पछिल्ला वर्षहरूमा हामीले 'राष्ट्रिय हेडलाइन' बनेका समाचारहरू देखेका छौं— विश्वविद्यालय र क्याम्पसहरूमा विद्यार्थी संख्या घट्दै छ, कतिपय कार्यक्रम थोरै विद्यार्थी भएर बन्द गर्नुपरेको छ।
यही निराशाबीच काठमाडौं विश्वविद्यालय (केयु) स्कुल अफ एजुकेसनको उपलब्धि भने उत्साहजनक छ। यहाँ विद्यार्थी संख्या हरेक वर्ष बढ्दो छ।
यो नेपालका लागि महत्त्वपूर्ण समाचार हुनुका तीन कारण छन् —
पहिलो, विद्यार्थी पलायन राष्ट्रिय मुद्दा भएको परिप्रेक्ष्यमा भर्ना संख्या बढ्नु आफैमा सुखद हो। शिक्षा संकायले केही विदेशी विद्यार्थी पनि ल्याउन सफल भएको छ।
दोस्रो, धेरैको प्राथमिकतामा नपर्ने शिक्षा संकायमा अध्ययन गर्नेको संख्या बढ्नु अर्को सकारात्मक पक्ष हो।
तेस्रो, शिक्षासँग सम्बन्धित अधिकांश सार्वजनिक निकायहरू कमजोर र धराशायी भएको स्थितिमा सार्वजनिक संस्था सुदृढ हुनु देशका लागि एक प्रेरणादायी उदाहरण हो।
सन् २०१८ मा काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेसनमा २२९ विद्यार्थी भर्ना भएका थिए। सन् २०२१ मा यो संख्या बढेर ३३० पुग्यो। सन् २०२५ फेब्रुअरीसम्म ९०९ छ। हाल यहाँ १३ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। स्कुल अफ एजुकेसनको शैक्षिक परीक्षण इकाईले गरेको सर्वेक्षण अनुसार ९० प्रतिशत विद्यार्थी पाठ्यक्रम र सिकाइ प्रक्रियाप्रति सन्तुष्ट छन्।
यो शैक्षिक संस्थाको जीवनकाललाई फर्केर हेर्दा सन् २०२१ पछाडि रोचक आरोहण भएको देखिन्छ। र, यसका कारण देखिन्छन्, त्यसै वर्ष डिन नियुक्त प्राध्यापक डा. बालचन्द्र लुइँटेल।
उनी डिन नियुक्त भएको पहिलो कार्यकालमै विद्यार्थी संख्या दोब्बर भयो। दोस्रो कार्यकालको पहिलो वर्षसम्म तेब्बर भइसकेको छ।
बालचन्द्रको नेतृत्वमा भएको यो प्रगति आशाप्रद छ। उनले संस्थाको नेतृत्वका रूपमा के–के गरे, जसले यो परिवर्तन सम्भव बनायो?
यो प्रश्नको जबाफ खोज्न मैले स्कुल अफ एजुकेसनलाई नजिकबाट अन्वेषण गरेँ र बालचन्द्रसँग पटक पटक कुराकानी पनि गरेँ।
यो लेखमा मैले मूलत: तीनवटा प्रश्नमा चर्चा गरेको छु — काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनको उपलब्धिको राज के हो? विद्यार्थीहरूको सन्तुष्टिको कारण के हो? यसको नेतृत्वको सपना, सोच र प्रयास कस्तो छ?
पहिलो प्रश्नबाट सुरू गरौं — देशमा चारैतिर निराशा छाइरहेका बेला स्कुल अफ एजुकेसनको आशालाग्दो उपलब्धिको कारण के हो?
मैले यही प्रश्न बालचन्द्रलाई सोध्दा उनले एउटै शब्द धेरैचोटि दोहोर्याए — पुनर्सान्दर्भिकरण।
यसको सार थियो – उनी र उनको टिमले देश र विदेशमा सिकेका कुरालाई नेपालअनुरूप उपयोग गर्न सकेको भएर नै स्कुल अफ एजुकेसनको सुदृढीकरण सम्भव भएको हो।
उनलाई लाग्छ, 'विदेशमा अध्ययन वा काम गरेर फर्किएको ठूलो जमातले त्यहाँ सिकेका कुरालाई नेपाल मिल्दो बनाउन सकेका छैनन्। अनि, फर्केको केही समयपछि नै यहाँको प्रणालीलाई गाली गर्न सुरू गर्छन्। मैले त गर्न खोजेकै हो, तर यहाँको प्रणालीले गर्न दिएन भन्दै गुनासो गर्छन्।'
'अरूले नसकेको त्यही काम तपाईंले चाहिँ कसरी गर्नुभयो त?' मैले बालचन्द्रसँग जिज्ञासा राखेँ।
यसको जबाफमा ६ वटा व्यक्तिगत कारण सुनाए।
पहिलो, अध्ययनका लागि विदेश जानुअघि उनीसँग नेपालको सार्वजनिक प्रणालीमा काम गरेको अनुभव थियो। उनले त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा अध्ययन गरे। त्रिभुवन र काठमाडौं विश्वविद्यालय दुवैमा काम गरे। सरकारी शिक्षा प्रणाली पनि भोगे, निजी शिक्षा प्रणालीको अनुभव पनि सँगाले।
दोस्रो, केयु भिन्न परिकल्पनाका साथ बनेको संस्था थियो। त्यसैले पहिलो दिनदेखि नै केही गर्नुपर्छ भन्ने हुटहुटी थियो। यो जागिर होइन, अभियान हो भन्ने सोचले निर्देशित गरेको थियो।
