भदौ २३ र २४ को आन्दोलनपछि निजी क्षेत्रको मनोबल इतिहासकै कमजोर मनोबलका साथ काम गरिरहेको अर्को अध्ययनले पनि देखाएको छ।
क्लिकमान्डु डटकमले देशका १२१ जना ठूला लगानीकर्ता र निजी क्षेत्रका प्रतिनिधिहरूमाझ गरेको अध्ययन प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो। अध्ययनमा सहभागीमध्ये ३७ प्रतिशत उद्यमी १० अर्ब रुपैयाँभन्दा बढी लगानी गरेका व्यक्तिहरू थिए भने ४० प्रतिशतले १ हजारभन्दा बढी नागरिकलाई प्रत्यक्ष रोजगारी दिएका हुन।
विद्रोहका नाममा निजी क्षेत्रको भौतिक संरचना मात्र होइन, उनीहरूको आत्मविश्वासको जग नै हल्लाइएको प्रतिवेदनको सार छ। निजी क्षेत्रमाथि कुल ३३ अर्ब ५४ करोड ८७ लाख रुपैयाँ बराबरको प्रत्यक्ष भौतिक क्षति भएको छ भने वस्तु तथा सेवा उत्पादनमा अवरोध हुँदा थप १३ अर्ब ८९ करोडको नोक्सानी भएको छ। तर, यो भौतिक क्षतिभन्दा पनि डरलाग्दो पक्ष मनोविज्ञानमा परेको असर हो।
अध्ययनअनुसार ८८ प्रतिशत उद्यमीको मनोबल नराम्रोसँग खस्किएको छ भने ६७ प्रतिशत उद्यमी गम्भीर मानसिक तनाव वा पोस्ट ट्रम्याटिक स्ट्रेसबाट गुज्रिरहेका छन्।
सुशासनसँग जोडिएको जेनजी आन्दोलनमा अराजक हुँदै रोजगारदातामाथि आक्रमण गर्नुले निजी क्षेत्र निरुत्साहित देखिएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा बताउँछन्।
‘जेनजीका नाममा भएका धेरै हिंसात्मक गतिविधिहरू शायद उनीहरू आफैंले पनि चाहेका थिएनन् । तर, आन्दोलनको श्रेय लिनेले हरेक गतिविधिको जिम्मेवारी लिनुपर्छ। आन्दोलनका नाममा निजी क्षेत्रमाथि जुन आक्रमण भयो त्यो सबैभन्दा विकृत रूप हो’ गोल्छाले भनेका छन् ‘ मेरो मनमा ‘मैले के बिराएछुँ भन्ने प्रश्न त्यो बेला उठिरहेको थियो । देशमा पहिलो उद्योग स्थापना गरेको परिवारमाथि अकारण प्रहार हुनु दुःखद थियो,’ उनले भने।
सरकारले आन्दोलन र अराजकतामाथि भिन्नता छुट्याउनुपर्ने उनको भनाइ छ। त्यस्तो नभए पुँजी र निजी क्षेत्र दुवै पलायनको जोखिम रहने उनले बताए।
नेपाल उद्योग महासंघका अध्यक्ष चन्द्र ढकालको बुझाइमा पनि लगानीकर्ताको आत्मविश्वास इतिहासमै सबैभन्दा कमजोर विन्दुमा पुगेको छ र यसलाई फर्काउन राज्यले सुरक्षा र सुशासनको ग्यारेन्टी गर्नैपर्छ।
‘दशकौंको मेहनत र अर्बौंको लगानीबाट खडा गरिएका उद्योग र व्यावसायिक प्रतिष्ठानहरूमा तोडफोड र लुटपाट हुँदा त्यसले भौतिक क्षति मात्र गर्दैन, एउटा उद्यमीको आत्मविश्वासको जग नै हल्लाइदिन्छ’ प्रतिवेदनमा ढकालले भनेका छन्, ‘आफ्नो लगानी र सम्पत्ति सुरक्षित छ त भन्ने त्रासमा बाँच्नुपर्ने अवस्था कुनै पनि व्यवसायीका लागि सबैभन्दा ठूलो पीडा हो।’
