नेपालको सेयर बजार समग्र अर्थतन्त्रको ऐना वा 'ब्यारोमिटर' बनिसकेको छ कि छैन भन्नेमा अझै धेरैको समान राय छैन।
कतिपयले सेयर बजारको अवस्थाले अर्थतन्त्र देखाउँछ भन्छन्। कतिपयले भने अहिलेसम्म सीमित क्षेत्र मात्र सेयर बजारमा रहेकाले अहिल्यै यसले अर्थतन्त्रको ढुकढुकी छाम्न सक्ने अवस्था नरहेको मान्छन्।
जे भए पनि हाम्रो सेयर बजार अर्थतन्त्रकै संरचनाभित्र छ। त्यसैले ढिलोचाँडो अर्थतन्त्रकै चाल पछ्याउने विभिन्न सोधहरूले देखाएका छन्।
आज भने हामी अर्थतन्त्रको ढुकढुकी होइन बजारको ढुकढुकीबारे चर्चा गर्नेछौं। विभिन्न प्राविधिक विश्लेषणको औजारबाट यसलाई हेर्नेछौं।
यो वास्तवमा बजारको ढुकढुकी मात्रै होइन, लगानीकर्ताको ढुकढुकी छामे सरह हो। किनभने प्राविधिक विश्लेषणहरूले पूर्वकारोबार प्रवृत्तिका आधारमा लगानीकर्ताको मनोविज्ञान कसरी विकास भइरहेको छ भनेर देखाउँछन्।
अहिले नेप्सेको एक सूचक १४ दिने आरएसआईले बजार सन्तुलनमा आएको संकेत गरिरहेको छ।
यो सूचक स्केल ६२.७९ विन्दुमा छ। आरएसआई स्केल ० देखि १०० सम्म हुन्छ। यसको ० देखि ३० सम्म हुँदा यो सूचकले बजारमा तीव्र बिक्री हाबी भएको र बजार अवमूल्यन भएको संकेत गर्छ। यसले ढिलोचाँडो बजार फर्किन सक्ने संकेत गर्छ।
त्यस्तै, ३० देखि ७० सम्मको सूचकले बजारमा खरिद–बिक्री सन्तुलित अवस्थामा रहेको देखाउँछ।
७० देखि १०० सम्मको सूचकले बजारमा आक्रामक रूपमा खरिददारी बढेको र बजार उच्चदरले अधिमूल्यन भएको संकेत गर्छ। र, बजार ढिलोचाँडो उचाइबाट फर्किन सक्ने संकेत गर्छ।
दुई साताअघि बजारमा तीव्र निराशा छाउँदा १४ दिने आरएसआई सूचक १० विन्दुसम्म पुगेको थियो।
अहिले बजार सन्तुलनमा आउन लागिरहेको संकेत गर्छ। आरएसआई सूचक लिने अवधि फरक फरक हुन सक्छ। बजारमा १४ दिनको अवधि लिने परिपाटी धेरै छ।
१४ दिनमा नेप्से घट्दा कति अंक गुमायो र बढ्दा कति अंक जोड्यो भन्ने हिसाब निकालेर यस्तो सूचकको गणना गरिएको हुन्छ। विगत १४ दिनमा नेप्सेले १२६ अंक जोड्दा ७५ अंक गुमाएको छ।
बजार विश्लेषण गर्दा आरएसआई सूचक पनि कसरी घटबढ भइरहेको छ, याद गर्नुपर्छ।
त्यस्तै, बजार प्रवृत्ति कति बलियो बनिरहेको छ, हेरौं 'एड्भान्स' डिक्लाइन (एडी) लाइनबाट।
बजारमा कारोबारमा आएकामध्ये मूल्य बढ्ने (एड्भान्स हुने) र मूल्य घट्ने (डिक्लाइन हुने) कम्पनीको संख्याबाट यस्तो पहिले एडी अनुपात निकालिन्छ।
एडी रेसियो बजारको शक्ति मापन गर्ने एक महत्त्वपूर्ण प्राविधिक औजार मानिन्छ। मूल्य बढेका कम्पनीको संख्यालाई मूल्य घटेको कम्पनीको संख्याले भाग गर्दा यो अनुपात निस्किन्छ।
