नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचना र दोस्रो बजार सुधारका लागि छलफल थालेको छ।
सरकारले गठन गरेको नेप्से पुनर्संरचनासम्बन्धी सुझाव समिति, २०८२ ले दिएको प्रतिवेदन कार्यान्वयन तथा दोस्रो बजारको सञ्चालन र व्यवस्थापन सुधारका विषयमा बोर्ड र नेप्सेका पदाधिकारीबीच बिहीबार छलफल भएको हो।
बोर्डको कार्यालयमा भएको छलफलमा नेप्सेको संस्थागत संरचना, स्वामित्व, सुशासन, प्रविधि, जनशक्ति र कारोबार प्रणालीमा गर्नुपर्ने सुधारका विषयमा छलफल भएको बोर्डले जनाएको छ।
बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले नेप्सेको सुधार प्रक्रिया अघि बढाउने उद्देश्यले पहिलो पटक यस्तो छलफल आयोजना गरिएको बताए।
उनका अनुसार नेप्सेको पुँजी तथा स्वामित्वको पुनर्संरचना र दोस्रो बजारको सञ्चालन तथा व्यवस्थापन सुधारका लागि ३० भन्दा बढी विषयमा काम अघि बढाउने बोर्डको योजना छ।
नेप्सेको कारोबार प्रणाली सुधार गर्नुका साथै लगानीका उपकरण र सेवाको विविधीकरणमा पनि बोर्डले नियामकीय अधिकार प्रयोग गरेर काम अघि बढाउने उनले बताए।
छलफलमा नेप्सेका सञ्चालक समिति अध्यक्ष तथा अर्थ मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालले यस छलफललाई धितोपत्र बजार सुधारको नयाँ सुरूआतका रूपमा व्याख्या गरे।
उनले पुनर्संरचनासम्बन्धी प्रतिवेदनमा उल्लेख भएका तत्काल कार्यान्वयन गर्न सकिने विषयमा नेप्से केन्द्रित रहेको बताए।
नेप्सेको प्रविधि, कारोबार प्रणाली, संस्थागत सुशासन तथा लगानीका उपकरण र सेवामा सुधार गर्न आफूहरू प्रतिबद्ध रहेको उनको भनाइ थियो।
छलफलमा बोर्डका उपकार्यकारी निर्देशक अम्बिका ओझा गुप्ताले नेप्से पुनर्संरचनासम्बन्धी प्रतिवेदनका सुझाव कार्यान्वयन र दोस्रो बजारको सञ्चालन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा प्रस्तुतीकरण गरेका थिए।
नेप्सेको पुनर्संरचना र दोस्रो बजारको प्रभावकारी सञ्चालनबाट पुँजी बजारमा लगानीका विकल्प विस्तार हुनुका साथै कारोबार प्रणालीको विश्वसनीयता र बजारको पारदर्शिता बढ्ने बोर्डको अपेक्षा छ।