सन् १९९१–९२ मा भारतको दूरदर्शनबाट प्रसारण भएको 'चाणक्य' टेलिशृंखलामा एउटा दृश्य छ।
भारतका राज्यहरू आपसी कलहमा अल्झिरहेका छन्। उता सिकन्दर (अलेक्जेन्डर) को सेना आक्रमण गर्न सीमासम्म आइपुगेको छ। राष्ट्र गम्भीर संकटको संघारमा छ।
यही चिन्ताले व्याकुल तक्षशीलाका आचार्य विष्णुगुप्त चाणक्य मगधका शक्तिशाली राजा धनानन्दको दरबार पुग्छन्। उनको अपेक्षा हुन्छ, राजाले परिस्थितिको गम्भीरता बुझ्ने छन् र राष्ट्रिय एकताको नेतृत्व गर्ने छन्।
परिस्थिति ठिक उल्टो हुन्छ। धनानन्दले चाणक्यको अपमान गर्छन्।
अपमानको त्यो क्षणमा क्रोधित भएर चाणक्य भन्छन्, 'शिक्षक कभी साधारण नहीँ होता। प्रलय और निर्माण दोनोँ उसकी गोद में पलते हैं।' (शिक्षक कहिल्यै साधारण हुँदैन। विनाश र निर्माण दुवै उसको काखमा हुर्किन्छन्।)
यो केवल अपमानित व्यक्तिको आवेग थिएन। यो एउटा शिक्षकको आफ्नो शक्तिप्रतिको अटल विश्वासको उदघोष थियो।
केही वर्षपछि तिनै अपमानित शिक्षकले एउटा सामान्य बालक चन्द्रगुप्तलाई शिक्षा, दृष्टि र नेतृत्व दिन्छन्। अन्ततः चन्द्रगुप्तले मगधको सिंहासन सम्हाल्छन् र मौर्य साम्राज्यको स्थापना गर्छन्।
यहाँ चाणक्यले कुनै सेना बनाएनन्। एउटा मानिस बनाए। अनि, त्यो मानिसले इतिहास बदल्यो।
चाणक्यको उक्त वाक्य र कामले एउटा गहिरो सत्य देखाउँछ, शिक्षकहरू शक्तिशाली हुन्छन्।
आज पनि बालबालिकाहरू तीन–चार वर्षको उमेरदेखि उच्च शिक्षासम्म पुग्दा हजारौं घन्टा विभिन्न शिक्षकका साथमा समय बिताउँछन्।
उनीहरूले शिक्षकबाट अक्षर र अंक सिक्न सुरू गर्छन्। शब्द र अनुच्छेद लेख्न सिक्छन्। आफ्नो कल्पनालाई चित्रमा उतार्न सिक्छन्। सोच्न, प्रश्न गर्न, हिसाब गर्न र जबाफ दिन सिक्छन्। अरूलाई गर्ने व्यवहार र समाजलाई हेर्ने दृष्टिकोण सिक्छन्।
सरसर्ती हेर्दा शिक्षकले पाठ्यपुस्तक मात्र पढाएका हुँदैनन्, भविष्यका नागरिक पनि तयार गरिरहेका हुन्छन्।
त्यसैले पनि हामी शिक्षकबाट असाधारण अपेक्षा राख्छौं।
हामी चाहन्छौं, उनीहरूले विद्यार्थीलाई उत्कृष्ट नतिजा दिलाऊन्। नैतिकता सिकाऊन्। लोकतान्त्रिक संस्कार विकास गरून्। वैज्ञानिक सोच निर्माण गरून्। सिर्जनशीलता प्रस्फुटित गरिदिऊन्।
वातावरणीय चेतना फैलाऊन्। जीवनका मूल्य सिकाऊन्। खुसी भएर बाँच्न सिकाऊन्। समाज बदलून्।
अर्थात्, हामी शिक्षकबाट लगभग त्यही अपेक्षा गर्छौं, जुन कुनै समय गुरूबाट गरिन्थ्यो।
पूर्वीय दर्शनमा गुरू बन्नु सजिलो थिएन। गुरू केवल धेरै पुस्तक पढेको व्यक्ति थिएन। वर्षौंको अध्ययन, तपस्या, अनुशासन, आत्मसंयम, चिन्तन र जीवनका धेरै अनुभवपछि मात्र समाजले कसैलाई गुरूको स्थान दिन्थ्यो।
हाम्रो जीवनकालमा गुरू–शिष्य परम्परामा आधारित मूलधारको शैक्षिक प्रणाली अस्तित्वमा छैन। त्यसैले त्यसभित्रका जटिलता, सीमितता र सामर्थ्यहरूलाई सायद हामी सर्वांगीण रूपमा देख्ने अवस्थामा छैनौं।
तर इतिहासका केही दस्तावेज पढ्दा महसुस हुन्छ — गुरू हुनु पेसा मात्र थिएन, त्यो एउटा कठिन साधना थियो।
आजका शिक्षकहरू त्यो अर्थमा गुरू नहोलान्। तर समाज र सरकारले उनीहरूमाथि राखेको अपेक्षा कम छैन।
हामी शिक्षकहरूबाट असाधारण परिणाम चाहन्छौं।
शिक्षाका राष्ट्रिय उद्देश्यहरू हेरौं। विद्यार्थीहरूलाई असल मानव र चेतनशील नागरिक बनाउने अहम् जिम्मेवारी शिक्षकलाई सुम्पिएको देख्छौं।
समाजमा गएर कसैलाई शिक्षकको भूमिका कस्तो हुनुपर्छ भनेर सोधौं। हामीले अनगिन्ती अपेक्षाहरू सुन्न पाउँछौं।
तर यहीँबाट एउटा गम्भीर विरोधाभास सुरू हुन्छ।
यति धेरै अपेक्षा गरिएको शिक्षकका लागि हामीले काम गर्ने वातावरण चाहिँ कस्तो बनाएको छौं?
