हिन्दु दर्शनमा स्वर्ग र वैकुण्ठ एकै अर्थमा बुझिँदैन।
स्वर्ग पुण्य कर्मको फलस्वरूप प्राप्त हुने सुख, वैभव र भोगको लोक हो। वैकुण्ठ भने भगवान विष्णुको परमधाम हो, जहाँ भोगभन्दा माथि भक्ति, सुखभन्दा माथि शान्ति र प्राप्तिभन्दा माथि मुक्ति राखिन्छ।
त्यसैले स्वर्ग र वैकुण्ठबीचको अन्तर केवल दुई लोकबीचको अन्तर होइन। यो सुख र आनन्द, समृद्धि र शान्ति, प्राप्ति र मुक्तिबीचको पनि अन्तर हो।
आज जनै पूर्णिमा।
हरेक जनै पूर्णिमामा मलाई यही अन्तर सम्झाउने एउटा कथा याद आउँछ।
केही वर्षअघि जनै पूर्णिमाकै दिन भारतीय कलाकार आशुतोष राणाले 'वैकुण्ठ की कुण्ठा' भन्ने कथा सुनाएका थिए। राजा बलि, भगवान विष्णु र माता लक्ष्मीको त्यो कथा रक्षाबन्धनसँग जोडिएको छ।
कथा सुन्दै जाँदा मलाई लाग्यो — यो एउटा पौराणिक आख्यान मात्र होइन। यसलाई प्रतीकका रूपमा बुझ्ने हो भने यसले धन, शक्ति, प्रसिद्धि, सम्बन्ध र अन्ततः समाज कसरी व्यवस्थित हुन्छ भन्ने बताउँदो रहेछ। यी विषयमा प्रश्न पनि सोध्दो रहेछ।
त्यसपछि मैले पौराणिक कथाहरू केही फरक ढंगले पढ्न थालेँ। देवता र दानवलाई पात्रका रूपमा मात्र होइन, विचार, शक्ति वा मानवीय प्रवृत्तिका प्रतीकका रूपमा हेर्न थालेँ।
पुराना आख्यानहरू त्यसपछि पुराना कथा मात्र रहेनन्; तिनमा मानिसले आफू र आफ्नो समाजलाई बुझ्न गरेको लामो बौद्धिक प्रयास देखिन थाल्यो।
राजा बलिको कथामा धन छ, शक्ति छ, प्रसिद्धि छ, अहंकार छ, भक्ति छ र सम्बन्ध छ।
तर त्योभन्दा धेरै महत्त्वपूर्ण कुरा, यी सबैबीचको सम्बन्धबारे प्रश्न छ — धन ज्ञानबाट अलग भयो भने के हुन्छ? शक्ति विवेकबाट अलग भयो भने के हुन्छ? प्रसिद्धि योग्यताको प्रमाण बन्न थाल्यो भने के हुन्छ? र, सम्बन्ध अधिकारमा बदलियो भने त्यसमा दायित्व कहाँ बाँकी रहन्छ?
कथाको सुरूआतमा वाचक आशुतोष भन्छन्, 'कुण्ठा रहित स्थानलाई वैकुण्ठ भनिन्छ।'
तर यो कथामा त्यही वैकुण्ठमा कुण्ठा छाएको छ। राजा बलिले आफ्नो पराक्रमले तीनै लोकमा अधिकार जमाएका छन्। भगवान विष्णु उनलाई नियन्त्रण गर्न गएका छन्। तर त्यहाँ पुगिसके, पुगेका छैनन् वा कहाँ छन्, ठेगान छैन।
जगतका समस्या समाधान गर्ने शक्ति स्वयं नै समस्याबाट ग्रसित हुन थाल्छ भने समाधान खोज्ने कसले?
आजको सन्दर्भमा भन्दा, नागरिकका समस्या समाधान गर्नुपर्ने सत्ता वा शासक नै विभिन्न समस्याले ग्रसित छ भने नागरिकले के अपेक्षा गर्ने? समाधान कहाँ खोज्ने?
