बालबालिका भन्नासाथ हामीले नवजात शिशुदेखि १५ वर्षसम्मको उमेर समूहलाई बुझ्नुपर्छ। नवजात शिशुको र अरूको हेरचाहमा भने अलि फरक हुन्छ।
पाँच वर्षमुनिका बालबालिकाको हेरचाहमा विशेष ध्यान दिनुपर्ने भएकाले अहिले यसबारे कुरा गरौं।
मुख्यतः बालबालिकाको शारीरिक विकास कस्तो छ र उसको मानसिक विकास कस्तो छ भन्नेमा हामीले ध्यान दिनुपर्छ। जन्मिँदा कुनै बच्चा सानो हुन्छ, कुनै ठूलो हुन्छ। तर हरेक बच्चाको शारीरिक विकासको एउटा प्रक्रिया हुन्छ।
जस्तो, बच्चाको तौल उसको उमेरअनुसार बढेको छ कि छैन, उसको उचाइ, टाउकोको गोलाइ लगायत ख्याल गर्नुपर्छ। आफ्नो बालरोग विशेषज्ञकहाँ गएको बेला उसको विकास कसरी भएको छ भनेर चार्ट नै बनाउन सकिन्छ।
बच्चाको मानसिक विकासमा पनि ध्यान दिन जरूरी छ। बच्चाले के गर्न सक्छ, बोल्छ कि बोल्दैन, हाँस्छ कि हाँस्दैन, हेर्छ कि हेर्दैन, बोलाउँदा हेर्छ कि हेर्दैन, आफ्नो मान्छे र बाहिरको मान्छेसँग कति घुलमिल हुन्छ जस्ता गतिविधिमा ध्यान दिनुपर्छ।
बच्चाले आफ्नो हातले गर्ने कामहरू हुन्छन्। बच्चाले खेलौनाहरू मुखमा हाल्ने, अलिकति ठूलो हुँदै गएपछि कलमले कोर्ने, खेलौनाहरू मिलाएर राख्ने, आफै चम्चाले खान खोज्ने जस्ता क्रियाकलाप गर्छ कि गर्दैन भनेर हेर्न जरूरी छ।
यस्ता कुराहरू बिरामी भएर अस्पताल गएका बेलामा मात्र होइन, ६/६ महिनामा अथवा खोप लगाउने बेलामा उसको तौल, उचाइ, शारीरिक तथा मानसिक विकासबारे बुझ्नु राम्रो हुन्छ।
अहिले धेरै बच्चा अस्पतालमै जन्मिन्छन्। सामान्य (नर्मल) डेलिभरी भएको छ भने २४ घन्टा, अथवा शल्यक्रिया (अपरेसन) भएको छ भने तीन दिन बच्चा अस्पतालमै हुन्छ।
बच्चाले जन्मिनेबित्तिकै आमाको दूध खानुपर्छ। जन्मिनासाथ बच्चाले जति चाँडो आमाको दूध खान्छ, स्तनपान त्यति सहज हुन्छ।
अर्को, बच्चालाई आमाको नजिकै राख्ने, अर्थात् सकेसम्म जन्मिनासाथ आमाको छातीमा टाँसिदिनुपर्छ। यसले गर्दा बच्चालाई चिसो हुन पाउँदैन र बच्चा आमासँग भावनात्मक रूपमा चाँडै नजिक हुन्छ।
त्यसपछि ध्यान दिनुपर्ने कुरा भनेको बच्चाले दिनमा कम्तीमा ५/६ पटक पिसाब गर्नुपर्छ। बच्चाले जन्मेको २४ देखि ४८ घन्टाभित्र पहिलो पटक दिसा गर्छ। त्यसपछि दिसा गर्ने भनेको दिनमा एक पटक पनि हुन सक्छ र ५/६ पटक पनि हुन सक्छ।
दूध खाएको छ कि छैन, समय–समयमा पिसाब गरेको छ कि छैन, बच्चाको शरीरमा डाबरहरू आएका छन् कि छैनन् भन्ने याद गर्नुपर्छ। भर्खर जन्मेको बच्चा १८ देखि २० घन्टा सुत्नुपर्छ।
बच्चा राम्रोसँग सुतेको छ कि छैन भनेर पनि ध्यान दिनुपर्छ।
बच्चालाई खोप लगाउने समयबारे पनि जान्न जरूरी छ। खोप लगाउन सरकारको एउटा तालिका नै छ, जसअनुसार जन्मिने बित्तिकैदेखि ४५ दिनसम्म बिसिजी खोप लगाउनुपर्छ।
त्यसपछि ६ हप्ता, १० हप्ता र १४ हप्तामा खोप लगाइन्छ। ६ हप्तामा डिपिटी, हेपाटाइटिस-बी हुन्छ। यससँगै पोलियो थोपा समेत खुवाइन्छ।
अहिले निमोनियाको खोप पनि छ। १० र १४ हप्तामा पनि झन्डै यही किसिमका खोपहरू लगाइन्छन्।
नौ महिनामा दादुरा–रुबेला र निमोनियाको खोप लगाइन्छ। एक वर्षमा जापानिज इन्सेफ्लाइटिसको खोप लगाइन्छ।
१५ महिनामा टाइफाइड र दादुराको खोप लगाइन्छ। यी खोप सेवाहरू सबै जिल्ला र पालिकामा उपलब्ध छन्। यसबाहेक केही प्राइभेट खोपहरू पनि हुन्छन्।
(बालरोग विशेषज्ञ डा. आन्ना शर्मा नेपाल मेडिसिटी अस्पतालमा कार्यरत छिन्।)