झापामा सशस्त्र प्रहरी सीमा सुरक्षा बलको १२ औं बोर्डर आउट पोस्ट स्थापना भएको छ। पछिल्लोपटक भद्रपुर भन्सार सुरक्षा पोष्ट स्थापना भएपछि बोर्डर आउट पोष्टको संख्या १२ पुगेको हो।
भद्रपुर ५ स्थित मेची किनारको सार्वजनिक मलामी विश्राम भवनलाई तत्काल सदुपयोग गर्ने गरी बोर्डर आउट पोस्टको स्थापना गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।
अस्थायी रूपमा स्थापना गरिएको बिओपीको एक कार्यक्रमका बीच सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनीका डिआइजी वंशीराज दाहाल र झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आइतबार संयुक्त रूपमा उद्घाटन गरे।
झापामा यस वर्ष मात्र पाठामारी, ज्यामिरगढी र भद्रपुर गरी तीन वटा नयाँ बिओपी स्थापना भइसकेको डिआइजी दाहालले बताए।
दाहालका अनुसार हाल देशभर ११४ वटा बिओपी छन्। सरकारको सीमा सुरक्षा योजना बमोजिम यस आर्थिक वर्षमा थप ११४ वटा बिओपी स्थापना गरी २२१ वटा पुर्याउने लक्ष्य रहेको उनले सेतोपाटीलाई जानकारी दिए।
डिआइजी दाहालले भने, ‘प्रदेश नम्बर एकमा ५० वटा बिओपी पुर्याउने लक्ष्य छ। हालसम्म प्रदेश एकमा ४२ वटा बिओपी स्थापना भइसकेका छन्, भने ८ वटा बिओपी स्थापना गर्ने क्रममा रहेको छ।’
त्यस्तै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले १४४ दशमलव २ किलोमिटर जिल्लाको खुल्ला सीमाबाट हुने आपराधिक क्रियाकलाप, अतिक्रमण, चोरी निकासी जस्ता कार्य रोक्न स्थापना स्थापना भएका बिओपीले सीमा सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
जिल्लामा सशस्त्र प्रहरीले बाहुनडाँगी, काँकडभिट्टा, पृथ्वीनगर, केचना, घेरावारि, भागडुब्बा, कुञ्जीवारि, गौरीगञ्ज, टाघनडुब्बा, पाठामारी, ज्यामिरगढी र भद्रपुरमा बिओपी स्थापना गरिसकेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाका एसपी रमेशकुमार पाण्डेले जानकारी दिए।
तिरिङ, नकलबन्दा, सतीघट्टा, महेशपुर, पन्थ पाडा र गौरदाहको आँपगाछीमा बिओपी स्थापनाका लागि प्रक्रिया अघि बढिसकेको उनले बताए।
भद्रपुर स्थापना गरिएको अस्थायी बिओपीलाई स्थायित्व दिनलाई मेची पुल पारी भद्रपुर नगरपालिका कार्यालयले एक बिगाहा जग्गा दिने निर्णय गरिसकेको र त्यसको प्रक्रिया सुरु भइसकेको बिओपी भद्रपुरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक विभुराज दाहालले बताए।
बिओपी स्थापना भएसँगै भद्रपुर भन्सार तथा सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी गणबाटै आउनु पर्ने बाध्यता समेत टरेको छ।