कथामा माता लक्ष्मी पनि यही चिन्तामा छिन्। श्रीहरि कहाँ छन् भन्ने उनलाई थाहा छैन। त्यसपछि उनलाई सम्झना हुन्छ, विष्णुका महान भक्त नारदलाई अवश्य केही थाहा होला। उनी नारदलाई पुकार्छिन्।
वाचकको एउटा वाक्य यहाँ विशेष अर्थपूर्ण छ— परमात्माको जानकारी शक्तिलाई नभए पनि भक्तिलाई पक्कै हुन्छ!
नारद वैकुण्ठ पुग्छन् र लक्ष्मीलाई भन्छन्, 'हे माता, वैकुण्ठमा रहेर पनि कुण्ठित हुनु तपाईंका लागि शोभनीय छैन।'
लक्ष्मीको उत्तर अझ गहिरो छ, 'जहाँ केवल लक्ष्मी हुन्छिन्, त्यहाँ कुण्ठा व्याप्त हुन्छ। श्रीहरि विष्णु विराजमान नभए वैकुण्ठ पनि पूर्ण हुँदैन।'
यहाँ लक्ष्मीलाई स्रोत र समृद्धिको प्रतीकका रूपमा पढ्ने हो भने विष्णु ज्ञान, विवेक, व्यवस्था र संरक्षणको प्रतीक देखिन्छन्।
हाम्रो समाजले बारम्बार बेवास्ता गर्ने विरोधाभास यही हो।
हाम्रो आधुनिक विकासको कल्पना प्रायः लक्ष्मीको खोजीमै केन्द्रित छ। धेरै उत्पादन, धेरै लगानी, धेरै पूर्वाधार, धेरै अवसर, धेरै आम्दानी, धेरै उपभोग। विकासका अधिकांश सूचकहरू पनि यिनै वरिपरि घुम्छन्।
पौराणिक कथाले अर्को पनि महत्त्वपूर्ण प्रश्न सोध्छ — धन आएपछि त्यसको दिशा के हुन्छ?
खासमा समस्या लक्ष्मी हुनु वा नहुनुमा होइन। समस्या लक्ष्मी र विष्णुको सम्बन्ध टुट्नुमा छ।
हामीले कहिले जलस्रोतलाई नेपालको लक्ष्मी भन्यौं। कहिले पर्यटनलाई। कहिले युवाशक्तिलाई। पछिल्ला दशकमा रेमिटेन्स हाम्रो अर्थतन्त्रको प्रमुख आधार बनेको छ। अहिले सूचना प्रविधि, डिजिटल अर्थतन्त्र र कृत्रिम बुद्धिमत्तालाई पनि नयाँ सम्भावनाका रूपमा हेरिरहेका छौं।
अर्थात् सम्भावनाको सूची लामो छ। तर सम्भावना र उपलब्धिबीच एउटा ठूलो दुरी छ।
यो संरचनात्मक दुरी मात्र होइन। यो दुरी गहिरो छ। र, यसलाई पार गर्न 'विष्णु' चाहिन्छ।
अर्थात् ज्ञान, नीति, संस्था, दीर्घकालीन सोच, स्रोतलाई परिणाममा बदल्ने क्षमता र तत्कालको राजनीतिक लाभभन्दा माथि उठेर टाढा हेर्ने र निर्णय गर्न सक्ने विवेक चाहिन्छ।
यही कारण नेपालको विकासको प्रश्न केवल अर्थतन्त्रको प्रश्न होइन। संरचनाको मात्र प्रश्न पनि होइन। यो मूलत: राज्यको ज्ञान, विवेक र उसको शक्तिबीचको सम्बन्धको प्रश्न हो।
लक्ष्मी माता थप भन्छिन्, 'मलाई भय छ, श्रीहरिको अनुपस्थितिमा संसारले मेरो दुरूपयोग गर्नेछ।'
जब लक्ष्मीलाई विष्णुको विवेकबाट अलग गरिन्छ, समृद्धि विकासमा होइन, दोहनमा बदलिन्छ। स्रोत प्रशस्त भएर पनि समाज समृद्ध नहुन सक्छ। विवेकविहीन समृद्धिले उपभोगवाद र असमानता जन्माउँछ। अन्ततः त्यसले व्यभिचारी समाज जन्माउन सक्छ।
कथामा अर्को प्रसंग आउँछ। नारदले पाताल लोकमा पुगेर भगवान विष्णुलाई वामन (होचो/सानो कदकाठीको) ब्राह्मणको रूपमा राजा बलिको द्वारपाल बनेर बसेको देख्छन्।
नारदलाई आश्चर्य लाग्छ। मुक्ति, युक्ति र शक्तिका पर्याय मानिने विष्णु स्वयं कसरी कसैको सेवामा बाँधिन पुगे?
