अहिले देशभरका २१ वटा विमानस्थल बन्द छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार देशभर कुल ५५ वटा विमानस्थल छन्। तीमध्ये तीन वटा अन्तर्राष्ट्रिय र ५२ वटा आन्तरिक हुन्।
आन्तरिकमध्ये ३४ वटा सञ्चालनमा छन् भने २१ वटा विमानस्थल सञ्चालनमा छैनन्।
बलेवा (बागलुङ), बैतडी, रूकुम चौरजहारी, दार्चुला, ढोरपाटन (बागलुङ), डोटी, पालुङटार (गोर्खा), जिरी, कालिकोट, कमलबजार (अछाम), कागेलडाँडा (सोलुखुम्बु), खिजी चण्डेश्वरी (ओखलढुंगा), लाङटाङ (रसुवा), लामिडाँडा (खोटाङ), महेन्द्रनगर (कञ्चनपुर), मनाङ, मसिने चौर (डोल्पा), मेघौली (चितवन), रोल्पा, स्याङ्बोचे (सोलुखुम्बु) र टिकापुर (कैलाली) विमानस्थल हाल बन्द छन्।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार विमानस्थल बन्द हुनुका विभिन्न कारण छन्।
त्यसमध्ये प्रमुख कारण हो जहाज संख्या कम हुनु।
विमानस्थलको विस्तारसँगै जहाज संख्या विस्तार नहुनाले विमानस्थल बन्द भएको उनले बताए।
'एयरलाइन्स कम्पनीहरूसँग पुग्दा जहाज नै छैनन्। अनि सबै विमानस्थल कसरी सञ्चालन हुन्छ,' उनले भने।
उनका अनुसार २०४७ साल अघिसम्म सरकारी स्वामित्वको नेपाल एयरलाइन्स (तत्कालीन शाही नेपाल वायुसेवा निगम) सँग १५ वटाभन्दा बढी जहाज थिए। ती जहाजले सुगम तथा दुर्गम दुवै क्षेत्रमा उडान गर्थे। बिस्तारै गाडीको पहुँच हुन थालेपछि दुर्गममा हवाई यात्रु घटे।
अर्कातिर त्यही समयतिर निजी एयरलाइन्स कम्पनीहरू खुल्न थाले। तीमध्ये केहीले सुगममा मात्र उडान गर्थे भने केहीले दुर्गममा।
'पछिल्ला वर्षहरूमा निजी तथा सरकारी दुवै क्षेत्रमा विमान संख्या घट्दै गयो। जहा कम हुँदा नयाँ विमानस्थल थप्नुको साटो भएका विमानस्थलसमेत प्रयोगविहीन हुने अवस्था भयो,' उनले भने, 'विमानस्थल बनाएर मात्रै हुँदैन। नियमित उडानका लागि पर्याप्त वायुयान हुनपर्छ।'
विमानस्थल बन्द हुनुको दोस्रो कारण हो दुर्घटना।
भुलका अनुसार दुर्गम क्षेत्रमा विभिन्न कारणले दुर्घटना भएपछि त्यस्ता ठाउँमा उडान भर्ने विमान कम भए। वायुसेवा कम्पनीहरूले पनि नयाँ जहाज किनेनन्। उडान बन्द गरे।
'नियमित उडान नहुँदा यात्रु घट्छन्। यात्रु नहुँदा वायुसेवा कम्पनीले उडान घटाउँछन्। यसले दुर्गम उडानलाई झन् कमजोर बनाएको छ,' भुलले भने, 'विगतका हवाई दुर्घटनाले यात्रुमा असुरक्षाको भावना बढाएको छ, जस कारण धेरै उपभोक्ता दुर्गममा हवाई यात्रा गर्न हिच्किचाउँछन्।'
तेस्रो कारण हो आवश्यकता र दीर्घकालीन योजना बिनै विमानस्थल निर्माण गर्नु।
यात्रुको माग, उडानको सम्भाव्यता र जहाजको उपलब्धता नहेरी विमानस्थल खोल्दा ती पूर्वाधार सञ्चालनमा आउन नसकेको भुलले बताए।
'प्राधिकरणले एउटा विमानस्थलको धावनमार्ग निर्माणमा ३० करोडदेखि ८० करोड रूपैयाँसम्म खर्च गरेको हुन्छ,' उनले भने, 'विमानस्थल बन्द हुँदा लगानी खेर जान्छ।'
कतिपय अवस्थाम आवश्यकता भन्दा पनि राजनीतिक रूचि र पहुँचका आधारमा विमानस्थल बनाइएका उदाहरण पनि छन्। 'म मन्त्री भएको छु, मेरो क्षेत्रमा विमानस्थल चाहिन्छ' भन्ने सोचका कारण सम्भाव्यता अध्ययनबिनै विमानस्थल निर्माण गरिएको आरोप पनि लाग्दै आएको छ।
'दुर्गम जिल्लामा रहेका विमानस्थलको अनुगमन र व्यवस्थापन काठमाडौंबाटै गर्नुपर्ने बाध्यता भएकाले पनि प्रभावकारी रूपमा सञ्चालनमा समस्या छ,' भुलले भने।
यसबाहेक हवाई भाडा महँगो भएकाले पनि दुर्गमका विमानस्थल चल्न सकेका छैनन्। दुर्गम क्षेत्रका लागि हवाई सेवा प्रभावकारी बनाउन जहाज आयातमा भन्सार छुट दिन आवश्यक रहेको उनक भनाइ छऽ
साथै, हवाई इन्धन र स्पेयर पार्ट्समा सहुलियत दिएर दुर्गम क्षेत्रमा उडान गर्ने एयरलाइन्सलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए।
'दुर्गममा उड्नेलाई इन्धन लगायत सबै सुविधा दिनुपर्छ,' उनले भने।