सिरहाको औरहीका १५ वर्षीय गणेश यादव आखिर सडकमा किन थिए?
गणेशसँग मेरो व्यक्तिगत चिनजान थिएन। तर सिरहा मेरो जन्मथलो हो।
सिरहा मेरा लागि नक्सामा रहेको एउटा जिल्ला मात्र होइन। त्यहाँका बाटाहरू, बजारहरू, अनुहारहरू, बोलीहरू र मानिसहरूसँग मेरो सम्बन्ध केवल नागरिकको होइन— मेरो संस्कृति, स्मृति र पहिचानको पनि हो।
सम्भवतः म बाटो हिँड्दा गणेश कतै खेलिरहेका थिए होलान्! म हिँडेकै बाटो स्कुल जान्थे होलान्!
त्यसैले उनको मृत्युको खबर पढ्दा त्यसमा एउटा अनौठो नजिकपन महसुस भयो।
अनि मेरो मनमा बारम्बार आइरह्यो— म जुन समाजमा हुर्केँ, त्यस्तै समाजमा हुर्केको एउटा १५ वर्षको बालक सडकमा के खोजिरहेको थियो?
सायद यो प्रश्न 'त्यहाँ के भयो' भन्दा ठूलो छ।
एउटा झन्डा, एउटा जुलुस, एउटा धार्मिक प्रतीक, एउटा सामाजिक सञ्जालको पोस्ट वा दुई समूहबीचको एउटा विवादले कसरी यति छिटो सामूहिक आक्रोशको रूप लिन सक्छ?
कसरी एउटा समुदायमा भएको विवाद सम्पूर्ण धर्मसँगको विवाद बन्छ?
कसरी छिमेकीको अनुहारमा हामी अचानक एउटा अपरिचित समुदाय देख्न थाल्छौं?
अनि सबभन्दा असहज प्रश्न— हिजो जसलाई हामी आफ्नै समाजको हिस्सा भनेर चिन्थ्यौं, आज किन ऊ 'उनीहरू' भयो?
यो प्रश्न गणेश यादवका बारेमा मात्र होइन। यो प्रश्न हामी सबैका बारेमा हो।
'गोली चलेको' क्षण अचानक आउँछ तर त्यसअघि एउटा समाजले धेरै कुरा गुमाइसकेको हुन्छ।
मानिसबीचको विश्वास बिस्तारै पातलिन्छ। पहिचानहरू व्यक्तिभन्दा ठूलो बन्न थाल्छन्। आर्थिक सम्बन्धहरू बदलिन्छन्। अवसरहरू सीमित देखिन थाल्छन्। संस्थाहरूमाथिको भरोसा कमजोर हुन्छ। एउटा घटनाको सत्य स्थापित हुनुअघि त्यसको व्याख्या फैलिन्छ। र, बिस्तारै एउटा यस्तो संसार बन्छ जहाँ अर्को मान्छे केवल अर्को मान्छे रहँदैन।
त्यसैले प्रश्न गणेश किन त्यहाँ थिए भन्ने मात्र होइन।
प्रश्न यो पनि हो — गणेशलाई त्यहाँ पुग्न सक्ने बनाउने समाज कस्तो थियो?
एउटा पन्ध्र वर्षको किशोरले आफ्नो वरिपरिको संसार कसरी बुझ्न सिक्यो? कसलाई आफ्नो र कसलाई पराइ ठान्न सिक्यो? कहिले उसको व्यक्तिगत परिचयभन्दा ठूलो कुनै सामूहिक पहिचान उसको चेतनामा बस्यो? त्यो पहिचान यति शक्तिशाली कसरी भयो कि अर्को समुदायसँगको विवाद उसको आफ्नै सरोकार बन्यो?
अझ, कर्फ्यु लागेको सडकमा, राज्यको उपस्थितिभन्दा आफ्नो सामूहिक पहिचानको आह्वान बलियो हुन सक्ने अवस्था कसरी बन्यो?