यो अनुपातले बजार बढाउन वा घटाउनमा कति धेरै कम्पनीको प्रभाव रह्यो भनेर संकेत गर्छ। धेरै कम्पनीको मूल्य बढ्नुले बजारको वृद्धि बलियो बन्न गएको संकेत गर्छ।
एक दिनको मात्रै नभएर केही अवधिको यस्तो तथ्यांकलाई हेरेर विश्लेषण गर्दा बजारको गति प्रक्षेपण गर्न अझ सहज हुन्छ।
यसका लागि भने एड्भान्स डिक्लाइन लाइन (एडी लाइन) हेर्नुपर्छ। एडी लाइनमा भने हरेक दिन कति वटा कम्पनीको मूल्य बढ्दा कति वटाको घटेको छ। र, यो अन्तर कति छ भनेर हेरिन्छ।
हामीले मंगलबारयताको यो तथ्यांक अद्यावधिक गरेका छौं। मंगलबार ११३ कम्पनीको मूल्य बढ्दा १४५ वटाको घटेको थियो। बढ्नेभन्दा घट्नेको संख्या ३२ थियो।
बुधबार भने २४८ वटाको मूल्य बढ्दा २१ वटाको घटेको थियो। अन्तर २२७ छ। यसरी बुधबारको अन्तरसंख्यालाई मंगलबारको अन्तर संख्या (घटेको संख्या धेरै भएकाले) घटाउँदा १९५ छ।
यस आधारमा बुधबार एडी लाइन १९५, बिहीबार ७९ थियो भने शुक्रबार यो सूचक २२५ छ।
यो सूचक बढ्दो क्रममा माथि गइरहेकाले बजारमा सुधार हुँदै गइरहेको संकेत गर्छ।
त्यस्तै, नेप्सेको रेखा चित्रमा बनाइएको ५० दिने र २०० दिने मुभिङ एभरेजले बजारमा बुलिस प्रवृत्ति कायमै रहेको देखाइरहेको छ।
अहिले पनि २०० दिने रेखा माथि ५० दिने रेखा छ। यो अवस्था भनेको बजार बुलिस प्रवृत्तिमा छ भन्ने हो। २०० दिने रेखामुनि ५० दिने रेखा आएमा बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ।
यी दुई रेखाबीचको दुरी कम भएको छैन। एक अर्काबीच दुरी कायमै छ।
बजारलाई मैनबत्ती चित्र विश्लेषणबाट हेर्दा अहिले 'हरामी बुलिस' आकृति बनेको छ।
बिहीबार र शुक्रबारको कारोबारमा यस्तो आकृति बनेको हो। बिहीबार नेप्से २७६२.१७ हुँदा बजार खुल्यो।
बन्द हुँदा भने घटेर २७४२.११ सम्म पुग्यो। र, रातो लामो मैनबत्ती आकृति बन्यो। शुक्रबार २७४२.४६ बाट बजार सुरू भयो र २७५८.४९ विन्दुसम्म पुग्यो।
बिहीबारको मैनबत्तीले शुक्रबारको मैनबत्ती शरीरलाई लगभग पूरै ढाक्यो र हरामी बुलिस आकृति बनाएको छ। यसले बजारमा सुधार हुनसक्ने संकेत गर्छ। तर सोमबार बजार बढे मात्रै यो सुधार सुनिश्चित भएको मान्न सकिन्छ।
केही दिन अघिसम्म दैनिक कारोबार रकम तीन अर्ब रूपैयाँमुनि रहन थालेकामा पछिल्ला तीन दिनमा ३ अर्ब रूपैयाँमाथि छ। शुक्रबार कारोबार रकम चार अर्ब ४६ करोड रूपैयाँसम्म पुगेको छ।
कारोबार रकममा सुधार आएकाले खरिददारी बढिरहेको समेत संकेत गर्छ।
प्राविधिक विश्लेषणका औजारहरूले लगानीकर्ताहरूको मनोविज्ञान कसरी अगाडि बढिरहेको छ भन्ने संकेत गर्छ।
त्यसैले, बजारमा प्रवाह हुने खबरले लगानीकर्ताको मनोविज्ञानमा प्रभाव पर्ने भएकाले आगमी दिनमा बजारमा कस्ता खबर प्रवाह हुन्छन्, त्यसले पनि बजारको प्रवृत्तिहरू फरक पर्दै जानेछ।