२००७ साल अघिसम्म शासकहरूले चढ्ने केही मात्र मोटर गाडी हुँदा प्रायः सबै नेपाली हिँड्थे।
२०३१ साल पुग्दा देशमा मोटर गाडीको संख्या बल्ल ८ सय पुग्यो। त्यति बेला पनि प्रायः नेपाली हिँड्थे। कोही कोही पैसावालाहरू साइकल चढ्थे।
२०८२ साल पुग्दा नेपालमा मोटर गाडीको संख्या ६० लाख नजिक पुगेको अनुमान छ। यीमध्ये ८० प्रतिशत त दुईपांग्रे, मोटरसाइकल वा स्कुटर छन्।
पहिले अधिकांश नेपाली करले हिँड्थे। अहिले धेरै नेपाली रहर वा स्वस्थ रहनपर्ने बाध्यताका कारण हिँड्न थालेका देखिन्छन्।
आइतबारदेखि शुक्रबारसम्मको मोटर हुइँक्याइ त छँदैछ; फुर्सद पायो कि नेपालीहरू सहरका अग्ला घरका कौसीदेखि सडकपेटी र ससाना पार्कदेखि खेलमैदान वा डाँडाकाँडा जताततै हिँडिरहेका देखिन्छन्।
हिँड्ने र दगुर्ने मामिलामा जेनजी त अब्बल हुने भइहाले। तर लामो हिँडडुल वा हाइकिङको मामिलामा हरेक उमेर समूहका नेपाली झोला बोकेर हिँडिरहेका भेटिन्छन्।
हप्ताभरको तनाव भुल्न शनिबार कुरेर बस्ने जमात पनि लगातार बाक्लिँदै गएको देखिन्छ।
काठमाडौं उपत्यका वरिपरिका डाँडामा शनिबार हाइकिङ जाने समूहको संख्या कोभिड महामारीपछि कैयौं गुणा बढिसकेको पाइएको छ। केही वर्ष अघिसम्म नागार्जुनको जामाचो वा शिवपुरीको विष्णुद्वार, आनी गुम्बा वा बागद्वारमा शनिबार नगण्य हाइकर भेटिन्थे। अचेल हरेक शनिबार त्यहाँ हाइकरको थामिनसक्नु भीड हुन्छ।
काठमाडौंका शनिबारे हाइकरहरू प्रायः हाइक फर नेपाल, ह्याप्पी हाइकर्स, द वाकर्स जस्ता फेसबुक समूहमार्फत जोडिन्छन्।
व्यायामका लागि छोटो समय हिँड्दा त स्वास्थ्यमा फाइदा हुन्छ भने लामो समय हिँडिरहँदा शरीर र मस्तिष्कमा कति फाइदा पुग्ला?
स्वास्थ्यविदहरूका अनुसार लामो हाइकिङ वा पहाडी ट्रेकिङको फाइदा यति धेरै छ, बयान गरी साध्य छैन।
यो आलेखमा मैले तिनैमध्ये केही फाइदाको चर्चा गरेको छु।
१५ मिनेट लामो हिँडाइको कमाल
गुह्वेश्वरीमा क्षेत्रमा हिँड्दै पदयात्रुहरू। तस्बिरः सुरेन्द्र फुयाल
तपाईं दिनमा कति पाइला हिँड्नु हुन्छ?