विष्णुको उत्तर अझ रोचक छ। आफू मुक्ति, युक्ति र शक्तिको पर्याय भए पनि भक्तिको अगाडि बाँधिन पुगेको उनले बताउँछन्।
कथाले यहाँ शक्ति र त्यसको सीमाबारे असाध्यै गहिरो बहसको सुरूआत गर्छ। यसलाई बुझ्न बलिको कथा बुझ्नुपर्छ।
राजा बलि कमजोर शासक होइनन्। उनी शक्तिशाली छन्। पराक्रमी छन्। उदार छन्। दानी छन्। उनले आफ्नो सामर्थ्यले तीनै लोकमाथि अधिकार जमाएका छन्। उनको समस्या उनी असक्षम भएर होइन।
समस्या कहिलेकाहीँ अत्यधिक सफल भएपछि सुरू हुन्छ। सायद बलिको हकमा पनि त्यो लागू हुन्छ।
तपस्वी बलिका बारेमा नारदलाई सम्झाउँदै विष्णु भन्छन्, 'सिद्धिभन्दा कयौं गुणा बढी घातक प्रसिद्धि हुन्छ।'
कथाको मध्यतिर प्रसिद्धिबारे गरिएको अर्को व्याख्या झन् रोचक छ।
भनिन्छ — जो स्वयं प्रकाश हुन्छन्, तिनीहरूको छाया हुँदैन। तर प्रकाशपुञ्जको दायराभित्र आउनेहरूको छाया बन्छ। छाया ठूलो हुन सक्छ।
प्रसिद्धि पनि त्यस्तै छाया हो। मानिसको वास्तविक स्वरूपभन्दा उसको प्रसिद्धि धेरै ठूलो हुन सक्छ।
सामाजिक सञ्जालको आजको युगमा यो छाया झनै प्रखर रूपले प्रकट हुन थालेको छ। हामी मानिसलाई उसको कामभन्दा उसको छायाबाट चिन्न थालेका छौं। सामाजिक सञ्जालमा देखिने लोकप्रियताको छाया नेतृत्वको वास्तविक क्षमताभन्दा ठूलो हुन सक्छ। यो लोकप्रियता राजनीतिक पुँजी हुन सक्छ, तर त्यो आफैमा शासन गर्ने क्षमता भने होइन।
परिपक्व नेतृत्वले लोकप्रियताको सीमा बुझेको हुन्छ। त्यसैले उसले लोकप्रियता होइन संस्थाको बलमा विश्वास गर्छ। संस्था बलियो बनाउनेमा आफूलाई केन्द्रित गर्छ।
जुन नेतृत्वले लोकप्रियतालाई नै संस्थाको विकल्प बनाउन थाल्छ, उसको ध्यान शासनसत्ता चलाउनेभन्दा प्रदर्शनमा बढी हुन्छ!
त्यसैले राजनीतिक परिवर्तनको वास्तविक परीक्षा सत्तामा पुगेपछि सुरू हुन्छ— पहिले आफूले आलोचना गरेको सत्ता र संरचनासँग आफू त्यहाँ पुगेपछि कसरी व्यवहार गर्ने र आफूले पाएको लोकप्रियतालाई संस्था, नीति र परिणाममा कसरी बदल्ने?