संस्थापक उपकुलपति सुरेशराज शर्मा लगायतका प्राध्यापकहरू निरन्तर भनिरहन्थे, 'नेपालको शिक्षा बिग्रिएको छ, यसलाई परिवर्तन गर्न हामीले काम गर्नुपर्छ।'
यसले शिक्षाको रूपान्तरणमा जबर्जस्त दृष्टिकोण बन्यो।
तेस्रो, केयुमा प्रवेश गरेपछि उनी कक्षाकोठामा मात्र सीमित रहेनन्। धुलिखेल नगरपालिकाका शिक्षकलाई प्रशिक्षण दिएर विद्यालय सुधार्ने अभियानमा लागे। यसबाट समुदाय र शिक्षकसँग काम गरेको अनुभव भयो।
सन् २०१८ मा विश्वविद्यालयको सिनेटमा उनी शिक्षक प्रतिनिधि भए। त्यसपछिका तीन वर्ष प्रशासन र शिक्षक दुवैलाई न्याय गरेको उनी बताउँछन्।
चौथो, केयु प्रवेश गरेदेखि नै उनको संगत देश–विदेशका उत्कृष्ट अनुसन्धाता र नीतिगत तहमा कार्यरत व्यक्तिहरूसँग भयो। उनले २५ वर्षको उमेरदेखि नै डा. मनप्रसाद वाग्ले, डा. केदारनाथ श्रेष्ठ, डा. विद्यानाथ कोइराला र अमेरिकास्थित ओरेगन स्टेट युनिभर्सिटीका प्राध्यापक तथा केयुका सल्लाहकार क्याथरिन मुमाओ संगत गर्न पाए।
पाँचौं, विदेशमा उनको शैक्षिक उपलब्धि पनि लोभलाग्दो रह्यो। उनले अस्ट्रेलियामा छात्रवृत्ति पाएर स्नातकोत्तर र विद्यावारिधि गरे। स्नातकोत्तरमा विशिष्ट श्रेणी ल्याए भने विद्यावारिधिमा 'चान्सलर्स कमेन्डेसन' को उपाधि पाए।
त्यसपछि उनले पोर्चुगलमा पढाए। अमेरिकाको क्यालिफोर्निया स्टेट युनिभर्सिटीमा करिब एक महिना काम गरे। अस्ट्रेलिया, युरोप र अमेरिकाको अध्ययन र प्राध्यापनले समग्र विश्व शिक्षा प्रणालीबारे उनको बुझाइ फराकिलो बनायो।
छैटौं, उनले गणित शिक्षा पढेका भए पनि अध्ययन र सरसंगत गणितमा मात्र सीमित भएन। उनको संगत विज्ञान शिक्षा, इन्जिनियरिङ र प्रविधिका मानिससँग पनि भयो। उनले कतिपय सैद्धान्तिक दृष्टिकोण जीवन विज्ञान र दर्शनबाट पाए।
'यी ६ वटा कारणले मलाई विदेशमा सिकेका ज्ञानलाई नेपालमा उतार्न सजिलो भयो,' बालचन्द्रले भने।
यति हुँदाहुँदै उनले आफ्नो यात्रामा चुनौती पनि कम भोगेनन्। विश्वविद्यालयका अनुभवी प्राध्यापकहरूसँगै उनको द्वन्द्व भयो। ती सबै द्वन्द्व नकारात्मक थिएनन्, सकारात्मक र वैचारिक घर्षण पनि थिए।
त्यही द्वन्द्वबीच अन्तर्राष्ट्रिय अनुसन्धान समूहहरूसँग काम गर्न सुरू गरेको र त्यसले विश्वविद्यालयमा एक अलग स्थान बनाउन मद्दत गरेको उनी बताउँछन्।
बालचन्द्रलाई कुनै समय पूर्णतः अनुसन्धानमा सक्रिय भएर बस्ने रहर थियो। उनी चाहन्थे — नेपालका लागि ज्ञान निर्माणमा सहयोग पुर्याउन सकूँ।
भविष्यमा पनि उनको रहर त्यही छ — कुनै सक्षम व्यक्तिलाई नेतृत्वको जिम्मेवारी सुम्पेर आफू अनुसन्धानमा लीन हुने।
यस्तो रहरका बाबजुद उनी चार वर्षअघि स्कुल अफ एजुकेसनमा डिन नियुक्त भए। यसका पछाडि दुइटा कारण रहेको उनी बताउँछन्।
पहिलो कारण, नेपालजस्तो विकासशील देशमा राम्रो शैक्षिक संस्थाको जग बसाल्न नेतृत्वको भूमिका महत्त्वपूर्ण हुन्छ। हुन त विकसित देशमा पनि नेतृत्वको भूमिका कम महत्त्वपूर्ण हुँदैन, तर त्यहाँ औसत नेतृत्व हुँदा पनि प्राध्यापकहरू आफै उत्प्रेरित भएर काम गरिरहेका हुन्छन्। नेपालको शैक्षिक क्षेत्रमा भने नेतृत्वको संकटले नै शैक्षिक संस्था लथालिंग भएको उनले देखेका थिए। त्यही भएर पनि नेतृत्व सम्हालेर परिवर्तनको बाटो कोर्न मन लागेको उनी बताउँछन्।
दोस्रो, स्कुल अफ एजुकेसनको नेतृत्व सम्हाल्नुअघि उनी अन्यौलमा थिए। उनले देखेका थिए, स्कुल अफ एजुकेसन १०–१२ जना शिक्षक र करिब तीन सय जना विद्यार्थी भएको केयुको सबभन्दा सानो संकाय थियो। यहाँ विद्यार्थीहरू आफूलाई सहयोग भएन भनेर गुनासो गरिरहन्थे।
डिनको प्रस्ताव आएपछि केही शुभेच्छुक र विद्यार्थीहरूले उनलाई डर देखाएका थिए, यस्तो चुनौतीपूर्ण अवस्थामा आफ्नो साख कसरी जोगाउनु हुन्छ?
