मस्तकला! कस्तो अनौठो शब्द!
हो यही अनौठो लाग्ने मस्तकलाले साना तर उपयोगी सामान बनाउँछ, खासगरी उपहार र सजावटका लागि।
यो काममा संलग्न छन् २७ वर्षीय निखिल अग्रवाल र २८ वर्षीय अरूण अग्रवाल।
काठमाडौंका निखिल १२ कक्षाको पढाइ पूरा गरेर आर्किटेक्ट इञ्जिनियरिङ पढ्न भारत गए। उनले जयपुरस्थित नेसनल इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्नातक तहको पढाइ पूरा गरे।
स्वदेश फर्कने तरखरमा थिए। नेपालमा एक जना साथीको जन्मदिन नजिकिँदै थियो। निखिलले ती साथीलाई आफ्नै हातले उपहार तयार गरेर दिने विचार गरे। उनले साथीका लागि 'टेबल अर्गनाइजर' बनाए। टेबल अर्गनाइजर टेबलमा हुने कलम, कार्ड र अन्य सामग्री व्यवस्थित तरिकाले राख्ने सामान हो।
२०७४ सालको अन्तिमतिर निखिल नेपाल फर्के। साथीको जन्मदिनको कार्यक्रममा सहभागी हुन गए। आफूले बनाएको उपहार दिए। त्यो टेबल अर्गनाइजर कार्यक्रममा सबैले मन पराए। निखिलका अर्का साथी अरूणले त्यसमा बढी नै चासो देखाए।
पुल्चोक इञ्जिनियरिङ कलेजबाट कम्प्युटर इञ्जिनियरिङ पढेका अरूण सानैदेखि व्यावसायिक कुरामा बढी चासो राख्थे।
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/mast.jpg)
यसपछि निखिल र अरूणबीच भेट बाक्लो हुन थाल्यो। उनीहरू ११–१२ कक्षा पढ्दाका सहपाठी थिए। दुबैले डिएभी कलेजबाट पढेका हुन्। उनीहरूबीच पारिवारिक चिनाजानी पनि थियो।
निखिलले भने, 'अरूणले त्यो टेबल अर्गनाइजरबारे जानकारी लियो। ऊ व्यावसायिक पृष्ठभूमि भएको मान्छे हो। मैले बनाएको टेबल अर्गनाइजरमा पनि व्यवसायको सम्भावना देखेको रहेछ।'
चिटक्क परेको टेबल अर्गनाइजर निकै काम लाग्ने सामग्री थियो। कसैलाई उपहार दिन सुहाउँदिलो र सजिलो पनि। अरूणले टेबल अर्गनाइजरको उपयोगिता र व्यावसायिक सम्भावनाबारे धेरै सोचेका रहेछन्। उनले निखिलसँग व्यवसायको कुरा अघि बढाए। त्यतिन्जेलमा निखिल जागिरे भइसकेका थिए।
'मैले निखिललाई व्यवसाय गरौं भनेर प्रस्ताव राखेँ। उसले सकारात्मक प्रतिक्रिया जनायो,' अरूणले भने, 'त्यसपछि हामीले उपहार दिन र सजावटमा राख्न सकिने सामान बनाएर बजार पुर्याउने योजना बनायौं।'
योजनाअनुरूप उनीहरूले त्यस्ता सामग्रीको माग र बजारबारे अध्ययन गरे। करिब चार महिनाको अध्ययनपछि ग्राहकहरूको मागअनुसारका सामग्री बजार पुर्याउन अघि सरे।
उनीहरूले आफ्ना उत्पादनको ब्रान्ड नाम राखे 'मस्तकला'।
'हस्तकलाका सामग्रीको व्यवसाय गर्ने योजना थियो। हस्तकला शब्द परिमार्जन गरेर ग्राहकहरूलाई सम्झन सहज नाम राख्न खोज्दा मस्तकला जुर्यो,' निखिलले भने, 'नामजस्तै हाम्रा सामग्रीहरू मस्त खालका छन्। ग्राहकहरूले यहाँ रमाइला सामग्री पाउन सक्छन्।'
मस्तकलामा सजावटका लागि काठको घडी, फोटो फ्रेम, ढोकामा राखिने नामपाटी, की-रिङ, टेबल अर्गनाइजर, मायाको चिनो लगायतका सामग्री पाइन्छ।
ग्राहकहरूले आफ्नो रूचिअनुसार सामान अर्डर गर्न पनि सक्छन्। काठको कभर भएको नोटकापी, कलम र अन्य केही सामानमा आफ्नो नाम पनि लेखाउन सक्छन्। अरूणका अनुसार मस्तकलाका उत्पादनहरू उपहारका लागि उपयुक्त र उपयोगी छन्।
'मस्तकला उपहारले व्यक्तिहरूबीचको भावनात्मक सम्बन्धमा बलियो बनाउँछ,' उनी भन्छन्, 'जन्मदिन, विवाह, शुभकार्य वा कुनै विशेष अवसरमा उपहार दिने चलन पुरानै हो। उपहार दिने शैली र वस्तुमा भने परिवर्तन आएको छ।'![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/mastkala%20%282%29.jpg)
मस्तकलाले हाल कम्तीमा दुई दर्जन किसिमका सामग्री बनाउने गरेको छ। तिनको मूल्य ३५० रूपैयाँबाट सुरू हुन्छ। बढीमा तीन हजार रूपैयाँसम्मको सामान छ।