यी प्रश्नले हामीलाई गणेशको उनको जीवनभन्दा धेरै अगाडि, उनको समाजतिर फर्काउँछ। किनकि, कुनै किशोर सडकमा पुग्नु उसको व्यक्तिगत निर्णय मात्र हुँदैन। त्यो ऊ हुर्किएको संसार, उसले सुनेका कथा, उसले देखेका सम्बन्ध, उसले पाएको विश्वास र उसले सिकेको 'हामी' को परिभाषासँग पनि जोडिएको हुन्छ।
त्यसैले हामीले आजको साम्प्रदायिक हिंसा बुझ्न पहिले, हिंसा भएको ठाउँ होइन, समाज 'हामी' र 'उनीहरू' बन्ने प्रक्रिया सुरू भएको ठाउँ खोज्नुपर्छ।
समाज भनेको भूगोल मात्र होइन, परस्पर निर्भर सम्बन्धहरूको संरचना हो। मानिसहरू एकअर्कालाई असल मानिस ठानेर मात्र समाज बनाउँदैनन्; अधिकांश समय एकअर्कालाई आवश्यक भएर समाज बनाउँछन्।
तपाईंको पसल चल्दा मेरो बजार चल्छ। तपाईंको खेतमा पानी नपुग्दा मेरो भान्सामा असर पर्छ। तपाईंको बच्चा र मेरो बच्चा एउटै विद्यालय पढ्छन्। हामीबीच असहमति भए पनि भोलि फेरि एउटै बाटोमा भेटिनुपर्छ।
दैनिक जीवनका यस्ता हजारौं सम्बन्धले हामीलाई एकअर्काको जीवनसँग गाँसिराख्छन्।
तर यसको उल्टो पनि सत्य हो।
जब मेरो भविष्य तपाईंको भविष्यसँग जोडिन छोड्छ, जब तपाईंको समृद्धि मेरा लागि अवसरभन्दा प्रतिस्पर्धा जस्तो देखिन थाल्छ, जब तपाईंको उपस्थिति सम्बन्धभन्दा स्रोतको दाबी जस्तो देखिन थाल्छ, हाम्रो साझा कथाको अर्थ बदलिन्छ।
त्यसैले साम्प्रदायिकता सधैं घृणाबाट सुरू हुँदैन। कहिलेकाहीँ यो दुरीबाटै सुरू हुन्छ।
त्यसैले आज हामीले 'हिन्दु र मुस्लिमबीच तनाव किन भयो' भनेर सोधेर पुग्दैन।
अझ कठिन प्रश्न सोध्नुपर्छ— हिजो यी मानिसहरूलाई एकअर्काको जीवनसँग जोडेर राख्ने दैनिक सम्बन्धहरू आज कति बाँकी छन्?
आज नेपालको ठूलो हिस्सा जीविकाको खोजीमा स्थानीय भूगोलभन्दा बाहिर जान्छ। गाउँको एउटा युवा खाडीमा, अर्को कोरियामा, अर्को काठमाडौंमा, अर्को अस्ट्रेलिया वा युरोपमा छ। घरमा पैसा आउँछ, घर बन्छ, बच्चाहरू पढ्छन्, उपभोग बढ्छ। यसले लाखौं परिवारको जीवन बदलिएको छ।
यसलाई सामाजिक विघटनको कथा मात्र बनाउनु अन्याय हुन्छ। तथापि यसको अर्को पक्ष पनि छ जसबारे हामीले निकै कम सोचेका छौं।
जब आम्दानीको स्रोत बाहिर जान्छ, स्थानीय जीवनलाई एकअर्कासँग जोडेर राख्ने सम्बन्धहरूमा कस्तो असर पर्छ?