उनको विश्वास थियो — अहिलेसम्म जुन मोडलबाट काम गरिरहेका छौं, त्यसमा परिवर्तन गर्नुपर्छ। कामको शैली परिवर्तन गर्यो भने बदलाव सम्भव छ।
विश्वास सँगसँगै उनको मनमा एउटा हुटहुटी पनि थियो — आफूजस्तो अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट शिक्षा पढेर आएको मान्छेले आफ्नै देशको शिक्षा सुधारमा काम गर्ने हुटहुटी।
यही विश्वास र हुटहुटीले भएका चुनौती मोल्दै काम गर्ने आत्मबल जगाएको बालचन्द्र बताउँछन्।
डिन नियुक्त भएपछि बालचन्द्रले सबभन्दा पहिला नयाँ, पुराना, ड्रपआउट सबै किसिमका विद्यार्थी, शिक्षक र हरेक विभागका सदस्यहरूको कुरा सुने। स्कुल अफ एजुकेसनको सामर्थ्य र चुनौतीलाई मिहिन ढंगबाट बुझ्ने कोसिस गरे।
यस क्रममा उनलाई महसुस भयो, केही शिक्षकमा परिवर्तनको हुटहुटी थियो। धुलिखेलबाट भर्खरै सरूवा भएर आएका स्कुल म्यानेजर पनि सकारात्मक नै थिए।
सबैको कुरा सुनेर उनमा आँट र भरोसा पलायो।
उनले आफ्नो दृष्टिकोण र कार्यदिशा समेटेर एउटा भिडिओ बनाए र सरोकारवाहरूसमक्ष प्रस्तुत गरे। विश्वविद्यालयभित्र र बाहिरका धेरै मानिसबाट सुझाव पनि संकलन गरे।
यसरी सबै सरोकारवालाहरूसँग अन्तर्क्रिया र परामर्शपछि उनले स्नातकोत्तर कार्यक्रम विस्तार गरे। यसका लागि शिक्षक पदपूर्ति गर्न दुई तरिका अपनाए — अन्य संकायबाट सरूवा गरेर ल्याउने र नयाँ शिक्षकहरू थप्ने।
'त्यति बेला मलाई विश्वविद्यालयभित्र र बाहिरका केही मानिसले हतोत्साही बनाउन पनि खोजेका थिए,' उनले भने, 'विद्यार्थी संख्या बढाउने कार्यदिशा प्रस्तुत गर्दा धेरैले भनेका थिए– विद्यार्थीहरू बाहिर पलायन भइरहेको अवस्थामा स्कुल अफ एजुकेसनमा विद्यार्थी थपिन सम्भव नै छैन।'
जसले जेसुकै भनेर हतोत्साही बनाए पनि बालचन्द्रको निश्चय अटल थियो। र, उनको आत्मविश्वासले गति पनि पायो।
सन् २०२१ डिसेम्बरमा विद्यार्थी संख्या ह्वात्तै बढ्यो।
स्नातकोत्तर कार्यक्रम विस्तारपछि अहिले स्कुल अफ एजुकेसनमा तीनवटा विकल्प छन् —
पहिलो, पूर्णकालीन कार्यक्रम जसमा शुल्क तिर्दै पूर्णकालीन अध्ययन गर्नुपर्छ।
दोस्रो, क्रेडिट जम्मा गर्दै जाने र समय र पैसा हुँदा अध्ययन गर्ने।
तेस्रो, आफूलाई जे आवश्यक छ, त्यो मात्र अध्ययन गर्ने।
यी तीन विकल्पले छनौटको सुविधा दिएको र विद्यार्थी संख्या बढाउन भूमिका खेलेको उनी बताउँछन्।
कुनै पनि संस्था सुधार गर्न मजबुत टिम चाहिन्छ भन्ने उनले अस्ट्रेलियामा देखेका थिए। त्यहाँ हरेक प्राध्यापकका पछाडि ८-१० जना विद्यार्थी हरदम हुन्थे।
त्यही अनुभवका आधारमा उनले स्कुल अफ एजुकेसनको डिन नियुक्त हुनुअघि नै टिम सुदृढीकरणको प्रयास थालेका थिए।
सन् २०१० मा कार्यक्रम संयोजक हुँदा उनले पाँच जना विद्यार्थीबाट एमफिल कार्यक्रम सुरू गरे। सुरूआतमा उनी एक जना मात्र शिक्षक थिए। गणित र विज्ञान शिक्षाबाहेकका अन्य विद्यार्थीलाई पनि उनी आफै सुपरीवेक्षण गर्थे। मानविकी, इन्जिनियरिङ र व्यवस्थापन संकायमा पनि अध्यापन गरे। यसबाट विश्वविद्यालयभित्र उनको एउटा छुट्टै सञ्जाल बन्यो। उनको लक्ष्य थियो — कार्यक्रम विकास गर्ने र टिम बनाउने।
त्यसैअन्तर्गत सन् २०१३ मा उनले पहिलोपटक आफैले पढाएको विद्यार्थी शिक्षक नियुक्त भए। त्यो क्रम चल्दै जाँदा उनी डिन नियुक्त हुने समयसम्म १४ जना पूर्णकालीन शिक्षक थिए।
त्यसबीच एमफिल कार्यक्रमको विस्तार भयो र विद्यावारिधि कार्यक्रम पनि सुरू भयो।
'सन् २०१९ सम्म आउँदा मैले खोजेजस्तो टिम बनिसकेको थियो,' बालचन्द्रले भने, 'लामो समयसम्म स्कुल अफ एजुकेसन सानो थियो। प्रायः निवृत्त भइसकेका प्राध्यापकको जागिर खाने ठाउँ थियो। युवाको सहभागिता कम थियो। प्राध्यापक डा. मनप्रसाद वाग्ले डिन भइसकेपछि युवाहरूलाई जोड्न सुरू गर्नुभयो।'
अहिले आएर बालचन्द्रको टिममा विश्वविद्यालय भित्रैबाट दीक्षित युवाशक्तिको बाहुल्य छ।
उनका अनुसार काठमाडौं विश्वविद्यालयमा दुई किसिमका कर्मचारी छन् — विद्यार्थीहरूको शुल्कबाट तलब लिने र विभिन्न परियोजनाबाट तलब लिने।
उनले आफ्नो सुरूआती दिनदेखि नै अनुसन्धानसम्बन्धी अनुदान ल्याउने परियोजनाहरू खोज्न थालेका थिए। त्यसमा उनले धेरै सफलता पनि पाएका छन्।
यसबाहेक डिन नियुक्त भएपछि उनले विभिन्न विभागलाई पुनः संगठित र पुनः सुदृढीकरण गर्ने काम पनि गरे।
टिमसँगको आफ्नो सम्बन्धबारे उनी भन्छन्, 'म नियमित सञ्चार गर्छु। सबै सहकर्मीलाई सँगै लिएर हिँड्न खोज्छु। कसैले छुट्ने मनसाय राखे भने छोडिदिन्छु। आफूसँगै हिँड्न धेरै दबाब दिन्नँ।'
