भारतको तमिलनाडुमा भर्खरै सम्पन्न विधानसभा निर्वाचनमा तमिल सुपरस्टार थालापती विजयको पार्टी विजयी भएको छ।
कुल २३४ सिट भएको विधानसभामा १०८ सिट जितेर उनले दुई वर्षअघि मात्र स्थापना गरेको 'तमिझगा वेत्री कजगम' (टिभिके) सबभन्दा ठूलो दल बनेको छ।
पछिल्ला वर्षहरूमा राज्य स्तरमा मात्र नभएर केन्द्रीय स्तरमा समेत उनले सरकार विरोधी छवि बनाएका थिए।
आफ्ना पछिल्ला चलचित्रहरूमा विशेषतः भ्रष्टाचार विरोधी र अन्यायमा परेका जनताका लागि लड्ने 'एक्सन हिरो' को भूमिकामा देखिएका ५१ वर्षका विजय त्यही छविका कारण सत्तामा पुग्न सफल भएका हुन्।
उनले आफ्नो अन्तिम चलचित्र 'जन नायगन' (जननायक वा जननेता) निर्वाचनको संघारमा रिलिज गर्ने योजना बनाएका थिए। उक्त चलचित्रमा उनको कारको नम्बर प्लेट 'सीएम २०२६' राखिएको भनेर भारतीय सञ्चारमाध्यममा चर्चा छ।
त्यस्तो नम्बर प्लेट राखेर आफू यसै वर्ष तमिलनाडुको मुख्यमन्त्री बन्ने सन्देश दिन खोजे पनि राजनीतिक कारणले उनको चलचित्र चुनावअघि प्रदर्शन हुन दिइएन। तर उनका विरोधीले 'जन नायगन' को प्रदर्शनमा रोक लगाए पनि चुनाव जितेर उनले आफू साँच्चै नै जननायक रहेको प्रमाणित गरिदिएका छन्।
तमिलनाडुको राजनीति र सिनेमाको सम्बन्ध नङ र मासुको जस्तै छ। विजयअघि पनि चलचित्र क्षेत्रबाट आएका धेरै व्यक्ति तमिलनाडुको मुख्यमन्त्री बनिसकेका छन्।
तमिलनाडुमा सिनेमा मनोरञ्जन मात्र होइन, राजनीतिक बहसको मुख्य थलो रहँदै आएको छ। यस अर्थमा सिनेमाको सेट मुख्यमन्त्रीको कुर्सीका लागि लिस्नो जस्तै बन्ने गरेको छ।
सन् १९४७ मा भारत स्वतन्त्र भएपछि उपनिवेशकालीन 'मद्रास प्रेसिडेन्सी' लाई मद्रास राज्य बनाइयो। भारत स्वतन्त्र भए पनि शासन चलाउने उत्तरी भागभन्दा भाषा र संस्कृतिका हिसाबले फरक रहेको दक्षिणी भाग खुसी थिएन। त्यसैले तमिल, तेलुगु, कन्नड, मलयालम लगायत दक्षिण भारतमा बोलिने द्रविड भाषा समूहका जनताका लागि बेग्लै देश बनाइनुपर्ने माग उठेको थियो।
'द्रविड नाडु' नामको बेग्लै देश बनाउनुपर्ने माग राख्दै मुख्यतः इभी रामास्वामीले नेतृत्व गरेको 'द्रविड कजगम' ले त्यति बेला अभियान चलाउने गर्थ्यो। बेग्लै देश बनाउने अभियानका लागि सामाजिक न्याय र केन्द्रप्रतिको गुनासोलाई नाटक तथा चलचित्रका माध्यमबाट जनतामा पुर्याइने गरिन्थ्यो।
त्यति बेला भारतमा बन्ने प्राय: सिनेमाहरू पौराणिक कथा, देवता र दैत्यका बारेमा हुन्थे। दक्षिणमा भने द्रविड अभियानका लागि सामाजिक न्याय र क्षेत्रीय गौरवका कथाहरू पर्दामा ल्याइन्थ्यो।
द्रविड कजगममा लागेर विद्रोही नाटक र चलचित्रको पटकथा लेख्ने सिएन अन्नादुराईले रामास्वामीसँग मतभेद भएपछि सन् १९४९ मा 'द्रविड मुन्नेत्र कजगम' (द्रविड प्रगतिशील पार्टी – डिएमके) बनाए।
बेलायतबाट भारतलाई स्वतन्त्रता दिलाएको कंग्रेस त्यति बेला सबै राज्यमा लोकप्रिय थियो। मद्रासका सुरूका चार जना मुख्यमन्त्री पनि कंग्रेसकै थिए।
