भदौ २४ गते जेनजी आन्दोलन क्रममा भएका आगजनी, विध्वंश, तोडफोड र हिंसापछि पूरै नेपालभर फैलिएको एक प्रकारको निराशाको बादल असोजको पहिलो सातासम्म हटिसकेको थिएन।
दसैं आउन लागेका बेलाको घमाइलो र रमाइलो मौसमले पनि धेरै नेपालीको अनुहारको मुस्कान फर्काइसकेको थिएन।
तर असोज ४ गते शनिबारको बिहानीले नयाँ आशासँगै सकारात्मक ऊर्जा प्रवाह गरिदियो— काठमाडौं खाल्डो नजिकै भएर पनि निकै टाढाको लाग्ने एक सुनसान बस्तीमा।
त्यो घमाइलो बिहानीले काठमाडौं उपत्यका पश्चिमतिर, त्रिशुलीपारि नुवाकोटको एक दुर्गम गाउँमा थोरै आशा र थोरै खुसीको सञ्चार गराइदियो।
यस कारण — पहिले कहिल्यै आन्तरिक पर्यटक वा नेपाली हाइकरहरूको लस्कर नपुगेको दानसिङ गाउँमा त्यस बिहान ३२ जना नेपाली हाइकर पुगे।
रंगीबिरंगी पोसाक, घाम छेक्ने टोपी र चस्माधारी उनीहरू र पछाडी झोला बोकेर बसबाट धमाधम ओर्लिँदा दानसिङका नरनारी तथा केटाकेटी हर्षित देखिए।
विदेशबाट फर्किएपछि नुवाकोटको दानसिंह क्षेत्रको विकास गर्न लागिपरेका स्थानीय युवा चक्रबहादुर तामाङ। तस्बिर: सुरेन्द्र फुयाल
'सर तथा म्याडमहरूलाई स्वागत छ है दानसिङमा,' त्रिशुली नदीपारिको विदुर नगरपालिकामा समेत डेरा लिइसकेका वडाअध्यक्ष चक्रबहादुर तामाङले मुसुक्क हाँस्दै ह्याप्पी हाइकर्सको हुललाई दुई हात जोडेर नमस्कार ठोके, 'यसअघि कहिल्यै पनि नेपाली हाइकरहरू दानसिङ आउनुभएको थिएन। हजुरहरू आउनुभयो। आज हामी धेरै खुसी छौं।'
हाइकरको हुलले दानसिङको सानो बजारमा फलफूल र खाजा खाएपछि पसलवाला हर्षले गदगद भए।
यस कारण कि, त्यो हाइकरको हुलले युवाहरूले धमाधम गाउँ छोडिरहेका दानसिङका बस्तीमा केही आशा र खुसी फर्काइदिएको आभास गराइदियो। गाउँ छाडेका परिवार वा युवाहरू १० किलोमिटर पूर्व त्रिशुली नदीपारि बिदुरतिर बस्छन्। या, अझै पर काठमाडौं वा विदेश हान्निएका छन् — सुनौलो भविष्यको खोजीमा।
वडाअध्यक्ष चक्रबहादुर तामाङ आफै खाडी भासिएका थिए।
केही वर्षअघि आफ्नै गाउँ फर्किएर केही गरौं भनेर लागिपरेका छन्। पालिकाको वडाअध्यक्ष चुनिएपछि उनको जिम्मेवारी झनै बढेको छ। गाउँमा फलफूल, तरकारीका साथै धान, गहुँ, आलु, मकै आदि बाली फल्ने गराहरू प्रशस्त छन्। तल बेसीमा त्रिशुली नदी बगर नजिकै तारूका र अन्य गाउँ छन्।
तारूकामा माघे १ गते गोरू जुधाइ मेला लाग्छ, जुन हेर्न टाढा टाढाबाट मानिस आउँछन्।
नुवाकोटमा नयाँ तामाङ हेरिट्रेज ट्रेलको परिकल्पना
नुवाकोटको दानसिङ गाउँको टाकुरामा रहेको प्राचीन जन्तरेगढी नजिकै रहेको वाइबा तामाङ बस्ती। तस्बिर: सुरेन्द्र फुयाल
घुम्दै जाने हो भने दानसिङ क्षेत्रमा अरू धेरै गन्तव्य छन् — छहरे झरना, दानसिङ झरना, गोरस्याङ।