काम गर्ने तरिकामा उनले लचिलोपना अपनाएका छन्। टिमका सदस्यलाई अत्यावश्यक अवस्थामा बाहेक भौतिक रूपमा उपस्थित हुन बाध्यकारी नियम छैन। उनको भनाइ छ, 'काम अनलाइन गर्दा हुन्छ, तर काम चाहिँ हुनुपर्यो। जिम्मेवारी बाँडफाँट भएपछि म त्यसको नियमित फलोअप गर्छु।'
सार्वजनिक शैक्षिक संस्थामा देखिने अधिकांश नेतृत्वभन्दा बालचन्द्रले केही फरक अभ्यास गरेका छन्। उनी शिक्षक र विद्यार्थीका लागि जति बेला पनि उपलब्ध भइदिन्छन्। फोन उठाउँछन्। मेसेजको यथासक्य छिटो जबाफ पठाउँछन्। शैक्षिक कार्यक्रम प्रवर्द्धन र भर्नामा आफै खटिन्छन्।
आफ्नो काममा ऊर्जा र लगावको स्रोतबारे सोध्दा उनले भने, 'तपाईं जे काम गर्नुहुन्छ, त्यो मज्जाले गर्नुपर्छ। म आफू पनि गर्छु र अरूलाई पनि प्रोत्साहित गर्छु। नेतृत्वका अगाडि दुईवटा सवाल हुन्छ — केमा ध्यान दिने र केमा आफूलाई केन्द्रित गर्ने। तपाईंले जे कुरालाई ध्यान दिनुभयो, त्यो हुन्छ। तपाईंले जे कुरामा फोकस गर्नुभयो, त्यसको गुणस्तर सुधार हुन्छ।'
उनले अगाडि थपे, 'विश्वविद्यालयको प्राथमिक उद्देश्य विद्यार्थीहरूको सिकाइ हो। मेरो मूल ध्यान सिकाइलाई मजबुत बनाउनमा हुन्छ। बाहिरबाट विभिन्न निमन्त्रणा आउँछन् तर म दैनिक ५-६ घन्टा हात्तीवनस्थित कार्यालयमै हुन्छु। कसलाई के समस्या परेको छ, त्यसको समाधान गर्छु।'
उनलाई लाग्छ — नेतृत्वमा बसेको मान्छेले ७० प्रतिशत आफूलाई नियमित काममा लगाउनुपर्छ। बाँकी ३० प्रतिशत चाहिँ भविष्यको अनिश्चितताबारे सोचिरहनुपर्छ, योजना बनाउनुपर्छ र आफूलाई तयार गराउनुपर्छ। संस्थाको विकास गर्न औपचारिक र रेखीय सोचाइले मात्र हुँदैन। अनौपचारिक रूपमा पनि चिन्तन गर्नुपर्छ। नवप्रवर्तन र सिर्जनाका लागि अन्तरमनबाट पनि चल्नुपर्छ। अनिश्चिततामा सम्भावना देख्नुपर्छ। यो नेतृत्वको अलिकति रहस्यमयी पक्ष पनि हो।'
उनले यो पनि सुनाए, 'न्युरोलोजिस्टहरू के भन्छन् भने, हामीले पढ्यौं र खोजी गर्यौं भने हाम्रो स्नायु प्रणाली सक्रिय हुन्छ। यसबाट अवचेतनमा रहेको कुरा बोध हुन्छ। भविष्यको कुरा सोच्न कसैले वरदान पाउनुपर्छ भन्ने छैन, हरेक मानिसले गर्न सक्छ।'
त्यही भएर उनी जतिसुकै व्यस्ततामा पनि साताको एउटा शोधपत्र पढ्छन्। नियमित रूपमा जर्नलहरूको समीक्षा गर्छन्। पुस्तकहरू सम्पादन गर्छन्। पाठ्यक्रम कसरी बन्छ र कसरी पढाइनुपर्छ भन्ने विषयमा संसारमा भइरहेका अनुसन्धानबाट आफूलाई अद्यावधिक गराइरहन्छन्।
उनको विश्वास छ — काम गरेर मात्र हुँदैन। सिक्नका लागि काममाथि छलफल र समीक्षा पनि हुनुपर्छ। हरेक पद र जिम्मेवारीको मानिसले सिक्नुपर्छ। र, सिकाइलाई आजीवन निरन्तर राख्नुपर्छ।
यसका लागि उनी हरेक साता आफ्नो टिमको बैठक गर्छन्। पारस्पारिक सिकाइमा जोड दिन्छन्।
यति मात्र होइन, आफ्नो संस्थामा पदानुक्रम (हाइयार्की) लाई हाबी हुन नदिएको पनि उनको भनाइ छ। उनी क्यान्टिनमा सबैसँग बसेर खाजा र खाना खान्छन्। टिमका हरेक सदस्यलाई समस्या पर्दा उपलब्ध भइदिन्छन्। आफ्नो पदलाई शान देखाउने र सम्मान खोज्ने हतियारका रूपमा प्रयोग गर्न निरूत्साहित गरेको उनले सुनाए।
'एउटा मानिसका रूपमा ६० वर्षका प्राध्यापक र २५ वर्षका अनुसन्धान सहयोगी एउटै हो,' उनले भने, 'जसको पद जे भए पनि विद्यार्थीले सेवा पाउनुपर्यो, कुरा त्यत्ति हो।'
नेपाली समाजको एउटा प्रवृत्तिबाट भने उनी चिन्तित छन्। यसबारे उनले भने, 'ब्रह्माण्डको अस्तित्व पनि उसको कर्ममा निहित हुन्छ। यो स्वयं चलायमान छ। तर नेपालमा सकेसम्म काम गर्न नपरे हुन्थ्यो भन्ने संस्कृति मौलाउँदै गएको छ। हामी टिप्पणी गर्न गज्जब छौं तर काममा पछि सर्छौं।'
आफू काम नगर्ने तर ठूलाबडाको हवाला दिएर भनसुन गराउने मान्छेसँग अचेल उनले भेट्नै छाडेका छन्। उनलाई लाग्छ — हामी धेरै ठाउँमा काम भएन भन्छौं तर काम गर्न सजिलो छ। जे गर्छु भनेको हो, त्यसको जिम्मेवारी लिएपछि त भैगयो नि! ठूलो जनसंख्याले आफ्नो कामको जिम्मेवारी लिने हो। त्यसबाट छानिएर थोरैले नेतृत्व लिने हो।
उनी आफै पनि सधैं नेतृत्वमा बस्ने कल्पनामा छैनन्। कुनै दिन प्राध्यापक मात्र भएर बस्ने पर्खाइमा छन्।
बालचन्द्र समुदाय र शैक्षिक संस्था आपसमा जोडिनुपर्छ भन्ने मान्यता राख्छन्।
केयुमा आबद्ध भएको सुरूआती वर्षमा उनले समुदायसँग काम गरेका थिए। यसले समुदाय र विश्वविद्यालय दुवैलाई सहयोग पुगेको उनलाई महसुस भएको थियो। त्यसैले डिन भएको दुई–तीन महिनामै उनले विभिन्न समुदायसँग सहकार्यको पहल गरे। त्यसलाई लिएर विश्वविद्यालयभित्र र बाहिरबाट उनीमाथि निराशाजनक टिप्पणी आयो।
उनले सुने — विश्वविद्यालय समुदायमा जानु हुँदैन, मन्त्रालयमा गएर 'थिंक ट्यांक' पो चलाउनुपर्छ!