दिनको १० हजार पाइला हिँडे स्वस्थ भइन्छ भन्ने पहिलो लहड चाहिँ एउटा जपानी पाइला मापक यन्त्र पिडोमिटरको विज्ञापनमार्फत प्रचार भएको मानिन्छ। सबभन्दा पछिल्लो नयाँ अध्ययनले मुटु स्वस्थ राख्न एकै पटकमा १५ मिनेटसम्म हिँड्नु सर्वोत्तम हुने निष्कर्ष निकालेको छ।
अझ तपाईं अल्छी स्वभावको हुनुहुन्छ भने १५ मिनेटभन्दा अझै लामो समय हिँडेर कम्तीमा ५ हजार पाइला हिँड्नुभयो भने तपाईँलाई मुटुको रोग लागेर मृत्यु हुने जोखिम हवात्तै घट्ने रहेछ। जीवनशैलीका कारण भइरहेको क्यान्सर रोगको जोखिम पनि कम हुने सो अध्ययनमा पाइयो।
पछिल्लो अध्ययनको निष्कर्ष केही साताअघि मात्रै एनल्स अफ इन्टर्नल मेडिसिन नामक जर्नलमा प्रकाशन गरिएको हो।
त्यसमा दिनमा ८ हजारभन्दा कम पाइला हिँड्ने ब्रिटेनका ४० देखि ७९ उमेर समूहका ३३ हजार ५६० व्यक्ति सहभागी थिए। सिड्नी विश्वविद्यालय र युरोपिया विश्वविद्यालयका अनुसन्धानकर्ताले आठ वर्षभन्दा बढी समयसम्म उनीहरूको स्वास्थ्य जाँच गरेर हिँड्नुका फाइदाबारे नयाँ तथ्य पत्ता लगाएका हुन्।
हाइकिङबाट शारीरिक तन्दुरूस्ती
दानसिंह झरनामा तस्बिर खिच्दै पर्यटक। तस्बिरः सुरेन्द्र फुयाल
तर यो आलेखमा मैले १५ मिनेट होइन, घन्टौं हिँडडुल अर्थात् हाइकिङ वा ट्रेकिङको फाइदाबारे चर्चा गरेको छु।
मात्र १५ मिनेट हिँड्दा त त्यति धेरै फाइदा हुने रहेछ भने, घन्टौं — त्यो पनि वनजंगल, नदी, झरना वा हिमाल नजिकैको प्राकृतिक वातावरणमा हिँडेको हिँड्यै गर्दा कति धेरै फाइदा होला?
विभिन्न अध्ययनले देखाए अनुसार लामो समयसम्म हिँडिरहँदा हाम्रो शरीर र मनस्थितिलाई प्रचुर फाइदा हुन्छ।
अझ तपाईं धेरै दक्षिण एसियाली जस्तै उच्च हिमाली क्षेत्रमा तीर्थका लागि पदयात्रामा जाँदै हुनुहुन्छ भने, त्यसको अर्को फाइदा पनि छ।
हिमालय रेस्क्यु एसोसिएसनका मेडिकल डाइरेक्टर डाक्टर बुद्ध बस्नेत त्यसरी हिमाली तीर्थाटनमा जाने चलनलाई 'आध्यात्मिक उडान' को संज्ञा दिन्छन्।
'हाइकिङले मानिसलाई आध्यात्मिक शान्ति र शक्ति दिन्छ। त्यसैका लागि पनि मानिसहरू नजिक मात्र होइन, टाढा टाढा र हिमाल माथि माथिका गन्तव्यहरूमा लश्कर लागेर गइरहेको देख्न सकिन्छ,' बस्नेतले भने, 'तर त्यस क्रममा लेक लाग्ने जोखिमबारे हाम्रा डाक्टर साहेबहरू नै अनभिज्ञ पाइएका छन्।'
लेक लागेर ज्यानै जान सक्ने जोखिमबारे सबै नेपाली सुशिक्षित हुनुपर्नेमा उनको जोड छ।
अब फाइदाका कुरा।
सुन्दर प्राकृतिक वातावरणको स्वच्छ हावामा हाइकिङ गर्दा परिवारजन वा साथीसंगीको रमाइलो त हुने नै भयो; निरन्तर हिँडिरहँदा मांसपेसी र अस्थिपञ्जरलाई मात्रै होइन, मुटु तथा फोक्सो र मनस्थितिलाई पनि धेरै फाइदा हुने निष्कर्ष विज्ञहरूको छ।
हाइकिङ पर्वतारोहण, चट्टान आरोहण वा उकालो ओरालो, माउन्टेन–बाइक यात्रा जस्तो जोखिमपूर्ण हुँदैन। बिस्तारै सुरक्षित तरिकाले हिँडिरहँदा शारीरिक समन्वय र सन्तुलन अझै राम्रो हुन जान्छ।