दानसिङका सुन्दर खेतबारीका गरा र हरियाली वन जंगलदेखि माथि पहाडको टाकुरामा कुनै बेला स्थानीय वाइबा राजाको दरबार र गढी रहेको जन्तरेगढी उभिएको छ। त्यसको इतिहास झल्काउने सम्पदाको नवनिर्माण गर्न चक्रबहादुर तामाङलाई स्थानीय तामाङ समुदायले साथ दिइरहेको छ।
हाइकरको हुल कच्ची बाटै बाटो जन्तरेगढीको उकालो लागेपछि केही स्थानीय युवा पनि बाटो देखाउन आइपुगे।
हिँड्न गाह्रो भएर साह्रो परेकी एक काठमाडौंवासी तर स्थानीय महिला हाइकरलाई माथि लैजान अर्का युवा बडेमानको पल्सर मोटरसाइकल लिएर आइपुगे। अगाडिको ठाडो र ढुंगा ओछ्याइएको अप्ठ्यारो बाटोले उनको २५० सिसीको बाहन छेक्न सकेन।
ती युवा जस्तै दानसिङमा पर्यटनका प्रचुर सम्भावना देखेर हौसिएका अरू युवा हाम्रो अघिपछि बाटो देखाउन आइपुगे, न्यानो तामाङ आतिथ्य र मायाको रातो कार्पेट बिछ्याउँदै।
तीन घन्टा उकालो चढ्ने क्रममा देखिएका दृश्य शब्दमा बयान गर्नै नसकिने — बेसीमा सुनौला धानबाली; अलि माथि हरिया गह्रैगह्रा; पारि र वारि हरिया पहाडबीच कुनै नदीको खोल्सी जसको बीच बीचमा सेतै कञ्चन झरनाका लस्कर; गह्राका बीच बीचमा एक्ला वा दुक्ला दुब्ला तर अग्ला रूख; अलि मास्तिर गराका आलीमा सुन्तला र कागतीका रूखैरूख।
मानौं कुनै स्वर्ग हो यो जहाँ हावा त स्वच्छ नै, तल खोल्सीबाट कलकल बगिरहेको पानी पनि त्यतिकै सफा छ।
स्वाँस्वाँ गर्दै लामो उकालो चढेपछि बल्ल आइपुग्यो जन्तरे डाँडा। छेवैमा सानो समस्थली जहाँ एउटा विद्यालय भवन प्रांगण। पारिपट्टि गुजुमुज्ज वाइबा तामाङ बस्ती। अलि माथि डाँडाको टुप्पामा जन्तरे डाँडाको किल्लाको भग्नावशेष तर अहिले नवनिर्माण हुँदै गरेको।
'पृथ्वीनारायण शाहका फौजले नेपाल एकीकरण अभियान थाल्नु अघिसम्म यहाँ वाइबा राजाको दरबार र किल्ला थियो रे,' मोटरसाइकल चढेर माथि आइपुगेका चक्रबहादुर तामाङले दानसिङको दामी सम्पदाबारे बयान गर्दै भने, 'तर गोर्खाली फौजले जितेपछि यो नेपाल राज्यमा मिसिन पुगेको रे।'
त्रिशुलीपारिको जन्तरे डाँडामा राज गर्ने ती वाइबा रजौटाबारे जति खोजी गरे पनि थप जानकारी पाइएन।
नुवाकोटको दानसिङ गाउँमा बनेका नयाँ विद्यालय र प्रहरी चौकी भवन। तर अधिकांश युवाहरू सहर पसेपछि गाउँ सुनसान देखिन्छ। तस्बिर: सुरेन्द्र फुयाल
सुन्दर गाउँ र खेतबारी बीचबाट ओरालो झर्दै गएपछि एउटा सुन्दर र नयाँ पुलिस चौकी देखियो।
एक हाइकर चकित भएर भनिहाले, 'अस्ति भदौ २४ मा यो भवन चाहिँ कसैले जलाउन सकेन छ है।'
अर्काले प्याच्च भने, 'जलाउने युवाहरू सबै त्रिशुली वा काठमाडौंमा होलान्, तोडफोड र जलाउने काम उतै गरे होलान् नि!'