मेरो भविष्य र तपाईंको भविष्य एउटै स्थानीय अर्थतन्त्रको सफलतामा पहिलेजस्तो निर्भर नहुन सक्छ।
तर हामीले साझा गर्नुपर्ने कुरा अझै स्थानीय नै छन्। जमिन। सरकारी जागिर। ठेक्का। व्यवसाय। शिक्षा। स्वास्थ्य। स्थानीय बजेट। राजनीतिक पहुँच। सार्वजनिक ठाउँ। अवसर।
अर्थात्, हाम्रो आर्थिक जीवन अलग हुँदै जान सक्छ तर असुरक्षा, स्रोत र पहिचानको राजनीति अझै स्थानीय छ।
जब स्रोत सीमित देखिन्छन्, मानिसहरू व्यक्ति भएर प्रतिस्पर्धा गर्दैनन्। उनीहरू समूहको प्रतिनिधि भएर प्रतिस्पर्धा गर्न थाल्छन्। त्यसपछि आर्थिक प्रश्न बिस्तारै पहिचानको प्रश्नमा बदलिन सक्छ।
तर स्रोतको प्रतिस्पर्धा भएको हरेक समाज हिंसामा पुग्दैन। यसका लागि बीचमा अर्को कुरा चाहिन्छ। त्यो हो— विश्वास।
आर्थिक प्रतिस्पर्धा तब साम्प्रदायिक बन्न थाल्छ, जब मानिसलाई निष्पक्ष प्रक्रियामाथि भरोसा रहँदैन।
नियम सबैका लागि एउटै छन् भन्ने विश्वास छ भने, तपाईं मभन्दा अगाडि जाँदा पनि त्यसलाई म व्यक्तिगत हारका रूपमा लिन सक्छु।
तर जब नियम नै तपाईंको पक्षमा बनाइएको छ भन्ने लाग्न थाल्छ, तब तपाईंको सफलता मेरा लागि 'तपाईंको सफलता' मात्र रहँदैन। जब संस्थामाथिको विश्वास कमजोर हुन्छ, मानिसहरू आफ्ना सुरक्षाका स्रोत संस्थाभन्दा बाहिर खोज्न थाल्छन्। परिवारमा, जातमा, धर्ममा, समुदायमा, राजनीतिक समूहमा।
जहाँ राज्यले समान सुरक्षा दिन्छ भन्ने विश्वास कम हुन्छ, त्यहाँ समुदायले सुरक्षा दिने दाबी गर्न थाल्छ। जहाँ संस्थाले सत्य स्थापित गर्छ भन्ने विश्वास हुँदैन, त्यहाँ आफ्नै 'नेटवर्क' ले सत्य बताउन थाल्छ।
त्यसपछि समुदाय एक सांस्कृतिक पहिचान मात्र रहँदैन। त्यो सूचना बन्न थाल्छ। सुरक्षा बन्न थाल्छ। न्यायको आश्वासन बन्न थाल्छ।
आफ्नो समुदायप्रतिको निष्ठा भावनात्मक कुरा मात्र नहुन सक्छ, बाँच्ने रणनीतिजस्तो देखिन सक्छ। अरू समुदायमाथि शंका गर्नु पूर्वाग्रह होइन, सावधानीजस्तो लाग्न सक्छ। आफ्नो समूहको अफवाह पत्याउनु मूर्खता होइन, सतर्कता जस्तो लाग्न सक्छ। अर्को समूहको गल्तीलाई सामूहिक रूपमा 'सम्झिनु' घृणा होइन, 'इतिहास सम्झिनु' जस्तो लाग्न सक्छ।
अनि तपाईं अर्को व्यक्तिलाई 'फलानो व्यक्ति' भएका कारणले चिन्नुहुन्न, उसले प्रतिनिधित्व गर्ने समूहका आधारमा चिन्नुहुन्छ।
त्यहीँबाट जन्मिन्छ 'उनीहरू'।
यी 'उनीहरू' सबै उस्तै लाग्छन्— उनीहरूको उद्देश्य एउटै हुन्छ! उनीहरूबाट खतरा आउन सक्छ! उनीहरूलाई विश्वास गर्न सकिँदैन!