आक्रोशबाट जन्मिएको 'आशा' शासन गर्ने 'क्षमता' मा बदलिन सकेन भने, त्यो आशा छिट्टै निराशामा बदलिन्छ।
त्यसैले बलिको कथा केवल पुरानो सत्ताको कथा होइन। यो जुनसुकै कालखण्डको हरेक सफल शक्तिको कथा हो। त्यस्तो शक्तिको कथा हो, जसको सफलता नै उसको कमजोरी बन्न थाल्छ।
वाचकले संवादकै क्रममा एउटा महत्त्वपूर्ण कुरा संकेत गर्छन् — जब शक्ति सत्तासँग जोडिँदैन, तब त्यो परिवर्तनको साधन बन्नुको सट्टा विपत्तिको कारण बन्न सक्छ।
इतिहासमा धेरै सत्तासीनहरू यही भेद बुझ्न नसकेर सत्ताच्युत भएका छन्। उनीहरूले आफू वरिपरि रहेको शक्ति समयमै पढ्न सकेनन्, बदलिँदो समाजको आवाज सुन्न सकेनन्। अन्ततः त्यही उपेक्षित शक्ति उनीहरू विरूद्ध उभियो।
नेपालको राजनीतिले यही नियति भोगेर मूल्य पनि चुकाइसकेको छ। पुराना दल र नेतृत्वले बदलिँदो नागरिक चेतना, सामाजिक सञ्जालबाट बनेको नयाँ राजनीतिक भाषा र परम्परागत संरचनाभन्दा बाहिर जन्मिएको शक्तिलाई समयमै बुझ्न सकेनन्। त्यसको परिणाम आम निर्वाचनमा देखियो। यति मात्र होइन, पुरानो राजनीतिक वैधताको क्षयमा पनि देखियो।
तर इतिहासको विडम्बना यही हो — हिजोको सत्ता विस्थापित गर्ने शक्ति नै आज स्वयं सिंहदरबारमा पुग्दा, उसको अगाडि पनि उही परीक्षा तेर्सिएको छ।
बलिको समस्या पनि यहीँबाट सुरू हुन्छ।
नारदमुनिले भगवान विष्णुलाई किन एउटा सामान्य वामन ब्राह्मणका रूपमा प्रकट हुनुभयो भनेर सोध्छन्।
विष्णु नारदलाई सम्झाउँदै भन्छन्, 'मेरो लक्ष्य बलिलाई हराउनु थिएन। म उसलाई जित्न चाहन्थेँ। तर बलशाली व्यक्तिलाई बलले जितिँदैन, शक्तिले मात्र जित्न सकिन्छ।'
उनी थप भन्छन्, 'शक्तिशाली व्यक्तिको सबभन्दा ठूलो दुर्गुण नै उसले साना समस्या र साना मानिसहरू नदेख्नु हो। ऊ अहंकारको वशमा परेर तिनीहरूको उपेक्षा गर्छ र नगण्य ठान्छ। त्यही उपेक्षा ठूला व्यक्तिको पतनको कारण बन्छ।'
ठूलो सत्ता ठूला चुनौतीसँग लड्न तयार हुन्छ, तर सानो देखिने असन्तोषलाई बेवास्ता गर्न सक्छ। त्यसैले इतिहासमा सत्ता सधैं ठूलो आक्रमणबाट मात्र ढलेको छैन, ढल्दैन। कहिलेकाहीँ लामो समयसम्म उपेक्षा गरिएको सानो असन्तोष नै ठूलो राजनीतिक विस्फोटको कारण बन्छ।
बलिले पनि वामन ब्राह्मणलाई नगण्य ठाने। उनलाई तीन पाइला भूमि दिने वचन दिए। त्यसपछि वामनरूपी विष्णुले विराट रूप धारणा गरे। विराट विष्णु पहिलो पाइला पृथ्वीमा पर्यो। दोस्रोले आकाश ढाक्यो। बलिको साम्राज्य त दुई पाइलामै समेटियो। विष्णुको तेस्रो पाइला राख्ने ठाउँ बाँकी रहेन।
त्यो क्षण बलिका अगाडि विकल्प थियो — आफ्नो वचनबाट पछि हट्ने वा आफूभित्रै फर्किने।
उनले शिर झुकाए। विष्णुलाई तेस्रो पाइला आफ्नो मस्तकमाथि राख्न आग्रह गरे।