निखिलका अनुसार बजारमा मस्तकलाको 'बोधी ट्री ल्याम्प' र 'नोट बुक' सबैभन्दा बढी रूचाइएको छ।
मस्तकलाले २०७५ सालको मंसिरदेखि उत्पादन सुरू गरेको हो। हाल काठमाडौंको बालाजुमा कारखाना र एउटा पसल छ। अरूणका अनुसार कम्पनीमा हाल ३० जना कर्मचारी छन्। उत्पादनको करिब ४० प्रतिशत काम मेसिनले र बाँकी हातले हुन्छ।
उनीहरूले एउटा मेसिनबाट उत्पादन सुरू गरेका थिए। हाल काठ काट्ने, कुँद्ने लगायत अरू मेसिन छन्।
सुरूमा १० लाख रूपैयाँ लगानीबाट काम थालेको अरूणले बताए।
'मेसिन र कच्चा सामग्री आयात गर्नुपर्दा बढी खर्चिलो भयो,' उनले भने, 'अहिले पनि अधिकांश कच्चा सामग्री नेपालमा उपलब्ध हुँदैनन्। विदेशबाटै मगाउँछौं।'
काठ, कागज, सिसा लगायत धेरै सामग्री रूस र चीनबाट मगाउने गरेको उनले बताए। कच्चा पदार्थमध्ये सबैभन्दा धेरै प्लाइउड प्रयोग हुन्छ।
मस्तकलामा सामान अर्डर गरेपछि बढीमा सात दिनभित्र उपलब्ध हुन्छ। तयारी सामान तुरून्तै डेलिभरी चाहनले बढीमा २४ घन्टाभित्र पाउँछन्। अरूणका अनुसार मस्तकलाका सामान किन्ने धेरै जसो ग्राहक १८ देखि ३० वर्ष उमेर समूहका छन्। करिब २५ प्रतिशत ग्राहक दोहोरिन्छन्।
संस्थागत ग्राहकमा बैंक, व्यापारिक, प्राविधिक तथा सेवाका संस्थाहरू छन्। हाल मस्तकलाले कम्तीमा ५० वटा संस्थालाई सामान पुर्याउने गरेको अरूणले बताए।
मस्तकलामा बन्ने सबै जसो सामग्रीको डिजाइन निखिलले गर्छन्। उनी डिजाइनसँगै कम्पनीको व्यवस्थापन पनि सम्हाल्छन्। बजार र आर्थिक कारोबार अरूणले हेरेका छन्।
काम सुरू गर्दा निखिल जागिरे थिए। अरूण आफ्नो पारिवारिक व्यवसाय हेर्थे। व्यापार बढ्दै गएपछि करिब साढे तीन वर्षदेखि दुवै जना पूर्ण रूपमा मस्तकलामै मस्त छन्।
पारिवारिक चिनजान पनि भएकाले व्यवसायमा उनीहरूले राम्रो समर्थन पाए।
निखिल अग्रवाल (बायाँ) र अरूण अग्रवाल![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/mastkala%20%284%29.jpg)
अरूणका अनुसार मस्तकला सुरू हुँदा नेपालमा 'कस्टमाइज्ड' अर्थात ग्राहकले चाहेअनुसार उपहारको चलन कम थियो। अहिले बजारमा धेरै कम्पनीले ग्राहकको मागबमोजिम नै सामग्री उपलब्ध गराउन थालेका छन्। यसकारण बजार प्रतिस्पर्धा पनि बढ्दो छ।
'तर बजार प्रतिस्पर्धालाई हामी स्वस्थ रूपमा लिन्छौं,' अरूणले भने, 'कम्पनीहरू बढ्नु भनेको ग्राहकको संख्या पनि बढ्नु हो। मुख्य कुरा भीडमा पनि अलग पहिचान बनाएर स्थापित हुन सक्नु हो।'
मस्तकलाका सामग्री गुणस्तरीय र बजारको भीडबाट अलग रहेको उनको दाबी छ।
अरूणको अनुभवमा नेपालीहरूको किन्ने क्षमता राम्रै छ। गुणस्तरीय र उपयोगी सामान भए व्यापार राम्रो चल्छ। व्यवसायमा धैर्य भने निकै आवश्यक पर्छ।
'आफ्नै घरको सानो एउटा कोठाबाट काम सुरू गरेका हौं। अहिलेको अवस्थामा आइपुग्न धेरै तह पार गर्यौं,' उनले भने, 'व्यवसायमा रातारात कोही पनि सफल हुँदैन। समय लाग्छ। काम गर्न धैर्य र लगनशीलता चाहिन्छ।'
मस्तकलाको उत्पादन भारतीय बजारमा पनि प्रवेश गरेको छ। नेपाली बजारमा पनि फैलिँदैछ। अब उनीहरू मस्तकलालाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन चाहन्छन्।
'हाम्रा सामग्री नेपालको पहिचानको रूपमा छिटै विदेशी बजारमा पुर्याउने छौं,' उनीहरूले भने।
निखिल र अरूणले 'रेन्टल्स बाइ मस्तकला' नामले अर्को व्यवसाय पनि सुरू गरेका छन्। यसबाट उनीहरू विवाह, ब्रतबन्ध र सभाहरूका लागि आवश्यक फर्निचर र अन्य सामग्री भाडामा उपलब्ध गराउँछन्।
(मस्तकलाको वेबसाइटका लागि यहाँ र फेसबुक पेजका लागि यहाँ क्लिक गर्नुहोस्।)
सम्पादकीय नोटः हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। (setopati@gmail.com)
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)