नेपालमा बाघको संख्या अझै बढेको पछिल्लो खबरले प्रकृतिप्रेमी तथा संरक्षणकर्मीलाई उत्साहित तुल्याइदिएको छ।
नहुनु पनि किन— १७ वर्ष अवधिमा रोयल बंगाल टाइगर भनेर चिनिने पाटे बाघको संख्या नेपालको तराई–मधेसका वन जंगलमा तीन गुणाभन्दा बढीले अकासिएको छ। त्यो क्रम अझै जारी रहने अपेक्षा छ।
सन् २००९ मा १२१ वटामा सीमित बाघको संख्या बढेर अहिले ४२९ पुगेको छ। चार वर्षअघि तराई–मधेसका ५ निकुञ्ज र वरपर गरिएको अध्ययनले तिनको संख्या ३५५ देखाएको थियो। अहिले ७४ वटा बाघ थपिएको पाइएको हो।
तर चिन्ता पनि थपिएको छ। संख्या बढोत्तरीले मानिस र बाघबीच द्वन्द्व अझै बढ्न सक्ने आशंका बढाइदिएको छ। साथै नेपालका वनजंगलले कति बाघ धान्न सक्छन् भन्ने प्रश्न छ। यसबारे थप चर्चा केही पछि गर्नेछु।
'उत्साहजनक' वृद्धिदर
सन् २०१० को मेमा गोप्य रूपमा नेपाल आएका हलिवुड अभिनेता लियोनार्दो डिकाप्रियोले बर्दिया निकुञ्ज भ्रमणका क्रममा बाघको तस्बिर खिच्न क्यामरा पासो जडान गर्दै। तस्बिर: WWF Nepal
गएको पुसदेखि पाँच निकुञ्ज र वरपरका वनमा ग्रिड क्यामरा राखेर थालिएको बाघ र तिनका आहारा प्रजातिबारे सर्वे पूरा हुन ६ महिना लाग्यो।
परिणाम— ती क्षेत्रमा बाघको संख्याको वृद्धिदर 'उत्साहजनक' रहेको पाइयो। चार वर्षअघि ५१ प्रतिशत वृद्धिदर रहेकामा यस पटक २१ प्रतिशत पाइएको छ।
गोप्य भ्रमणका बेला सन् २०१०, मेमा हलिवुड अभिनेता लियोनार्दो डिकाप्रियोले समेत बाघ देखेको भनिएको बर्दिया निकुञ्ज बाघ अवलोकनका लागि विश्व विख्यात छ।
अहिले सर्वे क्रममा बर्दियामा बाघ घटेको देखिएको छ। चार वर्षअघि १२४ वटा बाघ भएकोमा यसपालि ११२ मात्रै गनिए। तर त्यहाँका बाघ निकुञ्ज वरिपरिका वन क्षेत्रमा छरिएको हुन सक्ने अनुमान छ।
बर्दियादेखि दक्षिणतिर भारतको कनर्नियाघाट वन्यजन्तु आरक्ष छ, जुन बाघ, हात्तीजस्ता जन्तुको राम्रो बासस्थान हो। पश्चिमतिर कैलालीको वसन्ता वन र उत्तरतिर चुरेका वन छन्। बर्दियाका बाघ सजिलै बाँके पनि पुग्न सक्छन्।
'बर्दियामा बाघको संख्या स्थिर छ र अर्को पटक फेरि बढ्नेमा हामी ढुक्क छौं,' राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रमुख इकोलोजिस्ट हरिभद्र आचार्यले सेतोपाटीसँग भने, 'चितवनमा पनि पहिला यस्तै भएको थियो। कम देखिएका बाघ अर्को पटक गन्दा फेरि ह्वात्तै बढेको पाइएको थियो।'
चितवनका वन पूर्वमा पर्सा निकुञ्ज र दक्षिणमा भारतको बाल्मिकी बाघ आरक्षसँग जोडिएका छन्। चितवनमा सन् २००० तिर बाघ संख्या ६० मा झरिसकेको थियो। सन् २०१३ मा १३० पुग्यो। फेरि सन् २०१८ मा ९३ मा झरेको थियो। यसपालि १४५ बाघ रहेको अनुमान छ।
निकुञ्ज विभाग र उसलाई सघाएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाका संरक्षणकर्मी हौसिनुको अर्को कारण यस्तो छ — पर्सा र बाँके निकुञ्जमा पाटे बाघको संख्या ह्वात्तै बढेको देखिनु।
पर्सामा बाघको संख्या ४१ बाट ७१ पुगेको अनुमान छ भने बाँकेमा २५ बाट ५१ वटा पुगेको देखिएको छ।
मानवदेखि टाढा एकान्तप्रेमी
सर्वे क्रममा ग्रिड क्यामरामा कैद भएको एउटा पाटेबाघ। तस्बिर: राष्ट्रिय निकुञ्ज विभाग