हालै नेसनल जिओग्राफिकमा प्रकाशित एक लेखमा विज्ञहरूले बताए अनुसार लामो समय हिँडिरहँदा मुटु र स्वासप्रश्वास प्रणालीसँग जोडिएका अंगहरू झनै बलिया हुन्छन्। साथै लामो हिँडडुलले मानिसको रगतमा हुने कोलेस्टेरोलको मात्र घटाइदिन्छ। फलस्वरूप मानिसलाई मुटुको रोग वा क्यान्सर लाग्ने जोखिम कम भएर आयु लामो बनाउन सहयोग पुग्छ।
मानिसको मोटोपन व्यवस्थापनमा पनि हाइकिङ निकै सहयोगी हुन्छ। किनभने, हाइकिङ घरभित्र व्यायाम गर्दाभन्दा चार गुणा बढी प्रभावकारी पाइएको छ। यो क्रियाकलापले मानिसलाई दोस्रो प्रकारको मधुमेह रोग लाग्ने जोखिम घटाइदिन्छ।
अझै पिठ्युँमा गह्रौं झोला बोकेर हिँड्दा मानिसको शरीरको हड्डीको घनत्व बढाउन सहयोग पुग्दछ। सँगै त्यसरी हिँड्ने क्रममा मानिसको शरीरका विभिन्न मांसपेसी झनै बलिष्ठ हुन्छन्।
मानसिक स्वास्थ्य लाभ
हात्ती झरन। तस्बिरः सुरेन्द्र फुयाल
कैयौं अध्ययन अनुसार शरीरमा रिस उठ्दा उत्पन्न हुने कोर्टेसोलको मात्रा हिँड्न थालेको केही मिनेटमै घट्ने क्रम सुरू हुन्छ। मानसिक तनाव कम हुन थाल्छ। अझै लामो हिँडाइमा जानेहरूको कोर्टेसोलको मात्रा घट्दै मुटुको चाल स्थिर हुन थाल्छ र सघन तनाव कम हुन्छ।
हाइकिङ गर्दा अगाडिको बाटोमा हुने जोखिमतर्फ मानिसले लगातार ध्यान दिइरहने हुँदा गिदीको अगाडिको भाग सक्रिय हुन थाल्छ, जसले अगाडिको बाटोमा मात्रै ध्यान दिन थाल्छ। फलस्वरूप दिमागले अन्य विषय बिस्तारै बिर्सिन सुरू गर्छ।
समूहमा गरिने हाइकिङ क्रममा मानिसहरूबीच कुराकानी र हाँसो ठट्टा पनि हुन्छ। यस कारण एक्लोपन हट्छ र सामाजिक जीवनमा फाइदा पुग्छ।
'हिँड्दा त मानिसलाई तनावबाट मुक्ति, ब्लड प्रेसर र सुगर जस्ता रोग व्यवस्थापन गर्न सहयोग मिल्छ। अझ प्रकृतिमा लामो समय हिँड्दा कति धेरै फाइदा होला, आफै विचार गर्नुस्,' वरिष्ठ मनोचिकित्सक प्राध्यापक सरोजप्रसाद ओझा भन्छन्, 'प्रकृतिमा हिँड्न थाल्ने बित्तिकै तनाव घट्न थाल्छ र खुसी हुने हर्मोनहरू सक्रिय हुन थाल्छन्।'
त्यसै कारण तनावग्रस्त वा मानसिक पीडामा परेका बिरामीलाई आफूले दिनमा कम्तीमा एक घन्टा हिँड्न सुझाव दिने गरेको उनी बताउँछन्।
साइकोलोजी टुडेमा हालै प्रकाशित एक आलेख अनुसार प्राकृतिक वातावरणमा हाइकिङ गर्दा मानिसको मनस्थिति, तनावको मात्रा र ध्यान दिने शक्तिमा प्रत्यक्ष प्रभाव पर्छ।
अझ पहाडी वातावरणमा पदयात्रा गर्दा शक्ति र आत्मविश्वास बढ्नुका साथै मानिसले अर्कै मानसिक अवस्थामा पुगेको अनुभव गर्न सक्छन्। पहाडी पदयात्राले घोर निराशा अर्थात् डिप्रेसन कम गर्न समेत सहयोग गरेको पाइएको छ।
