गुल्सन झा नेपाली क्रिकेट टोलीमा अलराउन्डरको रूपमा स्थापित छन्। पछिल्लो समय उनको ब्याटिङ हेर्न नेपाली समर्थक आतुर हुन्छन्।
विश्वकप छनोटमा गुल्सनले उत्कृष्ट इनिङ खेल्दा नेपालले आइसिसी टी-२० विश्वकप २०२६ मा स्थान बनाएको थियो भन्दा फरक नपर्ला। त्यसअघि उनले नेपाल प्रिमियर लिगमा पनि राम्रो ब्याटिङ गरे। उनको विस्फोटक ब्याटिङ गज्जबको हुँदै आएको छ। तर पछिल्ला महिनामा भने उनी ब्याटिङमा लय गुमाउँदै गएका छन्।
गुल्सन पछिल्लो समय बलिङमा पनि जमेका थिएनन्। पूरा स्पेल उनी बलिङमा देखिँदैन थिए। बलिङ पाएको बेलमा पनि उनको स्पेल खासै प्रभावकारी भइरहेको थिएन।
हुन त गुल्सनको नेपाली क्रिकेटमा आगमन ब्याटरबाट होइन बलरबाट भएको थियो। बलर हुँदै उनी अलराउन्डर बनेका थिए। यो कारणले गुल्सनको बलिङ धेरै नेपाली समर्थकले ‘मिस’ समेत गरेका थिए।
गुल्सनको पुरानो बलिङ शैली कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार देख्न पाइयो। उनले एकदिवसीय करिअरकै उत्कृष्ट बलिङ गर्दा नेपालले आइसिसी विश्वकप क्रिकेट लिग-२ को खेलमा ओमानमाथि ८१ रनको सानदार जित निकाल्न सफल भयो।
खेलमा पाँच विकेट लिएका गुल्सनले ९ ओभरमा ३८ रन खर्चिए। यो बलिङ फिगर उनको एकदिवसीय करिअरकै उत्कृष्ट हो। यसअघि पनि उनले ओमानविरूद्ध पाँच विकेट लिएका थिए। तर रन बढी खर्चिएका थिए।
उनले विभिन्न भेरियसनमा बलिङ गर्दा ओमानी ब्याटर निकै संघर्ष गरेका देखिन्थे।
गुल्सनले करिअरकै उत्कृष्ट बलिङ गरेको खेलमा नेपालले दिएको २५७ रनको लक्ष्य पछ्याएको ओमान १७५ रनमै अलआउट हुन पुग्यो। त्यसअघि २५६ रन जोड्ने क्रममा नेपालका लागि आसिफ शेखले ९४ रन जोडेका थिए। गुल्सनले ब्याटिङमा २३ बलमा १७ रन बनाएका सकेका थिए।
लामो समयपछि बलिङमा फर्किएका गुल्सनले पछिल्लो समय आफू चोटग्रस्त भएको खुलासा गरेका छन्। खेलपछि कुरा गर्दै उनले आफूले चोटका कारण बलिङ गर्न नसकेको र चोट निको भएपछि राम्रो लयमा फर्किदा खुसी लागेको बताए।
विश्वकप ताका उनको घुँडामा चोट लागेको थियो। अब त्यो चोट निको भएको गुल्सनको भनाइ छ।
उनले भने, ‘विश्वकपको समयमा घुँडामा चोट देखिएकाले मैले प्रधानमन्त्री कपबाट विश्राम लिएर आफ्नो रिकभरीमा काम गरेको थिएँ।’
नेपालले मंगलबार ओमानलाई पराजित गरेसँगै युएई समेत सम्मिलित यो सिरिजमा नेपालले चारमध्ये तीन खेल जितेको छ। नेपालले युएईलाई दुवै खेलमा पराजित गर्दा ओमानसँग एक खेलमा जित र एक खेलमा पराजय भोग्यो।
गुल्सनले अन्तिम खेलमा टोलीका लागि महत्वपूर्ण योगदान गर्न सके।
‘भगवानको कृपाले टिमका लागि मेरो योगदान एकदमै राम्रो भइरहेको छ। सिरिजमा मुख्य योजना चारमध्ये कम्तीमा तीन वा चारै खेल जित्ने थियो। दोस्रो खेलमा केही बढी सोच्दा वा दबाबका कारण सोचे जस्तो हुन सकेन, तर समग्रमा टुर्नामेन्टलाई राम्रोसँग टुङ्ग्याउन पाउँदा खुसी लागेको छ,’ गुल्सनले भने।
यो सिरिजमा नेपाली राष्ट्रिय टोलीमा डेब्यू गरेका युवा क्रिकेटर अर्जुन कुमालको गुल्सनले प्रशंसा समेत गरे।
उनले भने, ‘अर्जुन साउदले ३-४ वर्षदेखि घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेर टिममा स्थान बनाएका हुन्। नयाँ खेलाडीहरूलाई दबाब दिनु भन्दा पनि उनीहरूको आत्मविश्वास बढाउन टिमको साथ र सहयोग आवश्यक हुन्छ। डेब्यू गरेको दोस्रो खेलमै अर्जुनको ४८ रनको इनिङ्स एकदमै राम्रो थियो किनभने हामीले दोस्रो ओभरमै विकेट गुमाएर दबाबमा थियौँ। आसिफ दाइले पनि लगातार राम्रो रन बनाइरहनुभएको छ, जुन टिमका लागि आवश्यक थियो।’
कीर्तिपुर मैदानमा उनले बलिङ गर्न सजिलो नभएको पनि गुल्सनले बताए। उनले भने.'हामीले सोचेभन्दा पिचको अवस्था निकै राम्रो छ। यहाँको विकेट सामान्यतया 'स्लो' हुने गर्थ्यो तर अहिले ब्याटिङका लागि निकै अनुकूल (ब्याटिङ फ्रेन्ड्ली) छ। पिचबाट सिधै मुभमेन्ट नपाए पनि बलरहरूले अनुशासित भएर बलिङ गर्नुपर्ने देखिन्छ। ब्याट्सम्यानले गल्ती गरेपछि मात्र आउट हुने सम्भावना रहने भएकाले बलरले सहि ठाउँमा बल फाल्नुपर्छ।'