नेपालले आइटी सेवा निर्यात गरेर वार्षिक सवा खर्ब रूपैयाँ बराबर विदेशी मुद्रा आर्जन गरेको आइटी सेवामा काम गरेका उद्यमीहरूले बताएका छन्।
यद्यपि पछिल्लो अध्ययन २०२२ मा ६७ अर्ब रूपैयाँ बराबरको निर्यात भएको थियो।
अब आइटी सेवाबाट ठूलो लाभ लिन सकिने सरोकारवालाको भनाइ छ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको 'नेपाली आइटी उद्योगको अवस्था, अवसर र चुनौती' कार्यक्रममा नाष्ट आइटीका पदाधिकारीहरूले नेपालको आइटी क्षेत्रले ठूलो फड्को मारिरहेको प्रतिक्रिया दिएका छन्।
उनीहरूले अहिलेको डिजिटल युगमा नेपालले कसरी आफ्नो अर्थतन्त्रलाई आइटीको माध्यमबाट सुदृढ बनाउन सकिने उनीहरूको भनाइ छ।
नाष्ट आइटीका अध्यक्ष गौरव पाण्डेले उनले सन् २०२२ को तथ्याङ्कले ५१५ मिलियन डलर (करिब ६७ अर्ब रूपैयाँ) निर्यात देखाए पनि अहिले त्यो बढेर १ अर्ब डलर (करिब १ खर्ब ३३ अर्ब रूपैयाँ) नाघिसकेको बताए।
पाण्डेले विश्वमा भइरहेको एआईको क्रान्तिलाई मानव इतिहासकै महत्त्वपूर्ण मोडका रूपमा व्याख्या गरे।
पाण्डेले नेपालले विगतका औद्योगिक क्रान्तिहरू गुमाएको प्रसंग कोट्याउँदै यो पटक चुक्न नहुनेमा जोड दिए।
'अघिल्ला औद्योगिक क्रान्तिहरू गुमाएको नेपालले यो चौथो क्रान्ति पनि गुमाएमा हामी अरू देशको तुलनामा धेरै पछाडि पर्ने डर छ,' उनले भने, 'अमेरिका, चीन र बेलायत जस्ता देशहरूले आफ्नो कुल गार्हस्थ्य उत्पादनको ठूलो हिस्सा एआईमा लगानी गरिरहेका छन्, जुन हाम्रो जस्तो देशका लागि चुनौती र अवसर दुवै हो।'
नेपालले अधिकांश वस्तुहरू अत्यन्तै न्यून मूल्य अभिवृद्धि गरेर मात्रै विदेशी बजारमा पठाएको ढुवानीको लागत लगायतको कारण प्रतिष्पर्धी क्षमता कमजोर भएको अवस्थामा आइटी नेपालीको लागि अवसर भएको बताए।
'डिजिटल सेवा र उत्पादन निर्यात गर्दा ढुवानी खर्च नगन्य हुने भएकाले हामीले विश्व बजारमा सजिलै प्रतिस्पर्धा गर्न सक्छौं,' उनले भने।
नेपाल भूपरिवेष्ठित देश भएकाले सामान निर्यात गर्दा लजिस्टिक खर्च उच्च हुने तर आइटी सेवा इन्टरनेटको माध्यमबाट पठाइने हुँदा यसमा नेपाललाई ठूलो लाभ हुने उनले बताए।
नाष्ट आइटीकी महासचिव अलिशा श्रेष्ठले आइटी उद्यम गर्ने कम्पनीहरू नेपालमा बढ्दै गएको बताइन्।
३२ वटा कम्पनीबाट सुरू भएको नाष्ट आइटीमा अहिले ८० भन्दा बढी कम्पनीहरू आबद्ध भइसकेको जानकारी दिइन्।
'हामीले कर्मचारी र ग्राहकका लागि आपसमा लड्नुभन्दा मिलेर सहकार्य गर्ने र नेपाललाई टेक हबका रूपमा चिनाउने संकल्प गरेका छौं,' अहिले बजार, पुॅजी र दक्ष जनशक्तिमा सबै कम्पनीको पहुँच पुऱ्याउने सवालमा नाष्ट आइटीले काम गरिरहेको उनको भनाइ छ।
नाष्ट आइटीका कोषाध्यक्ष अभय पौडेलले आइटीलाई केवल एउटा सेवा क्षेत्र मात्र नभई 'उद्योग' को रूपमा राज्यले चिन्नुपर्ने माग गरे।
'आइटीलाई उद्योगको मान्यता दिएर १० वर्षसम्म नीतिगत स्थिरता र कर सहुलियत दिने हो भने हामीले सोचेको लक्ष्य सजिलै भेट्न सक्छौं,' उनले भने।
थप अवसरका लागि के गर्ने?
पौडेलले १ अर्ब डलरभन्दा बढीको निर्यातलाई आगामी १० वर्षमा ३० अर्ब डलर पुऱ्याउने र ५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य हासिल गर्न सरोकारवालाहरूले निम्न कदमहरू चाल्नुपर्ने सुझाव दिए।
कम्तीमा १० वर्षका लागि आयकरमा भारी छुट (५ प्रतिशतभन्दा कम) दिनुपर्छ ताकि वैदेशिक लगानी प्रोत्साहित गर्नु पर्ने उनको भनाइ छ।
भियतनाम र फिलिपिन्स जस्ता देशले यस्तै छुट दिएर आइटीमा प्रगति गरेको उनले बताए।
सरकारले १० करोड रूपैयाँसम्मका सफ्टवेयर खरिदमा नेपाली कम्पनीहरूलाई नै पहिलो प्राथमिकता दिनुपर्ने नीति ल्याउन उनको सुझाव छ।
ठूला विदेशी ठेक्काहरूमा कम्तीमा ३० देखि ४० प्रतिशत काम नेपाली कम्पनीहरूसँग मिलेर गर्नुपर्ने सर्त राख्दा प्रविधि हस्तान्तरणमा मद्दत पुग्ने उनको तर्क छ।
कक्षा ५ देखि नै विद्यालयको पाठ्यक्रममा आइटी र एआई सम्बन्धी शिक्षा अनिवार्य गर्नुपर्ने, हाल स्नातक गरेका विद्यार्थीहरूलाई पनि उद्योगको आवश्यकता अनुसार थप तालिम दिनुपर्ने अवस्था रहेकोले शिक्षा र उद्योगबीचको दूरी कम गर्नुपर्ने उनले बताए।
पर्यटन बोर्ड जस्तै आइटी क्षेत्रका समस्या समाधान र अन्तर्राष्ट्रिय बजारमा नेपालको ब्रान्डिङ गर्न छुट्टै 'आइटी प्रवर्द्धन बोर्ड' गठन गर्न आवश्यक रहेको उनको सुझाव छ।
अमेरिका, अस्ट्रेलिया, बेलायत र जापान जस्ता मुख्य बजारहरूसँग दोहोरो कर मुक्ति सम्झौता गरेमा लगानीकर्ताहरूलाई नेपालमा काम गर्न थप सहज हुने उनको भनाइ छ।