त्यस्तै नदी, ताल, झरना वा समुद्र नजिकै पदयात्रा गर्दा मानसिक अवस्था सुधार्न र चिन्ता तथा तनाव घटाउन सहयोग पुग्छ। कुनै ठूलो आघात वा मानसिक चोटबाट गुज्रिएका मानिसलाई पानीमय वातावरण निकै सहयोगी हुने अनुसन्धानले देखाएका छन्।
त्यस्तै वनजंगलमा पदयात्रा गर्दा मानिसको रिस तथा तनाव उत्पन्न गराउने कोर्टिसोल कम गर्दै दयामायासँग जोड्ने प्यारासिम्पाथेटिक स्नायु प्रणालीलाई सक्रिय बनाउन सहयोग पुग्छ।
वनमा लामो समय बिताउँदा बितेका वा भविष्यका विषयलाई लिएर हुने चिन्ता कम मात्रै हुँदैन, यस्तो क्रियाकलापले ध्यान दिन सहज बनाउनुका साथै स्मरण शक्ति बढाउन मदत मिल्छ।
लामो हाइकिङको फाइदाको चर्चा गरिएको अर्को लेखमा आउटसाइड म्यागजिनका एक लेखकले लामो हाइकिङले कसरी आफ्नो पूरै गिदीलाई नयाँ बनाइएको भन्दै फाइदाबारे दिल खोलेर बखान गरेका छन्।
प्रकृतिसँग मिलन र देश दर्शन
शिवपुरी झरनाको फोटो खिच्दै एक हाइकर। तस्बिरः सुरेन्द्र फुयाल
लामो पदयात्रामा जाँदा खुट्टाले टेकेरै र स्थानीय भूगोल रहनसहन तथा संस्कृतिलाई नजिकबाट नियाल्ने र स्थानीय मानिस तथा पशुपंक्षी वा वन्यजन्तुसँग मुखामुख हुने वा अन्तरक्रिया गर्ने अवसर प्राप्त हुन्छन्। यो सबै मोटरमा हुइँकिदा अनुभव गर्न असम्भव हुन्छ, सिट जति नै आरामदायी भए पनि!
हाइकिङ गर्दा हुने अधिकांश मानसिक स्वास्थ्य लाभ निरन्तर हिँड्दा खुट्टाले लिने लयका साथै विभिन्न थरी आवाज, दृश्यावली र प्रकृतिका विभिन्न सुवासबाट प्राप्त हुन्।
अमेरिकाको एरिजोना निवासी एकीकृत मेडिसिन फिजिसियन सुज्यान ह्याकेनमिलरले नेसनल जिओग्राफिकलाई बताए अनुसार रूखहरूबाट निस्कने फाइटोनसाइङ्स नामक मिश्रण सासबाट भित्र तान्दा मानिसको प्रतीरक्षा प्रणाली समेत बलियो बनाउन सहयोग पुग्छ।
विज्ञहरूका अनुसार लगातार हिँडिरहँदा शरीर सक्रिय हुन्छ। र, त्यो पारिस्थितिकीय प्रणालीको हिस्साका रूपमा रहेको प्रकृतिसँग मिल्न थाल्छ। त्यस क्रममा शरीरभित्र इन्डोर्फिन नामक हर्मोन सक्रिय हुन थाल्छ, जसले मानिसको मनस्थिति सुधारिदिन्छ र तनाव स्वात्तै घटाइदिन्छ।
लामो समय घरबाहिर रहेको प्राकृतिक वातावरणमा, घाममा बिताउँदा मानिसलाई राम्रो निद्रा पर्नुका साथै हड्डी बलियो बनाउन सहयोगी हुने भिटामिन–डी प्राप्त हुन्छ।
त्यसैले सहरी क्षेत्रमा भन्दा ग्रामिण वा प्राकृतिक वतावरणमा हाइकिङ गर्दा मानिस कम चिन्तित हुने र बढी तनावमुक्त हुने गरेको पाइएको छ।
तर एकछिन पर्खिनुस्।
प्रकृतिमा हाइकिङ जाने भन्दैमा एकै दिनमा बेँसीबाट हिमालमाथि जाँदै हुनुहुन्छ भने सावधान हुनुस्।
उच्च हिमाली क्षेत्रमा उद्धार तथा उपचारमा लामो समय काम गरेका डाक्टर बुद्ध बस्नेत भन्छन्, 'तीन हजार मिटर माथि जाँदै हुनुहुन्छ भने दिनमा करिब ५०० मिटरभन्दा माथि नजानुस्। प्रशस्त पानी पिउनुहोस्। उच्च भूभागमा रक्सी नखानुहोस्।'

***
(सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
एक्सः @surendraphuyal