बर्खाको बेला, साँघुरो र हिलाम्मे गल्ली हुँदै गाउँ छिर्दा गोठको गन्ध र खेतबारीको माटोको सुगन्ध नाकमा ठोक्कियो।
दायाँ–बायाँ गाईभैंसीका भकारो, बाँसको टाटीले बारेका गोठका लहर। यहाँको जीवनशैलीको मुख्य आधार नै यही पशुपालन र खेतीपाती हो। रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर २, लम्तिहवा।
यही बस्तीको छेउमा छ १८ वर्षीया सुनिता लोधको घर।
हरिजन र लोध समुदायको बाहुल्यता रहेको यो बस्तीमा इँटाको गारोमाथि सिमेन्टको लेपसम्म नलगाई छोडिएको टिनको पालीसहितको एकतले घरले सुनिताको परिवारको कमजोर आर्थिक अवस्था देखाउँछ।
घरको पालीमा लहरै दालमोठ, चाउचाउ र भुजाका प्याकेट झुन्ड्याइएको छ। काठको मैलो फलेकमाथि लहरै सजाएर राखिएका बिस्कुटका चाङ, चकलेटका डब्बा अनि खुद्रा खाद्य सामग्री। अर्थात् यहाँ एउटा सानो उद्यम चलिरहेको छ।
गाउँलेलाई चाहिने सबै सामान त पाइँदैन, आधारभूत सामान भने पाइन्छ। ६ जना दिदीबहिनीमध्ये जेठी सुनिताको हो यो पसल।
'सानो भए पनि आमाबुबालाई घरखर्चमा भरथेग गर्ने र बहिनीहरूको पढाइको खर्च जुटाइदिने ठूलो माध्यम बनेको छ,' हाल १२ कक्षा पढिरहेकी सुनिताले भनिन्।

सुनिता ८/१० वर्षकी हुँदा नै उनको संघर्षको कथा सुरू भयो।
बुबा राधेश्याम घर निर्माणमा काम गर्ने मिस्त्री थिए। दिनभरि पसिना बगाउँदै इँटा र सिमेन्ट जोडेर घर ठड्याउने राधेश्यामको जीवनमा १० वर्षअघि अँध्यारो छाइदियो।
एक्कासि बिरामी परेका उनको दाहिने खुट्टा बिस्तारै कमजोर हुँदै गयो। अहिले पनि उनी दाहिने खुट्टाको भरमा उभिन सक्दैनन्।
'बुवाको त्यो अवस्था देख्दा मन रून्छ,' सुनिता भावुक हुँदै भन्छिन्।
खुट्टा कमजोर बनेपछि घर बनाउने जस्तो जोखिमपूर्ण काम गर्न सक्ने कुरै भएन। राधेश्याम कामविहीन भए।
यता घरमा सन्तान थपिँदै थिए। भएको थोरै जमिनको उब्जनीले आठ जनाको परिवारलाई ६ महिना पनि खान पुग्दैनथ्यो। आमा राजमतीको दिन घरको काम र छोरीहरूको रेखदेखमै बित्थ्यो।
यस्तो कठिन घडीमा सुनिताको बाल्यकालका रहरहरू ओइलाए। तीन कक्षामा पुगेपछि उनको पढाइ रोकियो। जेठी छोरीको हैसियतमा घरको जिम्मेवारी सुनिताको काँधमा आयो।
केही वर्ष यसै बित्यो, दुःखै दुःखमा।
अँध्यारोमा अलमलिएको सुनिताको जीवनलाई एउटा अवसरले फेरि उज्यालतर्फ मोडिदियो।
गाउँमा विभिन्न कारणले विद्यालय छाडेका किशोरीहरूको शिक्षामा काम गर्न केयर नेपाल नामक संस्थाको सहयोगमा सञ्चालित 'उडान' कार्यक्रम आएको थियो।
उनी त्यही कक्षामा भर्ना भइन्। वर्ष दिन पढेपछि उनी पुनः विद्यालयको ५ कक्षामा भर्ना हुन तयार भइन्।
बुबा राधेश्यामले मुजहना बजारको सडक किनारमा तरकारी बेच्न थाले। सुनिता दिउँसोमा स्कुल जान्थिन्। साँझ–बिहान बुबालाई सघाउँथिन्।
तर दुई–चार सय रूपैयाँको तरकारी बेचेर परिवारको गर्जो टार्न मुस्किल पर्थ्यो। राम्रै सम्भावना देखेर सुनिताले डेढ वर्षअघि घरकै पालीमा सानो पसल सुरू गरिन्।
अहिले उनी बिहान ६ बजेदेखि १० बजेसम्म स्कुल जान्छिन्। फर्केपछि पसल चलाउँछिन्। चाहिने सामान लिन साइकल चढेर आफै बजार पुग्छिन्।