यहीँ बलिको रूपान्तरण हुन्छ।
अहंकारको अन्त्य हुनासाथ ज्ञानको उदय हुन्छ। ज्ञान उदित हुनासाथ मानिस आफ्नो अहम बिर्सेर विनम्र हुन्छ।
कथाको भाषामा भन्नुपर्दा, जो अर्पणको भावनाले भरिएको थियो, ऊ अब समर्पणको अवस्थामा पुग्यो।
यो निकै ठूलो भिन्नता हो।
अर्पणमा हामी आफ्नो केही दिन्छौं। समर्पणमा हामी आफूलाई नै दिन्छौं।
आफूभन्दा ठूलो संस्था र आफूभन्दा ठूलो सार्वजनिक हित स्वीकार गर्न सक्नु समर्पण हो।
सत्ताका लागि यसको अर्थ सरल छ— आफूलाई सीमित गर्ने संस्थालाई स्वीकार गर्ने। तर धेरै सत्तासीनहरूका लागि यो कठिन काम हो।
सत्ता प्राप्त गर्न सक्नु नेतृत्वको एउटा पक्ष हो। सत्तालाई सीमित गर्न सक्नु नेतृत्वको अर्को पक्ष हो। र, सत्ता छोड्न सक्नु सायद नेतृत्वको सबभन्दा कठिन परीक्षा हो।
बलिले राज्य गुमाए, तर आफूलाई पाए। विष्णुले उनलाई पाताल पठाए, तर उनको भक्तिबाट प्रशन्न भएर वरदान दिए। बलिले आफूलाई विष्णुको सेवामा बाँध्न चाहे। अन्ततः भगवान विष्णु स्वयं उनको द्वारपाल बने।
नारदमार्फत लक्ष्मीले थाहा पाउँछिन्, विष्णु बलिको द्वारपाल बनेर बसेका छन्। अनि उनी देवीका रूपमा होइन, एक असहाय स्त्रीका रूपमा पाताल पुग्छिन्।
बलिले उनलाई शरण दिन्छन्। उनले बलिलाई दाजु मानेर रक्षासूत्र बाँध्छिन्। उपहार माग्ने क्रममा लक्ष्मी आफ्नो वास्तविक रूपमा प्रकट हुन्छिन्। उनले द्वारमा उभिएका वामन आफ्ना पति भएको र उनलाई सेवामुक्त गर्न आग्रह गर्छिन्।
अब बलिसामु अर्को परीक्षा थियो। उनले चाहे विष्णुलाई आफ्नो सेवामा राखिरहन सक्थे। आखिर त्यो उनले पाएको वरदान थियो। तर बलिले आफ्नो वचन र सम्बन्धको अर्थ बुझिसकेका थिए। उनले विष्णुलाई मुक्त गरिदिए।
रक्षा भनेको अधिकार होइन, दायित्व हो। सम्बन्धको अर्थ कसैलाई आफ्नो अधीनमा राख्नु होइन, आफ्नो अधिकारभन्दा उसको स्वतन्त्रतालाई ठूलो मान्न सक्नु हो।
यही कथामा मलाई अर्को वाक्य सबभन्दा अर्थपूर्ण लाग्छ — म बलले होइन, विनम्रताले वशमा आउँछु।
ज्ञानलाई बलले नियन्त्रण गर्न सकिँदैन। समाजलाई पनि केवल आदेशले चलाउन सकिँदैन। नागरिकलाई कानुनको डरले मात्र स्थायी रूपमा बाँधेर राख्न सकिँदैन। शक्तिले डर पैदा गर्न सक्छ तर विश्वास पैदा गर्न सक्दैन। सत्ताले नियन्त्रण गर्न सक्छ तर सम्बन्ध बनाउन सक्दैन। यी सबका लागि विनम्रता चाहिन्छ, समर्पण चाहिन्छ।
समर्पणको अर्थ सत्ता त्याग्नु मात्र होइन; आफूभन्दा बाहिरको सत्य स्वीकार गर्न सक्नु पनि हो।
कुनै पनि सत्ताका लागि आलोचना असहज हुन सक्छ। तर आलोचनालाई राज्यविरोधी ठानेको क्षणदेखि सत्ता र समाजबीचको दुरी बढ्न थाल्छ।