जब कुनै समाजमा यस्ता वाक्यले पर्याप्त मानिसको मनमा ठाउँ बनाउन थाल्छन्, ठूलो सिद्धान्तबिनै हिंसा जन्मिन्छ। एउटा घटना पर्याप्त हुन्छ। सामाजिक सञ्जालमा फैलिने एउटा भिडिओ पर्याप्त हुन्छ। एउटा अफवाह पर्याप्त हुन्छ।
सामाजिक सञ्जालले यो ठाउँ आफै सिर्जना गरेको भने होइन। उसले पहिल्यै कमजोर हुँदै गएको सम्बन्धमाथि आफ्नो प्रभाव जमाएको हो। मानिसहरूबीच विश्वास कमजोर भएपछि बाहिरबाट आएका कथाहरू सजिलै स्वीकार हुन थाल्छन्। आफ्नो अनुभवले पुष्टि गर्न नसकेको संसारलाई हामी अरूले दिएको व्याख्याबाट बुझ्न थाल्छौं।
त्यसैले एउटा अफवाह शून्यमा फैलिँदैन, त्यसले पहिल्यै तयार मनोविज्ञान भेट्छ।
फेरि गणेशतिर फर्कौं। गणेश जम्मा पन्ध्र वर्षका थिए।
पन्ध्र वर्षको उमेरमा मानिसले संसारलाई पूर्ण रूपमा आफ्नै आँखाले हेर्न थालेको हुँदैन। उसले संसारलाई अरूले दिएको भाषाबाट बुझ्न सिकिरहेको हुन्छ। उसले आफू को हो भन्ने मात्र सिकिरहेको हुँदैन, अरू को हुन् भन्ने पनि सिकिरहेको हुन्छ।
कसलाई आफ्नो ठान्ने, कसलाई पराइ ठान्ने, कसको कुरा पत्याउने, कसको उपस्थितिबाट सावधान हुने, कुन अपमान व्यक्तिगत मान्ने र कुन अपमान आफ्नो समुदायमाथिको ठान्ने— यी कुरा औपचारिक कक्षामा मात्र सिकिँदैनन्। समाजले पनि सिकाउँछ।
मानिसलाई जीविका चलाउन सक्षम बनाउनु र जीवन बुझ्न सक्षम बनाउनु एउटै कुरा होइन।
त्यसैले शिक्षाको गहिरो काम ज्ञान दिनु मात्र होइन, मानिसलाई संसार हेर्ने तरिका दिनु पनि हो — केलाई प्रश्न गर्ने, केलाई विश्वास गर्ने, आफूभन्दा फरक मानिसलाई कसरी हेर्ने, आफ्नो समूहको भए पनि गल्तीलाई गल्ती भन्न सक्ने कि नसक्ने, आफूले विश्वास गरेको कुरा गलत हुन सक्छ भन्ने सम्भावनासँग बस्न सक्ने कि नसक्ने?
बच्चाले उसलाई प्रत्यक्ष रूपमा सिकाउन खोजेको कुरा मात्र सिक्दैन। हामी अरू मानिसबारे के भन्छौं, कसरी बोल्छौं भन्ने पनि सिक्छ। कसको पीडामा हामी रोकिन्छौं र कसको पीडा बेवास्ता गर्छौं भन्ने सिक्छ। कुन समुदायका मानिसलाई हामी सामान्यीकरण गर्छौं भन्ने सिक्छ। हामी रिसाउँदा प्रयोग गर्ने भाषा सिक्छ। हामी डराउँदा खोज्ने सहारा पनि सिक्छ।
हामीले उसलाई 'सबै मानिस बराबर हुन्' भनेर सिकाउन सक्छौं। तर हरेक दिन त्यसको उल्टो व्यवहार देखिरहेको छ भने, अन्ततः शब्दभन्दा व्यवहार विश्वास गर्नेछ।
बालबालिकाले हाम्रो उपदेशभन्दा बढी हाम्रो संसारको व्यावहारिक व्याकरण सिक्छन्।
गणेशलाई बुझ्ने प्रश्न फेरि त्यहीँ फर्किन्छ।
हामीलाई उनी किन त्यहाँ थिए भन्ने थाहा छैन। तर एउटा पन्ध्र वर्षको बालकलाई त्यहाँसम्म पुर्याउन सक्ने सामाजिक संसार कस्तो थियो? कुन कथा, कुन डर, कुन अपमान, कुन स्मृतिले उसको संसारलाई 'हामी' र 'उनीहरू' मा बाँड्न थालेको थियो?
