साथी, तिमी विदेश आउन खोज्दै छौ रे! अमेरिका, अस्ट्रेलिया, जापान या कतै युरोपका सडकहरूमा नेपाली सपना बोकेर उड्न खोज्दै छौ रे! तर सुन, एक सानो विनम्र आग्रह छ; तिमी आफ्नो अहंकारको झोला नेपालमै बिसाएर आऊ। किनभने त्यो झोलाले तिमीलाई उडाउन होइन, डुबाउन मात्र सक्छ।
नेपालको भिडभाड, ट्राफिक जाम, चर्का भाषण, ‘मेरो बाबा यो’ शैलीका नाटक छाडेर विदेश जाने तयारी गर्दै छौ भने ध्यान देऊ, विदेशमा कोही पनि तिमी जो सुकै होऊ कसैले वास्ता गर्दैन। अहंकार साथी, यो नेपालको केही भागमा मात्र बिक्छ, त्यो पनि नेताको जिउमा टाँसिएर, पार्टीको झन्डा समाएर।
विदेशमा त्यही अहंकारले तिमीलाई लाइनमा बस्न नसक्ने बनाउँछ। घरको भाँडा माझ्दा आत्मसम्मान गुम्यो जस्तो बनाउँछ। अनि? अन्त्यमा तिमी आफै आफैलाई माफी माग्न थाल्छौ, अहंकारसँग होइन, जीवनसँग।
तिमी सोच्छौ होला, म त काठमाडौँलाई सिट्ठीमा नचाउन सक्ने वीर पो हुँ। तर यहाँ जस्तै वीर हुँ भन्नेले पनि काम नगरी खान पाउँदैन। तिमीले सोचेको म नेपालमा आफ्नो सामान्य जन्मदिनको पार्टीमा पनि लाखौँ खर्च गर्न सक्छु भन्ने गफ यहाँ ‘तिम्रो क्रेडिट स्कोर कस्तो छ?’ को उत्तरमा बिलाउँछ। किनभने यहाँ तिम्रो हैसियत तिमीले मासिक रूपमा बिल भुक्तानी गरेको तथ्यले प्रमाणित गर्छ।
त्यसैले साथी, आउनु छ भने आऊ। तर कृपया त्यो अहंकारले भरिएको दम्भको झोला जहाज चढ्नुअघि विमानस्थलमा बिसाएर आऊ। सक्छौ भने विमानस्थल पुग्नु अघि नै बागमतीमा बगाएर आऊ।
साथी, त्यो अहंकारको झोला यति धेरै गह्रौँ हुन्छ कि नेपाल छोड्दा एयरपोर्टमा वजन नाघ्यो भनेर जहाज चढ्न नपाउने भइन्छ। एयरहोस्टेसले भन्दा पनि पहिला त्यहाँको काउन्टरको मेसिनले चियाउने छ तिम्रो अहंकारको तौल। किनभने यहाँ आउँदा तिमीलाई मात्र चाहिनेछ- दृढता, नम्रता र सहनशीलता। अहंकार? त्यसले त तिमीलाई केवल पछाडि तान्छ।
तिमीले आफूलाई जे सोचे पनि यहाँ तिमी जीवन 'जिरो'बाट सुरु गर्नेछौ। हो, जिरो। न कोही तिमीलाई चिन्छ, न कोही जान्दछ, न त कोही सोध्दछ। यहाँ सबैको कहानी एउटै हुन्छ— कडा परिश्रम गर्नु छ, कर तिर्नु छ र सुत्नु छ।
यहाँ आएपछि तिमी के बनौला, त्यो त जीवनले बताउनेछ। तर अहंकार छैन भने, तिमी जहाँ भए पनि मान्छे बन्न सक्नेछौ। सम्मान पाउने छौ। आफैलाई फेरि चिन्ने मौका पाउनेछौ।
नेपालमा तिमीलाई भिआइपी जस्तो व्यवहार गर्थे होलान्। चिया पसलमा पनि तिमी बोल्ने बित्तिकै सबै चुप लाग्थे होलान्। तिम्रो मोबाइलमा ‘रिङटोन’ बज्नुलाई व्यस्त हुनुको संकेत मान्थे होलान्।
तर यहाँ? तिमीलाई कसैले मतलब गर्ने छैन। मेट्रो चलिरहेको हुनेछ। तिम्रो फोन बोकेको हातमा झोला पनि हुनेछ। तर त्यो झोलाभित्र यस पटक कामको बिचमा खानका लागि राखेको खानेकुरा हुनेछ। अर्को हातमा कफी। यहाँ व्यस्त हुनु ट्रेन्ड हैन, जिन्दगीको सर्त हो।
