पछिल्लो केही सातादेखि सेयर बजारमा एउटा अलग्गै प्रवृत्ति देखिइरहेको छ।
बजारको गिरावट सकिएर बढ्न थाल्दा सबभन्दा पहिले जलविद्युत क्षेत्रमा सुधार देखिन थाल्छ।
तीन वटा उदाहरण हेरौं।
२०८२ चैतका अन्तिम दुई दिन लगातार घटेको नेप्से परिसूचक वैशाख २ गते एकै दिन ३३ अंकले सुधार भएको थियो।
नयाँ वर्षको पहिलो कारोबार दिन बजारका सबै सात वटा नै समूहमा सुधार देखियो। तर सबभन्दा धेरै बढ्नेमा होटल, व्यापारमूलक र जलविद्युत समूहगत परिसूचक थियो।
गत वैशाख ११ गते नेप्सेमा लगातार चार दिनको गिरावटपछि झिनो सुधार देखियो। सो दिन कारोबारमा आएका १३ समूहमध्ये ६ वटा समूह सुधारमा थिए। यसमा पनि जलविद्युत समूह पर्न सफल भयो।
यसपालि अघिल्ला चार दिन ९० अंकभन्दा बढी गुमाएपछि मंगलबार सेयर बजारमा सुधार देखियो। मंगलबार १३ मध्ये सात समूहगत परिसूचकमा वृद्धि भयो। जलविद्युत क्षेत्रमा सबभन्दा धेरै सुधार देखियो। यो समूह एक प्रतिशतले बढेर ३८०२ विन्दुमा पुग्यो।
यसरी वृद्धिमा जलविद्युत समूहले नै नेतृत्व गर्न खोज्नुमा विभिन्न कारण छन्।
सेयर बजारको सबभन्दा धेरै उतारचढाव हुने नै जलविद्युत समूह हो। यो समूहमा रहेका कम्पनीका सेयर मूल्य उच्च दरले बढ्छ र उच्च दरले घट्छ। त्यसैले पनि सबभन्दा पहिले यसमै उतारचढाव देखिन्छ।
चैत २७ गते यो समूहगत परिसूचक ४१०४ विन्दुसम्म पुगेको थियो। पछिल्लो समय निकै घटेको छ।
सोमबार ३७६३ विन्दुमा आइपुग्दा बजार बन्द भएको थियो। मंगलबार ३८०२ विन्दुमा छ।
बजार सुधारिँदा यसमा पुनः उच्च सुधार हुने अपेक्षामा पनि यो क्षेत्रमा लगानी बढ्ने गरेको छ।
सेयर बजारमा सबभन्दा धेरै कम्पनी भएको समूह हुनु पनि यसको विशेषता हो। बजारमा यो क्षेत्रबाट मात्रै १०३ कम्पनी सूचीकृत छन्। यसले पनि लगानीकर्तालाई एउटै क्षेत्रमा लगानीका धेरै विकल्प दिएको छ।
मंगलबार नै हेर्दा, जलविद्युत सबभन्दा धेरै रकम कारोबार हुने समूह हो।
मंगलबार बजारमा कुल तीन अर्ब ४३ करोड रूपैयाँको कारोबार भयो। यसमा जलविद्युत क्षेत्रका कम्पनीहरूको मात्रै एक अर्ब ६७ करोड रूपैयाँको कारोबार भयो। यो भनेको कुल कारोबार रकमको ४८ प्रतिशत हो।
त्यस्तै, अहिले जलविद्युत समूहमा आकर्षण हुनुमा आधारभूत पक्षले पनि काम गरिरहेको छ।
प्रि–मनसुन सुरू भइसकेकाले नदीहरूमा पानीको बहाव बढ्न थालेको छ। यसले जलविद्युत क्षेत्रको उत्पादन र आम्दानी दुवै बढ्ने सम्भावना हुन्छ। विशेषगरी नदीको बहावमा आधारित आयोजनाहरूमा यस्तो सम्भावना छ।
अहिले बैंकहरूको ब्याजदर न्यून विन्दुमा रहेकाले जलविद्युत कम्पनीहरूको ब्याज खर्चमा पनि सुधार हुने देखिन्छ।
मंगलबारसम्म वित्तीय विवरण सार्वजनिक गरेका १४ जलविद्युत कम्पनीमध्ये अधिकांशको नाफामा सुधार भएको छ।
त्यस्तै, केही कम्पनी यसअघि नोक्सानमा देखिएकामा अहिले नाफामा समेत देखिँदै गएका छन्।
२०८२ को चैतमा नोक्सानमा रहेका दिव्येश्वरी हाइड्रो, ईङवा हाइड्रो पावर कम्पनी २०८३ चैतमा नाफामा देखिएका छन्।
जलविद्युत कम्पनीहरूमा मूल्यमा उच्च उतारचढाव हुने भएकाले जोखिमको सम्भावना पनि धेरै हुन्छ। त्यसैले समग्र क्षेत्र हेरेरभन्दा पनि कम्पनीहरूको वित्तीय अवस्था र सूचकहरू हेरेर लगानीको निर्णय लिनु सही हुन्छ।