हवाई क्षेत्रमा पछिल्लो समय उडान संख्या र यात्रुको चाप घटेको छ।
हवाई इन्धनको मूल्यमा भएको वृद्धिसँगै हवाई भाडा आकासिएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा उडानको संख्या खुम्चिएको हो।
आन्तरिक उडानतर्फ दैनिक यात्रुको संख्यामा करिब ३० प्रतिशतले गिरावट आएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।
'पहिले दैनिक औसत १२ हजार यात्रु उड्ने गरेकोमा अहिले त्यो संख्या ८ हजारमा झरेको छ,' भुलले भने।
प्राधिकरणका सूचना अधिकारी भुलका अनुसार अप्रिल सुरू भएदेखि हवाई इन्धनको मूल्यमा करिब सय प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
यसले गर्दा आन्तरिक हवाई भाडा ५० प्रतिशतसम्म बढेको छ।
पहिले काठमाडौं-पोखराको एकतर्फी भाडादर चार हजार चार सय रूपैयाँ थियो भने अहिले ६ हजार रूपैयाँ पुगेको छ।
नेपाल सरकारले २०७५ सालमा गरेको निर्णय अनुसार इन्धनको मूल्यमा एक रूपैयाँ मात्र घटबढ हुँदा पनि सोही अनुपातमा हवाई भाडा (फ्युल सरचार्ज) परिवर्तन हुने व्यवस्था छ।
भुलका अनुसार अहिलेको हवाई भाडा निर्धारणमा चारवटा मुख्य तत्वहरू रहेका छन्।
ती सरकारले २०७३ सालमा तोकेको लागत दर (लोअर र अप्पर लिमिट), इन्धनको मूल्य अनुसार निर्धारण हुने (फ्युल सरचार्ज), विमानस्थल सेवा शुल्क (एयरपोर्ट ट्याक्स) र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) का आधारमा कुल भाडा तय हुने छन्।
अन्तर्राष्ट्रिय उडातर्फ पनि यात्रुको संख्या १० प्रतिशतले घटेको प्राधिकरणका सूचना अधिकारी भुलले बताए।
'मध्यपूर्वमा देखिएको तनावका कारण उडानहरूको मुभमेन्ट १५ प्रतिशतले घटेको प्राधिकरणको तथ्यांक छ,' भुलले भने।
अन्तर्राष्ट्रिय हवाई भाडा पनि फ्युल सरचार्जका कारण २० देखि २५ प्रतिशतले बढेको छ।
अहिले कुवेत एयरवेज र जजिरा एयरलाइन्सका उडानहरू सुरू हुन सकेका छैनन् भने कतार एयरवेजले पनि उडान संख्या कटौती गरेको भुलले बताए।
उडान कटौती हुँदा त्यसको प्रत्यक्ष असर प्राधिकरणको आम्दानीमा समेत परेको छ।
अन्तर्राष्ट्रिय उडान कटौती हुँदा प्राधिकरणले दैनिक ३० देखि ४० लाख रूपैयाँसम्म नोक्सान ब्यहोर्नु परेको भुलले जानकारी दिए।
केही समयअघि सम्म यो घाटा दैनिक १ करोड रूपैयाँसम्म पुगेको थियो। यस्तै, आन्तरिक उडानमा आएको कमीले राजस्वमा १५ देखि २० प्रतिशतको गिरावट देखिएको छ।
वायुसेवा सञ्चालक संघका अध्यक्ष प्रताप जंघ पाण्डे महँगीका कारण हवाई यात्रु संख्या घटेको बताउँछन्।
'दैनिक करिब २५ सय यात्रु घटेका छन्,' पाण्डेले भने।
वायुसेवा सञ्चालक संघका अध्यक्ष पाण्डेका अनुसार उडान कटौती हुँदा एयरलाइन्सहरूलाई सञ्चालन खर्चसमेत उठाउन कठिन भइरहेको छ।
लागत बढ्दै गएकाले व्यवसाय नै संकटमा पर्न सक्ने अवस्था रहेको देखिन्छ।
यही अवस्था कायम रहे केही एयरलाइन्स बन्द हुन सक्ने जोखिम रहेको उनले औंल्याए।
विकसित मलुकमा समेत केही ठूला विदेशी एयरलाइन्स कम्पनीहरूले सेवा बन्द गर्न थालिसकेको उनको भनाइ छ।
होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाहले अन्तर्राष्ट्रिय उडान घट्दा होटल बुकिङमा असर परेको बताए।
'इन्धन मूल्य बढेकाले हवाई भाडा महँगो भएको छ। त्यसको प्रभाव पर्यटन क्षेत्रमा परेको छ,' उनले भने।
शाहका अनुसार पछिल्लो समय मध्यपूर्वतिरको अवस्था भने केही सामान्य हुँदै गएको र रुट परिवर्तन गरेर उडान भइरहेको छ।
तर, यात्रु अझै विश्वस्त हुन सकेका छैनन्। यही कारण हानको टोली २८ गते भारत जाने तयारीमा रहेको छ।
'नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश दिन हाम्रो टोली भारत जाँदै छ,' उनले भने।
नेपाल सडक मार्गबाट पनि सहजै आउन सकिने भएकाले पर्यटक भित्र्याउन सकिने उनको भनाइ छ।