सायद हामीलाई लाग्दो हो, शिक्षकलाई तलब दिइएकै छ, शिक्षकले सबै आफै गर्नुपर्छ। आफैले उत्कृष्टता हासिल गर्नुपर्छ।
हामीले केही शिक्षक देखेका छौं, जो कठिन परिस्थितिसँग डटेर उदाहरणीय बनेका छन्। विद्यार्थीहरूको जीवन परिवर्तन गरेका छन्। उनीहरू आफ्नै आत्मप्रेरणा, परिश्रम र प्रतिबद्धताले असाधारण बनेका छन्।
ती अपवाद हुन्।
कुनै पनि देशको शिक्षा प्रणाली अपवादका कथामाथि टिक्न सक्दैन। यदि केही असाधारण शिक्षकको उदाहरण देखाएर सम्पूर्ण शिक्षक समुदायसँग त्यही स्तरको परिणाम अपेक्षा गरिन्छ भने त्यो न्यायपूर्ण हुँदैन।
बरू आजको सबभन्दा महत्त्वपूर्ण प्रश्न यो हो — के हामीले साधारण शिक्षकलाई महान र अब्बल बन्ने वातावरण निर्माण गरेका छौं?
भर्खरै विश्वकप फुटबल सकियो। यस पटक पनि अर्जेन्टिनाका खेलाडी लियोनल मेसी चर्चामा रहे। धेरैले उनलाई महान खेलाडी भन्छन्।
तर मेसीको महानता उनको प्रतिभा, मेहनत वा फुटबलप्रतिको माया र लगावबाट मात्र बनेको होइन। उनी हुर्किएको फुटबल प्रणाली, प्रशिक्षकहरू, सहकर्मीहरू, निरन्तर अभ्यासको संस्कृति र सिकाइको वातावरणले पनि उनको यात्रालाई आकार दिएको हो।
एकछिन कल्पना गरौं, यदि तिनै मेसी आफ्नो बाल्यकालदेखि कमजोर पूर्वाधार, सीमित प्रशिक्षण र अव्यवस्थित प्रतियोगितात्मक संरचनामा हुर्किएका भए आजको जस्तै प्रदर्शन गर्न सक्थे?