तर आजको समस्या कसैले के सिक्यो भन्ने मात्र होइन। संसारलाई बुझ्न पाउने सूचना हाम्रो अगाडि कसरी आइरहेको छ भन्ने पनि हो।
पहिले घटना हुन्थ्यो, त्यसपछि मानिसहरू त्यसलाई बुझ्थे। अहिले घटना र त्यसको व्याख्याबीचको दुरी लगभग हराएको छ। घटना हुनासाथ भिडिओ आउँछ, भिडिओसँगै 'निष्कर्ष' आउँछ र तथ्य स्थापित हुनुअघि नै पक्ष बनिसकेको हुन्छ।
एउटै घटनालाई दुई समुदायले दुई फरक तरिकाले देख्न सक्छन्। एउटाले आक्रमण देख्छ, अर्कोले प्रतिशोध। एउटाले आत्मरक्षा देख्छ, अर्कोले उत्तेजना।
बिस्तारै हामी एउटै घटनामा असहमत मात्र हुँदैनौं, त्यसको अर्थ निर्धारण गर्ने अलग अलग संसारमा बस्न थाल्छौं।
सामाजिक सञ्जालले यो विभाजन तीव्र बनाउँछ।
समस्या सूचना फरक हुनु मात्र होइन। समस्या तब सुरू हुन्छ, जब फरक बुझाइ भएका मानिसहरूबीच सत्य जाँच्ने, विवाद सुल्झाउने र निष्पक्ष निर्णयमा पुग्ने साझा आधार नै कमजोर हुन्छ।
म तपाईंको विश्वाससँग असहमत हुन सक्छु। तपाईं मेरो निष्कर्षसँग असहमत हुन सक्नु हुन्छ। हामी एउटै घटनाको फरक अर्थ निकाल्न सक्छौं। तर अन्ततः हामी दुवै कुनै एउटै नियम, एउटै प्रक्रिया र कुनै एउटै संस्थातिर फर्किन सक्छौं भन्ने विश्वास हुनुपर्छ।
सभ्य समाजको रहस्य सहमति होइन। असहमतिको सुरक्षित व्यवस्थापन हो।
जब मानिसहरू एउटै कुरा देख्दैनन्, कसले सही भन्यो भन्ने तत्काल तय गर्न नसके पनि त्यसको निष्पक्ष छानबिन हुने विश्वास हुनुपर्छ। जब दुई समुदायको स्वार्थ ठोक्किन्छ, कसले ठूलो भीड जम्मा गर्न सक्छ भन्ने होइन, कसको पक्षमा नियम उभिन्छ भन्ने निर्णायक हुनुपर्छ।
यहीँनिर राज्यको वास्तविक अर्थ सुरू हुन्छ।
राज्य कर उठाउने, सडक बनाउने वा प्रहरी परिचालन गर्ने संरचना मात्र होइन। राज्य भनेको हामीले एकअर्कामाथि प्रयोग गर्न नपाउने शक्ति, न्याय र हिंसालाई संस्थागत नियमभित्र बाँधेर राख्ने सामूहिक व्यवस्था हो।
त्यसैले समाजमा 'हामी' कमजोर हुँदै जाँदा राज्यको भूमिका अझ महत्त्वपूर्ण हुन्छ।
राज्यले गोली चलाएको क्षणलाई मात्र उसको असफलता मान्ने हो भने हामी राज्यलाई धेरै सानो अर्थमा बुझिरहेका हुन्छौं। शासनको असफलता प्रायः गोली चल्नुभन्दा धेरै अगाडि सुरू भइसकेको हुन्छ। तब, जब नागरिकले आफ्ना असहमति, असुरक्षा र अन्यायको समाधानका लागि संस्थाभन्दा भीडलाई प्रभावकारी ठान्न थाल्छन्।
