बिहीबार दिउँसो साढे एक बज्दै थियो।
सुनसरीको देवानगन्ज गाउँपालिका–३ स्थित कप्तानगन्जको मुख्य सडकमा सुरक्षाकर्मीको लस्कर थियो।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गस्ती टोलीहरू हतियारसहित ओहोरदोहोर गर्दै थिए। घरैमा बसेर यो दृश्य देख्ने स्थानीयबासी भयाक्रान्त देखिन्थे।
यहाँ सोमबार बिहानबाट लगाइएको कर्फ्यु घटनाको पाँचौं दिन बित्दा पनि जारी छ। बरू दिन बित्दै जाँदा सुरक्षा कडाइ झन् कसिलो बनाइएको छ।
अरू बेला निस्फिक्री जताततै आवतजावत गर्ने सर्वसाधारणलाई अहिले गाउँको कुन बाटो हिँड्ने र कुन बाटो नहिँड्ने भनेर चोक चोकमा उभिएका सुरक्षाकर्मीले मौखिक नियम लगाइदिएका छन्।
आइतबार राति यही गाउँमा भएको हिंसात्मक झडप र त्यसपछिको स्थितिले सिँगो कप्तानगन्जलाई स्तब्ध बनाएको बुझ्न धेरै कठिन छैन।
पाँच दिनअघि चलेको गोलीको आवाज यहाँका सर्वसाधारणको स्मृतिमा अझै ताजै छ।
हामी कप्तानगन्जको श्रीराम चोक, जहाँ आइतबार राति हिंसात्मक झडप भएको थियो, त्यहाँ पुग्दा स्थानीयबासी भेला भएर नाराबाजीसहित प्रदर्शन गरिरहेका थिए।
गोलीकाण्डमा आफन्त गुमाएकाहरू, घाइतेका परिवारजन र तिनका छिमेकीहरू सेना र प्रहरीको टोलीअघि उभिएर नाराबाजी गरिरहेका थिए। पीडितलाई न्याय दिनुपर्ने, दोषीमाथि निष्पक्ष कारबाही हुनुपर्ने र गाउँमा शान्ति सुरक्षाको भरपर्दो प्रबन्ध गरिनुपर्ने उनीहरूको माग थियो।
'यही झाडीबाट गोली चल्न सुरू भएको थियो,' सञ्चारकर्मीहरूको हुल देखेपछि प्रदर्शनरत केही स्थानीयले सडक किनारको झाडीतिर इसारा गर्दै भने, 'यहाँ यसरी गोली चलेर मान्छे मरेको यतिका दिन भइसक्यो। यो देशको सरकार कहाँ छ? प्रधानमन्त्री खोई? गृहमन्त्री खोई? उनीहरूले हाम्रा माग सम्बोधन गर्नुपर्दैन? हामीलाई न्याय नदिएसम्म कसरी चुप लागेर बस्ने?'
-1785408260.jpg)
हामीसँग कुराकानी गर्ने बहुसंख्यक सर्वसाधारण आक्रोशित थिए। यद्यपि उनीहरूको अभिव्यक्तिमा आक्रोश मात्रै थिएन।
उनीहरूको बोलीमा राज्यप्रति स्वाभाविक अपेक्षा र अविश्वासको मिश्रण थियो। उनीहरू देशको सरकार खोजिरहेका थिए, सुरक्षा व्यवस्थाको बागडोर सम्हालेको गृह प्रशासन र राजनीतिक नेतृत्व खोजिरहेका थिए।
उनीहरूको अपेक्षा फौजी उपस्थितिसँगै सरकारको राजनीतिक नेतृत्वको उपस्थिति भइदियोस् भन्ने थियो।
'यसैगरी सेना र पुलिस परिचालन गरेर, कर्फ्यु लगाएर मात्रै समस्या समाधान होला?' इटहरीको कस्तुरी कलेजमा कम्प्युटर साइन्स अध्यापन गर्ने इन्जिनियर सञ्जय मेहताले भने, 'यहाँका समुदायबीच संवादको वातावरण बनाउनुपर्दैन? यो काम सरकार र राजनीतिक नेतृत्वको हो। तर, खोई कहाँ छन् जिम्मेवारी लिनेहरू?'