हाइकरको हुल दानसिङ झरना पुगेर पानीमा नुहाएर बिदा हुनुअघि चक्रबहादुरलाई टोली नेता राजाराम फुयाल (नाताले लेखकको काका, साथी) सरले सुझाए — तपाईंको यो गाउँ अति सुन्दर रहेछ, नुवाकोटभरि यस्ता सुन्दर तामाङ बस्ती धेरै छन्। यिनलाई मिलाएर रसुवामा जस्तै नयाँ तामाङ हेरिटेज ट्रेल बनाएर अर्को पदयात्रा गन्तव्य बनाउन सकिन्छ।
नुवाकोटको दानसिङ गाउँ जाने बाटो नजिकै झरिरहेको प्रसिद्ध दानसिङ झरना हेर्न धेरै घुमन्ते आउने गरेका छन्। तस्बिर: सुरेन्द्र फुयाल
चक्रबहादुर मुस्कुराए, 'हो सर यो त गर्नुपर्छ, हामीलाई सहयोग गर्नुहोला।'
राजाराम सरले थपे, 'अवश्य पनि। कुनै दिन नुवाकोटका दानसिङ र वरिपरिका अन्य गाउँ तथा पहाड जोडेर रसुवामा जस्तै नयाँ तामाङ हेरिटेज ट्रेलको विकास किन हुन सक्दैन? अवश्य सक्छ।'
लमजुङ हिमाल मुनितिर मेमे पोखरी क्षेत्रमा खुसियाली
दसैंको टीका थापेलगत्तै राजाराम सर नेतृत्वको टोली लमजुङको मेमे पोखरीको नौ दिने पदयात्रामा गयो। जहाँ टोली मात्रै रमाएन, पदयात्रा मार्गमा पर्ने दोर्दी क्षेत्रका स्थानीयवासी पनि खुबै रमाए।
गाउँमा नेपालीको लस्कर लखर लखर हिँड्न घुम्न र रमिता गर्न आएपछि खुसी भएर पाहुनाको न्यानो स्वागत सत्कार पनि गरे।
मेमे पोखरी कल्चरल ट्रेल पदयात्रा क्रममा स्थानीय संस्कृति र प्रकृतिमा भिज्न ३२ जना नेपाली पदयात्री लमजुङ हिमालको फेदीतर्फ लागेपछि लमजुङका दुर्गम गाउँवासी निकै उत्साहित भए।
नहून् पनि किन?
त्यसरी हाइकरका लस्कर लगातार दोर्दी क्षेत्रमा आउन थाले भने त लमजुङका उत्तरी गाउँको अर्थतन्त्र चलाएमान मात्रै हुन थाल्दैन; गाउँ छोडी सहर पसेका युवा फर्किने वातावरण तयार हुन्छ।
नयाँ आशा र खुसी मनभरि सँगाल्दै स्थानीय गुरूङ समुदायका युवाले नाचगान गर्दा अनेकथरी नेपाली खुबै रमाए। कैयौं दिन ठाडो उकालो ओरालो र फेरि उकालो लाग्दै कुना कन्दराका गाउँबाट उनीहरू अघि लाग्दा युवाविहीन रित्ता गाउँबस्तीमा बचेखुचेका युवायुवती, केटाकेटी अनि ज्येष्ठ नागरिकका अनुहारमा छोटै समयका लागि भएपनि हाँसो र मनमा आशा फर्किएझैं भयो।

दसैंलगत्तै लमजुङको दोर्दी क्षेत्रमा मेमे पोखरीमा पदयात्रा गएका नेपाली हुल निकै रमायो। ४५०० मिटर उचाइमा रहेको मेमे पोखरी प्रसिद्ध तर निकै कम यात्री पुग्ने गन्तव्य हो। तस्बिर: अचित्रा थिङ
हुल ४५०० मिटर माथि लमजुङ हिमालमुनि बसेको कञ्चन मेमे पोखरी क्षेत्र पुगेपछि खुबै रमायो।
हिमाली सुन्दरतामा उनीहरूको थकाइ मेटिँदै गर्दा हिमाल चट्टान खर्क र भर्खरै हिउँ पग्लिएर बहन थालेका खोली समेटेकी प्रकृति स्वयं रमाउँदै मुस्कुराइरहेझैं हुने नै भयो।
जुगल हिमाल अगाडि धुस्कोटमा फक्रिएको आशा
शनिबार वा कुनै लामो बिदा आयो कि झोला बोकेर एक्लै दुक्लै वा हुल बाँधेर हिँडिहाल्ने लत हिजोआज धेरै नेपालीलाई लागेको छ। हिँड्दा बयान गरी नसकिने स्वास्थ्य लाभ हुने भएकाले यसरी हिँड्ने बानीलाई सुलत नै मान्नुपर्छ।
कात्तिक २२ गते शनिबार ह्याप्पी हाइकर्सको टोली बिहानै सिन्धुपाल्चोकको कहिल्यै नाम नसुनिएको तर अति सुन्दर पहाड पुग्यो।
जब बलेफी नदी पार गरेर बायाँ ठाडो उकालो चढेर ३२ जना हाइकर धुस्कोट पुगे, स्थानीय गोले तामाङ समुदायका हँसिला र स्नेही नरनारीहरू उनीहरूको स्वागतमा हातमा फूल माला र खादा लिएर उभिए।
पछाडि उत्तर तिर दोर्जे लाक्पा, फुर्बी च्याचु लगायत हिमाल यसरी टल्किए, मानौं यो सुनसान गाउँमा हाइकर पुग्दा उनीहरू पनि प्रसन्न छन् र दिल खोलेर हाँसिरहेका छन्।