त्यसैले 'वैकुण्ठ की कुण्ठा' लाई म रक्षाबन्धनसँग जोडिएको पौराणिक कथा मात्र भनेर बुझ्दिनँ। यो समृद्धिको कथा हो, तर धनको मात्र होइन। यो शक्तिको कथा हो, तर सत्ताको मात्र होइन। यो प्रसिद्धिको कथा हो, तर लोकप्रियताको मात्र होइन। यो भक्तिको कथा हो, तर धार्मिक आस्थाको मात्र होइन।
अन्ततः यो शक्ति, समृद्धि र विवेकबीचको सन्तुलनको कथा हो।
बलिको कथा आज पनि सकिएको छैन। हरेक युगमा कुनै न कुनै बलि जन्मिन्छ, जसले आफ्नो शक्ति स्थायी ठान्छ। हरेक युगमा कुनै न कुनै वामन पनि जन्मिन्छ, जसलाई सुरूमा सानो र नगण्य ठानिन्छ।
पात्रहरू बदलिन्छन् तर शक्तिको कथा उस्तै रहन्छ। उसको परीक्षा पनि उस्तै रहन्छ।
नेपालको राजनीति पनि आज यही कथा वरिपरि रूमल्लिरहेको छ।
हामी समृद्धि चाहन्छौं, तर त्यसलाई दिशानिर्देश गर्ने ज्ञान र संस्था बनाउँदैनौं। शक्ति चाहन्छौं तर आफूलाई सीमित गर्ने संस्थाहरू बलियो बनाउन डराउँछौं। लोकप्रियता चाहन्छौं, तर त्यसलाई शासन गर्ने क्षमतामा बदल्न सक्दैनौं।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको 'के नेपाल सानो छ?' निबन्ध पढ्दा स्कुले जीवनमा मेरो मनमा एउटा प्रश्न उठ्थ्यो — देवकोटाले नेपाललाई स्वर्गभन्दा प्यारो र उत्तम मानेका छन्। तर स्वर्गभन्दा राम्रो ठाउँ के हुन सक्छ?
त्यति बेला स्वर्गको मेरो बुझाइ सरल थियो — दुःख नभएको ठाउँ। सुख र आनन्द मात्र भएको ठाउँ।
उमेर बढ्दै जाँदा आनन्दको अर्थ बदलिँदै गयो। स्वर्गको त्यो सरल कल्पना साँघुरो लाग्न थाल्यो।
सायद देवकोटाको 'वैकुण्ठशाली नेपाल' बुझ्ने बाटो पनि यहीँ कतै थियो!
जहाँ धनलाई दिशाले, शक्तिलाई विवेकले, प्रसिद्धिलाई विनम्रताले र सम्बन्धलाई दायित्वले अर्थ दिन्छ, वैकुण्ठ त्यहीँ निर्माण हुन्छ।
जहाँ धन छ तर दिशा छैन, शक्ति छ तर विवेक छैन, प्रसिद्धि छ तर सिद्धि छैन र सत्ता छ तर समाजको बोध छैन, त्यहाँ स्वर्गजस्तो देखिने ठाउँमा पनि कुण्ठा हुन सक्छ।
स्वर्गलाई सुखको ठाउँका रूपमा मात्र हेर्ने हो भने त्यो समृद्धिको अन्तिम कल्पना हुन सक्छ। वैकुण्ठलाई त्यसभन्दा माथिको आदर्शका रूपमा पढ्ने हो भने, यसले समृद्धिको अर्थ र त्यसलाई व्यवस्थित गर्ने विवेकबारे पनि प्रश्न उठाउँछ।
सायद त्यसैले देवकोटाले नेपाललाई स्वर्गभन्दा प्यारो र उत्तम मानेका थिए।
प्रश्न नेपाल स्वर्गभन्दा राम्रो बन्न सक्छ कि सक्दैन भन्ने होइन। प्रश्न यो हो — हामीसँग भएको सम्भावनालाई वैकुण्ठजस्तो समाजमा बदल्ने विवेक र क्षमता हामीसँग छ कि छैन?
के हामी लक्ष्मीको जगेर्ना गर्दा विष्णुलाई पनि उनको ठाउँ दिन तयार छौं?
***
(लेखक प्रशान्तराज कार्की त्रिभुवन विश्वविद्यालयको एमबिए कार्यक्रममा 'एआई फर बिजनेस' अध्यापन गर्छन्। र, प्रविधिलाई व्यवस्थापन तथा रणनीतिक निर्णयसँग जोड्ने विषयमा रूचि राख्छन्।
एक्स- @TweetPRK