जबाफ सरल छ, सक्दैन थिए।
ती प्रतिभावान मेसीलाई प्रशिक्षण, निरन्तर सिकाइको अवसर र सहयोग नभएको भए सायद संसारले आजको मेसी देख्ने थिएन।
व्यक्तिगत प्रतिभा महत्त्वपूर्ण हुन्छ, तर प्रतिभा फस्टाउन अनुकूल वातावरण अझ महत्त्वपूर्ण हुन्छ।
ठिक यही कुरा शिक्षकमा पनि लागू हुन्छ।
प्रतिभाशाली र समर्पित शिक्षकलाई पनि सबल र ऊर्जाशील बनाउने प्रणाली चाहिन्छ, सहयोग चाहिन्छ र विकासको अवसर चाहिन्छ।
आज हामी पाठ्यक्रम, परीक्षा प्रणाली र विद्यालय संरचनामा परिवर्तनको कुरा गर्छौं। हाम्रो नीतिगत र सामाजिक संवादमा एउटा अहम कुरा भने बारम्बार छुटिरहन्छ — शिक्षकको अवस्था बदल्ने कुरा। शिक्षकलाई उत्प्रेरणा दिने, मनोबल उकास्ने र क्षमता निरन्तर बढाउने कुरा।
सहज र पर्याप्त भौतिक संरचना अत्यावश्यक छ। तर भौतिक संरचना, नीति वा पाठ्यक्रमले आफै उत्कृष्ट शिक्षाको सुनिश्चितता गर्दैनन्।
शिक्षा शिक्षक र विद्यार्थीबीचको सम्बन्धबाट सिर्जित हुन्छ। शिक्षकले निरन्तर आफ्नो ज्ञान, सीप र मनोवृत्ति सुदृढ गर्दै जाँदा शिक्षा प्रभावकारी हुँदै जान्छ।
हामीले जति नै आधुनिक र नयाँ पाठ्यक्रम बनाए पनि शिक्षक तयार भएनन् भने त्यो असफल हुन्छ। पाठ्यक्रमलाई जीवन दिने ऊर्जाशील र क्षमतावान शिक्षकले नै हो।
तर हाम्रो नीतिगत दिशा र सार्वजनिक धारणा शिक्षकको पेसागत विकास गराउने भन्दा पनि शिक्षकलाई नियन्त्रण गर्ने र आरोप लाउने सोचबाट निर्देशित देखिन्छ।
शिक्षामा देखिएका अनेक समस्याका लागि हामी शिक्षकमाथि दोष थुपार्छौं।
यो केही हदसम्म सत्य हो। आफूले पढाएका विद्यार्थी असफल हुनु शिक्षकको पनि असफलता हो। तर यो पूर्ण सत्य पनि होइन।
शिक्षकलाई मात्र आरोप लगाउँदै गर्दा हामी अनेक संरचनागत समस्यालाई नजरअन्दाज गरिरहेका हुन्छौं। शिक्षकलाई दोष लगाएर मात्र समस्याको दीर्घकालीन समाधान हुँदैन।
बरू हामीले जिज्ञासु भएर खोतल्नुपर्छ, शिक्षकहरू किन असफल भए? उनीहरूमा पर्याप्त सीपको अभाव थियो कि? काम गर्ने उत्प्रेरणा कमजोर थियो कि? उनीहरू गैरजिम्मेवार नै भएका हुन् कि?
कुनै समस्यामा अड्किएर बसेका छन् कि? विद्यालयको संरचनामै केही समस्या छ कि? विद्यालयमा सबल नेतृत्व र व्यवस्थापन नभएर हो कि? वा, त्यसका पछाडि अन्य सामाजिक, सांस्कृतिक वा आर्थिक कारण छन् कि?
अनि, अर्को महत्वपूर्ण सवाल हो — शिक्षक तयार हुने हाम्रो शैक्षिक वातावरण कस्तो छ?
एकछिन हाम्रो सार्वजनिक विद्यालयमा शिक्षक बन्ने यात्रालाई हेरौं।
शिक्षक बन्न चाहनेहरू कक्षा ११–१२, बिएड वा एमएड पढ्छन्। शिक्षकको लाइसेन्स र शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गर्छन्।
त्यसपछि उनीहरू विद्यालयमा नियुक्त हुन्छन्। अनि, सयौं वा हजारौं विद्यार्थीको भविष्यसँग जोडिन्छन्।
तर के हाम्रो शिक्षक शिक्षा प्रणालीले उनीहरूलाई त्यसका लागि पर्याप्त रूपमा तयार गरेको छ?
के आफूले अध्ययन गरेको शैक्षिक संस्थामा उनीहरूले उत्कृष्ट शिक्षण देखेका छन्? प्रयोगात्मक तर्फको अभ्यास शिक्षण उनीहरूका लागि प्रभावकारी भएको छ? के विद्यालयमा प्रवेश गर्नु अगाडि उनीहरूले प्रभावकारी प्रशिक्षण पाउँछन्? विद्यालय प्रवेश गरेपछि नियमित सहयोग र मार्गदर्शन पाउँछन्?
के कोही उनीहरूको कक्षाकोठामा निरीक्षण गर्न होइन, सहयोग गर्न आउँछन्? उनीहरूले आफ्ना कठिनाइबारे खुलेर छलफल गर्ने सुरक्षित वातावरण पाउँछन्?
के उनीहरूले अब्बल किसिमको सिकाइ–उन्मुख पेसागत तालिमहरू नियमित पाउँछन्? उनीहरूलाई नियमित रूपमा कोचिङ वा मेन्टरिङ गर्ने व्यवस्था छ?
