जेठ २८ गते, बुधवारको दिन थियो। पूर्वी एसिया क्षेत्रमा बलियो न्यून चापीय क्षेत्र बनेकाले मनसुनी वायु नेपालको कोशीबाट उता सोहोरिएको खबरहरू अनलाइनमा आइरहेको थियो। टन्टलापुर घामले गर्मी पनि उखुमै थियो, पानी पर्ने मनसुन उतै फर्किएपछि काठमाडौँ पनि अझै तराईको गर्मी जस्तो हुने भन्ने लागिरहेको थियो। तर साँझपखको ६ बजे अफिसबाट घरसम्म पुग्दा नपुग्दै गर्मी ओझेल परेर सिमसिम पानीले मौसमलाई शीतलता प्रदान गर्यो।
ए! अनलाइनमा आएका खबरहरू त झुट्टा भए भन्ने लाग्यो। अफिसबाट घर फर्किएपछि मोटरसाइकलको आवाजले घरको गेटमा नपुग्दै तल गेटमै रोकेर छोराले ‘बाबा हेर्नु त’ भन्यो। हातमा एउटा फुटेको क्यालकुलेटर देखाउँदै ‘बाबा! बाबा! यहाँ त म्याग्नेट (चुम्बक) रहेछ नि हेर्नु त! मसँग अब ४ ओटा म्याग्नेट भयो नि बाबा’ खुसीले उफ्रिएर देखाउँदै भन्दै थियो।
फुटेको क्यालकुलेटर देखेपछि ठुलो स्वरमा ‘किन फुटायौ बाबाको क्यालकुलेटर?’ मैले छोरा शुभवलाई सोधेँ।
‘जे चाप्यो त्यही नम्बर कसरी आउँछ भनेर,’ उसको सादा उत्तर आयो।
‘अब फुटाएपछि नम्बर आयो त छोरा?’
‘अब त मोबाइलमा क्यालकुलेटर छ, त्यहाँ आइहाल्छ नि! किन चाहियो यस्तो पुरानो क्यालकुलेटर बाबा?’
त्यो फुटेको क्यालकुलेटर एकटकले हेरेँ। त्यो कुनै सामान्य क्यालकुलेटर थिएन। त्यो त मेरो बुवाको सपना, संघर्ष र स्नेहको प्रतीक थियो। तर आज त्यो फुटिसकेको थियो। मनमा विगतको पुरानो घडी निरन्तर घुमिरह्यो।
छोराले त्यो क्यालकुलेटर फुटाएर आफ्नो गर्विलो काम देखाएपछि मेरो मनमा छोराको त्यो सरल प्रश्नले मलाई विगतको ढोका ठोकेर खोलिदियो। मन एकाएक त्यो समयको कालो सेतो यादमा डुब्यो जहाँ बुवा मुगलान अर्थात् भारतको कलकत्तामा पसिना बगाइरहनु भएको थियो र हामी गाउँमा हजुरआमा, आमा, भाइ र म गाउँको सुख-दुःख, सरल-कठिन बराबरको जीवन बिताइरहेका थियौँ।
त्यहीँ क्यालकुलेटरले मेरो विगतमा लिएर गयो।
मलाई गाउँको भट्कुवा निम्न माध्यमिक विद्यालयको जेहेन्दार विद्यार्थी भन्थे त्यति बेला। कक्षामा सधैँ दोस्रो हुने र अलि अलि अरूभन्दा केही जान्ने भएर पनि होला जेहेन्दार भनेको। विसं २०६० सालमा कक्षा ८ उत्तीर्ण गरी कक्षा ९ मा भर्खरै प्रवेश गरेको थिएँ। गाउँको निम्न माध्यमिक विद्यालयबाट पास आउट भएपछि अलि टाढाको बजारमा रहेको करिब १ घण्टा ३० मिनेटको पैदल यात्राको रिडी माध्यमिक विद्यालयमा पढ्नुपर्ने मेरो र हाम्रो गाउँका सम्पूर्ण साथीहरूको बाध्यता थियो।
कक्षा ९ मा भट्कुवाबाट झरेका साथीहरू सुनिल, सुदन, कृष्ण, नारदमणि र म लगायतले अप्सनल म्याथ लिने निधो गर्यौँ। अप्सनल म्याथ (ओपिटी म्याथ) पढाउने अनिल श्रेष्ठ सरले अप्सनल म्याथ पढ्ने सबैलाई एउटा वैज्ञानिक (साइन्टिफिक) क्यालकुलेटर आवश्यक पर्ने जानकारी दिनुभयो। अरू साथीहरूसँग भर्ना गर्ने बेलामै किनेकोले थियो तर मसँग थिएन। त्यस्तो क्यालकुलेटर अलि महँगो भएकोले आमाले किनिदिनु भएको थिएन। आमासँग पैसा पनि थिएन त्यसैले।