हामी श्रीराम चोकमा उभिएर स्थानीयबासीका कुरा सुनिरहेकै बेला गाउँमा अर्को दुःखद खबर आइपुग्यो।
विराटनगरको न्युरो अस्पतालमा उपचाररत जयप्रकाश मेहताको मृत्यु भएको समाचार प्रदर्शनरत भिडमा एकैछिनमा फैलियो।
आइतबार राति गोली लागेर गम्भीर घाइते भएका मेहताको उपचार क्रममा पाँचौं दिनमा ज्यान गएको खबरले स्थानीयलाई झनै भावुक र आक्रोशित बनायो। यसअघि ओमप्रकाश मेहताले ज्यान गुमाइसकेका थिए।
खबरलगत्तै श्रीराम चोकमा घन्टौंदेखि केन्द्रित प्रदर्शन देवानगन्ज बजारतिर अघि बढ्यो। जुलुसका सहभागी न्याय माग्दै र सरकारको उपस्थिति खोज्दै नारा लगाइरहेका थिए।
'कि प्रधानमन्त्री, कि गृहमन्त्री यहाँ आएर समस्याको निकास दिनुपर्छ,' जुलुसमा सहभागी स्थानीय युवा राकेश मेहताले आक्रोशित हुँदै भने, 'कि त यहाँ आएर तनाव साम्य पार्ने पहल गर्नुपर्यो, होइन भने पदबाट राजीनामा दिनुपर्यो। यस्तो संवेदनशील समस्या सेना परिचालन गरेर अनि कर्फ्यु मात्रै लगाएर समाधान हुँदैन।'
स्थानीयबासीले कप्तानगन्जमा हामीमार्फत सरकारलाई यो प्रश्न सोधिरहँदा काठमाडौंमा प्रतिनिधिसभाका सांसदहरू सरकारलाई तिनै प्रश्न सोधिरहेका थिए। तर १४ दिनपछि बसेको संसद बैठकमा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरूङ दुवै गयल थिए।
घटनाको पाँच दिन बितिसक्दा पनि स्थानीयबासीले शंकास्पद भनेका व्यक्तिहरूलाई नियन्त्रणमा नलिनु र अनुसन्धानको प्रगति पारदर्शी नहुनुले सरकारप्रतिको असन्तोष थप बढाएको मेहताको भनाइ थियो।
हामी कप्तानगन्जमा उभिएर यो दृश्य हेरिरहँदा मधेस प्रदेशका अन्य जिल्लामा पनि कर्फ्यु घोषणा भएको र सिरहामा त झडपकै क्रममा थप गोली चलेका खबरहरू आउन थालेका थिए।
आइतबार कप्तानगन्जबाट सल्केको तनावको संक्रमण सप्तकोशी नाघेर मधेसका अन्य क्षेत्रतिर पनि फैलिँदै थियो।
श्रीराम चोकको भिडभाड र नाराबाजी छाडेर केही मिटर पर गाउँको भित्री बस्तीतिर जाँदा अर्कै दृश्य देखिन्छ। सडकमा सुरक्षाकर्मी गस्ती गरिरहेका छन्, अनि घरका आँगन र पिँढीमा मानिसहरू साउती मारेझैं थोरै थोरै संख्यामा भेला भएर कुराकानी गरिरहेका भेटिन्छन्।
-1785408258.jpg)
स्थानीयबासीका अनुसार राज्यका निकायहरूको बेवास्ताले यो घटना गाउँमा निम्त्याएको हो।
हामीले कुराकानी गरेका सर्वसाधारणको अभिव्यक्तिमा अहिले न्यायको माग जति प्रखर छ, शान्ति र सामाजिक सद्भाव फर्काउने चिन्ता पनि उत्तिकै छ।