सन् १९६२ मा चीनसँगको युद्धमा भारत पराजित भएपछि अन्नादुराईले पृथकतावादी नारा छाडेर आफ्नो अभियानलाई हिन्दी विरोधी आन्दोलनमा सीमित गरे। उनका राजनीतिक गुरू रामास्वामी बाँचुञ्जेल बेग्लै देशको अभियानमा लागे पनि अन्नादुराई भारतभित्रै रहेर द्रविडको अधिकारका लागि लड्न थाले।
बेग्लै देश बनाउने नारा छाडेपछि अन्नादुराईको डिएमके सन् १९६७ मा मद्रासको विधानसभा चुनाव जितेर स्वतन्त्र भारतको कुनै पनि राज्यमा बहुमत ल्याउने पहिलो गैरकंग्रेस दल बन्यो।
त्यसपछि सन् १९६९ मा मद्रास राज्यको नाम फेरेर 'तमिलनाडु' राखियो। राजधानी भने मद्रास (हाल चेन्नई) कायम भयो।
नयाँ राज्य तमिलनाडुको पहिलो मुख्यमन्त्रीका रूपमा २० दिन शासन गरेपछि अन्नादुराईको निधन भयो।
उनको निधनपछि एम करूणानिधि (हालका मुख्यमन्त्री एमके स्टालिनका पिता) मुख्यमन्त्री बने। करूणानिधि पनि सिनेमा क्षेत्रबाटै आएका हुन्। उनी अन्नादुराई जस्तै द्रविड अभियानका लागि चलचित्रको पटकथा लेख्ने गर्थे।
अन्नादुराईको निधनपछि करूणानिधिसँगको मतभेदका कारण तमिल सिनेमाका सुपरस्टार एमजी रामचन्द्रनले (एमजिआर) डिएमके छाडेर 'अल इन्डिया अन्ना डिएमके' (एआइएडिएमके) पार्टी खोले।
सन् १९३६ मा अभिनय यात्रा सुरू गर्दा कंग्रेसमा आबद्ध रहेका एमजिआर १९५३ मा अन्नादुराईको डिएमकेमा प्रवेश गरेका थिए। कलाकारिताको सुरूदेखि नै राजनीतिमा संलग्न र चलचित्रमा कहिल्यै नकारात्मक पात्रको भूमिका नगरेका कारण उनी अत्यन्तै लोकप्रिय थिए।
त्यही लोकप्रियताका कारण उनको दल एआइएडिएमकेले सन् १९७७ को चुनाव जित्यो र उनी मुख्यमन्त्री बने।
त्यसयता अहिलेसम्म तमिलनाडुमा डिएमके र एआइएडिएमके बाहेक अरू कुनै दलले शासन गरेका छैनन्। सन् २०१८ मा मृत्यु भएका करूणानिधि पटक पटक गरेर ६ हजार ८६३ दिन मुख्यमन्त्री रहे।
सन् १९८७ मा देवताझैं पुजिने एमजिआरको निधनपछि उनकी पत्नी भिएन जानकी मुख्यमन्त्री बनिन्। उनी पनि चलचित्र अभिनेत्री थिइन्।
राजनीतिबाट टाढा रहेकी र सांसद समेत नरहेकी जानकीलाई सुपरस्टार जयललितालाई रोक्नका लागि पार्टीका नेताहरूले मुख्यमन्त्री बन्न आग्रह गरेको बताइन्छ। एमजिआरसँग थुप्रै चलचित्रमा नायिकाको भूमिका खेलेकी जयललिता आफूलाई एमजिआरको सच्चा उत्तराधिकारी ठान्थिन्।
जानकीले विश्वासको मत लिने बेलासम्म पार्टी धेरै गुटमा विभाजित भइसकेको थियो। विश्वासको मत लिने क्रममा सदनमा भाँडभैलो भएपछि केन्द्र सरकारले संसद विघटन गरेर राष्ट्रपति शासन लगायो। जानकी २४ दिनका लागि मात्र मुख्यमन्त्री रहिन्।
सन् १९८९ को चुनावमा जानकी र जयललिताको नेतृत्वमा बेग्लाबेग्लै दल चुनावमा होमिए। करूणानिधिको डिएमकेले चुनाव जिते पनि एमजिआरको उत्तराधिकारी बन्ने लडाइँ भने जयललिताले जितिन्।
एआइएडिएमकेको आधिकारिक चुनाव चिह्न पाए पनि जानकीको दलले जम्मा दुई सिट जित्यो भने जयललिताले २८ सिट ल्याइन्।