उनलाई लाग्छ — विश्वविद्यालयको एउटा काम थिंक ट्यांक चलाउने नै हो। तर त्यस्तो थिंक ट्यांक पालिकादेखि मन्त्रालयसम्म चाहिन्छ। यसका लागि पनि समुदायको तथ्य र तथ्यांक आवश्यक पर्छ। विश्वविद्यालय समुदायसँग टाढा भएर थिंक ट्यांक चलाउन सम्भवै हुँदैन।
यही सोचेर उनले शिक्षकको क्षमता विकासका लागि काठमाडौं महानगरपालिका, धनगढी उपमहानगरपालिका लगायत सहकार्य गरे। धेरै निजी विद्यालयसँग पनि जोडिए।
उनको यही साझेदारी पहल देखेर टाढा टाढाका मानिस र शैक्षिक संस्थाहरू स्कुल अफ एजुकेसनको सम्पर्कमा आए।
बालचन्द्रले भने, 'हाम्रो काममा केही सीमितता होला तर हामी खराब छैनौं। सिक्दै छौं।'
स्कुल अफ एजुकेसनको अर्को विशेषता हो — विद्यार्थीले पाउने मेन्टरिङ र सुपरभिजनको सेवा।
यो १५ वर्ष अगाडि नै सुरू भएको बालचन्द्र बताउँछन्।
सन् २०१० मा उनी स्नातकोत्तर कार्यक्रम संयोजक थिए। त्यस बेला प्रश्न उठेको थियो — उनीहरू त्रिभुवन विश्वविद्यालयका नक्कल हुन् कि फरक हुन्? कस्तो प्रकारका विद्यार्थी निर्माण गर्ने?
त्यसपछि उनीहरूले विद्यार्थीका लागि शिक्षणका अतिरिक्त मेन्टरिङ र सुपरभिजन सेवा सुरू गरे।
'हरेक विद्यार्थीले विश्वविद्यालयमा राम्रो सुपरभिजन पाउनु उसको अधिकार हो,' उनले भने, 'पहिले राम्रो सुपरभिजन नहुँदा धेरै विद्यार्थी ड्रप आउट भए। अहिले हामीले मजबुत सुपरभिजन प्रणाली बनाएका छौं। यसबाट विद्यार्थीलाई सर्वांगीण रूपमा विकास गराउन सकिन्छ।'
विदेशमा अध्ययन गर्दा बालचन्द्रले विद्यार्थीहरूसँग धेरै स्वायत्तता भएको देखेका थिए।
प्राध्यापकहरू विद्यार्थीलाई भन्थे — तिमी धेरै सोच, आफै गर, आफ्नो बाटो आफै खोज।
उनी आफूले देखेको र अनुभव गरेको सिकाइप्रतिको स्वायत्तताबाट प्रेरित थिए। त्यसलाई आफूले काम गरेको संस्थामा पनि अभ्यास गर्न चाहन्थे। उनी विद्यार्थीलाई आफ्नो सिकाइप्रति उत्तरदायी र स्वायत्त बनाउन चाहन्थे। तर नेपालको परिवेश उनलाई थाहा थियो।
उनले नेपाल र दक्षिण एसियामा शिक्षकको भूमिका ठूलो भएको देखेका थिए। हाम्रो समाजले शिक्षकलाई अति सम्मान गरेको देखेका थिए। विभिन्न धर्म र समुदायमा पनि अग्रजको सम्मान गर्ने संस्कार रहेको देखेका थिए। उनी प्रस्ट थिए — अस्ट्रेलियामा जे देखियो, त्यो नेपालमा पूर्ण रूपले कार्यान्वयन गर्न सम्भव छैन। त्यहाँ सिकेका कुरालाई यहाँको सन्दर्भअनुसार सिर्जनात्मक रूपमा प्रयोग गर्नुपर्छ।
उनले बाहिर पढेर आएका धेरै साथीले नेपालका विश्वविद्यालय र समाजलाई गाली गरेको देखेका थिए। उनलाई लाग्थ्यो — यहाँको वातावरण जस्तो छ, त्यस्तैमा काम गर्नुपर्छ।
यस सन्दर्भमा बालचन्द्रले स्कुल अफ एजुकेसनको एउटा अनुभव सुनाए —
'हामी विद्यार्थीहरूलाई अत्यधिक सहयोग गर्छौं। आफै गर्न सक्छौं भन्ने महसुस गराउँछौं। यहाँ पढ्न आउने विद्यार्थीहरू सिकाइ स्वायत्तता प्रणालीबाट आएका हुँदैनन्। पहिलो सेमेस्टर उनीहरू अन्यौलमा पर्छन्। के पढाएको हो, प्रस्तुति दिन भनेको छ, पेपर पढ भनेको छ, पेपर लेख भनेको छ; उनीहरू साह्रै अलमलिन्छन्। तर हामी बिस्तारै सिकाइको जिम्मेवारी विद्यार्थीलाई दिन्छौं। अन्तर्क्रिया गर्छौं र उनीहरूलाई विभिन्न क्रियाकलापमा सहभागी गराउँछौं।'
शिक्षण सिकाइ क्रममा देखिने एउटा विरोधाभाष पनि उनले सुनाए, 'कतिपय विद्यार्थीले पहिले नै सिकारू केन्द्रित कक्षाकोठाको प्रशिक्षण लिइसक्नुभएको हुन्छ। उहाँहरू यहाँ आउँदा अन्यौलमा पर्नुहुन्छ। उहाँहरूले यहाँ सिकारू केन्द्रित कक्षाकोठाको महसुस गर्नु हुन्छ तर हराउनु हुन्छ।'
स्कुल अफ एजुकेसनले पाठ्यक्रममा पनि केही फरक अभ्यास गरेको बालचन्द्र बताउँछन्।
यहाँ अध्यापन हुने विषयवस्तुमध्ये करिब ५० प्रतिशत उनीहरूका आफ्नै शोध हुन्। ती शोधहरू अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन्।
उनीहरूले बुँदामा मात्र लेखिने पाठ्यक्रम बन्देज गरेका छन्। विस्तृत पाठ्यक्रम बनाउँछन्, जसमा पाठ योजना र असाइनमेन्टहरू पनि विस्तृतमै हुन्छन्। पाठ्यक्रम बनाउने प्रक्रियामा शिक्षकलाई सहभागी गराउँछन्। उनीहरूले 'इमर्जेन्ट' पाठ्यक्रममा पनि काम गरेका छन्। सेसनको बीचमा कुनै अब्बल, प्रभावकारी र समसामयिक शोध आयो भने त्यसलाई पनि समावेश गर्छन्।