घरमा कमाइ गर्ने अरू कोही थिएन। बुवा एक जनाको कमाइ घरको खर्च, हामी दुई भाइको पढाइ, औषधि उपचार सबै जिम्मेवारी बुवाकै काँधमा थियो। हाम्रो लागि बुवा सर्वेसर्वा हो। मेरो आवश्यकता पूरा गरिदिने एक मात्र हिरो मेरो बुवा नै हो। सरले भनेको क्यालकुलेटरका लागि त्यो बखत मैले मुगलान भएको बुवालाई लेख्ने निधो गरेँ।
हातमा कलम लिएर मैले सुन्दर सपना सहितका आशाका अक्षरमा लेखेँ-
‘पूजनीय बुवा मेरो साष्टाङ्ग ढोग छ। सन्चै हुनुहुन्छ? हामी यहाँ आजका मितिसम्म निका आराम छौँ। तपाईं पनि आरामै हुनुहुन्छ भन्ने पूर्ण आशा गरेको छु। यहाँ म कक्षा आठबाट प्रथम श्रेणीमा सेकेन्ड भई कक्षा ९ मा पुगेँ। अब म झन् राम्रो पढ्छु। अब रिडी माध्यमिक विद्यालयमा कक्षा ९ मा भर्ना भएको छु। ९ कक्षामा अप्सनल म्याथ लिने भएँ। अप्सनल म्याथ पढ्ने भएकाले ‘बुवा मलाई साइन्टिफिक क्यालकुलेटर चाहिएको छ। सबै साथीहरूसँग छ। अब म कडा मिहिनेत गर्छु, पढाइमा अझै अगाडि आउँछु। तपाईंले जे भन्नुहुन्छ मान्छु। मलाई त्यो क्यालकुलेटर चाहियो है बुवा।’
पत्रसँगै मैले स्केच पनि बनाएँ। बुवालाई यस्ता प्रविधियुक्त सामानबारे थाहा नहुन सक्छ र मैले भनेको भन्दा फरक आउँछ कि भनेर स्केच सहितको तस्बिर सँगै तयार गरेँ र त्यो पत्र रिडी बजारमा रहेको हुलाकबाट भारतमा रहनुभएको बुवाको ठेगानामा रजिस्टरी गरेर पठाएँ।
केही हप्तापछि माइलो बुवा कलकत्ताबाट फर्किँदै हुनुहुन्थ्यो। उहाँ आउनु भएको थाहा भएपछि पक्कै मेरो क्यालकुलेटर आयो भनेर बिहानै माइलो बुवाको घरमा गएँ। उहाँको झोलाबाट निक्लियो एउटा चकमक ठुलो ‘क्यासियो एफएक्स-११५’ ब्रान्डको क्यालकुलेटर। ब्याट्री र सोलार दुवैबाट चल्ने! त्यो पाउँदा म फुरुङ्ग भएँ।
त्यो क्षणमा सम्झिएँ— बुवा भगवान् हुन्। मेरा लागि त्यो केवल क्यालकुलेटर मात्र थिएन, त्यो बुवाको भरोसा, मप्रतिको विश्वास र भविष्यप्रतिको लगानी थियो।
क्यालकुलेटरसँगै आएको बुवाको चिठी अझ मेरा लागि निकै महत्त्वपूर्ण थियो। उक्त चिठीमा लेख्नुभएको थियो-
‘छोरा, सहरका चिल्ला पिच सडक होस् या गाउँका धुलाम्मे अनि साँघुरा गोरेटोहरू, हिँड्। हिँड्न छोड्नुहुन्न, अडिइरहे जीवन रोकिन्छ।’
यी शब्दहरू त्यो उमेरमा खै कसरी मेरो जीवनको लागि मूल मन्त्र बने जस्तै लाग्छ।
दशकौँ बित्यो। बुवा अहिले हामी सँगसँगै हुनुहुन्छ। मुगलान छाडेर गाउँ फर्किएर खेती किसानी गरेर आमा-बा गाउँमै हुनुहुन्थ्यो। हामी (श्रीमान् श्रीमती) दुवै जना जागिरे। हाम्रो पहिलो सन्तानको रूपमा छोरा जन्मियो। छोराको रेखदेखका लागि आमालाई सहरमा बोलायौँ। छोरा करिब १६ महिनाको नहुँदै आमालाई ब्रेन ट्युमर देखियो।
आमाको ब्रेन ट्युमरको उपचार, उपचार पछिको हेरचाहका लागि छोराको साथी र आमाको सारथि। बुवालाई पनि गाउँबाट बोलाएर यतै सहरमा सँगै सुख दुःखसहित बसेका छौँ। यो भिडभाड र कोलाहलका बिच छिमेक सुख, दुःखको सारथि। मन पुलकित बनाउने आमा-बालाई छोरा एक माध्यम बनिरहेको छ।