जनताले एमजिआरको उत्तराधिकारीमा जयललितालाई अनुमोदन गरेको महसुस गरी राजनीतिमा रूचि नभएकी जानकीले राजनीति त्यागिन्। पार्टी एकता गर्दै नेतृत्व जयललितालाई नै सुम्पिइन्।
त्यसपछि पनि डिएमके र एआइएडिएमके नै सत्ता वरिपरि रहे। करूणानिधि र सन् २०१६ मा मृत्यु भएकी जयललिता पालैपालो मुख्यमन्त्री बने।
भ्रष्टाचार मुद्दाका कारण मुख्यमन्त्री बन्न नमिल्दा जयललिताले केही पटक आफ्ना विश्वासपात्र ओ पन्नेरसिल्वमलाई मुख्यमन्त्री बनाइन्।
तमिलनाडु राज्य बनेपछि अहिलेसम्म यी दुई दलबाहेक कसैले सरकारको नेतृत्व गरेका छैनन्। थालापती विजयले भने नयाँ दल खोलेको दुई वर्षमै दशकौंदेखि चलिरहेको दुईदलीय व्यवस्थाको अन्त्य गरिदिएका छन्।
उनले पर्दामा खेलेको नायकको भूमिकाजस्तै भ्रष्टाचार र अन्यायविरूद्ध लड्ने सपना देखाएर चुनाव जितेका हुन्।
चुनाव प्रचार क्रममा उनले कुनै पनि मिडियालाई अन्तर्वार्ता दिएनन। बरू सामाजिक सञ्जाल र चुनावी सभाका माध्यमबाट सिधै जनतासँग जोडिए। बलियो राजनीतिक संगठन नभए पनि उनका प्रशंसकहरूले खोलेका 'फ्यान क्लब' हरूले संगठनको काम गरे।
डिएमके र एआइएडिएमकेभन्दा फरक उनले कुनै विशेष विचारधारा पनि राखेनन्। भ्रष्टाचार विरोधी अभियानमार्फत उनले चतुरतापूर्वक केन्द्र र राज्यमा सत्ता चलाइरहेका दुवै दलको चर्को विरोध गरे।
उनले आफ्नो सारा शक्ति तमिलनाडुमा सत्तासीन डिएमके र भारतीय जनता पार्टी (भाजपा) विरूद्ध खर्चिए। भाजपासँग गठबन्धन गरेको कमजोर एआइडिएमकेलाई उनले केवल भाजपाकै मतियारका रूपमा चित्रण गरे।
गत सेप्टेम्बरमा करूर जिल्लामा विजयले आयोजना गरेको चुनावी सभामा अपेक्षा गरेभन्दा बढी मानिस भेला हुँदा भएको भागदौडमा ४१ जनाको ज्यान गएको थियो। राज्य सरकारले निष्पक्ष छानबिन नगर्ने आशंकामा सर्वोच्च अदालतले सिबिआईलाई घटनाको अनुसन्धान गर्ने जिम्मेवारी दियो।
लापरबाही गरेको र कार्यक्रममा सात घन्टा ढिलो पुगेको लगायत आरोपमा सिबिआईले उनलाई पटक पटक बयान लिइसकेको छ।
भाजपाले सिबिआई प्रयोग गरेर उनलाई दुःख दिएको आरोप उनको दल र अन्य प्रतिपक्षीले लगाएका छन्।
यति हुँदाहुँदै उनले भाजपा र डिएमके दुवैको विरोधमा चुनावी अभियान चलाएर जित हासिल गरे। अभिनयबापत एउटा सिनेमा खेलेको करिब दुई अर्ब भारूको कमाइ छाडेर राजनीतिमा आएकाले विजयले भ्रष्टाचार गर्दैनन् भन्नेमा जनताले विश्वास गरे।
यसरी नयाँ दल खोलेको छोटो समयमै थालापती विजय राज्य सरकार चलाउने तहमा पुगेका छन्। यसअघि चलचित्र क्षेत्रका धेरै व्यक्ति मुख्यमन्त्री बने पनि विजयको सफलता विशिष्ट मानिन्छ। किनभने, उनीअघिका नेताहरू चलचित्रसँगै लामो समय राजनीतिमा पनि सक्रिय थिए।
राजनीतिक पृष्ठभूमि बिनाका विजयको यो सफलतालाई छिमेकी आन्ध्र प्रदेशका सुपरस्टार एनटी रामाराव (एनटिआर) सँग मात्र तुलना गर्न मिल्ने 'द हिन्दु' ले उल्लेख गरेको छ।