उनीहरू एसिया, नेपाल र आफ्नो स्थानीय ज्ञानमा काम गरौं भनेर अगाडि बढेका छन्। स्थानीय ज्ञानमा काम गर्दा अन्तर्राष्ट्रिय जर्नलमा विद्यार्थीहरूको प्रकाशन बढेको उनको भनाइ छ।
बालचन्द्रले स्थानीय ज्ञानको उत्पादनमा स्कुल अफ एजुकेसनको जोड रहेको बताए।
'स्थानीय ज्ञान विश्वमा पुर्याउने हो भने पश्चिमा ज्ञानसँगै स्थानीय ज्ञानको पनि खोजी गर्नुपर्छ। एमफिल र पिएचडीलाई आफ्नो अनुसन्धानमा स्थानीय ज्ञानको खोजी गर्न हामी उत्प्रेरित गर्छौं। स्नातक र स्नातकोत्तरमा चाहिँ पाठ्यवस्तुका रूपमा समावेश गरेका छौं,' उनले भने।
उनका एक विद्यार्थीले आफ्नो समुदायमा धामी झाँक्रीबारे अध्ययन गरेर शोध तयार गर्दैछन्। उनी धामी झाँक्रीको अवधारणा र त्यसले शिक्षण सिकाइ पद्धतिमा पर्ने प्रभावबारे अध्ययन गर्दैछन्। अर्का विद्यार्थीले काठमाडौंका हिति (ढुंगेधारा) बारे अध्ययन गरिरहेका छन्।
उनले भने, 'एकथरी मानिसले भनेको सुन्छु, हामीले पश्चिमाको पूरै अनुकरण गर्यौं, पुर्खाका कुरा बिर्सियौं। पुर्खाले गरे होलान् तर पुर्खाले छाडेपछि हामी हराएका छौं नि त!'
उनले अगाडि थपे, 'प्राध्यापकको काम भनेको ज्ञान उत्पादन गर्ने हो। मैले खोजेजस्तो नेतृत्व हुने हो भने म पूर्णतः अनुसन्धान र ज्ञानको निर्माणमा लाग्नेछु। मेरो लगाव र रूचि नै यही हो। अहिले नेतृत्वको बाध्यता छ तर यसलाई पनि व्यवस्थापन गरेर अनुसन्धानमा सहभागी छु।'
स्कुल अफ एजुकेसनमा पढाउने–लेखाउने विभिन्न तरिका छन्। भौतिक कक्षाहरू सञ्चालन हुन्छन्। भौतिक रूपमा उपस्थित हुन कठिन हुनेलाई अनलाइन कक्षाहरू उपलब्ध छन्। शिक्षण सिकाइ क्रममा प्रयोगशाला, स्थलगत भ्रमण र इन्टर्नसिपका माध्यमबाट व्यावहारिक ज्ञान र सीप उपलब्ध गराइन्छ।
स्कुल अफ एजुकेसन बिहान ६ बजे खुल्छ र बेलुका ९ बजे बन्द हुन्छ। पहिले बिहान कुनै कक्षा हुँदैनथ्यो। अब केही महिनामा बिहान मात्र १६ वटा कक्षा चल्ने बालचन्द्रले बताए।
उनीहरूले 'फ्लिप्ड' कक्षा पनि सुरू गरेका छन्। यसमा पिएचडी समूहलाई अध्ययन गर्ने सामग्री पढ्न दिन्छन् र आएर छलफल गर्न लगाउँछन्।
बालचन्द्रका अनुसार गत तीन वर्षयता अधिकांश पिएचडी थेसिस राम्रो भएको छ। उनीहरू अनुसन्धानको विषय सान्दर्भिक भएको अवस्थामा अब्बल विदेशी संस्थाको व्यक्तिलाई पनि बाह्य विज्ञका रूपमा ल्याइरहेका छन्। यसले विद्यार्थीलाई स्थानीय र विश्व दुवैसँग जोड्न सहयोग भएको उनले बताए।
पिएचडी विद्यार्थीहरूको प्रकाशन प्रसिद्ध जर्नलहरूमा पनि प्रकाशन भएका छन्। पढेर प्रमाणपत्र मात्र लिने भन्दा पनि सिकौं भन्ने भावना विकास गर्न खोजेको बालचन्द्र बताउँछन्।
स्कुल अफ एजुकेसनका विद्यार्थीमा लैंगिक अनुपात पनि समान छ। शिक्षकको समूहमा पनि सचेत भएर लैंगिक अनुपात समान राख्ने प्रयत्न रहेको बालचन्द्र सुनाउँछन्।
यहाँ अहिले नेपाली विद्यार्थी मात्र छैनन्; चीन, दक्षिण कोरिया, अफ्रिका, श्रीलंका र बंगलादेशका विद्यार्थी समेत अध्ययन गरिरहेका छन्।
'विद्यार्थीहरूमा विविधता हुँदा खुला विचार प्रवर्द्धन र विविधताको सम्मान हुन्छ,' उनले भने, 'यसबाट विद्यार्थीहरूमा स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्मको ज्ञान बढ्छ।'
बालचन्द्र डिनका रूपमा आउनुअघि सम्भावित विद्यार्थीसँगको सञ्चार र विज्ञापन मूलतः औपचारिक च्यानल र मूलधारका मिडियाबाट मात्र हुने गरेको थियो। डिन हुनेबित्तिकै उनी आफैले भिडियो बनाए। प्रचारप्रसार गरे। मूलधारका मिडियाबाट गर्ने विज्ञापन घटाएर सम्भावित विद्यार्थीमाझ लोकप्रिय सामाजिक सञ्जालको अधिकतम उपयोग गरे।
उनी आफै फेसबुक मेसेन्जरमा सयौं मानिसलाई जबाफ दिन्छन्, उनीहरूको जिज्ञासा र सवालको समाधान गर्छन्।
उनले भने, 'डिन भएको पहिलो वर्ष मैले आफैले धेरै प्रचारप्रसार गरेँ। त्यसपछि एउटा भर्नासम्बन्धी समिति बनाएर काम गरिरहेका छौं।'
यो तरिकाबाट धेरै विद्यार्थीमा पुग्न सकिएको र भर्ना दर पनि वृद्धि भएको बालचन्द्रको अनुभव छ।
स्कुल अफ एजुकेसनको नेतृत्व गर्दाको चुनौतीबारे सोध्दा बालचन्द्रले एउटा अनुभव सुनाए —
केही महिनाअघि एक विद्यार्थीले आफ्नो थेसिसको अन्तर्वार्तामा सोचेजस्तो गर्न सकेनन्। बालचन्द्रले उनलाई भनेछन्, 'तपाईंको अन्तर्वार्ता राम्रो भएन नि!'
