सुदूरपश्चिम प्रदेश सभाको आठौं अधिवेशनको दोस्रो बैठकमा दुई वटा महत्वपूर्ण विधेयकहरू टेबल गरिएको छ।
सोमबार बसेको प्रदेश सभा बैठकमा ‘सुदूरपश्चिम प्रदेश बरघर र भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ टेबल गरिएको हो।
सामाजिक विकास मन्त्री मेघराज खड्काले सुदूरपश्चिम प्रदेश सभा नियमावली, २०८० को नियम १०७ को उपनियम ९१० बमोजिम ती विधेयकहरू सभा समक्ष टेबल गर्न प्रस्ताव गरेका हुन्।
यसअघि वैशाख १७ गते नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले संसद सचिवालयमा दर्ता भई लामो समयदेखि प्रक्रियामा नगएका यी दुई विधेयकलाई अविलम्ब सदनमा पेस गरी छलफल अगाडि बढाउन सभामुखसँग आग्रह गरेको थियो।
दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले विधेयकहरू रोकिँदा संसदको कार्यप्रणाली माथि नै प्रश्न उठ्ने भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो।
सरकारले ‘टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक’ २०८१/१२ /०३ गते र ‘बरघर तथा भलमन्सा प्रथा संरक्षण विधेयक’ २०८२/०२/२१ गते संसद सचिवालयमा दर्ता गराएको थियो।
ती दुई विधेयक सचिवालयमा दर्ता भएको लामो समय बितिसक्दा पनि सदनमा पेस नभएको भन्दै प्रमुख सत्तारूढ दल कांग्रेसले त्यसलाई प्राथमिकतामा राख्न दबाब दिँदै आएको थियो।