वैधता भनेको मानिसहरूले राज्यलाई मनपराउनु मात्र होइन। वैधता भनेको राज्यले आफू र आफ्ना प्रतिद्वन्द्वी दुवैलाई समान नियमभित्र राख्न सक्छ भन्ने विश्वास हो।
त्यसैले संकटको समयमा राज्यको सबभन्दा ठूलो शक्ति उसको हतियार होइन, उसको निष्पक्षतामाथिको विश्वास हो।
यदि एउटा समुदायलाई राज्य आफ्नो विरूद्ध छ जस्तो लाग्छ र अर्को समुदायलाई आफ्नो पक्षमा छ जस्तो लाग्छ भने, राज्य बीचमै उभिएको देखिए पनि सामाजिक रूपमा ऊ बीचमा रहँदैन। उसको हरेक निर्णय अर्को पक्षका लागि निष्पक्ष नभएको प्रमाण बन्न सक्छ।
राज्यले हिंसा रोक्न सक्छ तर हिंसाको अर्थबारे दुवै पक्षको विश्वास पुनः स्थापना गर्न सकेन भने, अर्को विस्फोटसम्मको समय किनेको मात्र हुन सक्छ।
त्यसैले अहिलेको प्रश्न राज्यले दंगा किन रोक्न सकेन'मा सीमित हुनु हुँदैन।
हामीले सोध्नुपर्छ — राज्यले नागरिकहरूलाई आफ्ना अधिकार, सुरक्षा र न्यायका लागि, आफ्नो समुदायको शक्ति प्रदर्शन गर्न सडकमा आउनुपर्दैन भन्ने विश्वास किन दिन सकेन?
यो एक साताका घटनाक्रमले अर्को असहज प्रश्न पनि निम्त्याएको छ— कर्फ्युबीच, राज्यको सुरक्षा संयन्त्रदेखि मानिसहरू किन पछि हटिरहेका छैनन्?
समस्या सेना वा प्रहरीसँग डर नलाग्नु होइन, वैधता हराउनु हो। र, यी फरक कुरा हुन्। जब राज्यको निष्पक्षतामाथि विश्वास हराउँछ, हतियारधारी सुरक्षा बल पनि नागरिकको चेतनामा राज्यको वैध शक्ति नभएर अर्को पक्षजस्तो देखिन सक्छ।
त्यसपछि सेनासँग डराउने कि नडराउने भन्नेभन्दा ठूलो कुरा हुन्छ— कतै राज्यले आफ्नो शक्ति प्रयोग नगरी पनि नागरिकलाई रोक्न सक्ने नैतिक र संस्थागत अधिकार गुमाइसकेको त छैन?
साम्प्रदायिक हिंसा कसरी रोक्ने भन्ने प्रश्नको जबाफ सडकमा कति प्रहरी राख्ने भन्ने कुराले दिँदैन। मानिसहरूलाई फेरि एकअर्काको जीवनका लागि आवश्यक कसरी बनाउने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ— कसरी अर्कोको समृद्धि मेरो हार नहोस्! कसरी अर्कोको पहिचान मेरो असुरक्षा नहोस्! कसरी अर्कोको पीडा मेरो पक्षको विरूद्धको आरोप नबनोस्!
