राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्री 'टिम वर्क' मा विश्वास गर्छन्। भक्तपुर–२ बाट निर्वाचित राजीव यही सुझाव सरकारलाई पनि दिन्छन्।
'मन्त्रीहरूका आफ्ना स्वभाव र रूचिहरू हुन्छन्। सरकार भनेको टिमवर्क पनि हो,' सेतोपाटी पडकास्टमा राजीवले भने, 'एउटा भनाइ छ — एउटा व्यक्तिले गरेको निर्णय उत्कृष्ट पनि हुन सक्छ, खत्तम पनि हुन सक्छ। तर समूहले गरेको निर्णय उत्कृष्ट नभए पनि औसत चाहिँ पक्कै हुन्छ, खत्तम हुँदैन।'
भोजपुरमा जन्मिएका राजीवले झापा र काठमाडौंबाट विद्यालय शिक्षा पूरा गरेका हुन्। राजनीतिमा आउनुअघि उनी पत्रकारितामा थिए।
'मैले टेलिभिजनमा काम गर्दा जनताका मुद्दाहरू केन्द्रमा राखेँ,' राजीवले भने, 'टेलिभिजन छाडेर राजनीतिमा लाग्दै अहिले सांसदका रूपमा पनि म जनताकै मुद्दामा काम गर्छु। मेरो ठाउँ मात्र फेरिएको हो।'
सांसद भएर बोल्दा आफ्नो बोली सुनिन थालेको उनलाई आभास भएको छ।
टेलिभिजन छाडे पनि राजीव सामाजिक सञ्जालमा सक्रिय छन्। फेसबुक र युट्युब मनिटाइज भएकाले घरपरिवार चलाउन मद्दत पुगेको उनले बताए।
'बालेन शाहले आफ्नो सम्पत्ति विवरणमा १ करोड ४६ लाख रूपैयाँ कमाएको देखाउनुभयो। त्यो ठिक हो। मेरो पनि युट्युब र फेसबुक मनिटाइज छ,' राजीवले भने, 'तर सांसद भएपछि अहिले सोचेर, सम्झेर पोस्ट गर्नुपर्ने हुन्छ।'
रास्वपा सभापति रवि लामिछानेसँग भएको भेटले आफूलाई राजनीतिमा ल्याएको राजीव बताउँछन्।
भक्तपुर–२ बाट चुनाव लड्ने निर्णय भने उनले उम्मेदवारी दर्ता गर्ने दिनभन्दा अघिल्लो दिन मात्र गरेका थिए। उक्त क्षेत्रबाट नेकपा एमालेका सचिव महेश बस्नेत चुनाव लडेका थिए।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास पनि उनकै क्षेत्रमा थियो। त्यसैले राजीव र महेशको चुनावी प्रतिस्पर्धालाई चासोका साथ हेरिएको थियो।
राजीवले चुनाव जिते। चुनावमा आफूले जित हात पारे पनि अरू कुनै उम्मेदवारले बधाईसम्म नदिएको उनी बताउँछन्।
एमाले अध्यक्ष ओलीका बुबा बितेपछि राजीव समवेदना दिन र श्रद्धाञ्जलि व्यक्त गर्न भक्तपुर पुगेका थिए। ओलीलाई भेट्दा आफूले सन्चो–बिसन्चो सोधेको र झापामा पढेको प्रसंग उठाएको उनले सुनाए।
'उहाँले झापा कुन ठाउँ पढेको भनेर सोध्नुभयो,' राजीवले भने, 'मैले बुधबारे पढेको भनेँ। उहाँले ए, ल भनेपछि झापाली पनि हुनुहुँदो रहेछ त अलिअलि भन्नुभयो। मैले पनि अँ, अलिअलि झापाली हो भनेँ।'
निर्वाचन बेला आफूलाई खाडी राष्ट्रमा बस्ने नेपालीहरूले सहयोग गरेको उनको भनाइ छ।
उनले हामीसँगको कुराकानीमा चुनावी प्रचार क्रममा भएको एउटा घटना सुनाए।
उनी डोलेश्वर मन्दिरको प्रांगणमा थिए। चिया–चना खाएर बसिरहेका थिए। लगभग ६०–६५ वर्षका एक व्यक्ति आएर उनी नजिकै बेन्चमा बसे। धेरै बोलेनन्।
'बुबा आराम हुनुहुन्छ?' राजीवले सोधे।
उनले 'आराम छु' भने।
'उहाँ लगभग १० मिनेटजति मसँगै बस्नुभयो। दोहोरो कुराकानी धेरै भएन। उठ्ने बेला उहाँले मलाई दुई हजार रूपैयाँ हातमा हाल्दिनुभयो। त्यतिखेर मन एकदम गह्रुँगो भयो,' राजीवले सम्झे।
उनी सुरूमा पैसा लिन अनकनाए।
तर ती व्यक्तिले फिर्ता लिन मानेनन्।
त्यसपछि राजीवले उनलाई भने, 'बुबा, यो तपाईंले दिएको पैसा म पाथीभरा लगेर चढाउँछु।'
जबाफमा ती व्यक्तिले भने, 'मैले तपाईंलाई दिएको हो, नचढाउनुस्, खर्च गर्नुस्।'
अर्का एक व्यक्तिले पनि पेन्सन आएको रकम चुनावी खर्चका रूपमा हातमा राखिदिएको राजीव सम्झन्छन्।
हेर्नुहोस् रास्वपा सांसद राजीव खत्रीको चुनावी अनुभव र राजनीतिक अनुभव, सेतोपाटी पडकास्टमा —