दुवै जागिरे, दैनिकी दौडधुप छ। सधैँको हतार जस्तै छ। घडी सुई बढी हिँडेको हो कि फुर्सद कम भएको हो! हाम्रो छोरा शुभव सहरको विद्यालयमा पढ्छ। जीवनको घडी निरन्तर घुमिरहेको, फर्किरहेको, चलिरहेको छ। हिजो बुवाले मुगलानमा पसिना बगाएर परिवार धान्नु भयो। आज बुबा, हाम्रो छोराको साथी बनेर घरभित्रै बाल सुलभ हाँसोमा रमाइरहनु भएको छ।
बिरामी आमा गाउँको घाँस-दाउरा मेलापात छोडेर नाति स्कुल ल्याउने लैजाने कुरामा अगाडि हुनुहुन्छ। छोरो कहिलेकाहीँ सोध्छ- ‘बाबा, बुवाले घर गुल्मीमै किन बनाएको होला? यही काठमाडौँको सहरमा बनाएको भए हामी हाम्रो घरमा बस्थ्यौँ नि, पैसा तिर्नु पर्थेन नि। यो घर त पसल जस्तो रहेछ, खाली पैसा तिर्नुपर्ने रहेछ। त्यो पैसाले त म गाडी किन्थेँ नि।’
उसको तर्क मासुम लाग्छ। तर म चुप लाग्छु। समयको सन्दर्भ उसले कहाँ बुझ्ला र अहिले? पछि बुझ्ला नि! त्यो घर त बुवाको सपनाको जगमा बनेको थियो— जहाँ उहाँको पसिनाका थोपा, बाँच्ने आशा र हामीप्रतिको माया मिसिएको छ।
छोरा बेलाबेला भन्छ, ‘हामीले नयाँ घर बनाएपछि बुवा-आमा यहाँ कोठामै बस्नुहुन्छ कि? हामीसँग?’
‘हामीसँगै नि!’
‘त्यसो भए त्यो गुल्मीको घर सारौँ न है! टाढा भएर बिदामा जान नि सकिँदैन अनि।’
यसको हामीसँग उत्तर छैन।
उसले सोधेका कुरा सुनिरहन्छु, कहिलेकाहीँ टिपिरहन्छु। केही शब्दहरू मनभित्रको कुँडोल हल्लाउने खालका लाग्छन्। उसका कुरामा मिठा तर्क हुन्छन्। तर्कमाथि तर्क जवाफ पुरै दिन सकिँदैन तर कोसिस गर्छु। सबै कुरामा चित्त बुझाउँदैन।
शुभवले त्यही मेरो पुरानो क्यालकुलेटर फुटायो। त्यो फुटेको आवाजसँगै मेरो मनका यादहरू पनि टुक्रिए। त्यो, दैनिक करिब ३ घण्टा हिँडाइ, त्यो स्केच, माइलो बुवाको झोलाबाट झिकेर दिएको क्यासियो एफएक्स-११५ ब्रान्डको क्यालकुलेटर, त्यो मुगलानको पसिना, त्यो उत्साह, त्यो भरोसा सब एकाएक स्मृतिमा जीवित भए।
अब समय फेरिएको छ। प्रविधिले जीवन सजिलो बनाएको छ तर कहिलेकाहीँ त्यो सरलतासँगै भावनाहरू हराउँदै गएको जस्तो लाग्छ। शुभवको आँखामा भविष्य देख्छु। उसको सोचमा आजको सहर, मोबाइल, ल्यापटप, लगायतका ग्याजेट र टेक्नोलोजी छन्।
तर म चाहन्छु उसले पनि त्यस्ता चिठीहरू पढोस्, त्यो स्केच हेरोस्, बुझोस्, त्यो बुवाको त्याग बाध्यतालाई बुझोस्। ताकि उसले पनि थाहा पाओस् एक जना बुवाले मुगलानबाट पठाएको त्यो केवल शब्द थिएन, त्यो एक पुस्ताबाट अर्को पुस्तामा सरेको सपना थियो। किन किन मेरो मनमा छोराको स्केच कापीमा सधैँ गोजो सतोरु मात्र स्केच नहोस्, उसका नयाँ पुस्ताको सपना संघर्ष र यथार्थ पनि स्केच होस् भन्ने।
सबैले केही न कहीँ जीवनका जिम्मेवारी, संघर्ष र सपनासँगै बोकेर हिँडिरहेका छौँ जस्तो लाग्छ। तर कसले कसरी पूरा गर्छ या गर्दैन। कहिले हुने हो, त्यो पनि निश्चित थाहा छैन। तर यो हाम्रो साझा यात्रामा सहरका चिल्ला सडक वा गाउँका साँघुरा गोरेटो जे सुकै होस्, बुबाको त्यो वाक्य सधैँ याद रहन्छ राख्नुपर्छ भन्ने लाग्छ- ‘हिँड्, हिँड्न छोड्नुहुन्न। अडिइरहे जीवन रोकिन्छ!’