विद्यार्थीले भने, 'सर, म सिक्न आएको। फेल त हुन्न होला नि।'
बालचन्द्रले भने, 'फेल त हुनुहुन्न। तर ग्रेड कम आउँछ होला।'
विद्यार्थीले शालिनताका साथ जबाफ दिए, 'जे तपाईंले दिनु हुन्छ, त्यति भए पुग्छ। म त सिक्न पो आएको!'
यो कथा सुनाएर बालचन्द्र एकछिन रोकिए र भने, 'यस्तो भन्ने विद्यार्थी पाउन मैले करिब २० वर्ष कुर्नुपर्यो। नत्र कति विद्यार्थी त ग्रेड कम भयो भनेर झगडा गर्न आउँछन्।'
निर्दिष्ट पाठ्यक्रमका आधारमा मूल्यांकन र पृष्ठपोषण आफैलाई सुधार गर्ने कसी हो भनेर कतिपय विद्यार्थीलाई बुझाउन नसकेको उनी बताउँछन्।
सन् २०१० को एउटा घटना उनलाई सम्झना छ। दुई जना विद्यार्थीलाई असाइनमेन्ट फेरि गर्न भन्दा पढाइ छाडेर हिँडेछन्। तर जे भए पनि स्कुल अफ एजुकेसनले आफ्नो अडान नछाडेको उनले बताए।
'हामीले विद्यार्थीलाई दुःख दिन खोजेको होइन,' उनले भने, 'विद्यार्थीको सिकाइ स्तर बढाउन खोजेको हो। यसमा हामीले कहिल्यै सम्झौता गरेका छैनौं।'
विद्यार्थीको सिकाइ स्तरबारे कुनै अतिथि शिक्षकले नजरअन्दाज गरेको पाइए त्यस्ता शिक्षकलाई उनीहरू विदा गर्ने गर्छन्। आन्तरिक शिक्षकलाई भने स्पष्टीकरण माग्छन्।
नेपाल नफर्की विदेश बसेको भए हरेक वर्ष ७०–८० जनासँग कुरा गरेर बालचन्द्रको जिन्दगी चल्थ्यो। पाँच–सात जना पिएचडी सुपरभिजन र १०–१५ जना स्नातकोत्तरका विद्यार्थीलाई अध्यापन गर्नु उनका लागि पर्याप्त हुन्थ्यो। सम्भवतः उनी गणित शिक्षामा मात्र काम गरिरहेका हुन्थे।
नेपालमा भने त्यसरी चल्दैन। सीमित विद्यार्थीलाई पढाएर यहाँ आफ्नो भूमिका पूर्ण हुँदैन। कहिले मन्त्रालयबाट निमन्त्रणा आउँछ, कहिले कुनै संस्थाले बोलाउँछ, कहिले कोही भेट्न आउँछ।
उनको अनुभव छ — आवश्यक निमन्त्रणा र बैठकमा सहभागी हुनुपर्छ, किनकि यो विश्वविद्यालयको प्रवर्द्धन पनि हो। यहाँ संस्थाका लागि आफ्नो मूल जिम्मेवारी बाहिरको पनि धेरै काम गर्नुपर्छ।
अनेकौं चुनौतीका बाबजुद आफ्नो टिमले गर्न सकेको कामको प्रशंसा गर्दै उनले भने, 'हामी शान्त क्रान्तिकारी हौं।'
उनले एउटा उदाहरण सुनाए, 'स्ट्रिम एजुकेसन र बहु-विधागत अनुसन्धानसँग सम्बन्धित शोधपत्र माग्दा उत्कृष्ट जर्नलहरूले हामीसँग पनि माग्छन्। यो हाम्रा लागि गज्जबको कुरा हो। नेपालमा बसेर घमन्ड गरेको होइन, यो भइरहेको कुरा हो।'
उनका अनुसार स्ट्रिम एजुकेसनको शोधमा विश्वसनीय रूपमा काम गर्ने दक्षिण कोरिया, सिंगापुर र अमेरिकाका केही मानिससँगै उनीहरू पनि छन्। तर अन्तर्राष्ट्रिय रूपमा नेपालको ब्रान्डिङ राम्रो नभएजस्तो उनलाई लाग्छ।
आफूले भोगेको एउटा तीतो अनुभव उनले सुनाए —
सन् २०१० र २०१२ मा उनलाई अमेरिकाबाट एउटा कार्यक्रममा प्रबुद्ध प्रवचनका लागि निम्तो आएको थियो। अमेरिकाको गणित र विज्ञान शिक्षा समुदायले उनको विचारबाट प्रभावित भएर उनलाई बोलाएका थिए।
प्रवचन सकिएको साँझ केही प्राध्यापकहरू उनलाई घोचपेच गर्न आए।
त्यसै क्रममा एक जना प्राध्यापकले उनलाई भने, 'यी उत्तर आधुनिक मानिससँग कुरा गरौं।'
बालचन्द्रले जबाफ दिए, 'म उत्तर आधुनिकतावादी होइन।'
उनले सोधे, 'त्यसो भए तिमी मार्क्सवादी हौ त?'