देवानगन्जका स्थायी बासिन्दा सञ्जय मेहता इटहरी बसे पनि हरेक सप्ताहन्त गाउँ आउने गर्छन्। गाउँको घरमा उनकी आमा छिन्। गाउँमा उनका आफन्त छन्। बाल्यकालका साथीहरू छन् अनि आफू हुर्किएका धेरै सम्झना पनि छन्।
पछिल्ला केही सातादेखि भने उनी अलि बढी सजग भएर नियमित गाउँ आइरहेको उनको भनाइले बताउँछ।
'म हप्तैपिच्छे यहाँ आउँछु। चिया खान्छु, सबैसँग कुरा गर्छु, माहोल बुझ्छु,' सञ्जयले गाउँको अवस्थाबारे भने, 'एक महिनादेखि नै यहाँ केही न केही तनावको आभास भइरहेको थियो। यो आइतबारको घटना एक्कासि भएको होइन।'
उनका अनुसार गाउँको सामाजिक सम्बन्ध केही सातायता बिस्तारै चिसिँदै गएको थियो।
'यही चोकको चिया पसलमा हामी सबै समुदायका मानिस सँगै बसेर गफ गर्थ्यौं। एउटै बेन्चमा बसिन्थ्यो, कसैले कसैलाई छुट्टै समुदायको भनेर हेर्दैनथ्यो,' उनले थपे, 'तर पछिल्ला दिनहरूमा मानिसहरू समूह समूहमा छुट्टिन थालेका थिए। चिया पसलका बैठकहरू बदलिएका थिए।'
उनी बोल्दै जाँदा बारम्बार एउटा कुरा दोहोर्याउँथे, 'यो अचानक भएको घटना होइन।'
उनको विश्लेषणमा स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज र स्थानीय प्रहरी प्रशासनले समयमै दुवै समुदायका अगुवालाई एउटै टेबलमा राखेर संवाद गराएको भए परिस्थिति यति बिग्रिने थिएन।
'तनाव बढ्दै गएको कुरा सबैलाई जानकारी थियो। जनप्रतिनिधिलाई थाहा थियो, प्रहरीलाई पनि थाहा थियो,' सञ्जयको स्वरमा आरोपभन्दा बढी चिन्ता सुनिन्थ्यो, 'दुवै समुदायका अगुवा बसेर कुरा गरेका भए यो दुर्घटना टर्न सक्थ्यो। तर त्यो समय कसैले ध्यान दिएन।'
सञ्जयले गाउँको पुरानो भाइचारा सम्झिँदै अगाडि भने, 'देवानगन्जमा यसअघि पनि सानातिना विवाद नभएका होइनन्। तर हामी फेरि मिलिहाल्थ्यौं। हाम्रा धेरै मुस्लिम साथीहरू छन्, आफन्तजस्तै सम्बन्ध छ। तर अहिले अवस्था बिग्रने अवस्थामा पुग्यो। राज्य प्रशासनको कमजोरीले यो घटना भयो।'
कप्तानगन्ज घुम्दा धेरै स्थानीयले यस्तै भावना व्यक्त गरे। घटनाले सम्बन्धमा दरार ल्याएको निश्चित छ, तर त्यो दरार स्थायी नहोस् र पुरानो सम्बन्ध फर्कियोस् भन्ने चाहना पनि उत्तिकै बलियो देखिन्थ्यो।
गाउँका युवाहरूको मनोदशा भने केही फरक र प्रश्नहरूले भरिएको थियो।
श्रीराम चोकमा भेटिएका स्थानीय युवा सन्तोष यादवको चिन्ता तत्कालको सुरक्षा व्यवस्थाभन्दा दीर्घकालीन समाधान के होला भन्ने थियो।
'तपाईंले देखिरहनुभएको छ, गाउँलेलाई प्रदर्शन गर्न कर्फ्युले रोकेको छ र?' उनले सडकमा खटिएका सुरक्षाकर्मीतिर हेर्दै भने, 'भोलिदेखि सेनालाई पनि नटेर्ने अवस्था भयो भने के हुन्छ? के यहाँ दुई देशबीच लडाइँ भएको हो र?'
