तथा संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठले समेत मुख्यमन्त्रीका लागि पार्टीभित्र लबिङ सुरू गरेका थिए।
गिरी संसदीय दलको नेता रहेकै बेला दलका उपनेता आचार्यलाई मुख्यमन्त्री बनाएपछि नेकपा एमालेभित्र चर्को असन्तुष्टि थियो। मुख्यमन्त्री परिवर्तन गर्ने भए पहिलेको शोधभर्ना हुने गरी गिरीलाई मुख्यमन्त्री बनाउने, अन्यथा आचार्यलाई नै निरन्तरता दिने पक्षमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल थिए।
तर आचार्य नेतृत्वको सरकार बनाउन महत्त्वपूर्ण भूमिका खेलेका भूमिश्वर ढकाल पछिल्लो समय पार्टी अध्यक्ष ओलीको निरन्तरताको पक्षमा उभिएका कारण ओलीको चाहना ढकाललाई मुख्यमन्त्री बनाउने थियो।
ढकाललाई मुख्यमन्त्री बनाउँदा पार्टीभित्रै विद्रोह हुनसक्ने देखेपछि अन्ततः पार्टी नेतृत्वका बीचमा तत्काललाई आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति जुटेको छ।
मुख्यमन्त्रीका लागि आन्तरिक रूपमा लबिङ सुरू गरेपछि अध्यक्ष ओलीले आचार्य र गिरीलाई सँगै राखेर छलफल गर्ने भन्दै बिहीबार बिहान गुण्डुस्थित आफ्नो निवास बोलाएका थिए। समय बिहान १०ः३० बजे तोकिएको थियो।
गिरी काठमाण्डौंमै रहेकाले निर्धारित समयभन्दा केही बेरपछि पुगे। तर चेतनारायण आचार्य दाङबाट भैरहवा हुँदै काठमाडौं पुग्दा केही ढिलो भयो। त्यति बेलासम्म ओली र गिरीबीच केही बेर कुराकानी भयो।
ओली र गिरीबीच कुराकानी भइरहँदा आचार्य पनि ओली निवास पुगे। गिरी र आचार्यबीच सामान्य कुराकानी भयो। केही बेरमा महासचिव शंकर पोखरेल प्रतिवेदन लिएर अध्यक्ष ओली भेट्न पुगे।
ओलीलाई पोखरेलले भेटेको केही बेरमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल पनि गुण्डु पुगे।
अध्यक्ष, उपाध्यक्ष र महासचिव तीन जनाबीच प्रतिवेदनबारे केही बेर छलफल गरेपछि गिरी र आचार्यलाई भित्र बोलाएर ओली बाहिर निस्किए। पौडेल, पोखरेल, गिरी र आचार्यबीच केही बेर छलफल भयो।
त्यसको केही बेरपछि ओली पनि भित्र प्रवेश गरे र गिरी र आचार्यलाई सँगै राखेर भने, 'अहिलेलाई चेतनारायणजीले निरन्तर गर्नुस् र केही समयमै चाँजोपाँजो मिलाएर लीलाजीलाई नेतृत्व सुम्पिनू।'
अध्यक्ष ओलीको निर्देशनात्मक निर्णय सुनेपछि आचार्यले एकाध महिनापछि आफैले गिरीलाई नेतृत्व सुम्पिने बताए।
'हुन्छ, मलाई एकाध महिना दिनुस्, म आफै छाड्छु।'
आचार्यको उक्त भनाइपछि ओलीले गिरीलाई देखाउँदै 'त्यसै गर्ने त?' भनेर सोधे।
गिरीले पार्टी नेतृत्वको विवेकपूर्ण निर्णय भए भइहाल्छ भनेर जबाफ दिए।
गिरीको यो मौन र संयमित सहमतिस्वीकार गर्दै अध्यक्ष ओलीले अन्तिम निर्णय सुनाए, 'ल, उसो भए नयाँ समीकरणको माहोल र तारतम्य मिलाएर एक महिनापछि लीलालाई छाड्नू।'
अध्यक्ष ओलीसँगको छलफल निर्णयमा आचार्य र गिरीले सहमति जनाएपछि तीनै जना बाहिर निस्किएर तस्बिर खिचाए र बाहिरिए।
ओलीले गिरी र आचार्यसँग छलफल गर्दा उपाध्यक्ष पौडेल र महासचिव पोखरेल भने अर्को कोठामा बसिरहेका थिए।
सहमति अनुसार अबको एक वा डेढ महिनासम्म चेतनारायण आचार्यले नै सरकारको नेतृत्व सम्हाल्नेछन्। सो अवधिमा आवश्यक पर्ने राजनीतिक समीकरण, कानुनी प्रक्रिया र प्रशासनिक तारतम्य मिलाइनेछ।
त्यसपछि आचार्य सहज ढंगले पदबाट बाहिरिने र लीला गिरीले मुख्यमन्त्रीको रूपमा नयाँ कार्यकाल सम्हाल्नेछन्।
मुख्यमन्त्री आचार्यले पनि सेतोपाटीसँग कुरा गर्दै अहिलेका लागि आफ्नै निरन्तरता हुने निर्णय भएको बताए।
'बाँकी समयका लागि भन्दा पनि अहिलेका लागि मेरै निरन्तरता हुने सहमति भएको छ,' उनले भने।