राज्य कमजोर हुँदैमा समाज स्वतः हिंस्रक हुनुपर्छ भन्ने चाहिँ होइन। राज्यभन्दा बाहिर पनि एउटा सामाजिक शक्ति हुन्छ, जसले रिसलाई हिंसा बन्नुअघि रोक्छ। छिमेकीले सम्झाउन सक्छ, परिवारले रोक्न सक्छ, सामाजिक वा धार्मिक अगुवाले हस्तक्षेप गर्न सक्छ।
यसका लागि सम्बन्ध मात्र भएर पुग्दैन। त्यसलाई बाँधेर राख्ने एउटा साझा कल्पना चाहिन्छ— हामी फरक भए पनि हाम्रो भविष्य अन्ततः एउटै हो भन्ने कल्पना।
यहीँनेर, राजनीतिक इमानदारिताको प्रश्न आउँछ।
लोकतन्त्रमा राजनीतिक दलहरूलाई एकअर्कासँग असहमत हुने, प्रतिस्पर्धा गर्ने र एकअर्कालाई चुनौती दिने अधिकार हुन्छ। तर उनीहरूले नागरिकलाई यस्तो संसारमा पुर्याउनु हुँदैन, जहाँ अर्को पक्षको हारलाई आफ्नो अस्तित्वको जीत र अर्को समुदायको असुरक्षालाई आफ्नो राजनीतिक अवसर ठान्न थालियोस्।
राजनीति केवल सत्ता प्राप्त गर्ने प्रतिस्पर्धा होइन, एउटै देशमा भोलि पनि सँगै बस्नुपर्ने मानिसहरूबीच भविष्यको सम्झौता पनि हो।
लोकतन्त्रले हामीलाई एउटै विचारमा सहमत हुन भनेको होइन। यसले हामीलाई एउटै राजनीतिक भविष्य बाँड्न तयार हुन भनेको हो।
हामी एकअर्कालाई मन नपराउन सक्छौं, एकअर्काका विचार गलत भन्न सक्छौं। तर एकअर्काको अस्तित्व नै आफ्नो अस्तित्वसँग असंगत ठान्न थाल्यौं भने लोकतन्त्रको त्यो आधार नै कमजोर हुन्छ।
साझा नागरिकता भनेको अन्ततः साझा विश्वासको नाम हो — मेरो भविष्य सुरक्षित हुन तपाईं हराउनुपर्दैन र तपाईंको भविष्य सुरक्षित हुन म हराउनुपर्दैन।
यो विश्वास नागरिकले नागरिकलाई मात्र दिने होइन, राजनीतिक नेतृत्वले पनि जोगाउनुपर्छ।
किनकि जब राजनीतिले प्रत्येक असन्तोषलाई पहिचानको युद्ध बनाउँछ, प्रत्येक विवादलाई आफ्नो पक्ष र अर्को पक्षमा विभाजित गर्छ, तब समाजमा पहिल्यैदेखि रहेको दुरी 'राजनीतिक शक्ति' मा बदलिन्छ। अनि 'उनीहरू' सामाजिक पहिचान मात्र नरहेर राजनीतिक हतियार बन्न पुग्छ।
त्यसैले हामीले 'उनीहरू' लाई हराउने उपाय खोज्नु हुँदैन।
हामीले फेरि यस्तो समाज निर्माण गर्नुपर्छ, जहाँ 'उनीहरू' भनेर हेर्नुको अर्थ नै नबनोस्।
गणेश यादवझैं कसैले पनि आफ्नो संघर्षभन्दा सामुदायिक संघर्षलाई धेरै ठूलो प्रश्न ठान्ने समाज बन्नु हुँदैन।
समाजले आफ्ना बालबालिकालाई सुरक्षित सडकसँगै त्यसमा हिँडिरहँदा कसलाई आफ्नो र कसलाई पराइ देख्ने भन्ने संसार पनि दिनुपर्छ। गणेशको उमेरको बच्चाले शत्रुको कल्पना होइन, भविष्यको कल्पना गर्नुपर्छ। उसले पक्ष होइन, साथी खोज्नुपर्छ। कसैका विरूद्ध उभिन होइन, प्रश्न गर्न सिक्नुपर्छ।
त्यसैले गणेशको मृत्युले हामीलाई शोक गर्न बाध्य बनाउनु पर्याप्त छैन। यसले हामीलाई आफूलाई हेर्न बाध्य बनाउनुपर्छ। पन्ध्र वर्षको एक बालकलाई एउटा साम्प्रदायिक झडपमा ज्यान गुमाएको किशोरका रूपमा मात्र सम्झिने होइन, उसलाई त्यहाँसम्म पुर्याउने समाजको ऐनाका रूपमा हेर्नुपर्छ।
(लेखक प्रशान्तराज कार्की त्रिभुवन विश्वविद्यालयको एमबिए कार्यक्रममा 'एआई फर बिजनेस' अध्यापन गर्छन्। र, प्रविधिलाई व्यवस्थापन तथा रणनीतिक निर्णयसँग जोड्ने विषयमा रूचि राख्छन्।
एक्स- @TweetPRK