प्रतिवेदनले ८१ अर्ब रुपैयाँ बराबरको अप्रत्यक्ष आर्थिक क्षति भएको अनुमान गरेको छ। जसले देशको कुल गार्हस्थ्य उत्पादनमा ५ प्रतिशतसम्म प्रभाव पार्न सक्छ। ६९ प्रतिशत व्यवसायीले यो आक्रमणको मुख्य कारण अफवाह र भ्रमपूर्ण सूचना भएको बताएका छन्।
यति हुँदाहुँदै पनि एउटा सुखद पक्ष के छ भने, ७० प्रतिशत उद्यमीहरू अझै पनि 'पर्ख र हेर' को अवस्थामा रहँदै लगानीको अवसर पर्खिरहेका छन्। मात्र ८ प्रतिशत उद्यमीले अब लगानी नगर्ने बताएका छन् भने २१ प्रतिशत उद्यमी नयाँ लगानीका लागि अहिले मन्सस्थिती बनाएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालका अनुसार जेनजी आन्दोलनका क्रममा जलाइएका तथा तोडफोड गरेका अधिकांश निजी संरचनाहरू निर्माण भइसकेका छन्। आइएमई समूहले नै चन्द्रागिरी केवलकार, मौलाकालिका केवलकारको मर्मतसम्भार गरेर पुन सञ्चालनमा ल्याएको छ।
व्यवसायी मीनबहादुर गुरूङले तोडफोड गरिएका भाटभेटेनीहरू एक महिनापनि नहुँदै सञ्चालनमा ल्याएका थिए। आगजानी गरी पूर्ण रूपमा ध्वस्त बनाइएका भाटभटेनीका शाखाहरू पनि क्रमशः सञ्चालनमा ल्याएका छन्। यसै साता मात्रै पूर्ण क्षति भएको कोटेश्वरको भाटभटेनी सञ्चालनमा आएको छ।
काठमाडौंको थापाथली लगायतका विभिन्न ठाँउमा क्षति भएका करिब सबै गाडीका स्वरूमहरू सञ्चालनमा आएका छन्।
मनोविज्ञान डराएको यो घडीमा ७० प्रतिशतको आशालाई लगानीमा बदल्न राज्यले तत्काल कदम चाल्नुपर्ने सुझाव प्रतिवेदनले दिएको छ। तत्कालका लागि औद्योगिक सुरक्षा बल स्थापना गरी व्यवसायलाई विशेष सुरक्षा क्षेत्र घोषणा गर्नुपर्ने र व्यवसायीलाई विना प्रमाण थुन्ने 'पहिले थुन्ने अनि सुन्ने' प्रवृत्ति अन्त्य गर्नुपर्ने माग गरिएको छ।
दीर्घकालका लागि कम्तीमा १० वर्षका लागि आर्थिक स्थिरताको मार्गचित्र सार्वजनिक गर्न, आर्थिक अदालतको व्यवस्था गर्न र विद्यालय पाठ्यक्रममै उद्यमीलाई 'देशको नायक' को रूपमा चिनाउन सुझाव दिइएको छ।
आठ खण्डमा विभाजन गरिएको यस प्रतिवेदनमा पृष्ठभूमि, जनसांख्यिक विश्लेषण, नतिजा विश्लेषण तथा प्रस्तुतीकरण, विषयगत नतिजा विश्लेषण तथा प्रस्तुतीकरण, निष्कर्ष, र सुझाव गरी प्रतिवेदनका खण्डहरू विभाजन गरिएको छ।
अध्ययन गर्ने संस्था क्लिकमाण्डु डटकमा प्रकाशक पुष्पप्रसाद दुलाल निजी क्षेत्रको मनोवलकव यथार्थ चित्रण र आगामी कदम चाल्नको लागि यो अध्ययन प्रतिवेदन उपयोगी हुने बताए।
‘यो अध्ययन नेपाली निजी क्षेत्रको ‘मनोविज्ञानको यथार्थ चित्रण’ हो । हामी आशा गर्दछौं, यसले नीति निर्माताहरूलाई वास्तविक धरातल बुझ्न र निजी क्षेत्रको मनोबल उकास्न मार्गनिर्देश गर्नेछ,’ उनले भने।