नेपाल पर्यटन बोर्डले पहिलो पटक मेघौलीमा सफारी मार्टको औपचारिक सुरूआत गरेको छ।
नेपाल पर्यटन बोर्ड, स्थानीय सरकार तथा पर्यटन व्यवसायीहरूको सहकार्यमा आयोजना गरिएको पहिलो वाइल्ड नेपाल सफारी मार्ट २०२६ को शुक्रबार उद्घाटन गरियो।
सफारी मार्ट नेपालको वाइल्डलाइफ पर्यटनको विषयमा अन्तर्राष्ट्रिय जगतलाई विस्तृत जानकारी गराउने फोरम हो।
यसमार्फत नेपालको वन्यजन्तु पर्यटनलाई विश्व मञ्चमा पुर्याउने उद्देश्य राखिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले जानकारी दिए।
शुक्रबार उद्घाटन कार्यक्रममा भारत, बंगलादेश, थाइल्याण्ड लगायतका देशका प्रतिनिधि सहभागी छन्।
तीन दिनसम्म चल्ने सफारी टुरिजम मार्ट कार्यक्रममा व्यापारिक भेटघाट, गन्तव्य अवलोकन र सांस्कृतिक अनुभवको आदानप्रदान गरिनेछ।
‘नेपाल केवल हिमालका लागि मात्र होइन, समृद्ध जैविक विविधता, जीवित संस्कृति र विश्वस्तरीय वन्यजन्तु पर्यटनका लागि पनि चिनिन्छ। यो सफारी मार्टले बिजनेश टू बिजनेश (बिटुबि) नेटवर्किङ र साझेदारी निर्माणका लागि महत्वपूर्ण प्लेटफर्म प्रदान गरेको छ,’ उनले भने।
यस मार्टमा हुने छलफलहरूले लगानी, सहकार्य र नेपालको विशिष्ट वन्यजन्तु पर्यटन प्रवर्द्धनका नयाँ अवसरहरू खोल्ने विश्वास लिइएको छ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले सफारी मार्ट नेपालको पर्यटन प्रवर्द्धनका लागि कोसेढुंगा सावित हुने बताए।
‘आज हामीले गन्तव्यको प्रवर्द्धन मात्र होइन, पर्यटन प्रवर्द्धन र वातावरण संरक्षणमा हातेमालो गर्दै अघि बढ्ने दृष्टिकोणका साथ यो मार्ट सुरूआत गरिरहेका छौं,’ उनले भने, ‘विश्वको ०.१ प्रतिशतभन्दा कम भूभागमा नेपालले बेंगल टाइगर, एकसिङ्गे गैंडा, हिउँ चितुवा र रेड पाण्डाजस्ता अद्वितीय वन्यजन्तु र जैविक विविधता संरक्षण गरेको छ।’
सिइओ जोशीले भविष्यको पर्यटन केवल आगन्तुक संख्या र आम्दानीमा सीमित नभई वातावरणीय जिम्मेवारीसँग जोडिनुपर्ने बताए।
नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा सफारी मार्ट प्लेटफर्मले विश्वव्यापी खरिदकर्ता, संरक्षण सरोकारवाला र स्थानीय समुदायलाई जोड्ने बताउँछन्।
‘बिटुबी बैठक र गन्तव्य भ्रमणमार्फत अन्तर्राष्ट्रिय प्रतिनिधिहरू नेपालका पर्यटन अनुभवका विश्वव्यापी दूत बन्ने अपेक्षा गरिएको छ,’ उनी भन्छन्, ‘यसले नेपालको वाइल्डलाइफ पर्यटनलाई ब्राण्डिङ गर्छ।’
भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले चितवन र मेघौलीलाई विश्वस्तरीय वन्यजन्तु पर्यटन केन्द्रका रूपमा विकास गर्न महानगरले पनि काम गरिरहेको बताए।
उनले स्थानीय सरकारको भूमिका दिगो पर्यटन पूर्वाधार र समुदाय सहभागितामा महत्वपूर्ण रहेको उल्लेख गरे।
अन्तर्राष्ट्रिय संरक्षणविद् तथा प्रमुख वक्ता मोहित अग्रवालले विश्वले अहिले पर्यटन र संरक्षणबीच सन्तुलन कायम हुने र मानव तथा प्रकृतिबीच गहिरो सम्बन्ध स्थापित गर्ने जिम्मेवार पर्यटनको खोजी गरिरहेको बताए।
‘विश्व अब त्यस्ता गन्तव्य खोजिरहेको छ, जहाँ पर्यटन र संरक्षणबीच सन्तुलन कायम हुन्छ, मानव तथा प्रकृतिबीच गहिरो सम्बन्ध स्थापित हुन्छ,’ उनले भने, ‘यस सन्दर्भमा वन्यजन्तु कूटनीति एक शक्तिशाली पुलका रूपमा उदाउँदैछ।’
नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थापलियाका अनुसार यो मार्ट रणनीतिक प्लेटफर्म हो। यो कार्यक्रमले नेपालका अद्वितीय वन्यजन्तु अनुभवलाई विश्व बजारसँग जोड्ने काम गर्छ। दीर्घकालीन साझेदारी निर्माण गर्दै नेपाललाई वर्षभरि सञ्चालन हुने प्रतिस्पर्धी वन्यजन्तु पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने प्रयास गर्छ।
चितवन राष्ट्रिय निकुञ्जका चिफ वार्डेन गणेश पन्तले संरक्षण र पर्यटनलाई सँगै अघि बढाइरहेको बताए। वाइल्डलाइफ पर्यटनमा चितवन राष्ट्रिय निकुञ्ज विश्वमै अग्रणी रहेको उनले बताए।
‘अब यसको ब्राण्डिङ गर्ने र प्रवर्धन गर्ने काममा सफारी मार्टले भूमिका खेल्न सक्छ,’ उनले भने, ‘यसले नेपाललाई दिगो वन्यजन्तु पर्यटनको अग्रणी गन्तव्यका रूपमा अझ सुदृढ बनाउने अपेक्षा गर्न सकिन्छ।’
कार्यक्रममा पर्यटन विज्ञ डा.विश्व सुवेदीले संरक्षण उपलब्धि र भविष्यका प्राथमिकताबारे जानकारी गराएका थिए।