बाघ सर्वेमा अनवरत रूपमा खटिएर तस्बिर तथा अन्य डेटा संकलन तथा तिनको मिहिन विश्लेषणमा सहभागी संरक्षणकर्मीलाई छक्क पार्ने अर्को खुलासा यस्तो छ — बाघहरू बढ्दो रूपमा भिडभाडयुक्त र मानवीय गतिविधि बढी हुने क्षेत्रबाट पर पर एकान्तका वन जंगलतर्फ सर्नु र त्यतै बसोबास गर्नु।
बाघहरू बढ्दो रूपमा निकुञ्ज बाहिर पनि विचरण गर्न थालेको खुलासाबारे निकुञ्ज विभागका प्रमुख इकोलोजिस्ट आचार्यले भने, 'बाँकेमा हामीले केही बाघ निकुञ्जदेखि बाहिर दक्षिणका वन क्षेत्रमा फैलिन थालेको पायौं। अन्य केही बाघ हामीले पूर्वतर्फ निकुञ्ज बाहिरका नयाँ वन क्षेत्रमा विचरण गर्न थालेको पायौं।'
उनका अनुसार सर्वे क्रममा शुक्लाफाँटा पूर्वको मानव बस्ती रहेको लालझाडीमा बाघ भेटिएन। त्यस्तै चितवनका गाउँ र सहर नजिक पनि बाघ भेट्टाउन मुस्किल पर्यो।
भाले डुलुवा, पोथी स्थिर
बाघ, हात्ती जस्ता जन्तु स्वतन्त्र विचरण गर्ने नेपाल र भारतका राष्ट्रिय निकुञ्जहरू। नक्सा स्क्रिनसट: WWF Nepal
भाले बाघहरू आफ्नो बासस्थानदेखि निकै पर परसम्म पुग्ने गरेको पाइएको छ।
त्यसको कारण हो — भाले बाघहरूले १५ देखि ६० वर्गकिलोमिटरसम्म क्षेत्रफल ओगट्दै आफ्नो इलाका बनाउँछन्, जहाँ अन्य भाले आए उनीहरूबीच लडाइँ हुन्छ।
चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलहादुर पुर्जा पुनका अनुसार हालै एउटा जिपिएस कलर जडित भाले बाघ चितवनबाट पर्सा हुँदै भारत पसेको थियो।
'केही दिन पछि ऊ भारतको बाल्मिकी छिरेर फेरि पश्चिमतिर बाट चितवन फर्किएको पाइयो,' उनले भने।
ठिक विपरीत पोथी बाघ भने आफ्ना डमरूहरूको हेरचाह गर्दै आफ्नो बासस्थान क्षेत्रमै रमाउँछन्। हालै बिबिसीमा प्रसारित एक फिल्ममा त बर्दियामा एकभन्दा बढी पोथी बाघहरू आफ्ना डमरूहरूसँग मिलेर एकै ठाउँमा भेला भएर बस्ने गरेका दृश्य समेत देखाइएको छ।
त्यसको अर्थ संरक्षणकर्मीको भनाइमा, नेपालका पाँच निकुञ्जका भाले बाघ निकुञ्ज बाहिरका वन क्षेत्रमा खुला विचरण गर्छन्। अथवा उनीहरू निकुञ्ज भित्र र बाहिरी क्षेत्रमा समेत आफ्नो इलाका बनाउँछन्।
चितवनका भाले बाघ पर्सा र बाल्मिकी पुगे जस्तै, अनुमानित ५० वटा बाघ बस्ने शुक्लाफाँटा निकुञ्ज वा मध्य कैलालीको वसन्ता वनका बाघ सजिलै भारतको लग्गाबग्गा वा दुधवा वा कर्तर्नियाघाट आरक्ष पनि पुग्न सक्छन्।
'हात्ती जस्तै बाघ पनि अन्तरसीमा वा अन्तरदेशीय जन्तु हुन्। उनीहरूलाई देश देशका सिमानाले छेक्ने कुरै भएन,' प्रमुख इकोलोजिस्ट आचार्यले भने।
मानिससँग सहवास
यसपालिको बाघ सर्वेको अर्को चाखलाग्दो खुलासा यस्तो छ — बाघहरू मानव बस्तीबीचका एकान्त सामुदायिक वनमा आनन्दले बस्ने गरेको प्रमाण। गाउँ बस्ती वा सवारी साधनको धेरै आवतजावत हुने स्थानमा भने बाघहरू भेटिएनन्।
'चितवनको कुमरोज सामुदायिक वनमा हामी बाघका ६ वटा तस्बिर खिच्न सफल भयौं,' आचार्यले भने, 'त्यहाँ मानिसहरू घाँस दाउरा गर्न आउजाउ गरिरहन्छन्। त्यस्तो ठाउँमा पनि बाघहरू आनन्दले आफ्नो क्षेत्रमा झाडी भित्र लुकेर बस्दा रहेछन्।'