यी प्रश्नहरूको उत्तर अधिकांश अवस्थामा सहज छैनन्।
शिक्षक नियुक्त भएपछि हामी उनीहरूलाई प्रायः एक्लै छाडिदिन्छौं। जिम्मेवारी दिन्छौं, तर साथ दिँदैनौं।
अपेक्षा बढाउँछौं, आलोचना गर्छौं, तर क्षमता विकासका अवसर सीमित हुन्छन्।
कानुनी संयन्त्र नभएको होइन। प्रधानाध्यापक छन्, पालिकाका शिक्षा अधिकृतहरू छन्, स्रोत व्यक्तिहरू छन्। केही समयदेखि मेन्टरिङको व्यवस्था छ। पेसागत तालिमको अस्तित्व छ।
यहाँ प्रश्न छ — के यो संयन्त्र प्रभावकारी छ? पर्याप्त छ? प्रशासनिक औपचारिकतामा मात्र सीमित छ कि शिक्षकलाई साँच्चिकै सहयोग गर्ने सोचबाट निर्देशित छ?
हामी शिक्षकका सवाल र शिक्षकसँग सम्बन्धित समस्याहरूलाई कसरी लिन्छौं?
एउटा उदाहरण हेरौं।
बेला बेला शिक्षकहरूले विद्यार्थीलाई कुटपिट गरेको भिडिओ सार्वजनिक हुन्छ। सामाजिक सञ्जालभरि आक्रोश फैलिन्छ। आक्रोश स्वाभाविक हो। बालबालिकामाथिको हिंसाको कुनै औचित्य छैन। त्यो हिंसा गलत हो। कानुनले पनि त्यसलाई निषेध गरेको छ। त्यसमा कुनै विवाद छैन।
त्यस्तोमा शिक्षकले कानुनी सजाय पाउनैपर्छ।
तर समस्या त्यो मात्र होइन।
एउटा भिडिओले सम्पूर्ण कथा भन्दैन, किन कुनै शिक्षक यस्तो व्यवहारसम्म पुग्छ?
कारण फरक फरक हुन सक्छन्।
सायद उसले आफ्नै बाल्यकालमा हिंसात्मक शिक्षण भोगेको थियो। त्यसको आघात आजसम्म बोकेर हिँडिरहेको हुन सक्छ।
सायद उसलाई भौतिक सजाय नदिई विद्यार्थीलाई सिकाउन सकिन्छ जस्तो विश्वास नै लाग्दैन। किनकि, उसलाई अनुशासन कायम गर्ने वैकल्पिक उपाय थाहा छैन। थाहा भए पनि कक्षामा प्रयोगमा ल्याउन कठिन भइरहेको छ।
सायद अत्यधिक कार्यभार, व्यक्तिगत तनाव वा पेसागत एक्लोपनले उसको निर्णय क्षमतामा असर गरिरहेको छ।
सायद उसले आफ्नो रिस नियन्त्रण गर्न सकिरहेको छैन। रिस कसरी नियन्त्रण गर्ने, उसलाई थाहा छैन।
वा, सायद त्यो शिक्षक वास्तवमै गैरजिम्मेवार थियो। उसलाई विद्यार्थीहरूबारे खासै सरोकार र चिन्ता छैन।
यी सबै सम्भावना फरक फरक हुन्। त्यसैले प्रत्येक घटनाको कानुनी र नैतिक जिम्मेवारी पनि फरक हुन्छ।
तर एउटा कुरा स्पष्ट छ, केवल दण्डले राम्रो शिक्षक निर्माण गर्दैन। एउटा शिक्षकलाई सार्वजनिक रूपमा खलनायक बनाएर मात्र दीर्घकालीन रूपमा समग्र समस्याको समाधान हुँदैन।
दण्डले गल्ती रोक्न सक्छ तर उत्कृष्टता निर्माण गर्न सक्दैन। उत्कृष्टता निर्माण गर्न सिकाइ चाहिन्छ। सहयोग चाहिन्छ, विश्वास चाहिन्छ। शारीरिक र मानसिक यातना नदेऊ भनेर कानुनमा लेखेर मात्र पुग्दैन, त्यसको विकल्पमा पर्याप्त प्रशिक्षण र सहयोग चाहिन्छ।
आजका कति शिक्षकहरू यस्तो वातावरणमा अध्ययन गरेका हुन सक्छन्, जति बेला भौतिक सजाय सामान्य थियो। त्यो सोच बदल्न शिक्षकलाई सहयोग चाहिन्छ, विधिहरू चाहिन्छ।