हालै सिन्धुपाल्चोकको बलेफीमाथि लुकेको धुस्कोटमा हाइकरहरूलाई स्वागत गर्दै स्थानीयवासी तथा गुम्बाका लामा। धुस्कोटको सेल्तापगढी र झरना पुग्नैपर्ने गन्तव्य हुन्। तस्बिर: सुरेन्द्र फुयाल
धुस्कोट गाउँको मूल ढोकामै ठडिएको नयाँ तथा सुन्दर बौद्ध गुम्बा अगाडि उभिएर कलेजी पहिरन लगाएका लामाहरूले बाजा बजाउँदै हाइकरहरूलाई शुभ आशीर्वाद मात्रै दिएनन्; निधारमा स्थानीय वनफूलको टीका समेत टाँसिदिए।
गाउँमा पहिलो पटक हाइकरहरू आएर औधि खुसी भएका स्थानीय पत्रकार प्रितम गोले तामाङ र वडाअध्यक्ष रितेशले आन्तरिक पर्यटकको दिल खोलेर स्वागत गरे।
स्थानीय तामाङ खाजा घरमा थरीथरी परिकार खाएर जब टोली वनैवन धुस्कोटको पूर्वी उकालो लाग्यो, निलो आकाशमा घाम चर्किन थाल्यो। अनि अगाडि सुनकोसी बगरलाई गम्लङ्ग ढाकिदिएको हुस्सुको दोलाइ मात्र हटेन, पछाडि पश्चिमतिर बलेफी बेँसी छोपिदिएको हुस्सु पनि बिलाइदियो।
सिन्धुपाल्चोकको बलेफीमाथि लुकेको धुस्कोटको सेल्तापगढी माई क्षेत्र उकालो लाग्दै नेपाली हाइकरहरू। तस्बिर: सुरेन्द्र फुयाल
पश्चिमतिर पहाडमाथि लमतन्न फैलिएको चौतारा बजारले धुस्कोट उक्लिरहेका एक हुल हाइकर हेरेको हेर्यै गरेझैं भयो लोभिएसरि।
धुस्कोट माथिको डाँडामा रहेको सेल्तापगढीमा स्थानीयले निकै आस्था राख्ने एक देवीको मन्दिर रहेछ। सेल्तापमाई शक्तिपीठ पुग्न कच्ची मोटरबाटो समेत बनिसकेको रहेछ।
स्थानीयवासीको भनाइमा यो गढी पनि गोर्खा राज्य विस्तारका बेला नेपाली सेनाले प्रयोग गरेको थियो।
हाइकरलाई बाटो देखाउँदै सेल्तापगढी आइपुगेका प्रितम गोले तामाङले भोलिपल्ट आफ्नो फेसबुकमा हाइकरहरूको फोटाहरू राख्दै लेखे, 'सिन्धुपाल्चोक जिल्लाको ओझेलमा परेको एक शक्तिपीठ, बलेफी गाउँपालिका वडा नम्बर ३ स्थित सेल्तापमाई देवीको थान। जहाँ इच्छाएको सबै पूरा हुने कथन छ। यहाँहरू हाइकिङ गर्दै यो देवीथानको दर्शन गर्न सक्नुहुनेछ।'
वनको अति स्वच्छ हावामा सास फेर्दै सेल्तापगढी पुगेका हाइकरहरू दिनभर हिमाली दृश्यसँगै सुनकोसी र बलेफीका बेसी अनि पूर्वतिरका सैलुङ र कालिन्चोकका पहाडका सौन्दर्य आँखा र मोबाइल क्यामरामा कैद गर्न व्यस्त रहे।
ओरालो झर्दै धुस्कोट गाउँ फर्किने बेला धुस्कोटको उत्तरपूर्वी कुनामा एक सुन्दर झरना हेर्न वन र झाडी छिचोल्दै अघि बढिरह्यो।
स्थानीय तामाङ युवा बाटो देखाउँदै अघिअघि लाग्दा उनीहरूको न्यानो आतिथ्य र आत्मीय व्यवहार मात्रै प्रस्ट भएन; धुस्कोट गाउँलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उनीहरूको भित्री लालसा र सपना पनि छर्लंग भयो।
तर धुस्कोटको सेल्तापगढीबाट झर्ने क्रममा पूर्वपट्टी देउरालीमा देखिएको एक दृश्यले निकै बेर मन विचलित तुल्याइरह्यो।
कारण — सुन्दर बगैंचाको बीचमा एउटा सानो पौवा उभिएको थियो। तर त्यो हालसालै काठमाडौंमा मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका एक कलिला तामाङ युवाको सम्झनामा बनाइएको रहेछ।
सिन्धुपाल्चोकको बलेफीमाथि लुकेको धुस्कोटको शिरमा रहेको सेल्तापगढीदेखि केही पूर्व एक देउरालीमा बनाइएको पौवा। यो हालसालै काठमाडौंमा मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका स्थानीय युवाको सम्झनामा बनाइएको हो। तस्बिर: सुरेन्द्र फुयाल
***
(सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
एक्सः @surendraphuyal