करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर उपहार तुल पुडासैनीले जिते। आन्तरिक राजस्व विभागले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा सोमबार मन्त्रालयमा उपहार घोषणा गरेको थियो।
साउन महिनाको दोस्रो १६ दिनको हरेक दिनको एक–एक जना र सबै सहभागीमध्येबाट छनोट गरिएको एक जनालाई बम्पर गरी १७ जना उपभोक्ता छनोट गरिएको थियो।
त्यसमध्येका १० लाख रूपैयाँको बम्पर उपहार पुडासैनीले जितेका हुन्।
उनले मोबाइलको कभर र सिसा फेर्दा तिरेको ३५० रूपैयाँको कारोबार बम्पर उपहारमा छानिएको हो।
पुडासैनी नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक पदमा बागमती प्रदेश प्रहरी गण, हेटौंडामा कार्यरत छन्।
'मेरो घर बाराको सिमरा हो। नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक पदमा बागमती प्रदेश प्रहरी गण, हेटौंडामा कार्यरत छु। मोबाइलको कभर र सिसा मर्मत गर्न दुई–तीनवटा पसल चहारेर गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सर्भिसमा पुगेको थिएँ,' उनले भने, 'त्यहीँ गरेको कारोबारमा १० लाखको उपहार परेको थाहा पाएँ। एकदमै खुसी लाग्यो। सबैतिरबाट बधाइ आइरहेको छ। सबैलाई बिल लिन र दिन मेरो अनुरोध छ।'
उनले सबै जनालाई सकेसम्म अनलाइनमार्फत कारोबार गर्न, बिल लिन र दिन आग्रह गरे।