झापाको बाह्रदशी गाउँपालिकामा ४१ जातजातिका मानिसको बसोबास रहेको छ । त्यसमा पनि कूल जनसङ्ख्याको सबैभन्दा बढी २३ दशमलव पाँच प्रतिशत राजवंशी समुदायका मानिसको बसोबास रहेको छ ।
दुई हजार घरधुरीमा रहेका राजवंशीहरूको मात्रै जनसङ्ख्या यो गाउँपालिकामा नौ हजार १३१ रहेको छ । झापाका १५ वटा स्थानीय तहमध्ये यस गाउँपालिकामा पहिलोपटक यहाँका सबैभन्दा पुराना बासिन्दा भूमिपुत्र राजवंशी जातिलाई मान्दै यहाँका राजवंशीहरूलाई प्रथम नागरिक घोषणा गरिएको छ ।
नेपालको संविधान २०७२ को अनुसूची ८ मा उल्लेख भएअनुसार धारा ५७ को उपधारा (२), धारा २१४ को उपधारा (२), धारा २२१ को उपधारा(२) र धारा २२६ को उपधारा (१) लाई आधार मानी प्राचीनकालदेखि बसोबास गर्ने जातिलाई प्रथम नागरिक घोषणा गर्न सकिने प्रावधान रहेको छ । त्यसैलाई आधार मान्दै राजवंशी जातिलाई बाह्रदशी गाउँपालिकाको प्रथम नागरिक घोषणा गरिएको हो ।
गाउँपालिकाको नवौँ गाउँसभाले गाउँपालिकाको प्रथम नागरिक राजवंशी जातिलाई घोषणा गरेको बाह्रदशी–१ का वडाध्यक्ष शम्भुसिंह राजवंशीले जानकारी दिए। गत असार २२ गते राजवंशी विकास प्रतिष्ठानले गाउँपालिका कार्यालयमा ज्ञापनपत्र बुझाउँदै प्राचीन कालदेखि मुख्य बासिन्दा भएको सप्रमाणका आधारमा राजवंशी जातिलाई गाउँपालिकाको प्रथम नागरिक घोषणा गरिनुपर्ने माग गरेको थियो।
बाह्रदशीभित्र प्राचीनकालदेखि बसोबास गरी यहाँको भूमिलाई आवाद र सिञ्चित गरेको राजवंशी जाति यस ठाउँको मुख्य जाति भएको यथेष्ठ प्रमाणहरू भएकाले सही, सत्य र यथार्थतालाई हृदयङ्गम गरी गाउँसभाबाट राजवंशी जातिलाई प्रथम नागरिक घोषणा गर्न प्रतिष्ठानले ध्यानाकर्षण गराएको थियो ।
गाउँपालिकाको वडा नं २ र ३ राजगढमा पर्ने राजवंशी चौकमा गाउँपालिकाले राजवंशी समुदायको संस्कृति झल्कने गरी राजवंशी समुदायकै नागरिकको पूर्ण कदको प्रतिमा राखेको छ। राजवंशी समुदायको वेशभूषा र रहनसहन झल्कने गरी राखिएको प्रतिमा अहिले आकर्षणको केन्द्र बनेको छ ।
उता दमक नगरपालिकाले भने धिमाल जातिलाई प्रथम नागरिक घोषणा गरेको छ। प्रथम नागरिक घोषणा गरिएका धिमाल जातिको ऐतिहासिकता देखाउने गरी नगरपालिका परिसरमा नै धिमालको प्रतिमा राखिएको छ ।
धिमाल कला, साहित्य र इतिहासका दस्तावेजहरू पनि क्रमशः निर्माण गरेर संरक्षण, संम्वद्र्धन र प्रवद्र्धन गरिने दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताए। दमक–९ स्थित चकडपाडास्थित धिमाल संस्कृति सङ्ग्रहालयभित्र राखिएका धिमाल समुदायको प्रतिमाले उनीहरूको जन्मदेखि मृत्युसम्मका संस्कार झल्काउँछ ।
विसं २०६८ को जनगणनाअनुसार दमक नगरपालिकाको जनसङ्ख्या ७५ हजार ७४३ रहेको छ । सोमध्ये धिमालको मात्रै जनसङ्ख्या १५ हजार हाराहारी भएको नगरपालिकाले जनाएको छ ।
यता मेचीनगरपालिकामा भने मेचे जातिलाई प्रथम नागरिक घोषणा गरेको छ । गत असार १० गते नगरपालिकाको आठौँ नगरसभाले मेचे जातिलाई प्रथम जातिका रूपमा सम्मान दिइने निर्णय गरेको थियो । यद्यपि धिमाल र राजवंशी समुदायले नगरपालिकाको सो निर्णयप्रति आपत्ति जनाउँदै आएका छन् । धिमाल समुदायको साझा प्रतिनिधित्व गर्दै आएको धिमाल जातीय विकास केन्द्रले मेचीनगर मात्र नभएर झापा, सुनसरी र मोरङ जिल्लामा जङ्गल फाँडेर पहिलो बस्ती बसाउने जाति धिमाल भएको दाबी गरेको छ ।
झापा जिल्लामा राजवंशी, धिमाल, मेचे, सन्थाल, किसान, मुण्डा, करुवा, झाँगड, पाहानलगायतका आदिवासीको परापूर्वकालदेखि बसोबास रहँदै आएको छ । यद्यपि कुन जाति आदिवासी हो भन्ने विषयमा अनुसन्धान भएको छैन । रासस