सेयर बजारलाई लगानीकर्ताको खुसी, त्रास, आवेग र निराशाको द्योतक मानिन्छ।
लगानीकर्ता उत्साहित हुँदा बजार बढ्छ भने डराउँदा बजार घट्छ। बजारको दैनिक उतारचढाव बाहेक लगानीकर्ताको मनोभाव छाम्ने एउटा अर्को सूचक पनि छ।
त्यो हो रिलेटिभ स्ट्रेन्थ इन्डेक्स अर्थात् आरएसआई।
सन् १९७८ मा अमेरिकी मेकानिकल इन्जिनियर, रियल इस्टेट व्यवसायी र प्राविधिक विश्लेषक जे वेल्स वाइल्डर जुनियरले यो सूचकको अवधारणा सुरू गरेका हुन्।
आज यो सूचक विश्वभरका लगानीकर्ताले सेयरको मूल्य कति छिटो बढिरहेको वा घटिरहेको छ तथा बजारको प्रवृत्ति कता मोडिन सक्छ भन्ने आकलन गर्न प्रयोग गर्छन्।
सेयर बजारको जानकारी दिने, विश्लेषण गर्ने कतिपय अनलाइन प्लेटफर्मले यो सूचक सजिलै हेर्न सकिने गरी राख्छन्।
सामान्यतया १४ दिने आरएसआई सूचक बढी चलनचल्तीमा छ। जसलाई आरएसआई फोटिन पनि भनिन्छ।
यो सूचकलाई स्केलका तीन भागमा विभाजन गरेर हेरिन्छ। शून्यदेखि ३०, ३० देखि ७० र ७० देखि १०० सम्म।
शून्यदेखि ३० को तह भनेको बजारमा चरम निराशा छ, सेयर बिक्री दबाब अत्यधिक रहेको संकेत हो। यसलाई अंग्रेजीमा ओभरसोल्ड (अवमूल्यनको अवस्था) पनि भनिन्छ।
यसले ढिलोचाँडो प्रवृत्ति परिर्वतन भएर बजार बढ्न सक्ने अग्रिम संकेत दिन्छ।
त्यस्तै, ३० देखि ७० सम्मको अवस्थालाई सन्तुलित अवस्थाका रूपमा विश्लेषण गरिन्छ। यसले सेयर बजारमा माग र आपूर्ति सन्तुलनमै रहेको संकेत गर्छ।
त्यस्तै, ७० देखि १०० सम्मलाई ओभरबट वा अधिमूल्यनको अवस्था भनिन्छ।
हामीले नयाँ सरकार बनेपछिको यो सूचक हेरेका छौं। यो अवधिमा बजारमा करिब ७१ दिन सेयर कारोबार भएको छ। जति सरकार बन्ने ताका बजारमा उत्साह देखिएको थियो, सरकार बनेसँगै त्यो उत्साह कायम रहन सकेन।
१४ दिने आरएसआई सूचकले यस अवधिमा बजार एक पटक पनि उत्साहको क्षेत्र मानिने ७० मा प्रवेश गर्न नसकेको देखाउँछ।
एकाध पटक बजार ७० नजिक पुगे पनि त्यो तह पार नै गर्न सकेन। यो अवधिमा बरू बजारमा चरम निराशाको अवस्था देखियो। आरएसआई २ सम्मै झरेको थियो।
तर धेरैजसो समय बजार चरम निराशापछि पनि सम्हालियो र सन्तुलित क्षेत्रमै लामो समय बस्यो।
अहिले बजार अधिक खरिदको नजिकबाटै फेरि ओरालो लाग्ने जमर्को गरिरहेको छ।
पछिल्ला ९ कारोबार दिनमा आरएसआई सूचकले ट्रिपल टप आकृति बनाउन लागेको छ। यो स्केलको ६६, ६८ र पुनः ६६ सम्म पुगेर प्रत्येक पटक घटेको छ।

आरएसआई सूचकको तथ्यांक शृंखलामा बन्ने प्रवृत्तिहरूलाई पनि महत्त्वपूर्ण मानिन्छ।
अहिले यसमा ट्रिपल टप आकृति देखिएको हो। यसले बजार घट्न सक्ने संकेत गर्छ।
यो सूचकमा पनि निश्चित रेन्जमा रहेर तलमाथि हुँदै साइडवेज मुभमेन्ट भएमा, यो प्रवृत्ति कसरी अन्त्य हुन्छ, त्यसपछि आरएसआईले कुन दिशा लिन्छ, बजारको आगामी प्रवृत्ति पनि धेरै हदसम्म त्यसमै निर्भर रहनेछ। घटेमा बजार थप घट्ने र बढेमा थप बढ्ने सम्भावना हुन्छ।
अहिले बजार वृद्धि हुन सक्ने वा घट्न सक्ने कारण लगभग बराबरी जस्तै छ।
घट्दो ब्याजदर, सूचीकृत कम्पनीहरूको वित्तीय विवरण सार्वजनिक हुने समय, धेरैजसो कम्पनीको मूल्य न्यून तहमा रहनु लगायत कारण बजार बढाउन सहयोगी हुन सक्छ।
पछिल्लो समय तराईका क्षेत्रमा फैलिरहेको अशान्ति, सरकारप्रतिको उदासिनता, मुभिङ एभरेज जस्ता प्राविधिक सूचकले बजार थप घट्न सक्ने संकेत गरिरहेको छ। यसले पनि बजारलाई तल तान्ने शक्तिका रूपमा काम गरिरहेको छ।
केही समययता ५० दिने र २०० दिने मुभिङ एभरेज रेखामा डेथ क्रसओभर देखिएको छ र यो अवस्थामा परिवर्तन देखिएको छैन।
त्यसैले अब कुन शक्ति धेरै हावी हुन्छ, बजार त्यतै ढल्किने सम्भावना छ।