'हो बाघहरू निकै बलिया हुन्छन् तर त्यत्तिकै लजालु पनि। मानिस देख्यो कि उनीहरू अग्लो घाँस वा झाडीभित्र पसिहाल्छन् र लुकिहाल्छन्। उनीहरू एकान्तको खोजीमा मानव बस्तीबाट निकै टाढा गएर आनन्दले बस्ने गरेको पायौं। पर्साको विस्तारित क्षेत्रमा पर्ने हलखोरियामा पहिला बाघ हुने थिएनन्। अहिले त्यहाँ बाघ बस्न थालेको पायौं,' उनले थपे।
संरक्षणकर्मीको भनाइमा यसबाट एउटा कुरा प्रस्ट हुन्छ — चितवनको कुमरोजमा जस्तै बाघ र मानिसबीच सहवास सम्भव छ, शान्तिपूर्ण सहअस्तित्व सम्भव छ। तर त्यसका लागि नियमन र अनुशासन आवश्यक रहेको मध्यवर्ती क्षेत्रका अगुवाहरू जोड दिन्छन्।
उदाहरणका लागि चितवन निकुञ्ज नजिकैका सामुदायिक वनमा बिहान ९ बजेअघि मानिसलाई छिर्न निषेध छ।
बाघ धान्ने क्षमता
चितवनमा सर्वेका क्रममा ग्रिड क्यामरामा बाघ भेटिएका क्षेत्रहरू अंकित नक्सा। सौजन्य: राष्ट्रिय निकुञ्ज विभाग
सन् १९०० तिर विश्वमा विभिन्न प्रजातिका १ लाख बढी बाघ विचरण गर्थे। वन विनाशसँगै तिनीहरू मासिँदै जान थाले।
नेपालमा सन् १९११ मा प्रधानमन्त्री चन्द्र शमशेरको निम्तोमा शिकार खेल्न चितवन डाकिएका ब्रिटिस राजा जर्ज पाचौंले बाघ मात्र ३९ वटा मारेका थिए। त्यति बेला नेपालमा कम्तीमा एक हजार वटा बाघ विचरण गर्थे।
अहिले आएर बंगालको खाडी वरिपरिका एसियाली देशमा मात्र पाइने बंगाल टाइगरको संख्या बढीमा ४२०० वटा छ। तीमध्ये ७० प्रतिशत अर्थात् झन्डै ३३०० वटा भारतमा भएको अनुमान छन्।
बंगलादेशको सुन्दरवनमा १२५ र भुटानमा १३० जति रहेको अनुमान छ।
सन् २०१० मा विश्वका बाघ पाइने देशहरूको रूसमा भएको सम्मेलनमा बाघको संख्या दुई गुणा बढाउने वाचा गरेपछि सन् २०२२ मा नेपाल सहितका देश सफल भए। त्यो क्रम जारी छ।
बाघ बढ्दै जाँदा आक्रमणमा मानिसले ज्यान गुमाउने क्रम पनि जारी छ।
निकुञ्ज बाहिर बस्ने बाघबाट त्यस्तो घटना भएको हुन सक्ने अनुमान छ। पछिल्लो सर्वेमा ३५ वटा बाघ निकुञ्ज बाहिर भेटिएका थिए।
विगत ७ वर्षमा बाघको आक्रमणमा कम्तीमा ३८ नेपालीको ज्यान गइसकेको छ। मृतकका आफन्तजनले १० लाख रूपैयाँ क्षतिपूर्ति पाउने व्यवस्था छ।
१५ भन्दा बढी समस्याकारी बाघ समातेर निकुञ्जका खोरमा थुनिएका छन्। ती बाघलाई एकै ठाउँमा राखेर पर्यटन प्रवर्द्धन गर्न निकुञ्जले चितवनको देवनगरमा ५२ हेक्टरमा फैलिएको पर्यटकीय आरक्ष बनाउने काम थालिसकेको छ।
तर पछिल्लो समय बाघको आक्रमणको घटनामा कमी आएको बताउँदै निकुञ्ज विभागका वरिष्ठ इकोलोजिस्ट आचार्य भन्छन्, 'बाघ बूढो वा घाइते भएर सजिलो आहार खोज्नु अलग कुरा हो। तर बाघले हत्पत्ती मानिसलाई आक्रमण गर्दैन। उनीहरू आफ्नोले माउबाट शिकार गर्न सिकेको मृग र बँदेलजस्ता जन्तु बाहेक अरू शिकार गर्दैनन्।'
उनले थपे, 'मानिसहरूमा पनि सचेतना बढेको पाइन्छ। उनीहरू निहुरिएर चारखुट्टे जनावर जस्तो गरी घाँस काट्ने वा निगुरो वा च्याउ टिप्ने गर्दैनन्।'
अब प्रश्न उठ्छ— अब नेपालले थप अझै कति बाघ धान्न सक्छ?
विज्ञहरू भन्छन्— करिब ५००।
नेपाल यसको नजिक पुगिसकेको छ।
'हामी निकुञ्जभित्र र बाहिर गरेर अरू १०० जति थप बाघ व्यवस्थान गर्न सक्छौं,' आचार्यले भने।
त्योभन्दा बढी बाघ भए के गर्ने होला?
त्यस सम्बन्धमा स्पष्ट योजना बनिसकेको छैन।
***
(सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
एक्सः @surendraphuyal