राजनीतिक संलग्नता नभएका एनटिआरले सन् १९८२ मा एक्कासि 'तेलुगु देशम पार्टी' खोलेका थिए। अर्को वर्षको चुनाव जितेर उनको पार्टीले आन्ध्र प्रदेशमा लगातार सरकार चलाइरहेको कंग्रेसलाई सत्ताच्यूत गरेको थियो।
यहाँनिर दक्षिण भारतमा फिल्म स्टारहरू किन यति सफल हुन्छन् भन्ने प्रश्न उठ्न सक्छ।
बलिउड स्टारहरू पनि राजनीतिमा लागेका छन्। तर उनीहरू दक्षिणका सहकर्मीजस्तो उच्चतम ओहोदामा पुग्न सकेका छैनन्। उनीहरू प्रायः सांसद वा मन्त्रीमै सीमित भएका छन्।
हिन्दी चलचित्रका 'महानायक' मानिने अमिताभ बच्चन पनि सन् १९८० को दशकमा राजनीतिमा होमिएका थिए। गान्धी परिवारसँगको निकटता र राजीव गान्धीसँगको मित्रताका कारण इन्दिरा गान्धीको हत्यापछि १९८४ को निर्वाचनमा उनी इलाहाबादबाट लडेका थिए।
पहिलो पटकमै उत्तर प्रदेशको पूर्वमुख्यमन्त्री एचएन बहुगुणालाई लज्जास्पद रूपमा हराएर अमिताभ चर्चाको शिखरमा पुगे। सत्ताको समेत शिखरमा पुग्ने सम्भावना भए पनि राजनीतिमा मज्जा नआएको र आफ्नो योग्यता नपुग्ने भन्दै उनले १९८७ मै संसदबाट राजीनामा दिए।
कतिपयले भने हतियार किन्दा भएको बोफोर्स घोटालामा नाम जोडिएका कारण उनले राजनीति छाडेको बताउँदै आएका छन्।
कारण जे भए पनि उनी राजनीतिमा एउटा पाँच वर्षे कार्यकाल पनि टिकेनन्। अमिताभ आफै पनि स्थापित पार्टीबाट लडेका थिए। यस्तोमा बलिउडका अन्य सुपरस्टारहरू जति लोकप्रिय भए पनि दक्षिणमा जस्तो नयाँ पार्टी खोलेर चुनाव जित्ने सम्भावना एकदमै कम देखिन्छ।
उसो भए दक्षिणमा किन सिनेमाका सुपरस्टारहरू राजनीतिमा सफल हुन्छन् त?
दक्षिणमा चलचित्रकर्मीको राजनीतिक सफलताको मुख्य कारण द्रविड पहिचान हो। हिन्दी भाषाको दबदबा विरूद्धको द्रविड आन्दोलन भाषा र सांस्कृतिक गौरवको जगमा उभिएको थियो। ती भाषा र संस्कृतिको प्रतिनिधित्व गर्नेहरू फगत कलाकार मात्र भएर जनताका लागि पहिचानको स्वाभाविक रक्षक बने।
दशकौंदेखि सामाजिक न्याय र क्षेत्रीय गौरवको सन्देश बोकेका चलचित्र बनेकाले जनताले चलचित्रकर्मीलाई पर्दाका राजनीतिज्ञका रूपमा स्वीकार गरे।
त्यसैले चलचित्रको सेट छाडेर आएकालाई मतदाताले स्वाभाविक रूपमा राजनीतिको नायकका रूपमा अपनाए।
यद्यपि, दक्षिणमा पनि सबै सुपरस्टार राजनीतिमा सफल भएका छैनन्। विजयभन्दा ६ वर्षअघि कमल हसनले पनि आफ्नै पार्टी खोलेका थिए। तर दुईवटा विधानसभा चुनावमा उनको दलले एउटै सिट जित्न सकेन। गत वर्ष उनी डिएमकेको समर्थनमा भारतको माथिल्लो सदन राज्यसभामा निर्वाचित भए।
विजयभन्दा ठूला सुपरस्टार मानिने रजनीकान्तले समेत राजनीतिमा होमिने आँट गरेनन्। सन् १९९० दशकमा जयललिताको विरोध गरेर उनले राजनीतिमा आउने संकेत दिएका थिए। तर ७५ वर्षीय रजनीकान्तले अहिलेसम्म दल खोल्ने वा अरू दलमा गएर राजनीतिमा सक्रिय हुने हिम्मत जुटाएका छैनन्।
रजनीभन्दा झन्डै साढे दुई दशक कान्छा विजयले भने हिम्मत मात्र देखाएनन्, पहिलो प्रयासमै अप्रत्यासित सफलता नै हासिल गरे।
***