सोमबारसम्म एक दर्जन लघुवित्त कम्पनीहरूले वित्तीय विवरण प्रकाशित गरेका छन्।
यसमध्ये एक कम्पनीको वित्तीय विवरणमा लाभांश क्षमता खुल्दैन भने एकको लाभांश क्षमता नै ऋणात्मक छ।
बाँकी यी १० मध्ये अहिले सबभन्दा धेरै लाभांश क्षमता जीवन विकास लघुवित्त र सपोर्ट लघुवित्तको देखिएको छ।
जीवन विकास लघुवित्तले यस्तो क्षमता ५९.७० प्रतिशत र सपोर्ट लघुवित्तले ३९.१४ प्रतिशत देखाएको छ। आठ वटा लघुवित्तको यस्तो क्षमता ७.२३ प्रतिशतदेखि ३१.२७ प्रतिशतसम्म देखिएको छ।
कस्तो छ त यी लघुवित्तको अवस्था?
जीवन विकास लघुवित्त कम्पनीको चालु आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रैमासमा ७६ प्रतिशत नाफा बढेको छ।
यसअघि ३५ करोड ५६ लाख रूपैयाँ नाफा रहेकामा यो रकम बढेर ६२ करोड ६९ लाख रूपैयाँ पुगेको छ।
यसको ब्याज आम्दानी करिब १५ प्रतिशत बढेर एक अर्ब ६९ करोड पुगेको छ। यसअघि यस्तो आम्दानी एक अर्ब ४७ करोड रूपैयाँ थियो।
अघिल्लो पटक ३८ करोड रूपैयाँ सम्भावित जोखिमका लागि प्रावधानमा राखेको जीवन विकासले यस पटक करिब ६ करोड रूपैयाँ फिर्ता ल्याएको छ।
यसको निष्क्रिय कर्जा पनि ४.९७ प्रतिशतबाट घटेर ४.८० प्रतिशत छ। यसको प्रतिसेयर आम्दानी ४७ रूपैयाँ ४३ पैसा र प्रतिसेयर नेटवर्थ २५५ रूपैयाँ छ।
एक अर्ब ७५ करोड रूपैयाँ चुक्ता पुँजी रहेको जीवन विकासको सञ्चित कोषमा पनि एक अर्ब चार करोड रूपैयाँ छ। यो रकमबाट यसले करिब ६० प्रतिशत लाभांश दिन सक्ने देखिएको छ।
जीविन विकासले तीन वर्षदेखि हरेक वर्ष १४.७३ प्रतिशतको दरमा लाभांश दिँदै आएको छ। लाभांशमा बोनस सेयरले प्राथमिकता पाउने गरेको छ।
हाल जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्त बीच मर्जर प्रक्रियामा जाने सहमति भएको छ।
यसको सेयर मूल्य २०८० फागुन १५ गतेयताकै न्यून विन्दु नजिक पुगेर फर्किने प्रयासमा छ। सो समय जीवन विकासको मूल्य १२०५ रूपैयाँसम्म पुगेको थियो।
त्यसयता पहिलो पटक, गत वैशाख ११ गते १२१९ सम्म पुगेर फर्किने प्रयासमा रहेको हो। सोमबार भने यसको सेयर मूल्य १३ रूपैयाँले घटेर १२५५ रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबार जीवन विकासको सेयर मूल्यले माथिल्लो लामो धागो भएको 'दोजी' बनाएको छ। अघिल्ला दुई दिन लामो रातो मैनबत्ती चित्र आकृति बनेकामा अन्तिम दिन भने यस्तो दोजी आकृति बनेको हो।
यसले लगानीकर्ताहरू मूल्य घट्न नहुने पक्षमा देखिए पनि बजारमा भने बिक्री चाप नै बढेको संकेत गरेको छ। यस दिन मूल्य १२८५ सम्म पुगेको भए पनि त्यो मूल्य टिकाउ हुन सकेन। लगानी रणनीतिका लागि भने आगामी दिनको कारोबार हेर्नु सही हुन्छ।
त्यस्तै, सपोर्ट लघुवित्तको चालु आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रैमासमा ५२ प्रतिशतले नाफा बढेको छ।
यसअघि तीन करोड ६ लाख रूपैयाँ नाफा रहेकामा यो रकम बढेर ४ करोड ६७ लाख रूपैयाँ पुगेको छ।
यसको ब्याज आम्दानी करिब ५३ प्रतिशतले बढेर १३ करोड ४० लाख रूपैयाँ पुगेको छ। यसअघि यस्तो आम्दानी आठ करोड ७२ लाख रूपैयाँ थियो।
अघिल्लो पटक प्रावधानबाट २० लाख रूपैयाँ फिर्ता ल्याएकामा सपोर्ट लघुवित्तले यस पटक ५४ लाख रूपैयाँ राखेको छ।
यसको निष्क्रिय कर्जा पनि १.६४ प्रतिशतबाट बढेर ३.३१ प्रतिशत पुगेको छ। यसको प्रतिसेयर आम्दानी ४६ रूपैयाँ ५३ पैसा र प्रतिसेयर नटवर्थ एक सय ८३ रूपैयाँ छ।
१३ करोड ४० लाख रूपैयाँ चुक्ता पुँजी रहेको सपोर्टको सञ्चित कोषमा पनि तीन करोड ९३ लाख रूपैयाँ छ। यो रकमबाट यसले करिब ३९.१४ प्रतिशत लाभांश दिन सक्ने देखिएको छ।
यसले तीन वर्षमा वार्षिक औसत १२.७२ प्रतिशतको दरमा लाभांश दिँदै आएको छ। लाभांशमा बोनस सेयरले प्राथमिकता पाउने गरेको छ।
यसको सेयर मूल्य २०८१ भदौयताकै न्यून विन्दु नजिक पुगेर फर्किने प्रयासमा छ। सो समय सर्पोटको मूल्य १७०० रूपैयाँसम्म थियो। त्यसयता पहिलो पटक सोमबार अन्तिम सेयर कारोबार १७०४ रूपैयाँमा भएको छ।
बुधबार सपोर्ट लघुवित्तको सेयर मूल्यले माथिल्लो लामो धागो भएको तर वास्तविक शरीर सहितको रातो मैनबत्ती आकृति बनाएको छ।
यसले लगानीकर्ताहरू मूल्य घट्न नहुने पक्षमा देखिए पनि बजारमा भने बिक्री चाप नै बढेको संकेत गरेको छ। लगानी रणनीतिका लागि भने आगामी दिनको कारोबार हेर्नु सही हुन्छ।
कम पुँजी भएको र लाभांश क्षमता उच्च रहेकामा पनि यसप्रति लगानीकर्ताहरू आकर्षित हुने गरेका छन्।
| कम्पनी |
वितरण योग्य लाभांश दर % (चैत २०८२) |
| जीवन विकास |
५९.७० |
| सपोर्ट लघुवित्त |
३९.१४ |
| साना किसान लघुवित्त |
३१.२७ |
| गुराँस लघुवित्त |
३०.३९ |
| माहुली लघुवित्त |
२७.९७ |
| हिमालयन लघुवित्त |
२०.९१ |
| आशा लघुवित्त |
१८.५७ |
| अभियान लघुवित्त |
१०.४५ |
| मेरो माइक्रो |
१०.१६ |
| आरएसडिसी लघुवित्त |
७.२३ |