'नेपालमा उत्पादन भएका सामान लुम्बिनीबाटै ल्याउँछु। भारतीय सामान नजिकैको भारतीय बजार नै गएर ल्याउँछु,' सुनिता भन्छिन्।
गाउँमा पसल धेरै नभएकाले केटाकेटीहरू बिस्कुट, चाउचाउ, चकलेटजस्ता सामान उनकै पसलबाट किन्छन्। दिनमा चार–पाँच सय रूपैयाँको कारोबार हुन्छ।
पढाइ र सानै भए पनि व्यापार सँगसँगै अगाडि लगेकी सुनिता रूपन्देहीमा गठन भएको 'किशोरी अधिकार मञ्च' मा पनि सक्रिय छन्। मञ्चमा आबद्ध भएपछि पढाइ, सीप र उद्यमको महत्त्व बुझ्न थालेको उनी बताउँछिन्।
गाउँमा धेरै किशोर–किशोरीको सानैमा बिहे गरिदिने, छोरीलाई विद्यालय नपठाई घरधन्दामा लगाउने गरेको देखेपछि उनी मञ्चमा आबद्ध भएकी थिइन्।
अहिले मञ्चको जिल्ला सदस्य रहेकी उनी किशोरीहरूलाई विद्यालय पठाउन र उमेर पुगेपछि मात्र बिहे गरिदिन परिवारलाई सम्झाउँछिन्।
'छोरीहरूलाई पनि छोराहरूलाई जस्तै स्कुल पठाउनु र उमेर पुगेपछि मात्र बिहे गर्नुपर्छ भन्ने हाम्रो अभियान हो। हामी यस्तै अभियानका लागि गाउँमा जुटिरहेका हुन्छौं,' उनले भनिन्।
किशोरीहरूलाई दिदीबहिनी नामक संस्थाले सघाउँदै आएको छ। दिदीबहिनीले बोल्न नजान्ने किशोर–किशोरीलाई बोल्न सिकाएको छ। छोरा–छोरीबीचको विभेद कम गर्न, विद्यालय जान, उमेर नपुगी विवाह नगर्न सचेतना जगाएको छ।
त्यस्तै सानोतिनो व्यवसाय गरेर जीविकोपार्जन गर्न चाहनेहरूलाई सक्दो आर्थिक सहयोग गर्दै आएको छ।
जम्मा ५ हजार रूपैयाँमा पसल थालेकी सुनितालाई पसल बढाउन दिदीबहिनीले २० हजार रूपैयाँ बीउ पुँजी उपलब्ध गराएको छ।
'त्यही पैसाले पसल बढाउने तयारी गरिरहेकी छु,' सुनिताले भनिन्।
छोरीले पालीमा थापेको पसल बढाउने योजनाले उत्साहित भएका राधेश्यामले गोठको छेउमा पसलका लागि ठाउँ तयार गरिदिँदै छन्।
'मैले पसल बढाउने भनेपछि बुबाले सटर तयार गर्दै हुनुहुन्छ। ठाउँ तयार भएपछि त्यही २० हजार रूपैयाँ थपेर अलि धेरै सामानको पसल राख्ने हो,' उनले भनिन्।

सुनितालाई स्नातकोत्तरसम्म पढेर गाउँको सेवा गर्ने रहर पनि छ। तर बुबाको शारीरिक अवस्था र घरको आर्थिक अवस्था कमजोर भएकाले आफ्नो पढाइ पूरा हुँदैन कि भन्नेमा उनी चिन्तित छन्।
'मलाई पढ्ने त धेरै इच्छा छ, तर सायद १२ कक्षाभन्दा माथि पढ्न पाउँदिनँ होला,' सुनिता भन्छिन्, 'मैले मात्र पढेर भएन, मैले पढाइ छाडेर भए पनि बहिनीहरूलाई पढाउँछु।'
१८ वर्षको उमेरमै घरपरिवारको जिम्मेवारी सम्हाल्न हिम्मत जुटाएकी सुनितालाई देख्दा आमा राजमती गर्व गर्छिन्।
'पहिले छोरा जन्माउने आशामा ६ जना छोरी जन्माएँ। अहिले छोरीले गरेको काम देख्दा खुसी छु,' राजमती भन्छिन्।
पहिले सामाजिक विषयमा सवाल उठाउँदा नपत्याउने गाउँलेहरूले किशोरीहरूको कामप्रति साथ दिन थालेका छन्।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली किशोरी अधिकार मञ्चले गाउँमा सकारात्मक सन्देश दिइरहेको बताउँछिन्।
'बालविवाह, छाउपडी प्रथा, बहुविवाह, मदिरा सेवन, घरेलु हिंसा तथा मानव बेचबिखनदेखि लागुऔषध दुर्व्यसनजस्ता क्रियाकलाप रोक्न किशोर–किशोरी एकजुट भएर अघि बढ्न थालेका छन्। गाउँमा देखिएका बेथिति रोक्न किशोरीहरू आफै सक्रिय बनेपछि नगरपालिकाले पनि उनीहरूलाई साथ लिन थालेको छ,' ज्ञवालीले भनिन्।
किशोरी अधिकार मञ्च किशोरीहरूको अधिकार संरक्षण र प्रवर्द्धनका लागि संगठित सञ्जाल हो। रूपन्देहीमा २०७५ सालमा स्थापना गरिएको मञ्चले किशोरीहरूको मर्यादित जीवनका लागि शिक्षा, स्वास्थ्य, सुरक्षा तथा संरक्षण, बालविवाहविरूद्धको अभियान लगायतका काममा नीतिगत पैरवी गर्दै आएको छ।