बालचन्द्रले भने, 'म मार्क्सवादी पनि होइन। म अभ्यासकर्ता हो, सबै वाद र सिद्धान्तको जे जे मिल्छ, त्यसलाई मिलाएर काम गर्छु।'
उनले आश्चर्यचकित भएर भने, 'नेपालमा यस्तो कुरा कसरी सम्भव छ?'
यी प्राध्यापकजस्तै बालचन्द्रको धेरै मानिससँग भेट भयो जसलाई लाग्थ्यो, नेपाल पछौटे समाज हो। धेरैले नेपालप्रति हेय दृष्टिकोण राखेको उनले देखे।
सन् २०१७ मा दक्षिण अफ्रिकास्थित दर्बान इन्स्टिच्युट अफ टेक्नोलोजीमा अर्को प्रबुद्ध प्रवचन दिन जाँदा उनलाई त्यस्तै महसुस भयो। कतिपय मानिसले उनको अनुभव र नेपालप्रति नै पत्यार नगरेको पाए।
केही महिनाअघि युनेस्कोको कार्यक्रममा भारत गएका बेला स्कुल अफ एजुकेसनको अनुभव नपत्याएर एक प्राध्यापकले उनलाई र्याखर्याख्ती पारेका रहेछन्।
ती प्राध्यापकले उनलाई भनेछन्, 'तिमीले झुटो बोल्यौ।'
त्यसो भन्नुको कारण बालचन्द्रलाई पछि थाहा भयो। केही वर्षअघि ती प्राध्यापककी श्रीमती नेपालको एउटा क्याम्पसमा अतिथि प्राध्यापक भएर आएकी रहिछन्। उनी आजित भएर भारत फर्केकी रहिछन् र त्यो क्याम्पसको कथा सुनाएकी रहिछन्, 'कुनै दिन पनि विद्यार्थी राम्रो संख्यामा क्याम्पस आउँदैनन्, शौचालय छैन, कहिले ताला लागेर यत्तिकै बन्द हुन्छ।'
बालचन्द्रले ती प्राध्यापकलाई चुनौती दिएछन्, 'आफै आएर मेरो विश्वविद्यालय हेर्नु होला।'
उनलाई लाग्छ — केही दशकदेखि अन्तर्राष्ट्रिय मञ्चमा नेपालको मार्केटिङ निकै खराब देखिन्छ।
अर्कातिर नेपालकै उनका नातेदार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साथीहरू बेला बेला भन्छन, 'विदेश किन नबसेको? उता बसेको भए गज्जबको अवसर पाउने थिइस्।'
यस्तो भन्नेहरूलाई उनले पहिलेदेखि नै जबाफ दिँदै आएका छन्, 'म जे गर्छु, नेपालमै गर्छु।'
कसैले नेपालमा बसेर के गर्यौ भनेर सोध्यो भने आज उनीसँग स्पष्ट जवाफ छ — विद्यार्थी संख्या बढाएँ, संस्था विस्तार गरेँ, गुणस्तर बढाएँ, प्राज्ञिक काममा पनि आफूलाई निखार्दै गएँ र आफ्नो टिम मजबुत बनाएँ।
नेपालमा समग्र शिक्षा सुधारका लागि बालचन्द्रका केही सुझाव छन् —
पहिलो, नेपालमा केही भइरहेको छैन भन्ने राष्ट्रिय भाष्य परिवर्तन गर्नुपर्छ। हामीकहाँ कामै नलाग्ने मान्छे मात्र छैनन्। इमानदार भएर प्रयत्न गर्नेहरू पनि छन्। मानव विकास सूचकांकमा हामी राम्रै छौं। लैंगिक समानताको मामलामा भारतभन्दा राम्रो छौं। मातृ मृत्युदर धेरै कम भइरहेको छ। हाम्रो आयु बढेको छ, सडक सञ्जाल विस्तार भएको छ।
दोस्रो, राजनीतिक र प्रशासनिक नेतृत्वले सुदृढ प्रणाली बनाउन प्रयत्न गर्नुपर्छ। प्रणाली मजबुत भयो भने शिक्षा आफै सुधार हुँदै जान्छ। हामीले आन्दोलनमा धेरै समय व्यतीत गर्यौं, संस्था निर्माणमा चाहिँ समय दिएका छैनौं। अब संस्था बनाउने आन्दोलन चाहिएको छ।
तेस्रो, संस्थाहरूमा गुणस्तरीय र समाधान केन्द्रित मनोवृत्ति प्रवर्द्धन गर्नुपर्छ। फलानोले गरेन, मैले किन गर्ने भन्ने गुणस्तरीय मनोवृत्ति होइन। सबैले आफ्नो कामको शतप्रतिशत जिम्मेवारी आफूले लिने संस्कार निर्माण र प्रवर्द्धन गर्नुपर्छ। त्यस्तै, मेरो संस्थाको समस्या म समाधान गर्छु भन्ने सोच चाहिन्छ। आफ्नो घर राम्रो बनाउन सक्ने, सफा गर्न सक्ने तर आफ्नो संस्था राम्रो बनाउन नसक्ने भन्ने हुँदैन। इमानदार भएर समय दिनुपर्यो, परिवर्तन सम्भव छ।
चौथो, हामीले देखिरहेको पश्चिमा जीवनशैली कुनै हिसाबले दिगो हुन सक्दैन। त्यस्तो जीवनशैलीको केन्द्रमा प्रकृतिको दोहन छ। हामीले पश्चिमा शैलीको राम्रो कुरा सिक्दै प्रकृतिको नजिक हुने र आफ्ना राम्रा परम्परा जोगाउँदै मौलिक हिसाबले संस्थाहरूको निर्माण गर्नुपर्छ।
पाँचौं, अहिलेको पुस्तालाई गाली गर्ने कुरा मलाई ठिक लाग्दैन। यो पुस्ता राम्रो छ। कतिपय ठाउँमा पुरानो पुस्ताभन्दा अब्बल छ। नयाँ पुस्तालाई निरूत्साहित होइन, हौसला दिनुपर्छ। आशा देखाउनुपर्छ। र, उनीहरूको विकास हुने वातावरण निर्माण गर्नुपर्छ।
***

एक्स (ट्विटर)- @mani_bijaya
(विजयमणि पौडेलका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)