नेपालमा तिमीलाई सबैले चिन्ने शौक राख्थे होलान्। तर यहाँ? कसैलाई चासो हुनेछैन तिमी जो हौ। जुत्ता पुछ्ने काम गर कि कम्प्युटरमा कोड लेख। यहाँका सडकमा मर्सिडिज पनि उही नियमले चल्छ जुन नियमले पुरानो टोयोटा चल्छ। यति भनेपछि बुझ, यहाँ तिम्रो अहंकारको मूल्य कति हुनेछ।
यहाँ काम गर्ने भनेको केवल पैसा कमाउने कुरा होइन। त्यो त जीवनको अनुशासन हो। त्यसैले तिमी अहंकारको झोला बोकेर यहाँ आइपुग्यौ भने मानसिक असन्तुलन जस्तो महसुस हुनेछ। किनभने अहंकारले कहिले बहस गर्न खोज्छ, कहिले अपमानित गराउँछ, कहिले पुरानो वैभव सम्झाउँछ अनि आफूलाई हराएको महसुस गराउनेछ।
त्यो अहंकार जसले तिमीलाई नेपालमा भन्थ्यो 'म बडो हुँ', त्यसैले तिमीलाई यहाँ अब पुछारतिर पुर्याउनेछ। किनभने तिमीलाई तिम्रो अहंकारले त्यो काम गर्न मन लाग्नेछैन जुन कामले यहाँका मानिसहरू सम्मानित बाँचिरहेका छन्।
त्यो क्षणमा अहंकारको झोला आफैँले मुख खोलेर चिच्याउनेछ— 'हेर! तँलाई कसैले बुझेन!' तिमी छटपटाउने छौ। त्यो झोलाले अझ भनिरहन्छ— 'नेपाल फर्की चल अब! त्यहाँ त तँ राजा थिइस्।' तर त्यो बेला तिम्रो फर्कने ठाउँ पनि कहिलेकाहीँ गुमिसकेको हुनेछ। फर्कियौ भने पनि साथीहरू भन्नेछन्— 'विदेश बसेर पनि केही गरिस् जस्तो देखिएन।' त्यसैले त्यहाँ पनि तिमी नफिट, यहाँ पनि नफिट। अनि बुझ्नेछौ अहंकारले तिमीलाई न घरको बनायो, न परदेशको।
विदेशले तिमीलाई पहिला तर्साउँछ, पछि सिकाउँछ अनि अन्त्यमा तिमी आफैँलाई चिनाउँछ। अहंकारले त केवल फोटो खिचाउँछ तर जीवन बनाउन जान्दैन।
विदेशमा सबैभन्दा ठुलो सफलता भनेको अहंकार नहुनु हो। किनभने यो समाजमा म ठुलो भन्नु हास्यास्पद लाग्छ। तिमी कति नम्र छौँ, कति उत्तरदायी, कति सहनशील— त्यो नै तिम्रो मूल्य हो।
साथी, विदेशको जीवन भनेको केवल पैसा कमाउने र ब्रान्डेड जुत्ता किन्नु मात्र होइन। यो जीवन भनेको बिहान ४ बजे 'उठ, आज पनि काम छ' भनेर सुतिरहेको बुढो शरीरलाई सम्झाउनु पनि हो। रातको साढे एघार बजे आएर तिमी आफ्नो शरीर होइन, आत्मालाई ओछ्यानमा फ्याँक्नेछौ।
त्यसैले साथी तिमीले अहिले जुन झोला बोकेका छौ त्यसमा ‘मैले यो गरेँ, मैले त्यो गरेँ’ को सूची छ तर ‘के गर्न बाँकी छ?’ भन्ने प्रश्न छैन। त्यो झोला जसमा डिग्री छ तर अनुशासन छैन। त्यो झोला जसमा महत्वाकांक्षा छ तर जबाफदेहिता छैन। त्यो झोला जसमा संस्कार छैन। त्यो झोला नेपालमै छोडेर आऊ। अनि विदेश आएर होइन जहाँ गए पनि आफूलाई मानिसको रूपमा ढाल।
फेरि पनि भन्छु साथी, संसार ठुलो छ। यहाँ अहंकारले होइन, आत्माले बाँचिन्छ। र त्यो आत्मा जसमा— नम्रता, जिम्मेवारी, सोच्न सक्ने र सिक्न सक्ने कला हुनुपर्दछ।