संसारका उत्कृष्ट शिक्षा प्रणालीले शिक्षकलाई धेरै नियन्त्रण गर्दैनन्, विकास गर्छन्। जिम्मेवारीबोध गराउँछन्, उत्तरदायी बनाउँछन् तर स्वायत्तता पनि दिन्छन्। ती प्रणालीहरूले शिक्षकबाट उच्च अपेक्षा गर्छन्, तर त्यही स्तरको सहयोग पनि प्रदान गर्छन्।
शिक्षक पनि मानिस हुन्। उनीहरू पनि सिक्छन्। गल्ती गर्छन्। अनुभवबाट परिपक्व बन्छन्। उनीहरूलाई पनि कहिलेकाहीँ निराशा, तनाव र असफलताको अनुभव हुन्छ। उनीहरू पनि पेसागत र व्यक्तिगत समस्याहरूमा अल्झिन्छन्।
उनीहरूले साना बालबालिकादेखि वयस्कसँग विद्रोह गर्ने उमेरका किशोर किशोरीहरूलाई दैनिक पढाउनुपर्छ। उमेर समूह अनुसार विद्यार्थीहरूको छुट्टै मनोविज्ञान हुन्छ, व्यवहार हुन्छ। त्यसभित्र फरक व्यक्ति, फरक कक्षा, फरक समूहको आफ्नै आवश्यकताहरू हुन्छन्।
सबैको मनोविज्ञान बुझेर सिकाइमा सामेल गराउनुपर्ने यो काम जटिल छ। शिक्षकलाई अनेक रणनीति चाहिन्छ, हरेक कक्षामा फरक फरक पाठ योजनाहरू चाहिन्छ, कक्षा व्यवस्थापन गर्ने कला चाहिन्छ।
त्यसैले उनीहरूलाई निरन्तर सहयोग चाहिन्छ। सहकार्य चाहिन्छ।
उनीहरूलाई साथ दिने मानिस चाहिन्छ। पूर्वाग्रह नराखी सुनिदिने कोही चाहिन्छ। समस्या समाधान गर्न सहकार्य गर्ने साथी चाहिन्छ। हौसला दिने सहकर्मी चाहिन्छ।
मैले 'टिच फर नेपाल' को प्रशिक्षण विभागमा काम गर्दा यसको प्रभाव नजिकबाट देखेको छु।
अभ्यास शिक्षणको सुरूआती दिनमा केही शिक्षकलाई देख्दा लाग्थ्यो — के यी शिक्षक बन्न सक्छन् र?
उनीहरूमा आत्मविश्वास कम थियो। विषय स्पष्ट रूपमा प्रस्तुत गर्न सक्दैनथे। विद्यार्थीलाई सक्रिय बनाउने सीप थिएन। समूहगत सिकाइ सञ्चालन गर्न हिचकिचाउँथे।
तर मैले सयौं शिक्षक देखेँ, जो निरन्तर प्रशिक्षण, कोचिङ, मेन्टरिङ, अभ्यास, प्रतिक्रिया र आत्मवलोकनको अभ्यासपछि एक वर्षमै पूर्णतः फरक बनेका थिए।
उनीहरूले आफ्ना विद्यालयमा उल्लेखनीय सिकाइ उपलब्धि हासिल गरेका थिए। विद्यार्थीका प्रिय शिक्षक बनेका थिए। धेरैले आफूले कल्पना नगरेको स्तरको नेतृत्व देखाएका थिए।
वास्तवमै सबै अब्बल शिक्षक आफै जन्मिँदैनन्, बनाइन्छन्।
चाणक्यले चन्द्रगुप्तभित्र सम्भावना देखे र त्यसलाई नेतृत्वमा रूपान्तरण गरे।
आजका शिक्षकहरूले पनि सम्भवतः हरेक विद्यार्थीभित्र भविष्य देखिरहेका हुन्छन्। तर शिक्षक आफै पनि निरन्तर सिक्ने, बढ्ने र उत्कृष्ट बन्ने अवसर पाए मात्र उनीहरूले अरूको भविष्य निर्माण गर्न सक्छन्।
त्यसैले महान शिक्षक खोज्ने होइन, महान शिक्षक बनाउने प्रणाली निर्माण गर्नु आजको आवश्यकता हो।
एउटा सक्षम शिक्षकले एउटा कक्षा मात्र बदल्दैन, उसले एउटा पुस्ताको भविष्य बदल्छ।
सबैलाई गुरू पूर्णिमाको शुभकामना।
***
(लेखक विजयमणि पौडेल बेलायत सरकारको चेभनिङ छात्रवृत्ति अन्तर्गत हाल युनिभर्सिटी अफ एक्सेटरमा शैक्षिक नेतृत्व र व्यवस्थापन अध्ययन गर्दै छन्।)
एक्स (ट्वीटर)- @mani_bijaya