आफूहरूले राज्यको अग्रसरतामा गाउँमा सार्थक संवाद चाहेको उनको भनाइ थियो।
'मृतक र घाइतेको माग राज्यले पूरा गरोस्, शान्ति स्थापनाका लागि काम गरोस्,' उनले अगाडि थपे, 'तर हामीमाथि नै थप बल प्रयोग गरेर वा कर्फ्यु लगाएर मात्रै होइन। दुई समुदायलाई संवाद गराउने अवस्था राज्यले बनाउन पर्यो।'
सन्तोषको भनाइमा अहिले गाउँलेहरूले सबभन्दा धेरै खोजेको विषय नै आपसी संवाद हो। राज्यले भने फौजी विकल्पमा मात्र ध्यान दिइरहेको भन्दै उनीहरू असन्तुष्ट छन्।
'अहिलेसम्म विवाद वा झडप भएका पक्षहरूबीच कुनै खुला संवाद भएको छैन। सरकार सुरक्षा व्यवस्थामै केन्द्रित देखिन्छ,' उनले भने, 'गाउँलाई फेरि सामान्य बनाउने हो भने दुवै समुदायका मानिसलाई एउटै ठाउँमा बसालेर छलफल गराउनुपर्छ।'
-1785408259.jpg)
कप्तानगन्जका गल्लीहरूमा अहिले अर्को दृश्य पनि बारम्बार देखिन्छ — घरका मूलढोकाहरू कसिलो गरी बन्द छन्। कतिपय घरमा ताला झुन्ड्याइएको छ।
यस्तै परिस्थितिमा भेटिए रामचन्द्र मेहता। उनको घर मुख्य सडक नजिकै छ। उनले हामीलाई घरअगाडि उभ्याएर वरिपरि हेर्न भने।
'म तीन-चार दिनदेखि राति सुत्न सकेको छैन। बच्चाबच्चीलाई ससुराली पठाएको छु। घरमा म र मेरी श्रीमती मात्र छौं। छिमेकीहरू धेरैजसो घर छाडेर गइसके,' उनले सुनाए।
केही दिनदेखि दोहोरिरहेको उच्चाटलाग्दो दिनरातले दिक्क देखिने उनले पनि सञ्जयको जस्तै अपेक्षा प्रकट गरे।
'कानुन र सुरक्षाले मात्र हुँदैन, दुवै समुदायका मानिस बसेर समस्या समाधान गर्नुपर्छ,' दक्षिण कोरियामा रोजगारी गरेर फर्केका उनले भने, 'तपाईंहरू पत्रकार हुनुहुन्छ, सबैलाई बसालेर मिलाउने वातावरण बनाइदिनुस्।'
कप्तानगन्जमा केही घन्टा मात्रै बिताउँदा पनि यहाँ फैलिएको भयको साम्राज्य फराकिलो बन्दै गएको थाहा पाउन सकिन्छ।
गाउँमा कहिल्यै नदेखिएको र नभोगिएको दुर्दान्त घटनाको साक्षी बनेका कप्तानगन्जका बासिन्दा यति बेला केही अपेक्षा लिएर बसेका छन्।
पाँच दिनअघि भएको हिंसात्मक घटनाको निष्पक्ष अनुसन्धान गरी सत्य पत्ता लगाउने र दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने मागमा कुनै सम्झौता नहुने उनीहरूको अडान छ।
घटनापछि चर्किएको अविश्वास, डर र शंकालाई फेरि विश्वासमा बदल्ने कामको नेतृत्व सरकार र त्यसको मुख्य नेतृत्वले गरोस् भन्ने अपेक्षा छ।
बिहीबार दिउँसो श्रीराम चोकमा स्थानीयहरू सरकारको उपस्थिति खोजिरहेका थिए। उनीहरूको गुनासो सुरक्षाको मात्र थिएन। उनीहरूलाई लागिरहेको थियो — यति ठूलो घटना भइसक्दा पनि राज्यको राजनीतिक नेतृत्व समयमै गाउँसम्म आइपुगेन। क्याबिनेट बैठकले चुइँक्कै बोलेन। प्रधानमन्त्री फेसबुकमा स्ट्याटस लेखेर मौन रहे।
एक स्थानीयले भनेका थिए, 'हामीलाई सेना र प्रहरी मात्र होइन, सरकार पनि चाहिएको छ।'
सेना र प्रहरीले तत्कालको हिंसा वा मुठभेड रोक्न सक्छन्, तर गुमेको विश्वास र सामाजिक सद्भाव फर्काउन राजनीतिक संवाद र सामाजिक पहल नै चाहिने बारे कप्तानगन्जका युवा हुन् वा पाका, सबै प्रस्ट छन्।
दिउँसो हामीसँग स्थानीयबासीले सरकारसँगको अपेक्षा बताएको केही घन्टापछि गृहमन्त्री सुनसरी आउन काठमाडौंबाट हिँडेको र प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्ने तयारी गरेको खबर फैलिँदै थियो।
के प्रधानमन्त्री र गृहमन्त्रीको सक्रियताले तत्कालै त्यस्तो बिहान ल्याइदेला, जहाँ फेरि चिया पसलहरू पहिलेझैं खुलून्! बालबालिका निर्धक्क विद्यालय जाऊन्!
अनि, कप्तानगन्जको श्रीराम चोकको पुरानो वरपीपलको चौतारोमुनि बसेर मानिसहरूले एकअर्कालाई समुदायका आधारमा होइन, छिमेकीका रूपमा चिनून्!